कांग्रेस महामन्त्री पौडेलले कान्तिपुरसँग कुरा गर्दै धेरै ठाउँमा अन्तर्घात भएको आरोप लागे पनि प्रमाणित गर्न कठिन भएको र कतिपय ठाउँमा क्रियाशील सदस्य संख्याअनुसार मत नै नआएको बताएका छन् ।
काठमाडौँ — कांग्रेसले आगामी ९–१४ असोजमा हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर सदस्यता अद्यावधिक गर्न थालेको छ । पार्टीलाई डिजिटल रूपान्तरण गर्ने भन्दै कांग्रेसले सुरु गरेको सदस्यता अद्यावधिक अभियानको डेढ महिनामा करिब २ लाख सदस्य मात्रै जोडिएका छन् । यद्यपि, कांग्रेस महामन्त्री प्रदीप पौडेलले २१ जेठसम्म करिब ५ लाख सदस्यता अद्यावधिक हुने दाबी गरे । सदस्यता अद्यावधिक अभियानका संयोजकसमेत रहेका उनीसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानी :
नवीकरण भइसकेका सदस्यलाई पुनः अद्यावधिक किन ?
निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्नेलाई कारबाही सिफारिस गर्न सक्ने विधानमा व्यवस्था छ । तर, धेरै ठाउँमा अन्तर्घात भएको आरोप लागे पनि प्रमाणित गर्न कठिन भयो । कतिपय ठाउँमा क्रियाशील सदस्य संख्याअनुसार मत नै आएन ।
उदाहरणका लागि झापा–५ मा ७ हजार ९ सय क्रियाशील सदस्य छन् । भोट १ हजार ८ सयभन्दा बढी आएन । सप्तरी–२ मा ७ हजार १ सय सदस्य हुँदा ४ हजार २ सयभन्दा बढी आएन । यस्ता १७ निर्वाचन क्षेत्र छन् । कसले भोट हालेन वा असहयोग गर्यो भन्ने प्रमाणित गर्न नसकिएकाले सदस्यसँग पुनः प्रतिबद्धता लिन अद्यावधिक गर्नुपरेको हो ।
अद्यावधिक कसको हुने हो ?
पहिल्यै सदस्य भइसकेकाहरूको मात्रै अद्यावधिक हुने हो । १५औं महाधिवेशनको तयारीका क्रममा करिब ५ लाख सदस्यता नवीकरण भएको थियो । त्यसबाहेक नयाँ भनेर प्रणालीमा प्रविष्ट गराइएका करिब डेढ लाख सदस्य छन् । तिनै साढे ६ लाख सदस्यको अद्यावधिक गर्न लागिएको हो ।
सदस्यतासँग पुनः प्रतिबद्धता गर्ने भनेको के हो ?
अद्यावधिकका क्रममा सदस्यले एउटा फाराम भर्नुपर्छ । त्यसमा ‘म नेपाली कांग्रेसको अभियानमा सक्रिय सहभागिता जनाउनेछु, निर्वाचनमा मतदान गर्नेछु र पार्टीलाई कमजोर बनाउने गतिविधि गर्ने छैन’ भन्ने प्रतिबद्धता हुन्छ । त्यससँगै नाम, ठेगाना, टेलिफोन नम्बर, सामाजिक सञ्जाल आईडी, परिवारको मतदाता संख्या, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, मतदाता नम्बर, योग्यता, राजनीतिक आन्दोलनमा योगदानलगायत विवरण राखिएको हुन्छ ।
विरोध हुँदाहुँदै अद्यावधिक किन गर्नुपर्यो, महाधिवेशनपछि गरे हुने थिएन ?
पार्टीसँग अहिले व्यवस्थित डिजिटल विवरण नै छैन । करिब साढे १ लाखको मात्रै टेलिफोन नम्बर छ । त्यसमध्ये पनि धेरै नम्बर दोहोरिएका छन् वा अपूरा छन् । सामाजिक सञ्जालको विवरण त झन् छैन । सदस्यलाई डिजिटल रूपमा जोड्न सकियो भने पार्टीका सूचना आदानप्रदान गर्न सहज हुन्छ । राजनीतिमा डिजिटल माध्यमको प्रभाव बढिरहेका बेला कांग्रेस पनि डिजिटलाइज हुनुपर्छ भन्ने उद्देश्य हो ।
अर्को महत्त्वपूर्ण पक्ष इतिहास संरक्षण हो । पार्टीभित्र विमान अपहरणदेखि लामो जेल जीवन बिताएका नेताहरू छन् । उनीहरूको योगदान अभिलेखीकरण गरेर सुरक्षित राख्न खोजिएको हो । इतिहास मेटाउने होइन, सुरक्षित गर्ने प्रयास हो । अद्यावधिक महाधिवेशन अगाडि गर्दा बाध्यकारी हुन्छ । सबैले गर्छन् । महाधिवेशन पछाडि सबैलाई पछि गरे पनि हुन्छ भन्ने खालको सोच हुन्छ । बाध्यकारी हुन्न । त्यसैले अहिल्यै गर्न खोजिएको हो ।
तपाईंहरूले एकपक्षीय रूपमा सदस्यता कब्जा गर्न खोजेको आरोप लागेको छ नि ?
अहिलेको नेतृत्वले नयाँ संरचना बनाएको होइन । यदि वडा सभापतिमाथि विश्वास छैन भन्ने हो भने त्यसलाई खुला रूपमा भन्नुपर्यो । अहिले इतिहासमै पहिलोपटक वडा सभापतिलाई यति ठूलो जिम्मेवारी दिइएको छ किनकि उसले सदस्यलाई चिन्छ । को इमानदार छ, को अर्को पार्टीमा लागेको छ भन्ने थाहा हुन्छ ।
