सगरमाथामा राजनीति घुस्यो : कीर्तिमानी आरोही कामीरिता शेर्पा

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- २९ मेमा काठमाडौंमा जमघट गरेर ककटेल पार्टी खानुभन्दा आधार शिविरमै विश्व सगरमाथा दिवस मनाउनुपर्छ ।

जेष्ठ १०, २०८३

सुरज कुँवर

Politics has entered Mount Everest: Record-breaking climber Kami Rita Sherpa

What you should know

कामीरिता शेर्पालाई नेपालमा मात्रै होइन, विश्वभर अतिरिक्त परिचयको आवश्यकता पर्दैन । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा जन्मिएका यी ५६ वर्षीय पर्वतारोहीको परिचय पृथ्वीको सर्वोच्च शिखरकै पर्याय बनेको छ । ‘एभरेस्ट म्यान’ का नामले परिचित उनले पहिलो पटक २४ वर्षमै भिनाजु र दाइको साथ लागेर सगरमाथाको चुचुरो चुमेका थिए । त्यसयता आफ्नो जीवन नै हिमाललाई समर्पित गरेका छन्, त्यसक्रममा बारम्बार विश्व कीर्तिमान बनाउादै र भत्काउँदै आएका छन् । यस सिजनमा पनि उनले ३२ औं पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै अघिल्लो सिजनमा आफैंले कायम गरेको ३१ औं पटकको कीर्तिमानलाई विस्थापित गरे । शेर्पासँग कान्तिपुरका लागि सुरज कुँवरले गरेको कुराकानीः

यसपालिको आरोहणमा तपाईंको स्वास्थ्य अवस्था कस्तो थियो ? 
म स्वस्थ नै छु । म सधैं जस्तो हिमालतिरै हुन्छु । अभ्यास जस्तो भइरहन्छ । म यहाँ मात्रै होइन, अमेरिकामा पनि पर्वतारोहणसम्बन्धी गाइड गर्छु । म बाह्रै महिनाजसो हिमालमै हुन्छु । त्यो मेरा लागि ट्रेनिङ जस्तै हुने भएकाले स्वास्थ्य अवस्था ठीकै भयो ।

तपाईं कुनै औषधि खानुहुन्छ ? 

छैन । ५६ वर्षको भएँ । कुनै औषधि सेवन गरेको छैन । 

यस पटक सगरमाथा आरोहणका क्रममा बाटो बनाउने काम सेराक (हिउँढिस्को) ले गर्दा प्रभावित भयो नि होइन ? 

सेराकका बारेमा कुरा गर्दा, पहिला पनि थियो । सेराकले गर्दा ढिलो नै हुन्छ कि जस्तो लागेको थियो । १० जुनसम्म लाग्ला कि भन्ने थियो । बाटो खुलेपछि क्याम्प–२ माथि ४–५ दिनमै बाटो बन्यो । जेहोस्, बाटो खुलेपछि पहिले जस्तै समयसीमामै आरोहण भयो । यो सिजन यही मे महिनाभित्र सकिएला । 

यस पटक सगरमाथा आरोहणमा पर्यटन विभागले सर्वाधिक आरोहण अनुमति दियो । सरकारले सर्वाधिक सलामी दस्तुर संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ । यस विषयमा तपाईंको धारणा के छ ?

सगरमाथा आरोहण अनुमतिलाई सरकारी तहबाट सीमित गर्नुपर्ने देख्छु । नयाँ आरोहीहरूलाई सिधै आरोहण अनुमति दिनु हुँदैन । हिमालबारे जानकारी नै नभएकाहरू सगरमाथा आरोहणमा आइरहेका छन् । सगरमाथा आरोहण गर्नुअघि कुनै ७ हजार मिटर उचाइको हिमाल आरोहण गरेको हुनुपर्ने मापदण्ड बनाइनुपर्छ । हिमालमा फोहोर बढ्दै गयो । 

यसपालि सगरमाथामा फोहोर कति देखियो ?

फोहोर त छ । भनौं भने, जति आरोहण गर्ने परमिट बढ्यो । जति मान्छे बढ्यो । त्यति नै बढी फोहोर हुने हो । 

सगरमाथामा यसपालि कति शव देखिए ?

पहिलेको पुरानो शव आधार शिविरमा एउटा देखियो । त्यो शव गएको अक्टोबरमै देखिएको रहेछ । सगरमाथा प्रदूषण नियन्त्रण समितिले व्यवस्थापन गर्नुपर्ने थियो । तर उनीहरूले बेलैमा शव व्यवस्थापन नगरेको देखियो । पछि खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ र पर्यटन विभागले पैसा हालेर हेलिकोप्टरबाट काठमाडौं पठाए । विदेशी आरोहीलाई आधार शिविरमा शव देखाउन नहुने हो । छोपछाप गर्नुपर्ने हो । समाचारमा पनि आयो । यो राम्रो भएन ।

सगरमाथाको प्रदूषण नियन्त्रण गर्न नाम्चे बजारमा स्थापना भएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले कस्तो काम गरिरहेको छ ? 

यो संस्थाको मुख्य काम सगरमाथा क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने हो । तर नाम र काम मिलेन । यो त सबैले छ्याङ्गै देखिरहेका छन् । फोहोर संकलनको काम त छाडिदिऊँ । गएको शरदयामको सगरमाथा आरोहण सिजनमा देखिएको शव यस पटक वसन्तकालीन याममा उठाइयो । त्यसैबेला त्यो शव व्यवस्थापन हुनुपर्ने थियो । भएन । वा, यस पटक विदेशीले नदेख्ने गरी आधार शिविरमै व्यवस्थापन गर्नुपर्ने थियो, तर गरिएन । नामअनुसार काम भएन । 

Politics has entered Mount Everest: Record-breaking climber Kami Rita Sherpaसगरमाथाको दोस्रो शिविरदेखि माथि डोरीको सहायताले बाटो बनाउने काम हरेक वर्ष पर्वतारोहण सञ्चालक संघले गर्दै आएको छ । यो संस्थाको कामलाई कसरी हेरिरहनुभएको छ ?

पहिले पहिले सगरमाथाको आरोहण बाटो बनाउने काम ‘एक्सपिडिसन’ कम्पनीहरूले गर्थे । पर्वतारोहण सञ्चालक संघ २००८ मा मात्रै दर्ता भएको संस्था हो । यो संस्था दर्ता हुनुअघि पहिले जमानामा एसियन ट्रेकिङ र अरुण ट्रेक्स जस्ता आरोहण चलाउने संस्थाले आफैं बाटो खुलाउने काम गर्थे । अहिले आधार शिविरदेखि दोस्रो शिविरसम्म नाम्चेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाउने जिम्मा लिन्छ । त्यसदेखि माथि काठमाडौंमा रहेका व्यवसायीहरूको संस्था पर्वतारोहण सञ्चालक संघले जिम्मा लिन्छन् । यी दुवै संस्थालाई होइन, एउटालाई मात्रै जिम्मा दिनुपर्छ । दुइटाले गर्दा झमेला भइरहेको छ । बाटो खुलाउने काममा पनि तेरो र मेरो भयो । सगरमाथाको बाटो बनाउने काम एउटै संस्थालाई दिनुपर्छ ।

सरकारले यस पटक आधार शिविरमै सम्पर्क कार्यालय स्थापना गरेको छ । त्यसले कस्तो काम गरेको छ ?

पर्यटन विभागले स्थापना गरेको सम्पर्क कार्यालयको काम छैन । त्यहाँ अफिस राख्नुभन्दा ८ हजार मिटर अग्ला हिमाल आरोहण गरेका आरोहीहरू खटाउँदा राम्रो । कामै नजान्ने र आधार शिविरमा पुगेपछि टाउको दुख्ने सम्पर्क अधिकृत राखेर काम छैन । यदि सबै शेर्पा उँभो उक्लिएका बेला खुम्बु आइसफलमा केही भवितव्य भइहाले उद्धार गर्न जान्ने सम्पर्क अधिकृत राख्नुपर्छ । 

नेपालको पर्वतारोहण क्षेत्रमा हेलिकोप्टर कम्पनीहरूको योगदान कस्तो छ ?

सगरमाथा आरोहणको अनुमतिमा ७५ दिनको समयसीमा हुन्छ । मे २९ भित्र सगरमाथा आरोहण सकिसक्नुपर्छ । यो समयसीमाभित्र आरोहण सक्न नेपाली हेलिकोप्टर कम्पनीहरूको ठूलो सहयोग छ । यदि हेली छैन भने आरोहण समिट सम्भव छैन । हेलिकोप्टरले गर्दा सगरमाथाको दोस्रो शिविरसम्म टेन्ट, अक्सिजन, बन्दोबस्तीका सामान ढुवानी गर्न सजिलो भएको छ– माथि लैजान वा तल झार्न, बाटो बनाउन पनि । यदि हेलिकोप्टर छैन भने नेपालको पर्वतारोहण क्षेत्रको पनि कुनै अर्थ छैन ।

तपाईं आरोहणमा लागिरहेकै समयमा अब ड्रोन पनि आयो । ड्रोनले पर्वतारोहणमा कतिको सहयोगी भूमिका खेल्ने देख्नुहुन्छ ? 

खुम्बु आइसफलमा मरीमरी दुःख गर्ने भरियालाई सामानको ३–४ सय रुपैयाँ प्रतिकिलोका दरले पैसा तिरिन्छ । तर ड्रोनलाई १ हजार रुपैयाँ प्रतिकिलोसम्म भुक्तानी हुने गरेको सुनियो । फेरि ड्रोनले पहिलो शिविरसम्म मात्रै सामान ओसार्ने हो । त्यसभन्दा माथि फेरि भरियाले नै सामान बोक्नुपर्छ । किनकि माथि हावाको धेरै वेग हुने भएकाले ड्रोन उड्दैन । ड्रोनलाई दिइने पैसा बरु भरियालाई दिँदा राम्रो । 

के ड्रोनले शेर्पा वा भरियाको पेसामा संकट ल्याउला ?

ड्रोनले शेर्पा वा भरियाको पेसामा संकट ल्याउँदैन । ड्रोनको क्षमता पहिलो शिविरसम्म मात्रै हो । त्यसमाथि ब्याट्रीका कारण र हावाको गतिका कारण ड्रोनले काम गर्न सकेको छैन ।

तपाईंले पहिलेका अन्तर्वार्तामा कान्तिपुरसँग भन्नुभएको थियो– हामी जस्तो गाउँको अर्गानिक खाना खाएका, दुःख भोगेका शेर्पा कामदार आरोहणमा हराउँदै गएका छन् । अहिले युवाहरूको आकर्षण कस्तो छ ?

युवाहरू पर्वतारोहणमा आउन खोजेको देखिन्छ । धेरैजसो तालिम लिएर आइरहेका छन् । हामीजस्तो दुःख गरेर, पसिना बगाएर आउने स्थिति छैन । आफ्नो झोला बोकेर, सिलिपिङ ब्याग बोकेर विदेशीसँग गफ गर्दै आउँछन् । तर हामीजस्तो दुःख गर्न सक्दैनन् ।

सगरमाथा सफाइमा सरकारले के कसरी काम गर्न सक्छ ? 

यसपालि पर्यटन विभागले ४ सय ९२ जना हाराहारीलाई अनुमति दियो । उनीहरूबाट संकलन हुने दस्तुरको कति प्रतिशत सरसफाइमा छुट्याइन्छ ? स्थानीय पालिकाले पनि जनही ३ हजार उठाइरहेको छ । अब सरसफाइमा ध्यान दिनुपर्छ । सफाइको काममा सरकारले टेन्डर गरेर होइन, सिधै दिने हो । २९ मेमा काठमाडौंमा जमघट गरेर ककटेल पार्टी खानुभन्दा आधार शिविरमै विश्व सगरमाथा दिवस मनाउनुपर्छ । आरोहण गराउने कम्पनीबाट ४–५ जना शेर्पा गाइड छानेर हिमाल सफा गर्नुपर्छ । शिखरसम्म नगरे पनि दोस्रो शिविरसम्म गर्न सकिन्छ । यसरी हिमालको सौन्दर्य जोगाउन सकिन्छ ।

Politics has entered Mount Everest: Record-breaking climber Kami Rita Sherpaतपाईंका विदेशी साथीहरू सगरमाथाबारे के भन्छन् ? 

पहिलेको हिमाल आरोहण र अहिलेको हिमाल धेरै बदलियो भन्छन्, विदेशीहरूले । आधार शिविरमा ‘ओभर लक्जरी’ भयो । सुविधा बढी भयो । यो ‘एडभेन्चर’ होइन, भएन भन्छन् । वाइफाई, मसाज, बियर, खानपानदेखि कतिपय त आराम गर्न हेलिकोप्टर चढेर काठमाडौं गएर बस्ने गर्छन् । पहिलेभन्दा अहिलेका टेन्टहरू ‘लक्जरी’ आए ।

अहिले दुईतिहाइको सरकार बनेको छ । यसले पर्यटन क्षेत्रमा के गर्नुपर्ला ? 

सर्वप्रथम पर्यटन बुझेको मान्छे पर्यटनमन्त्री छानिनुपर्छ । हिमाल र पदयात्रा नेपालको राम्रो अर्थतन्त्रको स्रोत हो । पर्वतारोहण क्षेत्रमा कार्यरत शेर्पा, गाइडलगायत जनशक्तिलाई यो पेसापछि उपदानसँग जोड्नुपर्छ । नत्र गाइडहरू विदेश पलायन हुन्छन् । हिमालमा राजनीति घुस्यो । घुस्नु हुँदैनथ्यो । सहज बनाउनुपर्छ । अहिले पनि हिमालमा कुनै उद्धार गर्नुपर्ने भयो भने धेरै निकायमा कागजी कामका लागि दौडधुप गर्नुपर्छ । यो अन्त्य हुनुपर्छ । यो काम पर्यटनमन्त्रीले गर्नुपर्ने हो । जस्तो अहिले शेर्पा गाइडले विदेशीलाई खानामा विष हालेर खुवाए भन्ने समाचार आएको छ । त्यो काम हामीले गरेको होइन । हाम्रो बेइज्जत भयो । त्यो गर्ने कम्पनीहरू हुन् । हामीले विदेशीलाई जिम्मा लिएपछि उसको सपना साकार पारेरै सक्छौं । पदयात्रामा भएका बदामासीले हिमाल आरोहण गराउने शेर्पाहरूको पनि बदनाम भयो । कि त प्रमाण सार्वजनिक गर्नुपर्‍यो, नत्र शेर्पा भनेर सबैलाई मुछ्नु भएन । अर्को विषय, समाचार दिँदा आधिकारिक सूचना मात्रै जारी हुनुपर्‍यो । समाचारमा पनि सरकारले ‘कन्ट्रोल’ गर्नुपर्ने देखियो । 

पर्वतारोहण क्षेत्रमा सञ्चारमाध्यमको भूमिका कस्तो देखिन्छ ? 

समाचारमा हावा कुरा आइरहेको छ । बढी जस्तो नभएको कुरा फैलाइयो । न्युजलाई पनि ‘कन्ट्रोल’ गर्नुपर्छ । 

नेपाली मिडियाका कमजोरी के छन् ? 

नदेखेको कुरा कसैले बोलेकै भरमा लेखिदिनुभएन । सत्यतथ्य बुझेर लेखिदिनुपर्छ । एउटाले लेखेपछि सबैले ‘कपी’ गर्छन् । सच्चा लेख्नुपर्‍यो । मिडिया आधार शिविरमा पुग्न नसक्ला । तर त्यहाँ रहेका अधिकारीहरूलाई सोधेर, पुष्टि गरेर मात्रै लेखिनुपर्छ । 

तपाईं पछिल्ला वर्ष अन्तर्वार्ता दिन रुचाउनुहुन्न किन ?

जति दिए पनि त्यस्तै हो । चाहिने कुरा बोलेको हुन्छ । तर चाहिने कुरा लुकाइदिन्छन् । सरकारका बारेमा बोलेको लुकाइदिन्छन् । मैले देखेको कुरा बोल्छु । सुधार गर्नुपर्ने कुरा भन्छु । बोल्छु । 

जलवायु परिवर्तनको असर सगरमाथा क्षेत्रमा कस्तो परेको छ ? 
पहिले पहिले हामी आधार शिविरमा हिउँ तताएर पानी खान्थ्यौं । अहिले खोलाबाट पानी थापेर खायौं । दोस्रो शिविरमा हिउँ पग्लेर खोला बगेको देखियो । हिउँ धेरै बिलाउँदै छ ।

सगरमाथामा 'स्की’ लगायतका एडभेन्चर खेल खुला भए । यो ठीक हो ? 

सगरमाथामा सबै खुला गर्नुपर्छ । स्की, साइक्लिङ, प्याराग्लाइडिङ, बाइकिङलगायत टुरिजमका बाइप्रोडक्ट सबै खुला गर्नुपर्छ । ड्रोन क्यामरामा कडाइ भइरहेको छ । तर गर्नु हुँदैन । 

यस पटक चीन र अमेरिकाको ड्रोनको विवाद के हो ?

अमेरिकाको ड्रोन भन्नु मात्रै हो । त्यो अमेरिकन भनिएको ड्रोन पनि ‘मेड इन चाइना’ थियो । यसको व्यवस्थापन हाम्रै कम्पनी सेभेन समिटले गरिरहेको थियो । त्यो अमेरिकन ड्रोन ५ किलोभन्दा कमको ड्रोन थियो । म पनि त्यहीँ थिएँ, ड्रोन उडाउन । चीनको सिमानमा उडाउन खोजेको भनेर विवाद आयो । अनुमति दिएपछि ड्रोन कसैको पनि रोकिनु हुँदैन । त्यहाँ पहिल्यै एउटा ड्रोन कम्पनीले अनुमति पाएर सामान बोकिरहेको थियो । पछि अमेरिकन ड्रोनका कारण त्यो पनि रोकियो । पछि फेरि खुला भयो ।

रोबोटको पनि कुरा आएको थियो नि ?

रोबोटको प्रोजेक्ट पनि थियो । तर अनुमति नै पाएन । फर्केर आयो । परमिटबिना सगरमाथामा अन्य क्रियाकलाप गर्नु हुँदैन । बेलाबेला हामी नेपाली गाइडले पनि चेक गर्छौं । सम्पर्क अधिकृतभन्दा पनि हामी नै कडाइ गर्छौं । 

हिमाल आरोहणमा खटिने सरकारी सम्पर्क अधिकृतहरूको भूमिका कस्तो छ ?

सम्पर्क अधिकृतले आधार शिविरमा परमिट चेक गर्नुपर्ने हो । तर काम गर्दैनन् । केही आउँछन्, फोटो खिच्छन् र एक रात बसेर फर्किन्छन् । कुनै कुनै सम्पर्क अधिकृत हामीसँग लन्च खान्छन् । टेन्टको फोटो खिच्छन्, गइहाल्छन् । कुनै हेलिकोप्टरमा आउँछन् । एक रात सुतेर भोलिपल्ट फर्किहाल्छन् । आधार शिविरमा खासमा २–३ जनाचाहिँ बस्छन् । सरकारी कर्मचारी कसरी काम गर्छन् भन्ने यहाँ देखिन्छ । अस्ति आधार शिविरमा ट्रेकिङमा गएको समूहलाई प्याकेज बिक्री गरेको भन्ने खबर आयो नि । यो नियन्त्रण गर्ने सम्पर्क अधिकृतको काम हो । सगरमाथामा सम्पर्क अधिकृत सरकारले पाल्ने हो । चीनमा जस्तो दुई जना भए पनि पुग्छ । नेपालमा त सम्पर्क अधिकृतलाई ‘एक्सपिडिसन’ कम्पनीले पाल्छन् । यो राम्रो चलन होइन । चीनमा जस्तो बेग्लै ‘किचन स्टाफ’ राखेर चलाउनुपर्छ । हाम्रो सरकार कमजोर भयो । 

सगरमाथालगायतका हिमालमा सरकारको स्थायी कार्यालय स्थापना गर्न सकिन्छ ?

सरकारले हिमाल सञ्चालन गर्न छुट्टै स्थायी निकाय वा टिम राख्नुपर्छ । त्यसका लागि आठ हजार अग्ला हिमाल आरोहण गरेका आरोहीहरूलाई निश्चित समयका लागि लिन सकिन्छ । हिमाल आरोहण गरेकै सेनाहरू कति धेरै छन् । यसो गर्दा सम्पर्क अधिकृत राख्नुपरेन । हिमालको बाटो खुलाउने काम विभिन्न निजी कम्पनीलाई दिनुपरेन । त्यही स्थायी संरचनाले काम गर्छ । हिमाल आरोहण गरेकाहरूले धेरै काम गर्न सक्छन् । 

पछिल्ला वर्ष आरोहणमा महिलाहरूको आकर्षण किन बढेको होला ? 

हो, पछिल्ला वर्ष आरोहणमा महिलाहरू बढेका छन् । यो ‘फेसन’ जस्तो लाग्छ मलाई । एउटाले चढेपछि अर्कोलाई पनि चढ्न रहर लाग्छ । विदेशीहरूलाई एक पटक आरोहण गरेपछि पुग्छ । नेपालीहरूले एउटाले आरोहण गरेपछि सबैलाई जान मन लाग्छ ।

तपाईंको आरोहण कति वर्षसम्म जान्छ ? आराम कहिले लिने हो ? 

मैले छोड्ने भए २०२० मै छोड्थें । तर विदेशीहरूले मलाई गाइड गरिदेऊ भन्छन् । मैसँग जान्छु भन्छन् । नेपालमा पर्यटन कसरी बढाउने, नेपाललाई कसरी चिनाउने भनेर म पनि आरोहणमा लागिरहेको छु । सरकारले भने अहिलेसम्म देखेन । 

Politics has entered Mount Everest: Record-breaking climber Kami Rita Sherpaतपाईंको अबको यात्रा कता हो ?

अब म तीन महिना अमेरिकाको वासिङ्टनमा गाइड गर्न जाँदै छु । त्यहाँबाट फर्केपछि मनास्लु, त्यसपछि 

अमादब्लम जानेछु ।

तपाईंले गाइड गरेको शुल्क कसरी निर्धारण हुन्छ ?

म काठमाडौंको सेभेन समिट र फोर्टिन पिक्सको टिम लिड गर्छु । म टिमको हिसाबमा पारिश्रमिक लिन्छु । व्यक्तिअनुसार हुँदैन । एउटा टिममा १५ जनासम्म हुन्छन् । हिमाल हेरेर, सिजन हेरेर फरकफरक दर हुन्छ । ७ हजार मिटरको हिमालको बेग्लै हुन्छ । ८ हजार मिटर उचाइको हिमालको रेट फरक हुन्छ । मेरो रेट डलरमा हुन्छ ।

तपाईंको रेकर्डको पछिपछि खुम्बुकै पादावा शेर्पाले प्रतिस्पर्धा गर्दै छन् । उनी ३१ पटक सगरमाथा उक्लिए । के भन्नुहुन्छ ?

मैले प्रतिस्पर्धा गरेको छैन । प्रतिस्पर्धा गर्ने भए म यसै वर्ष दोस्रो पटक आरोहण गर्न जान सक्थें । पादावालाई प्रतिस्पर्धा लागेको हुन सक्छ । तर मलाई लागेको छैन । मैले चाहेको भए पादावालाई पछाडिको पछाडि राख्न सक्छु । 

तपाईं आफैं कम्पनी खोलेर आरोहण चलाउने बेला भएन र ? 

म ‘क्लाइन्ट’ ल्याउँछु । मेरो सम्पर्कमा आएकाहरू फोर्टिन पिक्समा सम्पर्क गराइदिन्छु । मेरो छोरा पनि फोर्टिन पिक्समा काम गर्दै छन् । म विदेशमा पनि गाइड गर्छु । 

तपाईंको अन्तिममा भनाइ केही छ ? 

नयाँ सरकारले पर्यटन मन्त्रालय बुझेको मान्छेलाई मन्त्री छान्नुपर्छ । आरोहीहरूलाई कल्याणकारी कोष स्थापना गर्नुपर्छ । हिमाल आरोहणको उद्धारमा सरकारले ध्यान दिनुपर्छ । उद्धार टिम नै गठन गर्नुपर्छ । हेलिकोप्टर रेस्क्यु उडानमा ‘पेपर वर्क’ होइन । पहिला हेलिकोप्टरलाई उडाउनुपर्छ । पछि कागजी काम गर्ने हो । लेक लागेको मान्छेलाई पहिला जोगाउने हो । सजिलो प्रक्रिया गर्नुपर्छ । सरसफाइमा जनशक्ति भएको व्यक्तिलाई सगरमाथामा मात्रै होइन, सबै हिमाल सफाइमा खटाउनुपर्छ । हिमालमा दिसा गर्दा पुब्याग प्रयोग गर्छन् । तर ल्याउन सक्दैनन् । प्रत्येक टिमलाई ड्रम दिनुपर्छ । पुब्यागमा दिसा गर्छन् र ड्रममा हेलीबाट ल्याउनुपर्छ । यो काम आरोही र कम्पनीले गर्न सक्दैनन् । त्यस्तो नियम बनाइदिनुपर्छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully