'सगरमाथामा 'क्राउडेड' बढी भयो । पोहोरको दाँजोमा मान्छे बढेका थिए । यसलाई चाहिँ अलिकति नियन्त्रण गर्नुपर्ने देखियो ।'
काठमाडौँ — प्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पालाई काठमाडौंमा शुक्रबार भव्य स्वागत गरियो । विश्वको सर्वोच्च शिखर सगरमाथा ३२औं पटक सफलतापूर्वक आरोहण गरेर आफ्नै विश्व कीर्तिमानलाई विस्तार गरेका शेर्पालाई शुक्रबार काठमाडौंमा स्वागत गर्ने क्रममा कान्तिपुरकर्मी सुरज कुँवरले गरेको संवाद :
० तपाईंको यात्रा कस्तो भयो ?
यात्रा सधैं यस्तै हो । राम्रो भयो ।
० अर्को वर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिनुहुन्छ ?
त्यो त अर्को वर्ष नै थाहा हुन्छ ।
० सगरमाथाको खबर के छ ?
पहिला आइसफलको कारण केही ढिला भएको थियो । क्याम्प २ भन्दामाथि छिटो बाटो खुलेका कारण पोहोरको तुलनामा सहज भयो ।
० यसपालि ३२औं पटकको आरोहण कस्तो रह्यो ?
यसपालि 'क्राउडेड' बढी भयो । पोहोरको दाँजोमा मान्छे बढेका थिए । यसलाई चाहिँ अलिकति नियन्त्रण गर्नुपर्ने देखियो ।
० भनेपछि दिनमा कति जाने भनेर तोक्नु पर्यो ?
नम्बर घटाउने भन्दा पनि 'लिमिट' राख्नु पर्यो ।
० तपाईं सँगसँगै रेकर्डमा पछिपछि पादवा शेर्पा हुनुहुन्छ । उहाँले आज फेरि सगरमाथा चढ्नुभयो । के भन्नुहुन्छ ?
उहाँलाई वेलकम छ । नेपालका लागि यो एकदम गौरवको कुरा हो ।
० भनेपछि तपाईं अर्को वर्ष पनि जानुहुन्छ ?
अर्को वर्ष जान्छु कि जाँदिन भन्ने कुरा अर्कै वर्षको हो । किनकि मेरो चाहना रेकर्ड राख्न हैन, नेपाललाई चिनाउन र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्नु हो ।
