संगीतमार्फत अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दै दुई नेपाली युवा

बहुभाषिक गीतलेखन, अस्तित्ववादी विषयवस्तु र अन्तर्राष्ट्रिय श्रोतामाझ पुग्ने बाटोमा नेपाली एल्बम ‘स्लिप अन द ग्रास’

वैशाख २७, २०८३

अनिश घिमिरे

Two Nepali youth stepping onto the international stage through music

What you should know

काठमाडौँ — 'बिस्तारै उठ, सहरका बत्तीहरूको पछि नदौड,' फोस्फेन्सको आउँदै गरेको गीत ‘स्लिप अन द ग्रास’ यसरी सुरु हुन्छ ।

फोस्फेन्स, नेपालका उदीयमान ब्यान्डमध्ये एक हो । अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्ने प्रयास गरिरहेको यो ब्यान्डको ‘बिस्तारै उठ, सहरका बत्तीहरूको पछि नदौड’ शीर्षकको गीत आगामी साता (अन्य १३ नयाँ गीतहरुसँगै) सार्वजनिक हुँदैछ । चार वर्षअघि देशको फितलो कर्मचारीतन्त्रप्रति प्रहार गर्दै ‘यस्तै नै होला’ म्यूजिक भिडियो चर्चित बन्यो । त्यसले गीत मात्र होइन, ब्यान्डलाई नै परिचित गराएको थियो ।

उक्त म्यूजिक भिडियोमा रमाइलो स्वभावका एक युवक फाइल बोकेर स्थानीय सरकारी कार्यालयमा कामका लागि जान्छन् । तर, त्यहाँ अल्छी सरकारी कमर्चारी भेट्छन् । जसले छिटो काम गरिदिनुको साटो पछि आउनु भन्ने संकेत गरिरहन्छन् । यसले वर्तमान नेपालको कर्मचारी प्रणालीमा हुने ढिलासुस्ती र लापरबाहीलाई प्रतिविम्ब गर्छ । 

यो गीतका शब्दहरूले सामाजिक सञ्जालमा निकै चर्चा पाए । र फोस्फेन्सलाई स्रोताबीच परिचित गराइदियो । यसै एल्बमभित्रको अर्को गीत ‘एक्लै हुँदा त झन्’ ले युवाहरूको मनमा गहिरो भावनात्मक तरंग पैदा गराइदियो । 

फोस्फेन्स स्थापनाको १०औं वर्षमा आइपुगेको छ । स्वतन्त्र रुपमा बहुभाषिक संगीत उत्पादन गर्दै आएको फोस्फेन्सले नयाँ एल्बम ‘स्लिप अन द ग्रास’ लिएर आउँदैछ । एल्बममा १४ गीत समावेश छन् । ‘पे द बिल्स’, ‘फरेभर जुन’, ‘नेभर इनफ’, ‘आइ नो’, ‘बुझ्नै नखोज्ने’लगायत छन् । गीतलाई ब्यान्डका प्रज्वल अर्याल र अभिषेक पोखरेलले सिर्जना गरेका हुन् । अर्यालको रचना अस्तित्ववाद देखिन्छ । पोख्रेलले भने विदेशी ब्यान्ड रेडियोहेडको झल्को दिने खालका गीतमा 'मेटाफोर'को प्रयोग गर्छन् । १७ वर्षको उमेरदेखि गीत लेख्न थालेका पोखरेल रेडियोहेड र बिटल्सबाट प्रभावित छन् ।Two Nepali youth stepping onto the international stage through music

यी दुईबीचको तालमेल १४ वटै गीतमा स्पष्ट देखिन्छ- चाहे ‘बुझ्नै नखोज्ने’को मृदु निर्माण होस् वा ‘नाइटमेयर’ को सशक्त सुरुआत, जुन साँचो अर्थमा भयानक सपना नभइ एउटा सुन्दर सपनाजस्तै सुनिन्छ । 

‘पे द बिल्स’ मार्क्सको बिग्रिएको समाजबाट आएको कुनै आदेशजस्तो लाग्न सक्छ । तर, यो गीत जादुमय छ । ‘ब्याक फ्रम द डेड’को गहिराइ र विम्बले तपाईंलाई चकित पार्न सक्छ । यो गीतमा कसैको सांसारिक मृत्युको कुरा गरिएको नभइ आफूले माया गरेको व्यक्ति आफूले नबुझ्ने तरिकाले बदलिँदा पर्ने पीडाबारे कुरा गरिएको छ। ‘तिमीलाई के भयो ?’ भन्ने पंक्तिले त्यो पीडा प्रतिध्वनित गर्छ भने पियानोको मधुर आवाजले आँशु नै झार्न सक्छ । 

‘एग्जिस्टेन्सियल हेज’ सुन्दा सुरुवात अंग्रेजीबाट हुन्छ तर बीचतिर फ्रेन्च भाषाको अनौठोपनले सबैलाई उत्साहित बनाउँछ, जुन नेपाली संगीतमा दुर्लभ प्रयोग हो । एल्बमबारे कुरा गर्दा अर्याल र पोखरेल अभिव्यक्तिमा स्थिर देखिन्छन् । उनीहरूको शब्दमा उत्साह र ऊर्जा मिसिएको देखिन्छ । आफ्नो कामप्रति उनीहरूमा अलिकति पनि उदासीनता छैन, बरु जीवन्त, भावुक र तीव्र छ ।

द काठमाडौं पोस्टका अनिश घिमिरेसँगको यस कुराकानीमा फोस्फेन्सका पछाडि रहेका प्रज्वल अर्याल र अभिषेक पोखरेलले नयाँ एल्बम, यसको सिर्जना प्रक्रिया र ‘स्वतन्त्र’ भएर काम गर्दा हुने फाइदा–बेफाइदाबारे चर्चा गरेका छन् ।

तपाईंहरूको यात्रा सुरु भएको १० वर्षपछि यो एल्बम आएको छ । अघिल्ला कामको तुलनामा यसलाई ‘पूर्ण’ बनाउने कुरा के हो ?

प्रज्वल: हामीले सुरुमा ‘इन्डी फोक’ ध्वनिमा प्रयोग गरेका थियौँ । पछि हामी ड्रीम पप र विभिन्न शैलीतर्फ गयौँ । यो एल्बमले हामीले वर्षौँदेखि अन्वेषण गरेका सबै कुरा एकै ठाउँमा ल्याइदिएको छ । यसले हाम्रो यात्रा झल्काउँछ-संगीतमा मात्र नभइ, भावनात्मक र दार्शनिक रूपमा पनि । 

अभिषेक: अहिले हामीले यो एल्बम पूर्ण छ भन्न सक्छौँ । तर, तीन वर्षपछि सायद फरक महसुस गर्न सक्छौँ । किनभने समयसँगै हाम्रो ध्वनि र सोच बदलिन सक्छ र सोच बदलिँदा कलात्मक दृष्टिकोण पनि बदलिन्छ । त्यसैले, यो एल्बम ‘पूर्ण’ भन्दा पनि ध्वनिका विभिन्न मेटाफोरहरुको समावेश हो भन्ने लाग्छ ।

हामीले ‘पे द बिल्स’ जस्ता गीतमार्फत् पुँजीवादजस्ता विषय छोएका छौँ र ‘स्लिप अन द ग्रास’ जस्ता गीतहरूले मानव अस्तित्वमाथि प्रश्न उठाउँछन् । यससँगै एल्बममा अस्तित्ववादी विषयवस्तु, गाढा वातावरण र 'साइ-फाइ रक'का तत्त्व पनि छन् ।

तपाईंहरूले यसलाई अन्तर्राष्ट्रिय श्रोतातर्फको सबैभन्दा स्पष्ट कदम भन्नुहुन्छ, कसरी ?

अभिषेक: हामी सधैँ अन्तर्राष्ट्रिय स्तरमा पुग्ने लक्ष्यमा थियौँ । तर, त्यहाँ पुग्ने सही माध्यम पाएका थिएनौँ । अहिले चिनिनका लागि रिल्स र टिकटक दुई अत्यन्त महत्वपूर्ण माध्यम हुन्, त्यसैले हामी त्यहाँ पोस्ट गर्न सामग्री बनाइरहेका छौँ ।

म सहमत छु, किनभने ४ वर्षअघि म जस्ता धेरै मानिसले ‘यस्तै नै होला’ पहिलोपटक टिकटकमै सुनेका थिए, त्यसपछि पूरा गीत खोज्न युट्युब पुगेका थिए । 

अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य कति महत्त्वपूर्ण छ जस्तो लाग्छ ?

अभिषेक: धेरै, हामीले हालै भारतीय कलाकार जनिष्ट जोशीसँग सहकार्य गरेका थियौँ ।

प्रज्वल: सामाजिक सञ्जालको पहुँच र सहकार्यसँगै संगीत महोत्सवहरूले पनि हामीलाई फराकिलो पहुँच दिन सक्छन् । 

अभिषेक: मलाई लाग्छ, अहिले हामीलाई चाहिएको भनेको सही श्रोता हो । यदि त्यो भेट्यौँ भने अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने हाम्रो सपना पूरा हुनेछ । त्यसैले हामी सामाजिक सञ्जालमा अझ सक्रिय हुन र अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गर्न प्रयासरत छौँ, ताकि हाम्रो दायरा बढोस् ।

तपाईंहरू एक दशकदेखि पूर्ण रूपमा स्वतन्त्र रहनुभएको छ । त्यो स्वतन्त्रताले के दियो र के खोस्यो ?

प्रज्वल: सबैभन्दा ठूलो फाइदा स्वतन्त्रता हो । हामी व्यावसायिक दबाब वा ट्रेन्डको चिन्ता नगरी आफूले चाहेको संगीत बनाउन सक्छौँ । मानौँ, हामीसँग खाली क्यानभास छ र त्यसमा जे मन लाग्यो त्यही कोर्न सक्छौँ । तर, त्यही समयमा स्वतन्त्रतासँगै सीमितताहरू पनि आउँछन् । ठूला कलाकारलाई मार्केटिङ टोली, उद्योगको साथ हुन्छ । र, ठूला प्लेटफर्म उनीहरुले पाउँछन् । अन्डरग्राउन्ड कलाकारका रूपमा हामीले रेकर्डिङदेखि प्रचारसम्म सबै कुरा आफैँ व्यवस्थापन गर्नुपरेको छ । गाह्रो छ, तर यसले संगीतप्रति इमानदार बनाइदिन्छ ।

नयाँ एल्बमबारे कुरा गर्दा, के यसको पछाडि कुनै साझा विचार थियो वा यो जीवनका विभिन्न चरणका क्षणहरूको संग्रहजस्तो हो ?

प्रज्वल: एल्बम आत्मविश्लेषणात्मक र व्यक्तिगत छ । धेरै गीतहरूले अस्तित्व, पुँजीवाद, पहिचान र आधुनिक जीवनमा अर्थको खोजी जस्ता विषयको खोजी गर्छन् । 

अभिषेक: ठ्याक्कै । एल्बमभरि पुँजीवादमाथि प्रश्न उठाउने भावना छ-समाजले बनाएका सिँढीहरू चढ्ने दबाब पनि छ । अरू सबैले गरिरहेको कुरा आँखा चिम्लेर हामीलाई पछ्याउनु छैन । यो मन पिन पर्दैन । ‘आइ नो’ जस्ता गीतहरू आफूलाई स्वीकार गर्ने र आफू वास्तवमा को हो भनेर बुझाउने किसिमका छन् ।

‘स्लिप अन द ग्रास’ र ‘पे द बिल्स’ दुई विपरीत ध्रुवका देखिन्छन् । यो विरोधाभास जानाजानी राखिएको हो ?

अभिषेक: हो, पूर्ण रूपमा जानाजानी । ‘स्लिप अन द ग्रास’ र ‘पे द बिल्स’ले धेरै फरक जीवनशैली र मानसिकता प्रतिनिधित्व गर्छन् । एउटा गीत स्वतन्त्रता र सरलतातर्फ झुक्छ भने अर्कोले बाँच्नका लागि आउने दबाब, अव्यवस्था र डिजिटल उपभोगप्रतिको हाम्रो नयाँ भोकलाई झल्काउँछ । अहिले हामी अत्यधिक सूचना उपभोग गर्छौँ । मानिसहरूले ट्रेन्ड पछ्याउँछन्-सबैले सुन्ने गीत, हेर्ने फिल्म हेर्छन् । ‘स्लिप अन द ग्रास’ को सन्देश भनेको आफ्नै पहिचान निर्माण गर्नु र सजिलै आत्मा बेचेर नहिँड्नु हो ।

प्रज्वल: ‘स्लिप अन द ग्रास’ को कुरा गर्दा, मलाई लाग्छ मैले अहिलेसम्म लेखेको सबैभन्दा राम्रो गीत यही हो । यसले समय पनि धेरै लियो, म र अभिले दुई वर्षसम्म यही गीतमा काम गर्‍यौँ ।

विरोधाभासकै कुरा गर्दा तपाईंहरू सिर्जनात्मक मतभेद कसरी समाधान गर्नुहुन्छ ?

अभिषेक: हामी सिर्जनात्मक रूपमा एकअर्कामाथि विश्वास गर्छौँ । हामीले लामो समयदेखि संगीत बनाइरहेका छौँ । प्रायः कसैले एउटा विचार वा गीत ल्याउँछ अनि मिलेर त्यसलाई आकार दिन्छौँ । एकअर्काको क्षमता बुझ्छौँ, त्यसैले प्रक्रिया टकरावपूर्णभन्दा पनि स्वाभाविक लाग्छ ।

तपाईंहरू अंग्रेजी र नेपाली दुवै भाषामा लेख्नुहुन्छ तर अधिकांश गीत अंग्रेजीमा छन् । अंग्रेजी किन प्रमुख भाषा बन्यो ? र यदि कसैले भाषाका कारण तपाईंहरूको संगीत कम नेपाली सुनिन्छ भन्यो भने तपाईंको प्रतिक्रिया के हुन्छ ?

अभिषेक: हामीले अंग्रेजीमा लेख्नुको मुख्य कारण हामी नेपालीमा लेख्न सक्दैनौँ (हाँसो) । यो स्वाभाविक रूपमा हुन्छ । हामी बसेर कुन भाषामा लेख्ने भनेर निर्णय गर्दैनौँ । ‘यस्तै नै होला’ र ‘एक्लै हुँदा त झन्’ नेपालीमा छन् र ती स्वाभाविक रूपमा आएका थिए । नयाँ एल्बममा पनि तीनवटा नेपाली गीत छन् ।

प्रज्वल : साँच्चै भन्नुपर्दा, हामीलाई भाषाले मात्रै कुनै संगीतलाई नेपाली हो/होइन भन्ने कुरा निर्धारण गर्छ जस्तो लाग्दैन । नेपालबाट आएका हौँ, हाम्रो अनुभव यही ठाउँले आकार दिएको छ र त्यो स्वाभाविक रूपमा हाम्रो कलामा झल्किन्छ ।

नयाँ एल्बमले तपाईंहरू को हुनुहुन्छ र कहाँबाट आउनुभएको हो भन्ने सन्देश दिन्छ त ?

अभिषेक: खैर, हामी नेपालबाट हौँ (हाँसो) । तर भूगोलभन्दा पर,  यो एल्बमले कलाकार र व्यक्तिका रूपमा हामी को हौँ भन्ने गहिरो खोजझैँ महसुस होस् भन्ने चाहन्छौँ । यसको धेरै सन्देश भीड वा सफलताको सतही धारणालाई आँखा चिम्लेर पछ्याउन नहुने भन्नेमा केन्द्रित छ ।

प्रज्वल: हामी मानिसहरूले बाहिरी दुनियाँबाट निरन्तर विचलित हुनुभन्दा आफ्नोभित्र हेर्न, आफूलाई खोज्न सिकून् भन्ने चाहन्छौं । सायद हाम्रो कामको केन्द्र त्यही हो । यदि यो एल्बमले कसैलाई आत्मचिन्तन गर्न, आफूलाई खोज्न र व्यक्तिगत पहिचान जोगाइराख्न प्रेरित गर्न सक्छ भने हामी आफूलाई सफल ठान्नेछौं ।

अनिश घिमिरे काठमाडौं पाेष्टमा कला र जीवनशैली विषयमा कलम चलाउँछन् ।

Link copied successfully