काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न: ओली र लेखकमाथि कसरी अनुसन्धान भइरहेको छ ?

'गौरीबहादुर कार्कीज्यूको जुन आयोग छ, त्यसले दिएको सुझाव र सिफारिसलाई नै अनुसन्धानका लागि पहिलो आधार बनाएका छौं ।'- काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा

चैत्र १७, २०८२

कान्तिपुर संवाददाता

Question to Kathmandu Police Chief: How is the investigation being conducted against Oli and the writer?

What you should know

काठमाडौं — पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अहिले अनुसन्धान भइरहेको छ । प्रतिवेदनले मुलुकी अपराध संहिताको दफा १८१ र १८२ अनुसार ओली, लेखक र खापुङलाई कारबाहीको सिफारिस गरेको थियो ।

दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ र १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । दफा १८१ अनुसारको कसुर पुष्टि भए ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ भने दफा १८२ मा २ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

ओली, लेखक र खापुङबाहेक तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई दफा १८२ अनुसार हेलचक्र्याइँपूर्ण काम गरी कसैको ज्यान मार्न नहुने कसुरमा कारबाही गर्न आयोगले सिफारिस थियो ।

तर, प्रहरीले सुरक्षा नेतृत्वलाई चाहिँ कारबाही गरेको छैन । मन्त्रिपरिषद् बैठकले सुरक्षा नेतृत्वको सन्दर्भमा थप अध्ययन गर्नुपर्ने निर्णय गरेपछि त्यसतर्फ अनुसन्धान नभएको प्रहरीको भनाइ छ । यही सन्दर्भमा काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापासँग गरिएको कुराकानीः

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकबारे तपाईंहरूले कसरी अनुसन्धान गरिरहनु भएको छ ?

यस सम्बन्धमा गौरीबहादुर कार्कीज्यूको जुन आयोग छ, त्यसले दिएको सुझाव र सिफारिसलाई नै अनुसन्धानका लागि पहिलो आधार बनाएका छौं । अर्कोचाहिँ जेन-जी आन्दोलनपछि मैले जब काठमाडौं प्रहरी परिसरको नेतृत्व लिएँ, त्यसपछि घटनास्थलको मुचुल्का गरिएका थिए ।

पहिलो साता निकै कठिन परिस्थिति पनि थियो, त्यसपछि गरिएको मुचुल्का अनि अरु प्रमाणहरूको अध्ययन हुनेछ, अनुसन्धान हुनेछ ।अर्कोचाहिँ उहाँहरुको बयान र अरु प्रमाणका आधारमा केन्द्रित भएर अनुसन्धान हुन्छ । छानबिन समितिलाई आधार बनाएर थप प्रमाण खोजी हुन्छ भन्ने बुझ्दा पनि हुन्छ ।

उहाँहरुको बयानचाहिँ कहिलेबाट सुरु हुन्छ ? कसरी हुन्छ ? के–के सोधिन्छ ?

अनुसन्धानका लागि बयान एउटा अनिवार्य विषय हो । त्यसका लागि तयारी गरिरहेका छौं ।

अनुसन्धान अधिकृतहरुले के–के सोध्ने भन्ने तयारी गरिरहनु भएको छ । हामीले फेला पारेका प्रमाणका सन्दर्भका कुराहरु सोधिनेछन्, त्यसबेलाको अवस्थाको बारेमा सोधिनेछन् ।

खासगरी बयान लिने कुरा सरकारी वकिलसँगसमेत जाडिएको कुरा हो । सम्भवतः बयान चाहिँ औपचारिक रुपमा भोलि (बुधबार) देखि हुन सक्छ । सबै कुरा प्रक्रियामा गइसकेको छ ।

म्याद थप गर्ने बेला पूर्वप्रधानमन्त्री अस्पतालमा भर्ना हुनु भएकाले अनलाइनबाट बयान भयो, अबको बयान चाहिँ कसरी लिने तयारी छ ?

त्यसका लागि हामीले सरकार वकिलसँग पनि समन्वय गर्नुपर्छ । हस्पिटलसँग पनि समन्वय हुन्छ । मुख्य गरी बयान लिनेको कुराको नेतृत्व सरकारी वकिलले गर्ने भएकाले त्यसको परामर्श त्यहीँ हुन्छ ।

कार्की आयोगले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीबाहेक अरुको हकमा छानबिन गर्न भनेको थियो, उनीहरुको हकमा के तयारी छ ?

प्रतिवेदन कार्यान्वयनकै सिलसिलामा आज (मंगलबार) काठमाडौंको पूर्वसीडीओ छविलाल रिजाल पक्राउ पर्नुभएको छ । त्यसैले यो विषयमा अनुसन्धान भइरहेकै छ । त्यसबाहेक अरु कतिपयको सन्दर्भमा हामीलाई प्राप्त निर्देशन केही छैन ।

उहाँहरुमाथि कुन मुद्दामा कारबाही प्रक्रिया अघि बढ्छ ?

जाँचबुझ आयोगले मुलुकी अपराध संहिताको दफा नै उल्लेख गरेर सिफारिस गरेको छ । त्यसले गर्दा हामीलाई अनुसन्धान अघि बढाउन सहज पनि भएको छ । त्यही अनुसारको कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप पनि गरिसकेको अवस्था छ । थप कुरा कानुनी रुपमा अघि बढ्ने भन्ने विषयमा परामर्श गरिररहेका छौं । 

कान्तिपुर

Link copied successfully