नयाँ पुस्ताको राष्ट्रिय राजनीतिमा एकदमै ठूलो, जबरजस्त उदय भएको छ र त्यसमा मेरो आफ्नो पनि भूमिका भएको पाउँदा स्वाभाविक रूपमा अत्यन्त हर्षित छु ।
काठमाडौँ — लामो समय शिक्षा क्षेत्र सुधारमा काम गरेका शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर–६ बाट दोस्रो पटक विजयी भएका छन् । त्यो पनि निकै ठूलो मतान्तरले । विजयपछिको उत्साहभावमा मतगणनास्थलमा भेटिएका खनालसँग कान्तिपुर संवाददाता विवेक पोख्रेलले गरेको कुराकानीको सम्पादित अंश :
बालेन्द्र र रवि जोड्ने पुलको काम पनि तपाईंले गर्नुभयो । अहिले यो विजयको माला र हातमा प्रमाणपत्र लिइरहँदा कस्तो अनुभूति भएको छ ?
स्वाभाविक रूपमा अत्यन्त उत्साहित छु । जुन ढंगले मत आयो, त्यो धेरैका लागि अपेक्षित थिएन होला । तर हामीले पछिल्लो समय झन्डै डेढ–दुई महिना घरदैलो गर्दै गर्दा आम जनताले जसरी हामीलाई स्वागत गरिरहनु भएको थियो, जसरी हामीलाई हौस्याइरहनु भएको थियो र जेन–जी पुस्ताका भाइबहिनीहरूले हामीलाई दिइरहेको हौसला तथा विदेशमा भएका नेपालीहरूबाट आएका फोन कलहरूको प्रभाव यसमा एकदम प्रमुख रूपमा देखिन्छ । त्यो अर्थमा नयाँ पुस्ताको राष्ट्रिय राजनीतिमा एकदमै ठूलो, जबरजस्त उदय भएको छ र त्यसमा मेरो आफ्नो पनि भूमिका भएको पाउँदा स्वाभाविक रूपमा अत्यन्त हर्षित छु ।
विपक्षी दल रुख चुनाव चिह्नले जम्मा ६ हजार ६ सय ४७ मत प्राप्त गरेको छ । तपाईंको मतको अंकगणित २७ हजार ७ सय १९ छ । झण्डै २० हजारको यो मतान्तरलाई कसरी हेर्नुभएको छ ? यो मत आक्रोशको मत हो, विश्वासको मत हो, आशाको मत हो वा के को मत हो ?
यो पटक विश्वास र आशाको मत हो । अघिल्लो पटक धेरै हदसम्म आक्रोशको मत भन्न मिल्थ्यो । हामी नयाँ थियौं । म यही क्षेत्रबाट निर्वाचित हुँदै गर्दा पनि झन्डै ४० प्रतिशतको मतान्तरले विजयी भएको थिएँ । तर यो पटक हामी साह्रै नयाँ पनि होइनौं । हामी २१ जना संसदमा पुग्यौं । हामीले जसरी संसदमा हाम्रा तर्क र प्रस्तुतिहरू राख्यौं, सरकारको छोटो कार्यकालमा पनि हामी रह्यौं । हामीले सरकारमा हुँदा गरेका समस्या समाधानका प्रयासहरू र संसदमा गरेका प्रस्तुतिहरूले प्रभाव पारेका छन् । साथै काठमाडौंका तत्कालीन मेयर, हाम्रा वरिष्ठ नेता अहिले झापामा चुनावको विजयक्रममा हुनुहुन्छ भन्ने हामी अपेक्षा गरिरहेका छौं । उहाँले काठमाडौं महानगरमा गर्नुभएको कामको समग्रतामा एक ढंगले परीक्षित युवा नेतृत्वप्रतिको आशाको रूपमा मैले यसलाई हेरेको छु ।
मतपरिणाम सार्वजनिक हुँदै गर्दा केहीले यसलाई भेलबाढी पनि भनिरहेका छन् । यसमा तपाईंको टिप्पणी ?
यस्ता कोठे विश्लेषणहरूको अर्थ रहँदैन । ४५ दिन अघिसम्म यो निर्वाचन नै हुँदैन भन्ने ठूलो तप्का थियो नेपाली समाजमा । केही वरिष्ठ नेताहरूले अघिल्लो हप्तासम्म पनि यही भन्दै थिए । शान्तिपूर्ण निर्वाचन त झन् हुँदैन भन्नेहरू पनि थिए । कुनै पनि दलको बहुमत आउन सक्ने संविधान नै छैन भन्ने विश्लेषण पनि थिए । यी सबै कोठे विश्लेषणहरूबाट बाहिर निस्केर आम जनताले स्पष्ट ढंगले परिवर्तन, युवा नेतृत्व, सुशासन र समृद्धिको पक्षमा अभिमत जाहेर गर्नुभएको छ ।
यो कुनै अत्यन्त नयाँ दल पनि होइन । हामी तीन वर्षदेखि कुनै न कुनै ढंगले परिचित छौं । कार्यकारी भूमिकामा हामीले प्रस्ताव गरेका प्रधानमन्त्री हाम्रा वरिष्ठ नेता हुनुहुन्छ । साथै हामीहरू पनि अघिल्लो कार्यकाल संसदमा थियौं । संसदमा हामीले एकदमै राम्रो प्रस्तुति गरेका थियौं भनेर धेरै आम जनताले स्याब्बासी दिनुभएको छ । त्यो अर्थमा हामीसँग नतिजा दिनसक्ने एउटा नेतृत्व छ भन्ने हामीलाई लाग्छ ।
अबको मन्त्रिमण्डलमा तपाईं देखिनुहुन्छ कि हुँदैन भन्ने पनि धेरैको जिज्ञासा छ ?
स्वाभाविक रूपमा जतिबेला आम निर्वाचनको पूर्ण परिणाम आउँछ, त्यसपछि हामीसँग एउटा चुनौती हुन्छ । त्यो भनेको हामीले छोटो समयमा डेलिभरी दिनुपर्ने छ । त्यसमा हामी स्पष्ट रूपमा सजग छौं र त्यो डेलिभरी दिन सक्ने, नेपालमा आशा जगाउन सक्ने किसिमको नेतृत्व नै मन्त्रिमण्डलमा जान्छ ।
तपाईं जानुहुन्छ कि हुँदैन ?
त्यो पार्टीले, पार्टी नेतृत्वले पछि गर्ने निर्णय हो । म जुन भूमिकामा भए पनि—संसदीय भूमिकामा वा कार्यकारी भूमिकामा—आफ्नो क्षमतालाई आफ्नो निर्वाचन क्षेत्र र समग्र देशको हितका लागि निरन्तर प्रयोग गर्नेछु ।
मतदातालाई के भन्नुहुन्छ ?
सम्पूर्ण क्षेत्र नम्बर ६ का मतदाता तथा देशैभरिका मतदातालाई, जसरी यहाँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ऐतिहासिक र अभूतपूर्व नतिजा दिनुभएको छ, त्यसले हामीमा धेरै जिम्मेवारीबोध थपेको छ । यहाँहरूले गर्नुभएको अपेक्षाअनुसार हामी सुशासन र समृद्धिको पक्षमा काम गरिरहनेछौं ।
धेरैले हामीलाई विदेशमा रहेका आफ्ना छोराछोरी पनि देशमा फर्किन सक्ने नेपाल बनाउनु होला भन्नुभएको छ । हामी त्यही अपेक्षा पूरा गर्न निरन्तर लाग्नेछौं । स्वाभाविक रूपमा आजको भोलि रातारात सबै परिवर्तन हुँदैन, तर छोटो समयमा १०० दिनभित्रै केही न केही सकारात्मक नतिजा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारबाट यहाँहरूले देख्न पाउनु हुनेछ ।
सम्बन्धित समाचार
