यथाशीघ्र सत्ता हस्तान्तरण गर्न चाहन्छु : प्रधानमन्त्री

मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनु हुँदैन ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

I want to hand over power as soon as possible: Prime Minister

काठमाडौँ — तपाईंले सरकारको नेतृत्व सम्हालेर चुनावको घोषणा गर्दा तोकिएकै मितिमा चुनाव हुन्छ भन्नेमा संशय थियो । तर, कसरी सम्भव भयो ?

हामीलाई काम गर्न सक्छौं भन्ने आत्मविश्वास थियो । त्यसैले चुनौती भए पनि आफ्नो जिम्मेवारी अनुरूपको काम गर्दै गयौं । हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा–अवरोध नआएको होइन । तर त्यसबाट विचलित भएनौं । निःस्वार्थ र निष्ठापूर्वक काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । त्यही भएर जति अवरोध भए पनि हामीले बाटो छाडेनौं ।

तोकिएकै मितिमा चुनाव सम्पन्न हुनुमा क–कसको भूमिका सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ ?

ठूलो रक्तपातको पृष्ठभूमिमा जेन–जीहरूको मागबमोजिम यो सरकार बन्यो । सुरुमा सबै पक्षसँग संवाद गर्ने अवस्था पनि थिएन । तर, बिस्तारै सबै पक्षलाई विश्वासमा लिँदै संवाद र सौहार्दता बढाउँदै गयौं । सबै पक्ष एक ठाउँमा आउनुको विकल्प पनि थिएन । त्यो अवस्थामा लोकतान्त्रिक निकासको माध्यम चुनाव नै हो भन्ने पछि सबैलाई बोध भयो ।

प्राप्त जिम्मेवारी पूरा गर्न सकेकामा व्यक्तिगत रूपमा म खुसी छु । तर म एक्लैले यो सम्भव भएको होइन । सिंगो मन्त्रिपरिषद्को मिहिनेत छ । निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ । खासगरी हाम्रो आह्वान स्वीकार गरेर निर्वाचनमा सहभागी हुने नेपाली जनताले नै यसलाई सफल बनाउनुभएको हो । त्यसैले उहाँहरू सबैलाई धन्यवाद छ ।

त्यस्तै सहिद परिवार र घाइते योद्धाहरूको उच्च संयम र समझदारीका कारण पनि चुनाव समयमै सम्पन्न हुन सम्भव भएको हो । यो भनेको लोकतन्त्र, स्थायित्व, शान्ति र देशको भविष्यप्रति उहाँहरूको चिन्ता र समर्पण पनि हो । उहाँहरू सबैलाई कोटीकोटी नमन । 

समयमै चुनाव सम्पन्न गर्दा तपाईंले कहींकतै सम्झौता गर्नुभयो भन्ने पनि छ । जस्तो कि, कार्की आयोगको प्रतिवेदन चुनावअघि सार्वजनिक भएन । के भन्नुहुन्छ ?

आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ । मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनु हुँदैन । यो आयोगको मात्र होइन, अरू पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौं र सार्वजनिक गरिदिन्छौं । ताकि जनताले थाहा पाऊन् ।

चुनावपछिको सरकारको प्राथमिकता के हुनुपर्छ ?

जेन–जी आन्दोलनमा उठेका एक–एक आवाजको सम्बोधन हुनुपर्छ । यहाँ भ्रष्टाचार, नातावाद, पक्षपात नहोस् । आफ्नो देशमा अन्याय र विभेदको महसुस गरेर कुनै पनि युवा विदेश जानु नपरोस् । गएकाहरू पनि विदेशबाट लास भएर आउनु नपरोस् । आफ्नै देशमा गरिखाने वातावरण होस् ।

नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि तपाईंले सक्नुपर्ने केही काम छन् ?

हामी नयाँ जनादेशप्राप्त सरकारलाई यथाशीघ्र सत्ता हस्तान्तरण गर्न चाहन्छु ।

कान्तिपुर

Link copied successfully