संगठनात्मक शक्ति र जनताको विश्वासले हामी अगाडि छौं : विष्णु पौडेल

'मलाई कामका प्रसंगमा जोडेर मेरा प्रतिस्पर्धीले पनि आलोचना गर्नुभएको छैन ।'

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

We are ahead with organizational strength and people's trust: Bishnu Poudel

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा देशभरका उम्मेदवार मतदाताको घरदैलोमा धाइरहेका छन् । छुटेका मतलाता सम्झिने र गएर हात जोड्दै 'भोट दिनुहोला है' भन्ने व्यस्तताले छोपेको छ । यस्तो अवस्था हामीले रुपन्देहीमा पनि पायौं ।

यहाँका निर्वाचन क्षेत्रका उम्मेदवारहरू बिहान ५ बजेदेखि राति १२ बजेसम्म मतदाताको घरदैलो पुग्ने कार्यक्रम रहेको भनिरहेका थिए । यस्तै हतारोमा रुपन्देही-२ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पनि थिए । एमालेका उपाध्यक्ष, पूर्वअर्थमन्त्री, पटक-पटक सांसद बनेका उनलाई मतदाताकहाँ जाने चटारो अवस्थामा हामीले बुटवलमा भेट्यौं । निर्वाचनको माहोल, मतदाताको आशा र उम्मेदवारले दिने आश्वासन, जितका लागि देखिएका आधार तथा चुनावसम्बन्धी धारणाबारे पौडेलसँग कान्तिपुरका जयसिंह महराले गरेको कुराकानीको सम्पादित अंश :

निर्वाचन प्रचारप्रसार अन्तिम चरणमा छ, चुनावलाई लिएर मतदातामा कस्तो उत्साह छ ?

प्रचारप्रसार धेरै उत्साहजनक छ । एक ढंगले भन्दा निर्वाचन एउटा औपचारिक प्रक्रिया पूरा गर्न मात्रै बाँकी छ । 

त्यसको अर्थ तपाईं निर्वाचित हुन्छु भन्ने विश्वास हो कि निर्वाचनको औपचारिकताको कुरा गर्नुभएको ?

यो निर्वाचनमा रुपन्देही-२ का मतदाताले मलाई विगतका रेकर्ड ब्रेक गर्ने गरी भारी मतदान गरेर विजयी बनाउनुहुन्छ ।

यो क्षेत्रमा त्यस्तो के छ र तपाईं चुनाव पहिल्यै जितको दाबी गर्दै हुनुहुन्छ ? 

मैले दाबी गरेको होइन । यो जनताको, यहाँका मतदाताको मनस्थिति मैले पढ्दाखेरि त्यही पाउँछु । उहाँहरूले मैले गरेका काम  देख्नुभएको छ । कामको मूल्यांकन गर्नुभएको छ । काम गर्ने, काम गरेको मान्छे, काम गर्न सक्ने मान्छे हो भन्ने उहाँहरूको विश्वास छ । यसपटकको निर्वाचनमा एउटा नयाँपन के महसुस गरेँ भने मलाई कामका प्रसंगमा जोडेर मेरा प्रतिस्पर्धीले पनि आलोचना गर्नुभएको छैन । 'काम गर्न नसक्ने मान्छे हो' भन्नुभएको छैन । यो रुपन्देही जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रको विकासका उल्लेखनीय काम मैले नै गरेको भन्नुभएको छ । सँगसँगै हामीले यो जिल्लालाई, यो क्षेत्रलाई जहाँ पुर्‍याउन चाहेका छौं, जुन उचाइमा पुर्‍याउन चाहेका छौं त्यसका लागि पनि भरोसा र विश्वास छ । 

यो निर्वाचन क्षेत्रमा विगतका चुनावमा र यसपटकका चुनावमा जनताले तपाईंमाथि गर्ने प्रश्न र राख्ने अपेक्षा के छन्  ? 

निर्वाचनमा मैले प्रश्नको सामना गर्नुपरेको छैन । जनताले नै 'तिमीले राम्रो काम गरेको हो, अझै राम्रो काम गर्नुपर्छ' भनिरहेको अवस्था छ । विश्वास दिन्छौं भनिरहनुभएको छ । अझ राम्रो काम गर्नुपर्छ भन्ने कोणबाट सुझावहरू प्राप्त भइरहेका छन् । 

तपाईंको निर्वाचन क्षेत्रमा कांग्रेस, नेकपा, रास्वपाका नयाँ उम्मेदवार हुनुहुन्छ, तपाईं मात्रै दोहोरिनुभएको छ । नयाँ प्रतिस्पर्धीबारे तपाईंको धारणा के छ ?

निर्वाचन भनेको फ्रेस इलेक्सन, फ्रेस कम्पिटिसनमा मतदाताले फ्रेस डिसिजन गर्नुहुन्छ । यो निर्वाचन क्षेत्रका मतदाताको रिडिङ के छ भने विष्णु पौडेल स्वयं नयाँ हो । किनभने म नयाँ ढंगले सोचिरहेको हुन्छु, नयाँ ढंगले काम गरिरहेको हुन्छु, नयाँ भिजन ल्याएका हुन्छौं । यसपटक जे-यस्ता काम गरेका छौं, अर्कोपछि अर्को नयाँ काम गर्दागर्दै हामीले यो ठाउँलाई देशकै पूर्वाधार विकासको मानकका रूपमा विकास गरेका छौं । मानवीय विकासको पनि चर्चाको विषय बनाएका छौं । त्यसो भएको हुनाले नवीनता र नयाँपन विष्णु पौडेलको नेतृत्वबाट अपेक्षा पूरा हुन्छ भन्ने मतदाताहरूको विश्वास छ । 

यो निर्वाचनमा मतदातामाझ के प्रतिबद्धता जनाएर भोट मागिरहनुभएको छ ?

मैले पूर्वाधार विकासका क्षेत्रमा तीनवटा कुरा भनेको छु । हामीले राष्ट्रिय गौरव, राष्ट्रिय प्राथमिकता र राष्ट्रिय महत्वका निकै ठूला आयोजना सम्पन्न गरेका छौं र केही प्रक्रियामा छन् । त्यसो हुनाले सम्पूर्ण आयोजनाको प्रभावकारी सञ्चालन र व्यवस्थापन गर्ने । निर्माणाधीन ठूला आयोजना र अरू आयोजना सम्पन्न गर्ने । त्यहीँ 'गेम चेन्जर' आयोजना यो क्षेत्रमा पर्छन् । पूर्वाधारका दृष्टिकोणले देशको सर्वाधिक विकसित जिल्ला यो छ । दोस्रो, मैले शिक्षा, स्वास्थ्य, उत्पादनको केन्द्रसँगै रोजगारी र स्वरोजगारीका अवसर ठूलो मात्रामा विकास गर्ने, पर्यटन र उद्योग चलाउने कार्यक्रम ल्याउने छौं । तेस्रोमा सेवा उद्यमको विकास गर्ने पनि योजना छ । 

यो निर्वाचन क्षेत्रका सुकुम्बासीको लालपुर्जाको समस्या दशकौंदेखि यथावत् छ भने अर्कोतिर नदी कटानको समस्या देखियो । यी समस्याको समाधानबारे के योजना छन् ?

सुकुम्बासी समस्या समाधानका निम्ति हामीले कानुन संशोधन गरेर भूमि आयोग गठन भयो । भूमि आयोगले काम सुरु गर्‍यो । यो जिल्लाका कुरा गर्नुहुन्छ भने यसबीचमा २० देखि २५ हजारसम्मको नाम संकलन भएको थियो । यसका लागि म आफै उपस्थित भएर काम गरेको थिएँ । सरकार परिवर्तन भएर भदौ २४ पछि अवस्था आयो । यो सरकारले सबै भूमि आयोग विघटन गरिदियो । भूमि आयोग विघटन भएपछि केही काम भएन । अहिले भूमि आयोग सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ । म के विश्वास गर्छु भने अब अन्तिम पटकका लागि र नदोहोरिने गरेर काम सम्पन्न गर्नुपर्नेछ । यो काम निश्चित समयभित्र सम्पन्न हुने स्थितिमा आइपुगेको छ । सुकुम्बासीको समस्यालाई स्थायी रुपमा समाधान गर्न सकिन्छ । मेरो निर्वाचन क्षेत्र र यो जिल्लाको कुरा गर्दा एक वर्षमा यो काम सकिन्छ भन्ने आँकलन गरेका छौं । 

We are ahead with organizational strength and people's trust: Bishnu Poudel

जहाँसम्म नदी कटानको कुरा गर्नुभयो, नदी कटानका बारेमा हामीले एउटा विशिष्ट ढंगले यसको मोडालिटी बारेमा सोचिरहेका छौं । यहाँ तिनाउलगायत तीनवटा नदीमा पक्की वालबाट बस्तीको सुरक्षा गर्ने योजना छ । त्यसका निम्ति धमाधम काम भइरहेको छ । यसबीचमा पनि बस्तीको सुरक्षाका निम्ति बलियो संरचना बनाउने योजना छ । 

यो चुनावमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तपाईं, महासचिव शंकर पोखरेल लगायतका शीर्ष नेता आफ्नो निर्वाचन क्षेत्रबाट बाहिरै निस्किनुभएन । किन आआफ्नो क्षेत्रमै सीमित बन्नुभएको ?

हाम्रो पार्टीमा अनगन्ती नेता हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र सम्हाल्न सक्ने र सफलता ल्याउन सक्ने क्षमताका नेताहरू हुनुहुन्छ । त्यसैले जित्नका लागि सघाउनुपर्ने आवश्यकता छैन । अर्कोतिर, अहिले हामीले प्रचारको अलिकति मौलिक तरिका पनि अवलम्बन गरेका छौं । खासगरी सम्बन्धित उम्मेदवार र त्यो निर्वाचनका क्षेत्रका पार्टीका नेताहरू जनतासँग प्रत्यक्ष संवादमा जाने, जनताका सुझाव र आलोचना तथा अपेक्षा सुन्ने र सम्बोधन गर्ने ढाँचामा प्रचार गर्दा सही हुन्छ भन्ने हिसाबले त्यो गरेका हौं । 

एमालेका उम्मेदवारमाथि महाधिवेशनबाट पनि पुरानै नेतृत्व ल्याएको भन्ने दबाब कत्तिको छ ?

आ-आफ्नो कोणका सुझाव त भई नै हाल्छन् । लोकतन्त्रमा सुझाव र टिप्पणी आइरहन्छन् । 

यो चुनावपछि एमालेले कति सिट जित्ने आँकलन गर्नुभएको छ ?

मैले समग्र परिस्थितिको सूक्ष्म विश्लेषण गर्न भ्याएको छैन । मसँग जति सूचना छन्, त्यसका आधारमा भन्दा हामी कम्तीमा पनि पहिलो पार्टी बन्छौं । यो भन्नुको आधार हाम्रो संगठनात्मक शक्ति र जनताले हामीलाई गर्ने विश्वास हो । एमालेको संगठन एकताबद्ध र क्रियाशील रहेको छ ।

यसपटकको निर्वाचनमा 'नयाँ दल'को ह्वीम चलिरहेको छ भन्छन्, तपाईंको निर्वाचन क्षेत्रमा त्यसको प्रभाव कस्तो छ ?

‍लोकतन्त्रमा सबैले दर्ता गर्न पाउने, चुनाव लड्न पाउने, जित्न पाउने, जितेको खण्डमा देशको सेवा गर्न पाउँछन् । हामीले आन्दोलनको बलमा यो व्यवस्था गरेका हौं । त्यसैले नयाँ दलहरू पनि प्रतिस्पर्धामा छन्, पुराना दलहरू पनि प्रतिस्पर्धामा छन् । यो स्वाभाविक हो ।  

कान्तिपुर

Link copied successfully