'अब नेपाली कांग्रेस पनि पुरानो पार्टी होइन । सुधारिएको र बदलिएको कांग्रेस पार्टी हो । विचार बदलिएको छ । नेतृत्व बदलिएको छ । ऊर्जा भरिएको पार्टी भएको छ । हामी त्यसका खम्बा बनेर उभिएका छौं ।'
What you should know
बुटवल — रूपन्देही २ मा यसपटक कांग्रेसले बलियो उम्मेदवार उठाएको चर्चा यहाँका मतदातामा छ । २०५४ सालदेखि यहाँ कांग्रेसले विजयी हासिल गर्न सकेको छैन । त्यसैले पनि फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा निरन्तरतामा क्रमभंगता हुने अपेक्षा कांग्रेसका नेता–कार्यकर्ता र समर्थकको मुखबाट सुनिन्छ । यो निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल सफल उद्योगी र व्यवसायी हुन् । उनले यहाँबाट निर्वाचित भएपछि रोजगारी उत्पादन, उद्योग र रोजगार मैत्री नीति र कानुन निर्माणसँगै सांसदको रूपमा प्राप्त हुने सेवा सुविधा विपन्न समुदायका बालबालिकाको शिक्षामा लगाउने घोषणा गरेका छन् । चुनावी प्रचारप्रसार, मतदाताका माग र उम्मेदवारका प्रतिबद्धताबारे कांग्रेसबाट रूपन्देही–२ का उम्मेदवार पौडेलसँग कान्तिपुरका लागि जयसिंह महरा र घनश्याम गौतमले गरेको कुराकानीको सम्पादित अंश :
उम्मेदवारका रूपमा तपाईंले भोट माग्ने समय आज राति १२ बजेसँगै सकिन लागेको छ । चुनाव प्रचारको यो अवस्थासम्म तपाईंले मतदातासँग के भन्नुभयो र कसरी भोट माग्नुभयो ?
अब घरदैलोको आज अन्तिम चरणमा हामी पुगेका छौं । आजै पनि तिलोत्तमा नगरपालिका–४ र ११ नम्बर वडाको घरदैलो कार्यक्रम गर्दैछौं । खास गरेर यहाँका समस्या भनेको अव्यवस्थित बसोबासीको छ । यहाँ विभिन्न खालका विकासका कामहरू स्वास्थ्य, शिक्षा क्षेत्र, पर्यटन क्षेत्र उद्योग क्षेत्र लगायत क्षेत्रहरूको काम गर्नु पर्ने अवस्था छ । रूपन्देहीलाई एउटा आर्थिक विकासको हिसाबले हबको रूपमा विकास गर्नु जरुरी छ । यहाँ सुधार गर्नु पर्ने धेरै छन् ।
जनताका आकांक्षा पनि धेरै छन् । आकांक्षा धेरै भएका कारण एकैचोटि विकास त सम्भव छैन । प्राथमिकता निर्धारण गरेर फरक किसिमले हामीले काम गर्दै जानुपर्ने छ । मेरो उम्मेदवारीले यहाँका जनताहरू उत्साहित हुनुहुन्छ । म यही क्षेत्रमा ३०औं वर्षदेखि बसोबास गर्दै आइरहेको व्यक्ति हुँ । विभिन्न खालका उद्योग, व्यवसाय, स्वास्थ्य क्षेत्र, पर्यटन क्षेत्र र सामाजिक क्षेत्रमा जोडिएर काम गरिरहेको छु । यहाँ हजारौं जनालाई रोजगारीको अवसर पनि दिएको छु । त्यो हिसाबले पनि म यहाँ एउटा नयाँ अनुहार नभएपनि उम्मेदवारको हिसाबले नयाँ छु । तर, जनतासँग घुलमिल छु । त्यसैले धेरै मतदाताले रोजगारी सिर्जना गर्नुपर्छ भन्ने सुझाव पनि दिनुभएको छ ।
मैले बुटवल र यस क्षेत्रका लागि गरेको सामाजिक एवं आर्थिक योगदानका कारण पनि हामी तपाईलाई मत दिन्छौं भन्ने धेरै मतदाता हुनुहुन्छ । अधिकांस मतदाताले हामी तपाईलाई छिट्टै संसदमा देख्न चाहन्छौं भनिरहनु भएको छ । मतदाताले रुख चिह्नमा भोट हालेर विजयी गराउनका लागि फागुन २१ गते कुरिरहेको अवस्था छ ।
रूपन्देहीको यो क्षेत्रमा पूर्वाधारको विकास धेरै भएको सुनिन्छ, मतदाताका प्राथमिकताका माग के के छन् ?
यहाँको मुख्य समस्याको रूपमा रहेको तिनाउ खोलाको छेउको अव्यवस्थित बस्ती नै हो । जनु उनीहरूको वर्षौंदेखिको समस्या हो । धेरै नेताजीहरूले वषौंदेखि नै हामीले लालपुर्जा दिन्छौं भनेर भन्दै मत माग्दै गर्नु भयो । तर, दिनु भएको छैन् । हामीले पहिलो प्राथमिकतामा त्यसलाई नै राखेर काम गर्ने छौं । आवश्यक नीति र कानुन सुधार गरेर भए पनि अव्यवस्थित बसोबासीका लागि पुर्जाको व्यवस्था गर्नुपर्ने छ ।
अहिले भूमि आयोग र स्थानीय सरकारबाट जग्गा नापजाँचका केही कामहरू पनि भएका छन् । तर, बसोबास गरेको जग्गाको पुर्जा हातमा नपरेपछि त्यहाँका मतदाता आक्रोशित पनि हुनुहुन्छ । हामीलाई लालपुर्जा दिन्छौं भन्दै यहाँ नआउनूस् पनि भन्नु भएको छ । २५/३० वर्षदेखि एउटै समस्यामा झुलाइरहँदा जनताबाट आक्रोश आउनु स्वाभाविक पनि हो । यहाँ खानेपानीको पनि त्यस्तै समस्या छ । सहर सरसफाइको कुरा पनि छ । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको अवस्था पनि लामो समयदेखि समस्याग्रस्त अवस्थामा छ ।
बुटवल काठमाडौंपछिको ठूलो र पर्यटकीय सहर बन्दै गएकाले सफा राख्नेदेखि यहाँको सानो भन्दा सानो पूर्वाधार विकासमा पनि ध्यान दिनु जरुरी छ । त्योसँगै बुटवललाई थप चलायमान सहर बनाउँन पनि प्रयाप्त मात्रामा अवसरको सिर्जना गर्दै रोजगारी बढाउनु पर्छ र हामीलाई यहीं रोजगारी दिनुपर्छ भन्ने मतदाताको मुख्य माग पनि छ । हामीले निर्वाचन भएको अवस्थामा एउटा एउटा खाका नै तयार गरेर अगाडि बढ्ने गरी योजना बनाएर काम गर्ने प्रतिबद्धतन जनाउने गरेका छौं ।
तपाईं आफैं पनि उद्योगी हो । यहाँको मोतिपुर औद्योगिक क्षेत्र अलपत्र जस्तै छ । सेजमा पनि उद्योगी जान सकिरहेका छैनन् । रोजगारीका पर्याप्त अवसर पनि छैनन् । यसमा तपाईंको ठोस योजना कस्तो छ ?
मोतिपुर औद्योगिक क्षेत्र बन्नुपर्छ भन्ने माग हामी उद्योगी व्यवसायीहरूकै हो । तर, सरकारबाटै जग्गाको व्यवस्थापन हुन नसक्दा लामो समयदेखि अलपत्र परेको अवस्था छ । त्यसलाई सुल्झाएर मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्रमा विस्तार गर्नु जरुरी छ । त्यसलाई हामीले तत्कालै गर्ने गरी योजनामा राखेका छौं ।
यस क्षेत्रमा रहेका धेरै उद्योगहरूमा विदेशी जनशक्तिले काम गरिरहेको छ । हामीले त्यसलाई पनि नीतिगत सम्बोधन गरेरै स्वदेशी र स्थानीय जनशक्तिलाई उपयोग गर्ने गरी काम गर्ने छौं । त्यसका लागि बेरोजगार युवाहरूलाई आवश्यकता अनुसारको तालिम दिने, दक्ष बनाउने र उद्योगमा लगाउने हाम्रो मुख्य नीति छ ।
रोजगारीका अवसर कसरी सिर्जना गर्नुहुन्छ ?
रोजगारीका लागि पहिला उद्योग खुल्नुपर्छ । उद्योग खोल्नका लागि लगानीको आवश्यकता पर्छ । लगानी भित्र्याउन हरेक व्यवसायीले सुरक्षित र झन्झटिलो प्रकृया बिनाको कानुन र नीति खोजिरहेको हुन्छ । मुख्य कुरा उद्योग र लगानीका लागि सुरक्षा नै प्रमुख कुरा हुन्छ । हामीले लगानीबाट सुरक्षित तबरले प्रतिफल दिन सक्ने वातावरण तयार गर्न सक्यौं भने यस क्षेत्रमा उद्योग खुल्ने र बैदेशिक लगानी भित्रिने प्रसस्त सम्भावनाहरू छन् ।
निजी क्षेत्र उत्साहित हुन सक्छ । त्यसलाई हामीले राम्ररी बुझेका छौं । त्यसैले हामीले रूपन्देहीलाई नै लगानीको हब बनाउने गरी नीतिगत व्यवस्था गरेर रोजगारीका अवसर सिर्जना गर्ने योजनामा छौं । भारतमा रोजगारमूलक उद्योगका लागि सरकारले कर निशुल्क गरेको छ । सब्सिडीको व्यवस्था पनि छ । हामीकहाँ पनि त्यस्ता नीतिहरू बन्नु जरुरी छ । त्यसैले अब बन्ने संसद र सरकारबाट छुट्टै उद्योग नीति बनाएर, अप्ठ्याराहरू फुकाएर लगानीमैत्री बातावरण तयार गर्ने दायित्व पनि हामीले पुरा गर्नेछौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पनि लगानी र उद्योगमैत्री नीति बनाउने घोषणा गरिसक्नु भएको छ । हामीले पनि त्यही नीतिलाई प्राथमिकताका साथ अघि सार्ने छौं ।
बुटवलको खानेपानी समस्या र बस्तीको बीचमा रहेको विद्युतको हाइटेन्सन लाइन पनि पुरानो समस्या हो । यसको समाधानका लागि के गर्नुहुन्छ ?
हो । बुटवलको खानेपानी मुख्य समस्या हो । हाइटेन्सन लाइनलाई भूमिगत गर्ने विषय हामीले प्रतिबद्धतापत्रमा पनि उल्लेख गरेका छौं । विद्युतको हाइटेन्सन लाइन भूमिगत गराउने विषय केन्द्रीय सरकारकै कार्यक्षेत्रभित्र पनि पर्ने भएकाले त्यसको नीतिगत सुधारको प्रयास हामीले गर्ने छौं । वर्षौंदेखिको झुम्सा खानेपानी समस्याको समाधान पहिल्याएर त्यसको समाधान गर्ने प्रतिबद्धता पनि हामीले गरेका छौं । हाइटेन्सन लाइन र खानेपानीको समस्या धेरै मतदाताले घरदैलोको क्रममा पनि राख्नु भएको छ । त्यसैले हामी त्यो विषयमा गम्भीर पनि छौं ।
हामीले औद्योगिक नीति परिवर्तन गर्छौं त भन्नु भयो । त्यो गगन थापाको सरकार बनेको अवस्थामा मात्र हो कि संसद् भएपछि नै लाग्नु हुन्छ ?
यो उद्योग क्षेत्रमा रहेको समस्या नीतिगत समस्या हो । औद्योगिक समस्या समाधानका लागि गगन थापा वा अन्य जसको सरकार बने पनि बनाउनै पर्ने र गर्नैपर्ने काम हो । देशमा रोजगारीका अवसर सिर्जना गर्ने कुरा, उद्योग खोल्ने, लगानी भित्र्याउने कुरा त जो सरकारमा पुगे पनि गर्नैपर्ने काम हुन् । त्यसैले हामीले जुनसुकै प्रकृयाबाट भएपनि संसद र सरकारबाटै यो काम जिम्मेवापूर्ण तबरबाट सम्पन्न गर्नेछौं । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कुरा, बाह्य लगानी भित्र्याउने कुरा, नयाँ उद्योग खोल्ने कुरा, उद्योग खोल्नका लागि आवश्यक पर्ने सडक, बिजुली लगायतका विषय सरकारकै क्षेत्रभित्र पर्ने विषय हुन् । त्यसका लागि हामीले सरकारलाई दबाब दिने छौं । नीतिगत सहजीकरणका लागि पहल गरिरहने छौं ।
कांग्रेस बदलिएर आयो, अब देश बदल्छौं भन्ने नारा कांग्रेसले ल्याएको छ, मतदातामा त्यो नाराको असर कस्तो छ ?
देशमा धेरै प्रधानमन्त्रीहरू बन्नु भयो । विभिन्न कालखण्डमा प्रधानमन्त्री भएकाहरूले फरक–फरक ढंगले काम पनि गर्नु भयो होला । तर, सधैभरि एकै खालको व्यक्ति प्रधानमन्त्री बन्दा नयाँ भिजन र योजना आउन सकेनन् । अहिलेका जनताले र जेनजी पुस्ताले त्यो स्वीकार गरेन् । त्यसैले जेनजी आन्दोलन भयो ।
जेनजी आन्दोलनसँगै अब कांग्रेस पनि बदलिनुपर्छ भन्ने चाहना कांग्रेसका युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा जस्ताले लिनु भयो र बदलिएको कांग्रेस बनाउने अभियान चलाउनु भयो । म पनि त्यो अभियानमा जोडिएँ । त्यसैले अब भ्रष्टाचार मुक्त समाज हुनुपर्यो, विकास समान हुनु पर्यो, रोजगारीका अवसर स्वदेशमै खुल्नु पर्यो भन्ने जुन खालका मागहरू उठेका छन् । त्यो पूरा गर्नकै लागि कांग्रेस पार्टी नै सुधारिएर देश सुधार गर्ने गरी आएको हो । त्यसको नेतृत्व अहिले गगन थापाले गर्नु भएको छ । त्यसको सहयोगीका रूपमा विश्वप्रकाशसहित हामीहरू उभिएका छौं । त्यसैले आम कार्यकर्ता र मतदातामा त्यसको ठुलो प्रभाव परेको छ । देशमा फागुन २१ गतेपछि कांग्रेसले सरकार बनाउने र देशलाई नै नयाँ गतिमा अघि बढाउने अठोटसहित कांग्रेस र हामी आएका हौं । त्यो विश्वास मतदातासमक्ष पनि पुर्याएका छौं । कांग्रेसले केही परिवर्तन गर्छ भन्ने विश्वास मतदातामा पनि जागेको छ ।
तपाईंले म नयाँ हुँ भन्नुभयो तर कांग्रेस त पुरानै पार्टी हो भन्ने छ नि मतदातामा ?
अब नेपाली कांग्रेस पनि पुरानो पार्टी होइन । सुधारिएको र बदलिएको कांग्रेस पार्टी हो । विचार बदलिएको छ । नेतृत्व बदलिएको छ । ऊर्जा भरिएको पार्टी भएको छ । हामी त्यसका खम्बा बनेर उभिएका छौं । त्यसैले कांग्रेस पनि नयाँ हो र हामी पनि नयाँ हौं । केही परिवर्तन गर्नु पर्छ भनेर आएका छौं । यसअघि म कुनै पनि चुनाव नलडेको हिसाबले पनि म मतदातामाझ नयाँ नै हो ।
तर, महाधिवेशनपछि कांग्रेस आन्तरिक रूपमा विभाजित भएको हो कि भन्ने अवस्था पनि छ, यहाँको अवस्था कस्तो छ ?
विशेष महाधिवेशनपछि कुनै छिटफुट स्थानमा त्यस्तो होला । तर, यो क्षेत्रमा त्यस्तो खालको कुनै प्रभाव र क्रियाकलाप छैन् । कोही नेता असन्तुष्ट पनि हुनुहुन्न । सबै एकताबद्ध भएर नयाँ कांग्रेस निर्माण र कांग्रेसकै सरकार निर्माणमा लाग्नु भएको छ । कांग्रेस एक ढिक्का भएर अगाडि बढेको छ ।
यो निर्वाचन क्षेत्रमा कांग्रेसले २०५४ सालपछि जित्न सकेको छैन्, अहिले तपाईंको जितको आधार के हो ?
हो, यहाँ लामो समयदेखि कांग्रेसले जित्न सकेको छैन् । त्यही कारण पनि अहिले मैले जित्नका लागि सहज महसुस गरेको छु । किनकि सबै कांग्रेस कार्यकर्तामा रुख चिह्नमा भोट दिने प्रतिबद्धता छ । कांग्रेस एकढिक्का छ । सधैं जनतामा भिजेको, बुटवललाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्न सक्ने भिजन र योजना भएको उम्मेदवार यस क्षेत्रले अहिले पाएको छ । कांग्रेस पनि सुधारिएर आएको छ ।
सबै माध्यमबाट म अहिले बलियो उम्मेदवार छु । यहाँको बसोबास र यहाँका मतादातासमक्ष हिजो पनि, आजपनि र भोलीपनिसँगै रहने उम्मेदवार पनि म मात्र हो । स्थानीय स्तरमा मैले दिएको झण्डै ५ हजार जनाको रोजगारीदेखि सामाजिक क्षेत्रमा गरेका काम पनि मेरा जितका प्रमुख आधार हुन् । त्यसैले पनि मतदाता मलाई जिताएर संसदमा पठाउन आतुर हुनुहुन्छ ।
अर्को कुरा मैले यस क्षेत्रबाट जितेको अवस्थामा सांसद भएवापत पाउने सेवा सुविधा कुनै पनि आफुले नराख्ने प्रतिबद्धता व्यक्त गरेको छु । त्यो सबै सेवा सुविधा मैले यस क्षेत्रका विपन्न समुदायका बालबालिकाको पढाइका लागि खर्च गर्ने योजना बनाएको छु । त्यस्तै यस क्षेत्रको कृषिमा मैले राम्रो काम गरेको छु । पहाडी क्षेत्रमा बाँदरले सताएर खेती हुन छोडेको जमिनमा मैले अकबरे खेती गर्न लगाएर कृषिमा काम गरेको छु ।
किसानले पहाडका बारीमा लगाएको अकबरे खुर्सानी हाम्रो यशोदा फुड्स कम्पनीले खरिद गर्दै आएको छ । हामीले अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेपछि भारतबाट आउने अकबरे खुर्सानी विस्थापित भएको छ । स्वदेशी अकबरे खुर्सानीको प्रयोगबाट उत्पादन भएको करेन्ट पिरो चाउचाउ २५ देशमा विक्रि गरेर हामीले डलर भित्र्याएका छौं । नीतिगत व्यवस्था गरेर त्यस्ता खेतीहरूको प्रवर्द्धन गर्न सकेको अवस्थामा किसानको अवस्थामा पनि परिवर्तन आउने छ । त्यसैले पनि मैले यो क्षेत्रमा सजिलै जित्ने गरी मतदान गर्न मतदाताहरू फागुन २१ को पर्खाइमा हुनुहुन्छ । त्यही अनुसार मत दिन पनि म आग्रह गर्दछु ।
