सुनसरी-१ को विकास र समृद्धिको खाका हामीसँग छ : मनोज भट्टराई

'प्रतिस्पर्धा त्रिपक्षीय नै हुन सक्छ । तर, यो चुनाव स्थायित्व र समृद्धिको मुद्दामा केन्द्रित छ ।'

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

We have a blueprint for the development and prosperity of Sunsari-1: Manoj Bhattarai

What you should know

धरान — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी–१ मा चुनावी सरगर्मी बढ्दो छ । घरदैलो अभियानमा सक्रिय नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराई (मनोज) सँग समसामयिक मुद्दा, चुनावी प्रतिस्पर्धा र उनका प्रतिबद्धताबारे कान्तिपुरका एलिना राईगौरव पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

यतिबेला तपाईं मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ । कस्तो माहोल पाउनुभएको छ ?

यसपालिको निर्वाचनमा उत्साहजनक माहोल छ । यो चुनाव पार्टी, जाति वा क्षेत्रभन्दा माथि उठेर सुनसरी–१ को भूगोल र मन जोड्ने अभियानका रूपमा लिइएको छ । मतदाताहरू परिवर्तन चाहन्छन् । सुरुवातमा अन्य दलहरूको चर्चा बढी थियो, तर अहिले माहोल क्रमशः हाम्रो पक्षमा बन्दै गएको छ । जनताले नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न तारामै मतदान गरेर मलाई विजयी गराउनेछन् । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि यहीँ उम्मेदवार हुनुहुन्छ, रास्वपासहित अरु दलले पनि उम्मेदवारी दिएका छन्, तपाईंको प्रमुख प्रतिस्पर्धी को हो जस्तो लाग्छ ?

प्रतिस्पर्धा त्रिपक्षीय नै हुन सक्छ । तर, यो चुनाव स्थायित्व र समृद्धिको मुद्दामा केन्द्रित छ । हामीले स्थायी सरकार र भ्रष्टाचारमुक्त शासनको एजेन्डा अघि सारेका छौं । सुनसरी–१ को विकास र समृद्धिको स्पष्ट खाका हामीसँग छ । त्यसैले मतदाताले स्थायित्वलाई रोज्नेछन् भन्ने विश्वास छ । मैले नै चुनाव जित्छु ।

अघिल्लो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी हुनुभयो, पुराना दलले काम नगरेको आरोप पनि लाग्ने गरेको छ । तपाईंलाई चाहिँ मतदाताले के भन्छन् ?

त्यो जनताको असन्तुष्टिको अभिव्यक्ति थियो । कतिपय अवस्थामा दलहरूले सही उम्मेदवार छनोट गर्न नसक्दा मतदाता विकल्प खोज्छन् । तर, विकल्प सधैं उपयुक्त नहुन पनि सक्छ । अहिले जनताले स्थिर र जिम्मेवार नेतृत्व खोजिरहेका छन् ।

धरानको खानेपानी समस्या निकै चर्चित मानिन्छ । तपाईंले यसलाई कसरी समाधान गर्ने योजना बनाउनुभएको छ ?

खानेपानी प्राविधिक र दीर्घकालीन विषय हो । अहिलेको आवश्यकता दैनिक करिब दुई करोड लिटर पानी हो । आंशिक योजनाले समस्या हल हुँदैन । हामी केन्द्रीय बजेटमार्फत दीर्घकालीन समाधान ल्याउनेछौं । कोशी, सप्तकोशी वा तमोर जस्ता स्रोतबाट सम्भाव्यता अध्ययन गरी स्थायी समाधान निकाल्ने योजना छ । आगामी निर्वाचनमा खानेपानी मुद्दा नै भोट माग्ने विषय नबनोस् भन्ने हाम्रो लक्ष्य हो ।

तपाईं वडाध्यक्षको अनुभवसहित संघीय चुनावमा आउनुभएको छ । स्थानीय तहमा काम गर्दा के सिक्नुभयो ?

वडामा रहँदा सडक, पूर्वाधार र साना योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरियो । सीमित बजेटको भरपुर सदुपयोग गरेर काम गरियो, त्यसैले दोस्रो कार्यकालमा अत्यधिक मत प्राप्त भयो । तर, खानेपानी, सरसफाइ र क्षेत्रीय कनेक्टिभिटी जस्ता ठूला समस्या समाधान गर्न केन्द्रीय तहको पहल आवश्यक हुन्छ भन्ने महसुस भयो । त्यसैले अहिले संघीय संसदतर्फ उम्मेदवारी दिएको हुँ ।

आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?

पूर्ण रूपमा विश्वस्त छु । हामी घरदैलोमा पुगेका छौं । मतदातासंग प्रत्यक्ष संवाद भइरहेको छ । जित्ने–हार्नेभन्दा पनि सुनसरी–१ लाई जिताउने लक्ष्य हो ।

मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?

मतदाताले देखाउनुभएको ऊर्जा र समर्थनप्रति आभार व्यक्त गर्छु । २१ गते तारा चुनाव चिन्हमा मतदान गरी सुनसरी–१ लाई समृद्ध र स्थिर बनाउने अभियानमा साथ दिन आग्रह गर्दछु । 

कान्तिपुर

Link copied successfully