'म कसैलाई कमजोर ठान्दिनँ । सबै उम्मेदवार बराबर हुनुहुन्छ । जे निर्णय गर्छन्, जनताले गर्छन् ।'
What you should know
काठमाडौँ — हर्क साम्पाङले समेत उम्मेदवारी दिएको सुनसरी–१ मा चुनावी माहोल तातिएको छ । यस क्षेत्रमा साम्पाङसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) पनि प्रतिस्पर्धामा छिन् । अघिल्लो निर्वाचनमा दोस्रो स्थान हासिल गरेकी तामाङ यसपटक जित हात पार्ने तयारीमा जुटेकी हुन् ।
घरदैलो अभियानमा सक्रिय तामाङसँग मतदाताका गुनासा, खानेपानी संकटलगायत समसामयिक विषयमा कान्तिपुरका गौरव पोखरेल र एलिना राईले गरेको कुराकानीको सम्पादित अंशः
घरदैलोमा जाँदा मतदाताबाट कस्ता गुनासा सुन्नुहुन्छ ?
घरदैलोका क्रममा धेरै गुनासा सुनेकी छु । वर्षौंदेखि राम्रो सडक नबनेको, शिक्षा क्षेत्रमा सुधार नदेखिएको, भ्रष्टाचार र बेथिति मौलाएको लगायतका गुनासा, असन्तुष्टि जनतामा व्याप्त छन् । चुनावमा वाचा गर्ने तर जितेपछि नफर्किने प्रवृत्तिप्रति जनतामा निराशा देखिएको छ ।
तपाईं यसअघि पनि उम्मेदवार बन्नुभएको थियो । त्यो अनुभव र अहिलेको अवस्थाबीच के फरक छ ?
अघिल्लो पटक सीमित क्षेत्रमा मात्रै पुग्न सकेकी थिएँ । चुनावी अनुभव पनि कम थियो । यसपटक भने उत्साह धेरै छ । विशेषगरी युवाहरूको साथ र जनताको विश्वास बढेको महसुस भएको छ । तर ‘जितेपछि फर्कनुहुन्छ कि हुँदैन?’ भन्ने शंका जनतामा छ । विगतका अनुभवले यस्तो प्रश्न उठ्नु स्वाभाविक हो । म भने निरन्तर जनताको बीचमा रहने प्रतिबद्धता व्यक्त गर्छु ।
यो क्षेत्रमा खानेपानी वर्षौंदेखि राजनीतिक एजेन्डा बनेको छ । अहिलेसम्म किन समाधान हुन सकेन ?
खानेपानी जनताको आधारभूत अधिकार हो । तर, ३०–४० वर्षदेखि यो चुनावी एजेन्डा मात्रै बनिरहेको छ । स्थानीय, प्रदेश र संघसबै तहमा उठाइयो, तर दीर्घकालीन समाधान हुन सकेन ।
२०७९ मा मेयर बनेपछि हर्क साम्पाङले पानी ल्याउने अभियान चलाउनुभयो । त्यो अभियानमा म पनि सहभागी थिएँ । तर, त्यो अल्पकालीन व्यवस्था मात्रै भयो । दिगो समाधानका लागि ठोस योजना, बजेट र व्यवस्थापन आवश्यक छ ।
दीर्घकालीन समाधानका लागि कुन स्रोतबाट पानी ल्याउने योजना छ ?
कोशी वा अरुण दुवै विकल्प छन् । तयार भएका डीपीआरका आधारमा लागत र दिगोपनको अध्ययन गरी निर्णय गर्नुपर्छ । जहाँबाट कम लागतमा दीर्घकालीन समाधान सम्भव हुन्छ, त्यहीँबाट पानी ल्याउनुपर्छ ।
खानेपानीबाहेक अन्य मुख्य मुद्दा के–के छन् ?
सहकारी पीडितको समस्या गम्भीर छ । धरानमा हाइटेन्सन लाइनको जोखिम छ । लागुऔषध दुर्व्यसनले धेरै परिवार प्रभावित छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो छ । धरान–बराह क्षेत्र जोड्ने सडकहरूको अवस्था पनि दयनीय छ । यी सबै विषयमा दीर्घकालीन समाधान आवश्यक छ ।
प्रतिस्पर्धालाई कसरी हेर्नुहुन्छ ?
म कसैलाई कमजोर ठान्दिनँ । सबै उम्मेदवार बराबर हुनुहुन्छ । जे निर्णय गर्छन्, जनताले गर्छन् । जनताको निर्णय स्वीकार्नुको विकल्प छैन । तर, जनताले मलाई नै छान्नुहुन्छ ।
मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, यी जनताको अधिकार हुन् । अब यी विषयलाई नारामा सीमित नराखी परिणाममा बदल्नुपर्छ । म जनताको बीचमै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु । तसर्थ मलाई मत दिएर जिताउनु भयो भने मात्रै त्यो पूरा हुनेछ ।
