विपक्षी दलका शीर्ष नेताहरू आएर ठूला सभाहरू गरिरहनुभएको छ, जसमा हजारौँको उपस्थिति रहेको दाबी गरिएको छ । तर, त्यस्ता सभामा आउने मानिसहरू सबै यही क्षेत्रका मतदाता हुन् भन्ने छैन । चितवन बाहिरका ८-१० जिल्लाबाट गाडीमा मान्छे ल्याएर भिड देखाउनु स्वाभाविकै हो । हामी तर्सेका छैनौँ ।
What you should know
चितवन — निर्वाचनको सरगर्मीले देश छोपिरहँदा चितवन क्षेत्र नम्बर २ को माहोल पनि निकै तातिएको छ । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मिनाकुमारी खरेल यतिबेला घरदैलो अभियानमा व्यस्त छिन् । रातको साढे आठ बजिसक्दा पनि उनी मतदाताका आँगनमा पुगेर मत मागिरहेकी भेटिन्छिन् । प्रस्तुत छ, चुनावी अभियान र समसामयिक राजनीतिक विषयमा खरेलसँग कान्तिपुरका लागि दया दुदराजले गरेको कुराकानीको सम्पादित अंश:
मतदाताको प्रतिक्रिया र चुनावी माहोल कस्तो छ ?
अहिले चुनावी माहोल असाध्यै सकारात्मक छ । हामी घरदैलोमा जाँदा मतदाताहरूले स्वतः स्फूर्त रूपमा स्वागत गरिरहनुभएको छ । कतिपय ठाउँमा त मतदाता आफैँले 'हामी समूहमा छौँ, तपाईंहरू आउनुस् र आफ्ना कुरा राख्नुस्' भनेर बोलाउने गर्नुभएको छ । विशेषगरी नयाँ मतदाताहरूमा ठूलो उत्साह देखिएको छ । पहिलो पटक मतदान गर्न लागेका युवाहरू हाम्रो अभियान र पार्टीसँग जोडिन निकै इच्छुक देखिनुहुन्छ । भर्खरै मात्र पनि एकजना ऊर्जावान् युवा सामाजिक अभियन्ता हाम्रो अभियानमा जोडिनुभएको छ । यसले हाम्रो मनोबल थप उच्च बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र वरिष्ठ नेताले आएर आम सभा गर्नुभयो । सभापति नै तपाईंको प्रतिद्वन्द्वि हुनुहुन्छ अघिल्लो परिणाम बदल्न सक्नुहुन्छ त ?
विपक्षी दलका शीर्ष नेताहरू आएर ठूला सभाहरू गरिरहनुभएको छ, जसमा हजारौँको उपस्थिति रहेको दाबी गरिएको छ । तर, त्यस्ता सभामा आउने मानिसहरू सबै यही क्षेत्रका मतदाता हुन् भन्ने छैन । चितवन बाहिरका ८-१० जिल्लाबाट गाडीमा मान्छे ल्याएर भिड देखाउनु स्वाभाविकै हो । हामी तर्सेका छैनौँ । मतदाताले कुरा सुन्नु र मत दिनु फरक कुरा हो । हाम्रो घरदैलोमा पनि हजारौँ मानिसको साथ छ । म एउटा फरक आन्दोलन र पृष्ठभूमिबाट आएको व्यक्ति भएकाले यस्ता सामान्य कुराले विचलित हुन्नँ । म यहीँ जन्मेको, यहीँ हुर्किएको र विगत ४० वर्षदेखि यही भूगोलमा क्रियाशील 'स्थानीय छोरी' हुँ । ममाथि कुनै दाग वा आरोप छैन । मलाई मत दिएपछि फेरि उपनिर्वाचन होला कि भन्ने त्रास मतदातामा छैन । त्यसैले मतदाताले यसपटक निर्भिक भएर मलाई नै रोज्नुहुनेछ ।
हामीले महिला सहभागिताको कुरा संविधानमा त सुरक्षित गर्यौँ, तर व्यवहारमा अझै पनि उम्मेदवार बन्ने सङ्ख्या न्यून छ । त्यसैले संविधानले परिकल्पना गरेको समावेशिताका लागि पनि मेरो उम्मेदवारी महत्त्वपूर्ण छ । हाम्रो पार्टी नेपाली कांग्रेसले नीति र नेतृत्वमा परिवर्तन ल्याएर नयाँ भिजनका साथ अघि बढेको छ । १० वर्षभित्र १० वटा भिजनसहित शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आमूल परिवर्तन गर्ने हाम्रो लक्ष्य छ । कोही पनि नागरिक भोकै बस्नु नपर्ने समृद्ध राज्यको कल्पना हामीले गरेका छौँ । १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले म जस्ता १०६ जना नयाँ अनुहारलाई मैदानमा उतारेको छ । मतदाता अब विवेकशील भइसकेका छन्, हिजोको जस्तो आवेगमा आएर निर्णय गर्ने स्थिति अहिले छैन ।
चितवनमा पहाडी जिल्लाका मानिसहरु पनि बसाइँ सरेर आउँछन् । अबका दिनमा यहाँ झन धेरै शहरीकरण बढ्ने निश्चित छ । यहाँकाे बढ्दो शहरीकरणलाई व्यवस्थापन गर्ने तपाईका एजेन्डा के छन् ?
चितवन एक विविधतायुक्त र अग्रणी जिल्ला हो । यहाँ पहाडी र तराई दुवै भूगोल छ । कालिका र इच्छाकामनाका पहाडी भेगदेखि माडीको खुल्ला नाकासम्म यसको पहुँच छ । मेरो प्राथमिकता भौतिक पूर्वाधार मात्र होइन, गुणस्तरीय सेवा पनि हो । विद्यालय भवन मात्र बनाएर हुँदैन, त्यहाँ गुणस्तरीय शिक्षा हुनुपर्छ । हामीले 'तीन खम्बे अर्थनीति' अन्तर्गत निजी क्षेत्रलाई साथमा लिएर आर्थिक गतिविधि बढाउनुपर्छ। नारायणगढ र भरतपुर जस्ता व्यस्त बजारहरूलाई व्यवस्थित गर्दै यस क्षेत्रको प्राकृतिक सौन्दर्य र नदी प्रणालीलाई पर्यटनसँग जोडेर अवसर सिर्जना गर्न सकिन्छ ।
रास्वपाको इपिसेन्टर मानिएको यो क्षेत्र (चितवन २)मा तपाई अनुकुल परिणामा आएन भने पनि जनतासँगै रहेर काम गर्नुहुन्छ ?
निर्वाचनमा मेरो हारको कल्पना नै नगरौँ । यदि मेरो हार भयो भने त्यो संविधानले परिकल्पना गरेको महिला प्रतिनिधित्वको हार हुनेछ । यदि निर्वाचन स्वच्छ र धाँधलीरहित भयो भने म जित्छु भन्नेमा विश्वस्त छु । म अन्य उम्मेदवार जस्तो निर्वाचनको बेला मात्र तामझामका साथ आउने र सकिएपछि हराउने व्यक्ति होइन । निर्वाचनको परिणाम जे आए पनि, २१ गतेपछि पनि म यहीँका जनताको सेवामा समर्पित हुनेछु । म यहीँ जन्मेको, यहीँ कर्म गरेको मान्छे हुँ । जनताले मलाई जिम्मेवारी दिए पनि नदिए पनि म उहाँहरूको सेवक भएरै बस्नेछु ।
