'विगतमा विभिन्न समूहमा विभाजित थियौं तर अहिले ती समूहहरू विघटन भएका छन् । सबैको एउटै उद्देश्य पार्टीलाई जिताउने छ । असन्तुष्ट साथीहरूसँग संवादमार्फत असमझदारी हटाएका छौं । युवा नेतृत्वको आगमन र नयाँ भिजनले गर्दा मतदातामा पनि कांग्रेसप्रति भरोसा पलाएको छ । यसपटक एकता भावनामा मात्र नभई व्यवहारमा पनि देखिएको छ ।'
बाँके — कांग्रेसका सभापति गगन थापाले बाँकेको नेपालगन्जमा बिहीबार आयोजित चुनावी सभामा भने- सामाजिक सञ्जालको मात्रै भर नपर्नुस्, मतदातासँग संवाद गर्नुस्, आफ्नो घरमा नबसेर मतदाताकहाँ जानुस्, आफ्ना कुरा भन्नुस् । कांग्रेस सभापति थापाले यो आह्वान बाँके ३ बाट गरेका हुन् । जहाँ कांग्रेसको लुम्बिनी प्रदेश समिति सभापति अमरसिंह पुन ।
२०७९ को चुनावमा रोल्पाबाट लुम्बिनी प्रदेश सभा सदस्यमा पराजित उनी यसपटक भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । बाँके ३ बाट कांग्रेसका उम्मेदवार बनेका अमरसिंह पुनसँग कान्तिपुरका जयसिंह महरा र कमल पन्थीले गरेको कुराकानीको सम्पादित अंश :
प्रतिनिधिसभा चुनावमा लुम्बिनी प्रदेशमा कांग्रेसको तयारी र माहोल कस्तो छ ?
अहिले नेपाली कांग्रेसको अवस्था अत्यन्त उत्साहजनक छ । विगतका निर्वाचनको तुलनामा यसपटक कांग्रेस फरक रणनीति र 'बदलिएको कांग्रेस, बदलिएको नीति' सहित मतदातामाझ आएको छ । लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्रमा हाम्रो सशक्त उपस्थिति छ । कतै कुनै दलसँग प्रतिस्पर्धा होला, तर समग्रमा कांग्रेस पहिलो शक्तिको रूपमा स्थापित हुने गरी अगाडि बढिरहेको छ ।
अघिल्लो निर्वाचनमा कांग्रेसले यस प्रदेशका २६ मध्ये ६ सिट मात्र जितेको थियो । अहिले निर्वाचनका माग र परिस्थिति दुवै फरक छन् । यो चुनौतीलाई तपाईंले कसरी चिर्नुहुन्छ ?
विगतमा पार्टीभित्रका आन्तरिक अन्तर्घात र व्यवस्थापकीय कमजोरीका कारण हामीले अपेक्षित नतिजा निकाल्न सकेका थिएनौं । तर अहिले परिस्थिति फेरिएको छ । वर्तमान नेतृत्व, विशेषगरि सभापति गगन थापाको भिजन र ऊर्जाले देशैभर र लुम्बिनी प्रदेशमा एउटा सकारात्मक माहोल सिर्जना गरेको छ । कांग्रेसमा इतिहासकै सबैभन्दा एकताबद्ध अवस्थामा छ । पार्टीभित्रका गुटबन्दी अन्त्य भएका छन् र सबै साथीहरू 'एकताबद्ध कांग्रेस'को संकल्पका साथ चुनावी मैदानमा होमिनुभएको छ ।
सभापति थापाले कार्यकर्ताहरूलाई मोबाइलमा मात्र सीमित नभई प्रत्येक मतदाताको घरदैलोमा पुग्न आह्वान गर्नुभएको छ । के उम्मेदवार र कार्यकर्ताहरू मतदाताको घरसम्म पुग्न नसकेकै हुन् ?
भौगोलिक जटिलता र समयको चापका कारण उम्मेदवार स्वयं हरेक घरमा पुग्न कठिन हुन सक्छ, तर हाम्रा कार्यकर्ताहरू टोल-टोल र बस्ती-बस्तीमा परिचालन हुनुभएको छ । जहाँ उम्मेदवारकै उपस्थिति अनिवार्य हुन्छ, त्यहाँ हामी पुगिरहेका छौं । तराईका ठूला निर्वाचन क्षेत्र र पहाडी भूगोलमा घरदैलो अभियानका आफ्नै चुनौती छन् । यद्यपि, सभापतिको आह्वानले कार्यकर्ताहरूलाई थप ऊर्जा प्रदान गरेको छ र हामी प्रत्येक मतदातासम्म पुग्ने प्रयासमा छौं ।
'कांग्रेसलाई हराउन कांग्रेस नै काफी छ' भन्ने गरिन्छ । यसपटक यो एकताको आधार के हो ?
विगतमा हामी विभिन्न समूहमा विभाजित थियौं, जसले गर्दा संगठनमा समस्या थियो । तर अहिले ती समूहहरू विघटन भएका छन् । सबैको एउटै उद्देश्य पार्टीलाई जिताउनु भन्ने छ । हामीले असन्तुष्ट साथीहरूसँग संवाद र छलफलमार्फत असमझदारी हटाएका छौं । युवा नेतृत्वको आगमन र नयाँ भिजनले गर्दा मतदातामा पनि कांग्रेसप्रति नयाँ भरोसा पलाएको छ । यसपटकको एकता भावनामा मात्र नभई व्यवहारमा पनि देखिएको छ ।
तपाईं अघिल्लो निर्वाचनमा रोल्पाबाट उठ्नुभएको थियो, यसपटक बाँके क्षेत्र नम्बर ३ मा आउनुको कारण के हो ?
म २०५२ सालदेखि नै बाँकेमा बसोबास गर्दै आएको छु । द्वन्द्वकालका कठिन समयहरू मैले यहीँ बिताएँ र यहाँको संगठन निर्माणमा पनि लामो समय खर्चिएँ । विशेष गरी सुशील कोइरालाजस्ता नेताहरूसँग नजिक रहेर यहाँको राजनीतिलाई बुझ्ने अवसर पाएँ । तराई र मधेस कांग्रेसको आधारभूमि हो, यसलाई थप मजबुत बनाउन र यहाँका साथीहरूलाई एकताबद्ध गर्न म यहाँ आएको हुँ । मलाई विश्वास छ, बाँके र बर्दियाका सबै क्षेत्रमा कांग्रेसले उत्कृष्ट नतिजा ल्याउनेछ ।
तपाईंको मुख्य एजेन्डा र पहिचान के हो ?
मलाई यहाँका मतदाताले लामो समयदेखि चिन्नुहुन्छ । मेरो राजनीतिक निष्ठा र सांगठनिक अनुभव नै मेरो मुख्य पहिचान हो । देशले अहिले गगन थापाजस्तो युवा नेतृत्वलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको छ, जसले हाम्रो अभियानमा थप बल पुर्याएको छ । म राष्ट्रिय राजनीतिमा पनि एउटा स्पष्ट पहिचान बनाएको व्यक्ति भएकाले यहाँका समस्यालाई नीतिगत तहमा समाधान गर्न सक्छु भन्ने मतदाताको विश्वास छ ।
रोल्पा र बाँकेको निर्वाचनमा भौगोलिक र मतदाताको मनोविज्ञानमा कस्तो भिन्नता पाउनुभयो ?
मुख्य भिन्नता भूगोलकै हो । रोल्पामा विकट भूगोलका कारण प्रचारप्रसार चुनौतीपूर्ण थियो, यहाँ घरदैलो गर्न केही सहज छ । मतदाताको कुरा गर्दा, पहाडका मतदाता अलि बढी दलीय प्रतिबद्धतामा अडिग देखिन्छन् भने तराईमा मतदाताको मनस्थिति छिटो परिवर्तन हुन सक्ने अवस्था रहन्छ । यद्यपि, अहिले देशभर नै मतदाता सचेत हुनुहुन्छ र कांग्रेसको पक्षमा एउटा स्पष्ट लहर देखिएको छ ।
नयाँ दलहरूको उदय र मतदातामा देखिएको वितृष्णाले कांग्रेसलाई कत्तिको प्रभाव पार्ला ?
नयाँ दलहरूको चर्चा सामाजिक सञ्जालमा बढी देखिन्छ, तर धरातलीय यथार्थ फरक छ । मतदाताले नेतृत्वको इतिहास र गम्भीरतालाई बुझ्न थाल्नुभएको छ । अहिलेको राजनीतिक व्यवस्था र लोकतन्त्रको रक्षाका लागि कांग्रेसबाहेक अर्को विकल्प छैन भन्ने आम बुझाइ छ । हामी कसैको विरोध भन्दा पनि आफ्ना एजेन्डा र स्पष्ट दृष्टिकोण लिएर अगाडि बढेका छौं ।
विपक्षीहरूले तपाईंलाई 'पर्यटक उम्मेदवार'को आरोप लगाउने गरेका छन्, यसबारे के भन्नुहुन्छ ?
यो आरोप निराधार छ । मेरो घरबास र मुख्य लगानी रोल्पामा भन्दा १० गुणा बढी बाँकेमै छ । नेपालको संविधानले योग्य नागरिकलाई जुनसुकै क्षेत्रबाट निर्वाचन लड्ने अधिकार दिएको छ । म यहाँको माटो र राजनीतिसँग भिजेको मान्छे हुँ । हिजो सुशील कोइरालाको निर्वाचनमा पनि म आफैं खटिएको थिएँ । त्यसैले म 'टुरिस्ट' होइन, यहाँको विकास र परिवर्तनका लागि प्रतिबद्ध उम्मेदवार हुँ ।
