कोशीमा जोखिमको पहिचान भइसक्यो, अब शान्तिपूर्ण रूपमा चुनाव हुन्छ : डीआईजी घिमिरे

कोशीका डीआईजी घिमिरे भन्छन् : हामी पूर्ण रूपमा विश्वस्त छौँ कि कोशी प्रदेशमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनेछ । सम्भावित जोखिम क्षेत्र पहिचान गरिसकिएको छ । आवश्यक परे नियन्त्रणात्मक कदमसमेत चालिएको छ । समग्र शान्ति–सुरक्षा अवस्था चुस्त छ ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Risks have been identified in Koshi, now elections will be held peacefully: DIG Ghimire

What you should know

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवार दिएको झापा ५ सहित कोशी प्रदेशका ४३९ स्थानमा रहेका मतदानस्थल अति असंवेदनशील छन् । एक महिनाअघि मनोनयन दर्ताका दिनसमेत एमाले र रास्वपा कार्यकर्ताबीच झडपको परिस्थिति सिर्जना भएको थियो ।

त्यही संवेदनशीलतालाई ख्याल गरेर प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाइएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे बताउँछन् ।

उनी भन्छन्, ‘नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तीन वटै निकायसाग समन्वय गरेर सुरक्षा व्यवस्थापन गर्ने काम भइरहेको छ ।’ डीआईजी घिमिरेसँग कान्तिपुरका लागि गौरव पोखरेलपर्वत पोर्तेलले संक्षिप्त कुराकानी गरेका छन्, प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

निर्वाचन नजिकिँदै गर्दा कोशी प्रदेशको सुरक्षा अवस्था कस्तो छ ?

हालसम्म कोशी प्रदेशको समग्र सुरक्षा अवस्था सन्तोषजनक रहेको छ । उम्मेदवारी दर्ताको दिन झापा–५ मा सामान्य झडपको घटनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिका घटनाहरू भएका छैनन् ।

त्यसदिन सम्भावित तनावको आकलन गरिएको थियो, विशेषगरी उच्च प्रोफाइल उम्मेदवारहरू प्रतिस्पर्धामा रहेकाले । त्यसपछि हामीले विशेष सतर्कता अपनायौँ । अहिले सामान्य प्रकृतिका स-साना घटनाबाहेक कुनै ठूलो मुठभेड वा अप्रिय घटना भएको छैन । समग्रमा सुरक्षा अवस्था नियन्त्रणमा र व्यवस्थित छ ।

के–के कारणले झापा-५ लाई ‘अति संवेदनशील’ सूचीमा राख्नु भएको हो ?

झापा–५ मा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह प्रतिस्पर्धामा हुनुहुन्छ । दुई उच्च प्रोफाइल उम्मेदवार भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्यान यस क्षेत्रमा केन्द्रित छ । उम्मेदवारी दर्ताकै दिन केही झडपका घटना देखिएका थिए । त्यसपछि एउटा पार्टी कार्यालयमा रातको समयमा सिसामा ढुंगा प्रहार गरिएको घटना पनि भयो ।

तर त्यो कार्यालय नियमित सञ्चालनमा नै नरहेको अवस्थामा भएको थियो र उक्त घटना समाधान भइसकेको छ । त्यसयता कुनै गम्भीर गतिविधि भएको छैन । झापा-५ लाई ध्यानमा राख्दै प्रदेश प्रहरी कार्यालयबाट थप १०० जनाको विशेष टोली परिचालन गर्ने निर्णय गरिएको छ ।

सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट सिर्जना भइरहेको चुनौतीलाई प्रहरीले कसरी व्यवस्थापन गरिरहेको छ ?

यसपालिको निर्वाचनमा चुनौतीको स्वरूप केही फरक छ । सामाजिक सञ्जालमार्फत एकैछिनमा माहोल बिगार्ने प्रयास हुन सक्छ । त्यसैले हामीले प्रदेशस्तरमै साइबर डेस्क स्थापना गरेका छौँ ।

Risks have been identified in Koshi, now elections will be held peacefully: DIG Ghimireजातीय द्वेष फैलाउने, भ्रम सिर्जना गर्ने वा विदेशी तस्बिरलाई नेपालकै जस्तो देखाएर दुष्प्रचार गर्ने गतिविधि देखिएमा तत्काल कारबाही गरिएको छ ।

उदाहरणका लागि, सुनसरीमा यस्तै प्रकारको भ्रामक सामग्री पोस्ट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । आवश्यक परेमा साइबर ब्युरोसाग समन्वय गरेर पक्राउसमेत गरिएको छ । डिजिटल स्पेसमा निगरानी बढाइएको छ ।

यसपालिको सुरक्षा व्यवस्थापन अघिल्ला निर्वाचनभन्दा कसरी फरक छ?

अहिलेको चुनौती परम्परागत मात्र होइन, डिजिटल पनि छ । त्यसैले हामीले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेका छौँ, राति गस्ती बढाएका छौँ, र स्थानीय राजनीतिक दल, बुद्धिजीवी, उद्योगी–व्यवसायी तथा समुदायसँग नियमित समन्वय बैठक गरिरहेका छौँ ।

केवल भौतिक सुरक्षामा मात्र नभई सूचनाको व्यवस्थापन र समन्वयमा पनि ध्यान दिइएको छ । सम्भावित जोखिमलाई पहिले नै पहिचान गरेर नियन्त्रण गर्ने रणनीति अपनाइएको छ ।

केन्द्रबाट पनि थप सुरक्षा टोली परिचालन हुने भनिएको छ, त्यस्तो टोली कसरी परिचालन हुँदैछ ?

प्रतिनिधिसभा निर्वाचनका लागि 'एकीकृत सुरक्षा योजना–२०८२' लागू गरिएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ । सोही योजना अनुसार सुरक्षाकर्मी परिचालन भइरहेको छ ।

कोशी प्रदेशमा हाल करिब १० हजार सुरक्षाकर्मी उपलब्ध छन् । तर योजनाअनुसार १२ हजारभन्दा बढी प्रहरी आवश्यक पर्ने आकलन गरिएको छ । त्यस्तै, करिबब २३ हजार भन्दा बढी म्यादी प्रहरी परिचालनको तयारी गरिएको छ । आवश्यक जनशक्ति व्यवस्थापन केन्द्र र प्रदेशबीचको समन्वयमा भइरहेको छ ।

कोशीका पहाडी तथा हिमाली जिल्लाहरूमा कस्ता चुनौती छन् ?

संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङलगायतका जिल्लामा प्राकृतिक चुनौती बढी छन् । हिमपात, वर्षा र चिसो मौसमका कारण यातायात अवरुद्ध हुन सक्छ । केही स्थानमा सञ्चार सम्पर्क नै नहुने अवस्था छ, जसका लागि स्याटेलाइट फोनको व्यवस्था गरिएको छ । दुर्गम क्षेत्रमा निर्वाचन सामग्री ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ । यस्ता ४७ वटा संवेदनशील स्थान पहिचान गरेर योजना बनाइएको छ ।

खुला सीमाना सुरक्षाका दृष्टिले कत्तिको चुनौतीपूर्ण छ ?

कोशी प्रदेशको भारतसँग ४२७ किलोमिटर र चीनसँग २५८ किलोमिटर सिमाना जोडिएको छ । सीमा क्षेत्र सुरक्षाका लागि झापा, सुनसरी र मोरङमा भारतीय सुरक्षा निकायसँग काउन्टर-पार्ट बैठक सम्पन्न गरिएको छ । निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि, अर्थात् १८ गते राति १२ बजेदेखि सीमा नाका सिल गरिनेछ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासँग संयुक्त सुरक्षा व्यवस्थापन गरिनेछ । भारततर्फ पनि आवश्यक समन्वय भइसकेको छ ।

कोशी प्रदेशमा शान्तिपूर्ण निर्वाचन हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?

हामी पूर्ण रूपमा विश्वस्त छौँ कि कोशी प्रदेशमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनेछ । सम्भावित जोखिम क्षेत्र पहिचान गरिसकिएको छ । आवश्यक परे नियन्त्रणात्मक कदमसमेत चालिएको छ । समग्र शान्ति–सुरक्षा अवस्था चुस्त छ ।

सबै मतदाताले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न सक्ने वातावरण तयार गरिएको छ । हामी सबैलाई निर्धक्क भएर मतदानमा सहभागी हुन अनुरोध गर्दछौँ ।

कान्तिपुर संवाददाता

Link copied successfully