क्षमता र अनुभवको आधारमा नेतृत्व चल्नुपर्छ : इश्तियाक राई

भदौ २३ गतेको घटना दुःखद थियो । हामीले पनि आन्दोलन गर्‍यौं, तर अहिले केही शक्तिहरूले प्राप्त उपलब्धिलाई सहज मानिरहेका छैनन् । कलिला बालबालिकाहरूलाई प्रयोग गरेर संसद् भवनतिर डोहोर्‍याइयो र त्यहाँ दुःखद घटना भयो । त्यसको आक्रोशमा राज्यको सम्पत्ति खरानी बनाइयो ।

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

Leadership should be based on ability and experience: Ishtiaq Rai

What you should know

बाँके — मधेस आन्दोलनका अगुवा उपेन्द्र यादवसँगको २० वर्षको राजनीतिक यात्रा विराम लगाएर एमालेमा जोडिएका मोहम्मद इश्तियाक राई बाँके २ मा उम्मेदवार छन् । पहिलो संविधान सभाको सदस्य २०६४ र २०७४ को सांसद बनेका राई तेस्रोपटक संसद् भवन प्रवेश गर्नका लागि बाँके २ मा प्रतिस्पर्धामा छन् ।फेरिएको पार्टी र राजनीतिक परिस्थितिबीच मतदातामाझ के भनेर मत मागिरहेका छन् त राई ? चुनावको सन्दर्भमा बाँके २ बाट एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईसँग कान्तिपुरका जयसिंह महराकमल पन्थीले गरेको कुराकानीको सम्पादित अंश :

प्रतिनिधि सभाको नयाँ परिवेशमा हुन गइरहेको चुनावमा के भनेर भोट माग्दै हुनुहुन्छ ?
मेरो लागि यो कुनै नयाँ परिवेश होइन । चिर-परिचित र आम मतदातासँग भिजिएको, सबै कुरा बुझेको, त्यही भएर मेरो लागि कुनै नयाँ परिवेश छैन । जे छ त्यो कुरा नै छ ।

२०७९ मा चुनाव हार्नुभयो, तपाईं हारेको पाँच वर्ष नपुग्दै चुनाव आइलाग्यो । तपाईंको त्यतिबेलाको पार्टी र अहिलेको पार्टी पनि फरक छ, प्रतिस्पर्धी पनि फरक छ । कस्ताे अनुभव भइरहेकाे छ?
२०७९ सालको चुनावमा यस क्षेत्रमा दुईवटा गठबन्धन थियो । एउटा एमाले र राप्रपाको गठबन्धन थियो जो निर्वाचित भयो, अर्को कांग्रेस लगायत पाँच दलको गठबन्धन थियो । म एक्लै थिएँ । त्यो पाँच दलीय गठबन्धनले पनि अन्त्यमा आफ्नो जमानत जफत गरायो । यो १३ हजार क्रियाशील सदस्य भएको पूर्वप्रधानमन्त्रीको क्षेत्रमा नेपाली कांग्रेसले जमानत जफत गराएर समर्थन गरी 'हेड-टु-हेड' चुनावमा जाँदा पनि मलाई एकदमै थोरै मतान्तरले मात्र पराजित गर्न सकेको हो ।२०७९ सालको चुनाव भयो, त्यो संसद पाँच वर्ष टिक्दैन भन्ने आँकलन भइरहेको थियो । चुनाव दुई-तीन वर्षमै हुन्छ भन्ने कुरा अनायास भनिएको हो कि जानेर, मलाई थाहा भएन । तर परिस्थिति यस्तो आयो कि २०८४ मा हुने चुनाव ८२ मै हुन गयो । त्यसैले मेरो लागि यो नयाँ कुरा होइन । अहिले म फरक दलबाट भए पनि मेरा पहिलाका जति कार्यकर्ता र नेताहरू ९९ प्रतिशत भन्दा बढी मसँगै छन् ।

यो क्षेत्रमा पूर्वपार्टीका सबै नेता-कार्यकर्तालाई लिएर एमाले प्रवेश गर्नुभयो ?
मैले चुनाव लडेकामध्ये ९९ प्रतिशत मसँगै छन् र नयाँ दल एमालेका पनि सबै नेता र कार्यकर्ता छन् ।

एमालेका नेता-कार्यकर्ता तपाईंको पक्षमा कत्तिको खुलेर लागेका छन् ?
यस क्षेत्रका शत-प्रतिशत लागेका छन् । सबै एकदम खुलेर मेरो पक्षमा लागेका छन् । किनभने उहाँहरूको लागि यो सुनौलो अवसर हो । यो क्षेत्रमा नेकपा एमालेले जित्नु भनेको एमालेको लागि ऐतिहासिक हुन्छ । म एमालेबाट चुनाव लड्छु भन्ने कुरा पहिल्यैदेखि स्पष्ट थियो । उहाँहरूकै आग्रह र सल्लाहमा म पार्टीमा गएको हुँ । त्यसैले कुनै असन्तुष्टि छैन । एमालेबाटै लड्छु भन्ने कुरा अलरेडी क्लियर थियो, त्यसैले कुनै मनमुटाव छैन ।
Leadership should be based on ability and experience: Ishtiaq Rai२०७४ को चुनाव पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदाको चुनावी अभियान र अहिलेको चुनावी अभियानमा के फरक छ ?
त्योबेला संविधान निर्माण लगत्तै निर्वाचन भएको थियो । कानुन र नीति निर्माण गर्नु पहिलो प्राथमिकता थियो भने विकास दोस्रो प्राथमिकतामा थियो । अहिलेको चुनावमा केही नयाँ कुराहरू छन्, विशेष गरी युवा पुस्ताले उठाएका मागहरू । तर अहिले पनि आधारभूत कुराहरूमा जाने हो भने टोल-टोलमा बाटो, शिक्षा, स्वास्थ्य र पूर्वाधार नै प्रमुख एजेन्डा हुन् ।

अहिले विकास नै मुख्य हो । म भौतिक पूर्वाधार मन्त्री हुँदा गुलरियाबाट नेपालगन्ज आउने बाटो निर्माण गरे, जुन बाटोमा पहिला तीन घण्टा लाग्थ्यो, अहिले ३० मिनेटमा पुगिन्छ । भेरी अस्पतालको नयाँ भवन, विद्यालयहरू, स्ट्रिट लाइट, ट्राफिक लाइट, अस्फाल्ट रोड र सौन्दर्यीकरणका कामहरू भएका छन् । फोहोर व्यवस्थापन, नदी नियन्त्रण, दुधुवा खोलामा दुई लेनको पुल जस्ता कामहरू मैले गरेको छु । यो एक स्थापित तथ्य हो कि विगतमा पनि कसैले गरेन र म पराजित भएपछि पनि कसैले गरेन । त्यसैले गर्न सक्ने मान्छेलाई नै मतदान गर्नुपर्छ भन्ने आम मतदाताको रोजाइ म नै हुँ ।

यसपालि विकास बाहेक केही नयाँ मुद्दाहरू पनि छन् कि ?
नीति निर्माणका मुद्दाहरू त छँदैछन् । अर्को कुरा, देशमा भदौ २३ र २४ गतेका घटनाक्रम पश्चात परिस्थिति फेरिएको छ । भदौ २३ गतेको घटना दुःखद थियो । हामीले पनि आन्दोलन गर्‍यौं, तर अहिले केही शक्तिहरूले प्राप्त उपलब्धिलाई सहज मानिरहेका छैनन् । कलिला बालबालिकाहरूलाई प्रयोग गरेर संसद् भवनतिर डोहोर्‍याइयो र त्यहाँ दुःखद घटना भयो । त्यसको आक्रोशमा राज्यको सम्पत्ति खरानी बनाइयो । यो विध्वंसात्मक घटनालाई मैले चुनावी एजेन्डा बनाएको छु । हामी निर्वाचित भएर जाने संसद भवन नै खरानी बनाउने हो भने हामी कहाँ बस्ने ? भन्सार, मालपोत र नगरपालिकाका कार्यालयहरू जलाइएका छन् । यसले गर्दा आम नागरिकले दुःख पाइरहेका छन् । यस्ता आपराधिक घटनाहरूको छानबिन हुनुपर्छ ।

यो विध्वंशको दोष अहिले एमाले र केपी ओलीमाथि लागिरहेको छ, यस्तो बेला तपाईं एमालेबाटै लड्दै हुनुहुन्छ । यसमा मतदाताले तपाईंलाई के भनिरहेका छन् ?
तपाईं प्रधानमन्त्रीको ठाउँमा भए के गर्नुहुन्थ्यो ? सुरक्षाकर्मी हटाइदिएको भए आक्रमणकारीले के गर्थे ? बालबालिकाको दोष थिएन, उनीहरूले त भ्रष्टाचार अन्त्य र सुशासनको माग गरिरहेका थिए । तर संसद् भवन र निजी सम्पत्तिमाथि आक्रमण भयो । राज्यको संरक्षण गर्ने जिम्मेवारी नेतृत्वको हो । घुसपैठका कारण यस्ता दुर्घटना भएका हुन् । यसमा एमाले वा कुनै व्यक्ति दोषी हुँदैन । आज देशमा अर्बौंको क्षति भएको छ, यसको दायित्व कसले लिने ?

मतदाताहरूले अब नयाँ खोज्छौं, पुराना दलले केही गरेनन् भनिरहेका सुनिन्छ, यो धारणालाई कसरी हेर्नुहुन्छ ?
नयाँ खोज्नेहरू संख्यात्मक हिसाबले १-२ प्रतिशत मात्र होलान् । कस्तो नयाँ खोज्ने ? नौं पटक चुनाव लडेका अमरेश सिंह वा वासिङ मेसिनमा धोएर आएकाहरूलाई नयाँ भन्ने ? रवि लामिछाने आफैं तेस्रो पटक लड्दै हुनुहुन्छ, के उहाँ नयाँ हो र ? नेतृत्व क्षमता र अनुभवको आधारमा चल्नुपर्छ । मेरो उमेर जम्मा ४६ वर्ष भयो, म कसरी पुरानो भएँ ? यो क्षेत्रले मन्त्री र सांसद पायो, कसले के काम गर्‍यो भन्ने कुरामा बहस हुनुपर्छ । 

नेपालगन्ज सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्र हो । यसमा तपाईं कत्तिको सचेत हुनुहुन्छ ?
मैले मेरो प्रतिबद्धतापत्रको पहिलो पानामै सामाजिक सद्भाव र अन्तरपन्थ द्वन्द्व व्यवस्थापनको सन्देश राखेको छु । म पाँच वर्ष पदमा रहँदा एउटा पनि साम्प्रदायिक घटना भएन । अहिले जुन अस्थिरता देखिएको छ, त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु ।

तपाईंले भोट के भनेर माग्दै हुनुहुन्छ ?
म खुल्लमखुल्ला भन्छु- मैले नेपालगन्जलाई स्विजरल्यान्ड त बनाएको छैन, तर यहाँका पूर्वप्रधानमन्त्रीहरूले भन्दा धेरै राम्रो बनाएको छु । कनेक्टिभिटी, शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्र (बागेश्वरी मन्दिर, गुरुद्वारा, मस्जिद, चर्च) सबैको संवर्द्धनमा मैले काम गरेको छु । सामाजिक सौहार्दता कायम गर्नु मेरो मुख्य एजेन्डा हो र यसमा युवाहरूको ठूलो साथ छ । 

कान्तिपुर

Link copied successfully