माओवादीको विरासत अब प्रलोपाले बोक्छ : जनार्दन शर्मा

'मसँग केही आधार छन्, जनतासँगको सम्बन्ध नै त्यो आधार हो । यसैले म अगाडि छु ।'

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

Pralopa now carries the legacy of the Maoists: Janardan Sharma

What you should know

रुकुम पश्चिम — नेकपा माओवादी (केन्द्र) ले अन्य घटकसँग एकता गरेपछि तत्कालीन माओवादी नेता जनार्दन शर्मा उक्त एकताबाट बाहिरिए र अरु केही नेतासहित नयाँ पार्टी घोषणा गरे- प्रगतिशील लोकतान्त्रिक पार्टी । शर्मा रुकुम पश्चिमबाट २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छन् । कान्तिपुरका कुलचन्द्र न्यौपाने, विवेक पोख्रेल र महेश केसीले शर्मासँग गरेको कुराकानी :

उम्मेदवारी दर्ता गरेदेखि नै तपाईंले जिल्ला र निर्वाचन क्षेत्र छाड्नुभएको छैन है ?

हो । अहिले मेरो निर्वाचन क्षेत्रमा केन्द्रित छु । अझै पनि १०–१२ वटा वडा र गाउँ पुग्न बाँकी छ । टोलटोलका जनतासँग कुरा गर्दा उहाँहरुको समस्यादेखि आशासम्म मसिनो गरी बुझ्न पाएको छु ।

तपाईंले यो क्षेत्रमा लामो समयदेखि निर्वाचन लड्दै परिचय बनाउनुभएको छ ।तर घरघरमा पुगेर फेरि आफ्ना कुरा भन्नुपर्ने अवस्था कसरी आयो त ?

नेताहरुको फरक कुरा होला तर जनतासम्म पुग्नुको कुरा उनीहरुको कुरा सुन्नु पनि हो । जनताले मलाई मत नदिए पाप लाग्छ भन्ने पनि छ । मैले यस क्षेत्रलाई धेरै गरेको छु भनेर मैले होइन जनताले नै भनिरहेका छन् ।

विगतमा माओवादी भन्ने परिचय थियो । तर यसपटक त त्यो पनि छैन । नयाँ परिचय बोकेर चिनाउँदै हिँँड्न कत्ति गाह्रो भएको हो ?

माओवादी कहाँ छ र ? माओवादी त पुष्पकमल दाहाल प्रचण्डले विघटन गरेर जानुभएको छ। हामीले बचाउने कोसिस गरेका थियौं तर निर्वाचन आयोगबाट हामीले मान्यता पाएनौं । विभाजन गरेर माओवादी बनाउन हामीसँग बहुमत थिएन । हामीले अँगाल्न ४० प्रतिशत चाहिन्थ्यो, पुगेन । निर्वाचनमा जानुपर्ने भएकाले थप लडाइँ लड्न पाएनौं । निर्वाचन आयोगले एक वर्षमा होल्डमा राखेको छ ।

जनताले माओवादी खोज्छन् कि खोज्दैनन् ?

जनस्तरमा खोजी नै त छैन तर नेता र नेतृत्वमा रहेकाहरुले माओवादी किन विघटन भनेर चासो र चिन्ता देखियो । सबैभन्दा धेरै भाग्नेहरुले मलाई नै भगौडा भने । म भागेर सिरहा, चितवन, रोल्पा र काठमाडौं कहाँ गएँ र ?

चुनाव जित्न संगठन चाहिन्छ कि चाहिँदैन ?

चुनाव किन जित्ने ? त्यसको पनि उद्देश्य होला । तर चुनाव जित्ने भनेर गलत कुराको सर्मथन गर्न सकिँदैन । मेरो कुरा मात्र होइन । झलनाथ खनालले नै फोन गरेर प्रचण्डको तोक आदेशमा चल्ने अरुको कुरा सुनिदैन नि भनेर भन्नु भएको छ । मैले ४३ वर्ष प्रचण्डसँग सहकार्य गरेर अनुभव गरेर नै छाडेको हो । आज हरिबोल गजुरेल, पूर्व मुख्यमन्त्रीसहित कारबाहीमा परेका छन् । उनीहरुले त विधि लागू गर्नुहोस् भनेको हो नि ।

मैले पार्टी छोडेको छैन । पुष्पकमल दाहालसँग भेटेर नै माधव नेपालहरुसँग पार्टी मिसाउनुभयो । सँगै जान सकिँदैन भनेर नै अलग बाटोमा आएको हो ।

तपाईं बाबुराम भट्टराईको दलमा जानुभएको हो ?

होइन । हामीले नयाँ दल बनाएका हौं । त्यहाँ पूर्वमाओवादीका साथीहरु पनि छन् । बाबुराम भट्टराई यो दलमा थिए भने पार्टीको नियम लाग्नुपर्ने हो नि । उहाँले गोरखामा उम्मेदवारी दिनुभयो अनि पछि फिर्ता लिनुभयो तर हामीले कारबाही त गरेनौं । त्यसैले उहाँ स्वतन्त्र हो ।

माओवादी विघटनको अवस्थामा कसरी पुग्यो त ?

मैले तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी बिग्रियो, शुद्धीकरण गरौ भनेको हो । पार्टीभित्र किन विकृति आयो, यसको छानबिन गरौं भनेको हो । पार्टीबाहिरमा स्वतन्त्र मानिसहरुको नेतृत्वमा कमिटी बनाएर छानबिन गरौं र सम्पत्तिदेखि विचलनसम्मका कुरामा गलत भएको भए कारबाही गरौं भनेकै हो । तर तत्कालीन नेतृत्वमा रहेका अध्यक्ष दाहालदेखि कोही पनि तयार भएनन् । पार्टीभित्र लोकतान्त्रिक अभ्यास र निर्वाचनवाट चुनिने व्यवस्था गरौं भनेको हुँ । तर महाधिवेशन नै नगरेर नाम पनि परिर्वतन गरेर माधव नेपालसँग मिल्नुभएको हो । मैले पहिला पार्टीभित्र महाधिवेशन गरौं अनि एकता गरौ भनेको हो ।

अब देशमा माओवादी  र यसको विरासत छैन त ?

अव विरासत नेताले बोक्ने हो । अब हाम्रो एजेन्डा सुशासन र विकास हो । जनतालाई सक्षम बनाउँदै गरिबी अन्त्य गर्नुपर्छ र सामाजिक विभेद हटाउँदै सुशासन कायम गर्नुपर्नेछ । यसमा व्यक्ति मात्र होइन समुदायलाई नै अग्रसर गराउनुपर्छ । माओवादी विघटन भएपछि त्यसको विरासत अब प्रगतिशील लोकतान्त्रिक पार्टीले बोक्छ । यसले विगतमा माओवादीका सिद्धान्तको पनि जिम्मा लिन्छ ।

अहिले घरदैलोमा जाँदा के एजेन्डा लिएर गइरहनुभएको छ त ?

हामीले मूल रुपमा विकास र सुशासनकै कुरा गरेका छौं । सबै क्षेत्रमा सडक सञ्जाल पुगेको छैन । पानीको अभावमा धेरै टाढासम्म जानुपर्ने अवस्था छ । उज्यालो रुकुम कार्यक्रम विस्तार गर्ने विगतको कामलाई तीव्रता दिने एजेन्डा छन् । विद्यालयहरुका भवन पक्की भएका छन् तर त्यसमा शैक्षिक गुणस्तर पनि सुधार गर्नुपर्नेछ । स्वास्थ्य चौकीहरु बनेका छन् । सडक धेरै खोलिएका छन् त्यसलाई स्तरोन्नति गर्नुपर्नेछ । त्यस्तै आर्थिक रुपमा पनि अघि बढ्नुपर्नेछ । रुकुममा आईटी सेन्टरदेखि गरिबी अन्त्यसँगै सामाजिक विभेद हटाउनेसम्म मुद्दा उठाएका छौं ।

जनताले कसलाई मतदान गर्लान् त ?

यो क्षेत्रमा नेपाली कांग्रेस, एमाले, रास्वपादेखि उज्यालो नेपालसम्मका उम्मेदवार प्रतिस्पर्धामा छन् । तर जनार्दन शर्मासँग केही  आधार छन् । जनतासँगको सम्बन्ध नै त्यो आधार हो । यही आधारलाई लिएर म अगाडि छु ।

एमालेसँग सहकार्य गर्नुभएको छ ? किन जरुरी भयो त ?

एमालेसँग सहकार्य आवश्यकता भयो अनि गरिएको हो । अरुले पनि समर्थन गर्न सक्छन् । यो अहिलेको र यहाँको आवश्यकता कारण भएको हो । यसमा अन्यथा मान्न मिल्दैन ।

युवाहरुलाई अघि बढाउने भन्नुभयो अनि उम्मेदवारचाहिँ आफै हुनुभयो नि ?

जनताले जनार्दन शर्माले छोड्न मिल्दैन भनेपछि उम्मेदवार भएको हो । मैले युवालाई नै अघि सार्न खोजेका थियौं तर जनताले तैंले छोड्न पाउँदैनस् भनेकाले निर्वाचनको मैदानमा आएको हुँ । हामीले अरु क्षेत्रमा युवाहरुलाई अघि सारेका छौ । युवाहरुलाई मौका दिदै गर्दा पाका मानिस पनि चाहिन्छ । अनुभव पनि चाहिन्छ होला नि । यो अन्तिम अवधि हो मेरो । अहिले हस्तान्तरण सम्भव भएन तर अब म उम्मेदवार हुन्न है भनेको छु ।

निर्वाचन जित्ने आधार र कस्तो दल बन्ने अपेक्षा छ ?

हामी अहिले राम्रो उपस्थिति जनाउँदै राष्ट्रिय दल बनाउँछौं । अर्को पटक हामी मुख्य प्रतिस्पर्धी दल बनाउनेतिर लाग्छौं । हाम्रो लक्ष्य नै वैकल्पिक दल बनाउने हो । यसमा हामी सफल पनि हुन्छौं । यही कारण हामीलाई मतदाताले जिताउँछन् । जनतालाई बदल्ने उद्देश्य राखेर आफू लागेकाले मत दिन्छन् भन्ने विश्वास छ । जनताले अहिले देशमात्र नभई अन्तर्राष्ट्रिय शक्ति सन्तुलन समेत मिलाउनुपर्ने चुनौती भएको र प्रलोपा यसमा सक्षम भएकाले मत दिनेछन् । 

कान्तिपुर

Link copied successfully