मैले कसैलाई विशेष चुनौतीका रूपमा लिएको छैन : देवराज घिमिरे

'नयाँले के गर्छ ? कसरी गर्छ ? के आधारमा विश्वास गर्ने भन्ने प्रश्नको स्पष्ट जवाफ धेरैसँग छैन ।'

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

I have not taken anyone as a special challenge: Devraj Ghimire

What you should know

काठमाडौँ — झापा क्षेत्र नं. २ पूर्वसभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरबीचको प्रतिस्पर्धाका कारण चर्चामा छ । यहाँ कांग्रेसबाट सरिता प्रसाईं, राप्रपाबाट स्वागत नेपालसँगै पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलासमेत स्वतन्त्र उम्मेदवार छन् ।

पूर्वसभामुख एवं नेकपा एमालेका उम्मेदवार घिमिरेसँग गौरव पोखरेलपर्वत पोर्तेलले गरेको कुराकानीको सम्पादित अंश : 

मतदाताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ? 

म अहिले आफ्नै मत माग्ने काममा केन्द्रित छु । अरूको प्रतिक्रियाभन्दा पनि हामीप्रतिको विश्वास र समर्थन कस्तो छ भन्ने कुरा मेरो सरोकारको विषय हो । घरदैलोमा जाँदा सकारात्मक संकेत पाइरहेको छु । जनताको विश्वास पाइरहेको छु ।

जेन-जी आन्दोलनपछि फरक परिस्थितिमा चुनाव हुँदैछ । मतदाताले कस्ता प्रश्न उठाइरहेका छन् ?

खासै असामान्य प्रश्न छैनन् । तर अपेक्षा पूरा नभएको भन्ने निराशा केही बढेको महसुस हुन्छ । ‘पुराना धेरै हेरियो, अब नयाँ चाहिन्छ’ भन्ने अमूर्त अभिव्यक्ति पनि सुनिएको छ । तर, नयाँले के गर्छ ? कसरी गर्छ ? के आधारमा विश्वास गर्ने भन्ने प्रश्नको स्पष्ट जवाफ धेरैसँग छैन । भौतिक पूर्वाधार, रोजगारी, सुुशासन र समग्र विकास नहुँदा निराशा बढेको छ, त्यो स्वाभाविक हो ।

तपाईं यही क्षेत्रबाट निर्वाचित भई सभामुखसमेत बनिसक्नुभयो । कार्यकालमा के गर्नुभयो ? अब के गर्न बाँकी छ ?

यस क्षेत्रको दीर्घकालीन समस्याको समाधानतर्फ योजनाबद्ध ढंगले अघि बढेँ । भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको छ, जसले जनतामा आशा र भरोसा बढाएको छ । अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या ६०–७० वर्ष पुरानो हो । भूमिसम्बन्धी विधेयक पारित गरी ऐन बनाउने र त्यसको आधारमा समाधान गर्ने चरणमा पुगेका थियौं । त्यो प्रक्रिया पूरा भएलगत्तै डगर–बगर दर्ता भई धेरै समस्या समाधान हुने अवस्था थियो । अब जितेर गएपछि त्यो पूरा गर्ने योजना छ ।

I have not taken anyone as a special challenge: Devraj Ghimire

झापा-२ मै पर्ने विर्तामोड बसपार्कको ५१ बिघा क्षेत्रमा उम्मेदवारलाई प्रवेश निषेध गरिएको रहेछ, तपाईंले उहाँहरुसँग संवाद गर्नुभएको छ कि छैन ?

गिरिबन्धु टी–स्टेटको सट्टाभर्ना प्रकरणसँग जोडिएको ५१ बिघा क्षेत्र (विर्तामोड–५ र अर्जुनधारा–११) मा ४ सयभन्दा बढी परिवार बसोबास गर्दै आएका छन् । जग्गाको स्वामित्वमै प्रश्न उठेपछि किनबेच रोकिएको छ र सर्वसाधारण पीडित बनेका छन् । त्यहाँ करिब दुई हजार मतदाता छन् । मैले त्यहाँका बासिन्दासँग संवाद गरिरहेको छु । बहिष्कारले समाधान दिँदैन भन्ने आग्रह गरेको छु ।

झापा–२ मा तपाईंका लागि मुख्य चुनौती को हो ? पूर्वउपसभामुख वा अरु कोही ?

मैले कसैलाई विशेष चुनौतीका रूपमा लिएको छैन । आफ्नै नीति र कार्यक्रम लिएर अघि बढेको छु । लामो राजनीतिक जीवन र सभामुखको भूमिकामा निष्पक्षता कायम राखेको अनुभव जनतासामु छ ।

रास्वपाका उम्मेदवार पनि यही क्षेत्रका हुनुहुन्छ । उहाँको योगदान र मेरो कामबीच तुलना गर्ने अवसर जनताले पाएका छन् । केहीले सुशासन र भ्रष्टाचारको विषय उठाए पनि समयसँगै तथ्य स्पष्ट हुँदै गइरहेका छन् ।

झापा–५ मा अध्यक्ष केपी शर्मा ओली र स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहबीच प्रतिस्पर्धा छ । समग्र झापामा एमालेको स्थिति कस्तो देख्नुहुन्छ ?

झापा–५ मा बालेन शाहको उम्मेदवारी अस्वाभाविक र अनौठो जस्तो देखिएको छ । निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान भए परिणाम स्पष्ट हुनेछ । अघिल्लो पटक तीन क्षेत्र जितेका थियौं, यसपटक पाँचै क्षेत्र जित्छौ ।

निर्वाचन निष्पक्षता र सुरक्षाको सन्दर्भमा केही शंका छ ?

केही प्रचार–प्रसारका गतिविधिले सनसनी सिर्जना गरेका छन् । तर, प्रशासनले स्पष्टीकरण लिइसकेको छ । हाम्रो अपेक्षा भनेकै शान्तिपूर्ण, भयमुक्त र स्वतन्त्र निर्वाचन हो । त्यो सुनिश्चित गर्नु सरकारको दायित्व हो । 

कान्तिपुर

Link copied successfully