कांग्रेसमा नेतृत्व परिवर्तनपछि कार्यकर्तामा अभूतपूर्व एकता देखियो, मतदातामा जान सजिलो छ : सञ्जय गौतम

'मैले महसुस गरेको छु, अहिले जनतको चेतनाको स्तर बढेको छ, त्यो अभिमतले राम्रै परिणाम दिन्छ ।'

फाल्गुन ११, २०८२

कान्तिपुर संवाददाता

After the leadership change in the Congress, unprecedented unity was seen among the workers, it is easier to reach the voters: Sanjay Gautam

बर्दिया — बर्दिया-१ बाट २०७४ र २०७९ को निर्वाचनमा जित हासिल गरेका कांग्रेसका सञ्जय गौतम तेस्रोपटक सांसद बन्नका लागि चुनावी मैदानमा छन् । विगतका अधुरा काम पूरा गर्ने भनी भोट मागिरहेका गौतमसँगै यो क्षेत्रबाट एमालेका शालिकराम अधिकारी, नेकपाका विष्णुप्रसाद चौधरी, रास्वपाका ठाकुरसिंह थारु, नागरिक उन्मुक्तिका अब्दुल खानसहित २० जना प्रतिस्पर्धामा छन् ।

१ लाख ६८ हजार ३४ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व बढिरहेको छ, जुन यो क्षेत्रको प्रमुख चुनावी मुद्दा देखिएको छ । राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार फागुन २१ को चुनावका लागि घरदैलो कार्यक्रम गरिरहेका छन् । प्रस्तुत छ कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग कान्तिपुरका जयसिंह महरा र कमल पन्थीले गरेको कुराकानीको सम्पादित अंश :

जनतामाझ २०७९ को चुनावमा गरेका बाचा पूरा नगरी फेरी मैदानमा आउनुभएको छ, तपाईंको यो उम्मेदवारीलाई मतदाताले के भनिरहेका छन् ?

मतदाताले त्यति ठूलो गुनासो गर्नुभएको छैन । उहाँले पनि बुझ्नुभएको छ, म पाँच वर्षलाई निर्वाचित तयारी गरेको थिएँ । साढे दुई वर्षमै चुनावमा आउनुपर्‍यो । मतदातालाई के थाहा छ भने मैले धेरै गर्न सक्थेँ, समयले पनि साथ दिएन, परिस्थितिले पनि साथ दिएन र मलाई पनि मेरो मनमा लागेजति गर्न सकिनँ । यसले सक्थ्यो, यसले नचाहेको होइन, चाहेको हो तर समयले साथ दिएन भन्ने मतदातामा छ ।

तपाईंको पार्टी कांग्रेसले राष्ट्रिय राजनीतिलाई सम्हाल्न किन नसकेको भन्ने प्रश्न उठ्दैन ?

म नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकदेखि संसदसम्म सुशासन र भ्रष्टाचारको पक्षमा सधैँ थिएँ । मुलुकलाई एउटा बेथितिबाट निकाल्नुपर्छ र सुशासन दिनुपर्छ भन्ने मेरो कुरा भयो । मैले जबर्जस्त ढङ्गले त्यो कुरा उठाएँ, मतदाताले बुझेका छन् ।पार्टीभित्र र संसदमा गरेका कुरा दुवैमा एउटा भूमिका निर्वाह गरेँ । सुशासन नहुँदा र भ्रष्टाचार बढ्दाका कारणले अहिलेको परिस्थिति आयो ।

अब युवाहरूको भावनालाई टेकेर अघि बढ्नुपर्छ । कुन शक्तिको उदय भयो, कुन शक्तिले चर्चा गर्‍यो, हामी कहाँ पुग्यौँ ? आज हाम्रो संविधान कुन परिस्थितिमा छ भन्ने आम चिन्ता र चासो छ । मैले मतदातालाई भनेको थिएँ यसबाट निकाल्नका लागि पनि यतिबेला नेपाली कांग्रेसको विकल्प छैन ।

राष्ट्रिय राजनीतिमा यो साढे दुई वर्षमा तपाईंहरूले धेरै प्रयोग गर्नुभयो । एमाले र माओवादीसँग मिलेर सरकार बनाउने । पछिल्लो समय त तपाईं दुई ठूला दलको बलियो सरकार थियो, त्यसले पनि सम्हाल्न सक्नुभएन । त्यसको हिस्सेदार त तपाईं पनि हुनुहुन्थ्यो । यसबारे तपाईमाथि प्रश्न छैनन् ?

म त्यसलाई पब्लिकको बाटोसँग रेखदेख गर्न लाग्छु । पोलिटिकल लिडरहरूले माओवादीसँग गठबन्धनमा चुनाव लड्नु कांग्रेसको ठूलो गल्ती थियो । हामी चुनावी गठबन्धनमा जानु हुँदैन थियो । हामीले आफ्नो आफ्नो विचार, दृष्टिकोण, एजेण्डा लिएर जानुपर्थ्यो । म भन्दिनँ कांग्रेसको मात्रै गल्ती थियो, माओवादीको पनि गल्ती थियो होला । तर गठबन्धन टुट्नु गल्ती थियो । कांग्रेसको एमालेसँग जुन सहकार्य भयो, एमालेसँग जुन सरकार बन्यो र बहुमत निर्माण गरेर संविधान संशोधन गर्ने कुरा एजेण्डा एक नम्बरमा राखेर त्यो आफ्नो संसदीय व्यवस्थामा गल्ती अर्को गल्ती थियो ।

पहिलेको भन्दा ठूलो गल्ती थियो ?

फस्ट लार्जेस्ट पार्टी र सेकेण्ड लार्जेस्ट पार्टी एक ठाउँमा आएर मुलुक चलाउँदा अपोजिसन डेफिनेट्ली कमजोर हुन्थ्यो । यो गल्तीमाथि गल्ती थपियो । जसको परिणाम आजको यो दिन आयो । यो ठाउँ आउनुमा पोलिटिकल्ली गल्ती नै भएन भन्ने कुरा मेरो होइन । मैले संसदमा कसरी आफूलाई प्रस्तुत गरेँ, मेरो विचार  के थियो, म कसरी माइनोरिटीमा छु, मैले किन मेरो एजेण्डालाई प्रिभेल गर्न सकिनँ अथवा पार्टीलाई मैले बुझाउन सकिनँ, त्यो बुझ्नुपर्छ । म दुइटै बाटोमा सहमत थिइनँ । गठबन्धनमा चुनाव लड्ने बाटोमा र एमालेसँग मिलेर सरकार बनाउने बाटोमा ।

तपाईंले यो गठबन्धनबाट चुनाव लड्नेमा सहमत थिइनँ भन्नुभयो तर ०७९ को चुनावचाहिँ तपाईं गठबन्धनबाटै जित्नुभएको थियो नि ?

मैले पार्टी छोड्न सकिनँ । मैले चुनाव हारेर केही पनि फरक पर्दैन, राजनीति हार्नु हुँदैन भनेको थिएँ ।

जित्ने दाबी गरिरहनुभएको छ, अहिले जनताहरूले चाहिँ साढे दुई वर्ष अगाडिको र अहिलेको परिस्थितिमा भोट चाहिँ के भनेर दिन्छौँ भनिरहेका छन् ?

निर्वाचनका बेला मतदातामा जुन उत्साह हुनुपर्ने हो, त्यो मैले पाएको छैन । युवाहरूमा एउटा खालको सोच, चिन्तन विकास भएको छ । परिवर्तनको चाहना राख्छन्, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा छन् । तर, युवामा अनुभवको कमी छ ।

यतिखेर अप्ठ्यारो परिस्थितिमा हामी छौँ । किनभने एकातिर एउटा एजेण्डा छ, यहाँ त एउटा परिवेश छ । बीचमा जानुपर्नेछ, नगई पनि हामीसँग विकल्प छैन । यो संविधान र अहिलेसम्म प्राप्त गरेका उपलब्धि गुम्ने डर छ । यो संविधानमै बसेर संविधान संशोधन गरेर अगाडि जानुपर्ने हाम्रो बाध्यता छ । यो निर्वाचन पनि त्यही संविधानको फ्रेमवर्कभित्र भइरहेछ । त्यसकारण अहिले कुनै नयाँ, कुनै तुरुन्तै मिराकल भइहाल्छ, परिवर्तन आइहाल्छ भन्नेमा जनता आशावादी छैनन् । 

युवा र मतदातामा चुनावप्रति उत्साह छैन भन्नुभयो, निर्वाचनप्रति नै नभएको हो कि तपाईं निश्चित उम्मेदवारप्रति नभएको ? 

यसलाई कुनै पार्टी विशेष, व्यक्ति विशेषभन्दा पनि समग्रतामा हेरेको छु । अहिले नयाँ एजेण्डा, नयाँ विषय र सोच राखेर आएको छ भने त्यो त कांग्रेस नै छ । भर्खरै विशेष महाधिवेशनबाट नयाँ नेतृत्व लिएर हामी देश बदल्छौँ भनेर आएका छौं । जनतासँग झुटो बोलेर आफ्नो पक्षमा मतदान हाल्नु ठूलो कुरा होइन, जनतालाई यथार्थ कुरा भन्नु ठूलो कुरा हो । म जनतालाई यथार्थ कुरा भनेर अघि बढ्न खोज्दै छु । गल्ती भयो तर नियतमा शंका नगरेर यो परिवेशले गरेको गल्ती हो, त्यसकारण हाम्रो यो आवश्यकता हो भनेर अगाडि बढिरहेका छौं ।

तपाईंले निर्वाचन क्षेत्रका लागि ल्याएको घोषणापत्रमा स्थानीय मुद्दा राख्नुभएको छ, सांसदको काम कानुन निर्माण गर्ने हो कि विकास निर्माण ?

मेरो घोषणापत्रमा स्थानीय मुद्दा धेरै छन् । यहाँ मानव र वन्यजन्तुबीचको द्वन्द्वका कुरा छन्, त्यसलाई तपाईं लोकल इस्यु भन्नुहुन्छ कि नेसनल इस्यु ? यसबाट सबभन्दा आक्रान्त मेरो जिल्ला छ । राष्ट्रिय रूपमा हामीले ०४६ पछि जुन सामुदायिक वनको अवधारणा ल्यायौँ, सामुदायिक वनहरू तयार भएका छन् । बाघको संख्या बढेको छ । चितुवाहरू बाहिर निस्किन थालेका छन्, मानव बस्तीहरू पस्न थालेका छन् । यो गम्भीर मुद्दा हो कि होइन ? यसले स्थानीय स्तरमा हामीलाई अप्ठ्यारो पारेको छ । मैले उठाएका शिक्षा र स्वास्थ्यका कुरा पनि गम्भीर मुद्दा नै हुन् ।

अहिले हामीसँग त्यो वेस्टमिन्स्टर मोडलको पार्लियामेन्ट हो भन्ने खालको बुझाइ भन्दा पनि यो संसद् भनेको हाम्रो प्रतिनिधि हो, यसले भनेपछि सबै हुन्छ, बाटो पनि बन्छ, पुल पनि बन्छ, विकास पनि हुन्छ, कानुन पनि बन्छ, सबै कुरा भनेकै सांसद हो भन्ने खालको बुझाइ छ । त्यसकारण अहिले मैले पनि फिल गरेको के हो भने वडाध्यक्षले गर्नुपर्ने कामको असन्तुष्टि पनि म कहाँ पुगिरहेछ, मेयरले गर्ने असन्तुष्टि पनि मसँग पुगिरहेछ, प्रदेशले गर्ने असन्तुष्टि पनि मसँग पुगिरहेछ ।

राष्ट्रिय राजनीतिमा शेरबहादुरजीले के गर्नुभयो अथवा प्रचण्डजीले के गर्नुभयो, केपी ओलीजीले के गर्नुभयो पनि जनताले चिन्दैनन् ।ती नेताहरूको रिस मसँग पुगिराछ । अहिले म त कस्तो भएको छु भने फोहोर हाल्ने कन्टेनरजस्तो । सबैको असन्तुष्टिलाई कलेक्ट गर्ने अनि त्यसले कस्तो डेलिभरी दिने भन्ने कुरा उनीहरूलाई आश्वस्त गराउने भएको छु । यो मैले महसुस गरेको छु । अहिले जनताको चेतनाको स्तर बढेको छ, जनताको अभिमतले राम्रै परिणाम दिन्छ ।

मतदाता धेरैको गुनासो के छ भने तपाईंको पहलमा आएको नदी व्यवस्थापन कार्यालय खारेज भएर अन्यत्र स्थान्तरण भयो, त्यो तपाईंले किन रोक्न सक्नुभएन ?

दुर्भाग्य नै भन्छु यसलाई । नेपाली कांग्रेसको सांसद भएर आफ्नै पार्टीको सरकार भएको बेलामा मैले यो प्रश्न उठाउनुपर्‍यो । म पार्टीभित्र पनि विपक्षमा थिए । मलाई नचाहिँदो कुरा चित्त बुझेन, मैले त्यसको प्रतिवाद गरेँ । त्यसकारण जब नदीको पुल नेपाली कांग्रेसकै पालामा नै बनेन भनेर मैले सदनमा भनेँ, सडकमा भनेँ, दोस्रो पटकमा भनेँ ।

त्यो आयोजनालाई राजापुर सिँचाइ आयोजनासँगै अफिस डडेलधुरा लिएर गए । संयोग कस्तो भने म कांग्रेसको सांसद, डडेलधुराका सांसद पार्टी सभापति शेरबहादुर देउवा । मेरै पालामा, मेरै सभापतिको जिल्लामा मेरो जिल्लाबाट आयोजना जाँदा मैले संसदमा भनेँ । साथीहरूलाई पनि भनेँ, तर म रोक्न सकिनँ । अब किन सकिनँ, उहाँहरूलाई सोध्नुस्, मलाई सोधेर त्यसको सही जवाफ छैन । मैले बर्दियाका अरु अन्य पार्टीलाई पनि आह्वान गरेँ । तिमीहरूको ठाउँबाट आऊ, तिमीहरूले प्रतिवाद गर अरुले पनि सुनेनन् ।

यहाँका मानिसहरू यातायात कर बुझाउनलाई नेपालगन्ज जान बाध्य छन्, त्यो कार्यालय किन बर्दियामा रहेन ?

त्यतिबेला प्रदेशको यातायातमन्त्री माओवादीका थिए । त्यो राख्नुस् भने मानेनन् । यहाँ यातायात कार्यालय भएपछि बर्दियाको जनतालाई अलि सजिलो हुन्थ्यो । अब त्यो गर्ने मेरो प्रयास छ, मेरो प्रयास रहन्छ ।

बर्दियाको अर्को महत्त्वपूर्ण समस्या भनेको भन्सार नाका । सन् २००९ अक्टोबर २७ तारिखको दिनमा दिल्लीमा भएको सम्झौता अझै कार्यान्वयनमा हुन सकेको छैन । चार वटा नाकाचाहिँ सञ्चालनमा आए तर गुलरिया र मुर्तिया नाकाचाहिँ सञ्चालनमा नहुने कारण के हो ? 

तपाईंले उठाउनुभएको मेरो मेन एजेन्डा हो अहिले पनि । मेरो कार्यकालमा म सञ्चालन गर्छु भन्ने संकल्पका साथ लागिरहेको छु । यो बीचमा कहिले गठबन्धनको सरकार, कहिले प्रचण्डजी प्रधानमन्त्री हुनुभयो दुईपल्ट, केपी ओलीजी र शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । सुशील कोइराला प्रधानमन्त्री भएको पालमा मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पनि भेट्दा यो विषयमा कुरा गरेँ । रजनुवादेखि मगरागाडीको सडक उहाँकै पालामा प्रधानमन्त्री सुशील कोइराला र नरेन्द्र मोदीसँग भेटेर कुरा गर्दै त्यो आयोजना यहाँहरूको हो, त्यो वास्तवमा नाका खोल्ने, रजनुवा नाका खोल्ने भन्ने मनोविज्ञानले त्यो बाटोको काम गएको हो । अहिले पनि म त्यसमा लाग्या छु । भन्सार कार्यालय रजनुवा गर्नुस् चाहे गणेशपुर, तर सदरमुकाममा नाका चाहिन्छ । नाका नभएर हाम्रो अधुरो भइराख्या छ । त्यसलाई अगाडि बढाउनुपर्छ भनेर मैले बारम्बार भनेको छु ।

तपाईं चुनावमा जाँदै गर्दा कांग्रेस पनि नयाँ भएर आएको छ । गगन थापा सभापति हुनुभएको छ, नेतृत्व सम्पूर्ण नयाँ नेतृत्व नै आएको छ । नयाँ कांग्रेसप्रति कार्यकर्ता र मतदातामा कत्तिको उत्साह छ ?

नयाँ नेतृत्व आएपछि अलिकति सजिलो भएको छ कार्यकर्ता र मतदातामा जान । कार्यकर्ताहरू उत्साहित छन्, युवाहरू उत्साहित छन् । मैले चार निर्वाचन लडेको छु, यसपालिको निर्वाचनमा कांग्रेसभित्र अभूतपूर्व एकता देखिएको छ । कांग्रेसमा जुन पहिले पहिले डिभिजन देखिन्थ्यो, अहिले देखिनेगरी छैन ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उहाँ पक्षका केही नेताचाहिँ अहिले पनि चुनावमा सक्रिय भएको देखिँदैन, यसको प्रभाव केही परेको छ कि छैन ?

जिल्ला तहमा अहिले मैले त्यसको अनुभूति गरेको छैन । साथीहरू सबै लाग्नुभएको छ । उता किशोरसिंह राठोरजी लाग्नुभएको छ, यता म लाग्या छु । हामीले भन्या छौँ- यो बेला तर्क–वितर्क गर्ने, वादविवाद गर्ने, बुद्धिविलास गर्ने होइन । किशोरजीले पनि मलाई केही यहाँ सारकथा भन्नुभएको छ । बर्दिया जिल्लामा हामीले त्यसो हुन दिएका छैनौँ र दिँदैनौँ पनि । किनभने यो लडाइँ भनेको मेरो होइन, लोकतन्त्रको लडाइँ, संविधानको लडाइँ, हामीले प्राप्त गरेको उपलब्धि गुम्छ कि रहन्छ भन्ने कुराको लडाइँ हो । यो बेला कांग्रेसका कार्यकर्तालाई त्यो गर्ने छुट छैन। कांग्रेसको क्रियाशील सदस्य खल्तीमा हालेर बदमासी गर्ने छुट छैन ।

तपाईंका प्रतिस्पर्धीहरूलाई कसरी हेर्नुभएको छ ?

मैले उहाँहरूलाई प्रतिस्पर्धीको रूपमा हेरेकै छैन, सहयोगीको रूपमा हेरेको छु । मेरो प्रतिस्पर्धा नै छैन, म उहाँहरू भन्दा धेरै अगाडि छु । उहाँहरूको बीचमा तीन जनाको, तीनटाको त्रिपक्षीय वा चारपक्षीय प्रतिस्पर्धा होला, म सँगचाहिँ नि उहाँहरूको प्रतिस्पर्धा छैन । बर्दियाका जनताले मलाई धेरै मन पराउँछन्, माया गर्छन्, विश्वास गर्छन् । मलाई जनताप्रति, मतदाताप्रति र कार्यकर्ताप्रति अगाध विश्वास छ ।

शेरबहादुर देउवा आजको दिन पनि चुनावमा दत्तचित्त भएर खट्नुभएको देखिँदैन । त्यसलाई लिएर कांग्रेस सभापति गगन थापाले पनि 'सबै सक्रिय हुनुपर्छ, हिजो तपाईंहरू लड्दाखेरि अरुले साथ दिनुभएको थियो आज अरु लडिराख्नुभएको छ तपाईंले साथ दिनुपर्छ' भन्नुभएको छ । तर त्यसको पनि प्रभाव देखिएको छैन नि ?

शेरबहादुर दाइले अब विगतको कुरा बिर्सिनुपर्छ । उहाँ नेपाली कांग्रेसको इतिहास हो, उहाँले धेरै दुःख पनि गर्नुभएको छ, धेरै त्याग गर्नुभएको छ । धेरै लामो समय पार्टी चलाउनुभयो । अब म्यानेज गर्न उहाँले सक्नुभएन । सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा अलिकति पार्टीलाई कन्ट्रोल गर्न सक्नुभएन । त्यसले कांग्रेसको विभाजनको पनि असर हुन्छ । दुईतिर जुन कार्यकर्ताहरू पोलराइज भए, त्यसले गर्दाखेरि स्वार्थ समूह, विचार समूह, रूपान्तरणको स्वार्थ समूह गुटमा प्रिभेल भयो । त्यो गुटको प्रभाव देखियो त्यहाँ । तर अब अहिले त्यो बेला होइन ।

मङ्सिरमा अर्को हामी नियमित अधिवेशनमा गइहाल्छौँ । पार्टी त अब जसका हातले झन्डा र रुख छ, त्यही सभापति हो हाम्रो । अहिले गगनजी सभापति हो । भोलि अधिवेशन आएपछि साथीहरूले स्वस्थ प्रतिस्पर्धा गरे भइहाल्छ । तर रुख र चारतारे झन्डालाई नोक्सान हुने काम कुनै पनि नेता तथा कार्यकर्ताले गर्नु हुँदैन । हामी सबै समाहित भएर लाग्नुपर्छ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई पार्टीभित्रै सीमित गर्नुपर्छ, यो राष्ट्रिय राजनीतिमा यसले पार्टी प्रभावलाई ख्याल गर्नुपर्छ ।

कान्तिपुर

Link copied successfully