एआईलाई झलकमान गन्धर्वको स्वर निकाल्न आउँदैन : अर्को मुखर्जी [अन्तर्वार्ता]

‘एआईको दबदबा बढेको यो समयमा हामीले यो प्रश्न आफैंसँग गर्न आवश्यक छ । के यो एआई हो या एसी-आर्टिफिसियल कन्ससनेस ? के हामी हाम्रो चेतनामाथि एआईलाई प्रवेश गराउँदैछौं ?’

माघ २५, २०८२

रीना मोक्तान

AI can't reproduce Jhalakman Gandharva's voice: Arko Mukherjee [Interview]

काठमाडौँ — नेपाली मौलिक गीतको छुट्टै स्वाद छ, लय छ । गाउने पृथक् शैली छ, बज्ने बाजा बेग्लै छ । कालजयी गीत वर्षौंदेखि वन/पाखा गुञ्जँदैछन् । सहरलाई झुमाउँदैछन् । दर्शक लट्ठ छन्, मस्त छन्, नतमस्तक छन् यही मौलिक धुनमा । यही मौलिकतामा मिसियो 'अर्को' स्वर ।

'अर्को' अर्थात् अर्को मुखर्जी । यही स्वरले ती मौलिक लयमा मिठास भरिदियो । अर्कोको गायकी, मधुर स्वर र संगीतप्रतिको त्यही भक्तिले पनि युवा दर्शकलाई ती मौलिक धुनमा फर्काएको हो । अर्को नेपाली संगीतसँग आफू मात्रै जोडिएनन्, अरूलाई पनि जोडे । कारण, उनका लागि संगीतको अर्को पहिचान नै समूह हो, समुदाय हो अनि सामुदायिकता हो । उनै अर्को मुखर्जीसँग नेपाली गीतसँगको उनको सम्बन्ध, गायकी, लोक लय र संगीतप्रतिको खोजमाथि कान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

तपाईं 'इकोज इन द भ्याली'को कार्यक्रमका लागि नेपाल आउनुभयो, कस्तो भयो प्रस्तुति ?

भूषण दाइ(शिल्पकार)ले मलाई बोलाउनु भयो । मेरो दार्जिलिङको पुरानो साथी विकास दा(प्रधान)को उहाँ मित्र । उहाँहरू लामो समयदेखि काठमाडौंमा संगीतको काम गर्नुहुन्थ्यो । एमफममा काम गर्नुहुन्थ्यो । जब मैले विकास दाइलाई दार्जलिङमा भेटें, उहाँले त्यतिबेलै इकोज इन द भ्यालीको विषयमा सुनाउनु भयो । त्यसैले यो महोत्सवबारे पहिल्यैदेखि थाहा थियो । विभिन्न कारणले भारत बस्दिनँ म । दुई वर्षअघि पनि भूषण दाइले फोन गर्नु भयो । त्यतिबेला समय मिलेन, त्यसैले यो पालि आएँ । महोत्सव एकदम राम्रो भयो, म एकदम खुसी छु जसरी यो महोत्सव यहाँ आयोजना हुन्छ ।

इकोजमा तपाईंको यो दोस्रो प्रस्तुति होइन ?

होइन । पहिलोचोटि हो । काठमाडौंमा मैले ३०/४० चोटि प्रस्तुति दिएँ होला । तर, इकोजजस्तो महोत्सवमा पहिलोचोटि नै हो । एकदम राम्रो अनुभव भयो । यसले युवाहरूदेखि गाउँमा भएका सबै वृद्धवृद्धालाई एकसाथ जोड्छ । सबै वर्गदेखि उमेर समूहका मानिसलाई एकै ठाउँमा महोत्सवमा एकत्रित गर्‍यो ।

तपाईंले नेपाली गीतचाहिँ कहिले सुन्नुभयो, नेपाली संगीतसँगको तपाईंको सम्बन्ध के हो ?

दार्जिलिङ र इलामको सिमानामा रहेको सानो गाउँमा मैले पहिलोचोटि नेपाली गीत सुनेको हो । मानेभञ्ज्याङ भन्ने गाउँ हो त्यो । त्यो गाउँको बीचमा एउटा कुलोजस्तो छ । त्यसको एकतिरको भाग नेपालतर्फ पर्छ, अर्को भारततिर । दार्जिलिङ र इलामको सिमानामा रहेको सानो गाउँमा मैले पहिलोचोटि नेपाली गीत सुनेको हो । मानेभञ्ज्याङ भन्ने गाउँ हो त्यो । त्यो गाउँको बीचमा एउटा कुलोजस्तो छ । त्यसको एकतिरको भाग नेपालतर्फ पर्छ, अर्को भारततिर । त्यो सिमानामा धेरै घर छन् । कसैको घर नेपालतिर छ, कसैको दार्जलिङतर्फ । त्यहाँ बस्नेहरूको खास अस्तित्व छैन । भारतमा उनीहरूलाई नेपाली भन्छन्, अनि नेपालकाले उनीहरूलाई भारतीय । त्यहाँ बस्नेहरूको अस्तित्व संकटमा छ । तर पनि त्यो सीमा नाघेका छैनन्, वर्षौंदेखि त्यहीँ बस्दैछन् । हो, राजनीतिक सीमाले उनीहरूलाई विभाजन गरेको छ । तर, त्यहाँ बसेकाहरू विभाजित छैनन् । त्यहाँ तामाङ, लेप्चा, लिम्बू, शेर्पा, नेवार मिलेर बसेका छन् ।

कक्षा ४/५ मा पढ्दा स्काउटले गर्दा मानेभञ्ज्याङ छेउ पुगेको थिएँ । त्यो कञ्जनजंघाको ट्रेकिङ सुरु हुने ठाउँ हो । त्यहाँबाट सन्दकपुर कता-कता पुगिन्छ । म लामो समय ट्रेकर पनि रहेँ । मेरो बुबा पनि माउन्टेनिएर हुनुहुन्थ्यो । मेरो बुबा र काकाले यसरी धेरै ट्रेक गर्नु भएको छ । अप्ठ्यारो, उचाइहरुमा उहाँहरू पुग्नुहुन्थ्यो । उहाँले नै मलाई पहाडमा हिँड्न सिकाउनुभयो, हिमाली क्षेत्रका मानिससँग भेटाउनुभयो । त्यतिबेला मैले एक जना साथी बनाएको थिएँ । ऊ मभन्दा ठूलो थियो । उसको नाम हो- अर्जुन शेर्पा । उसले मभित्रको गायकी देख्यो । उसले त्यतिबेला मलाई एउटा नेपाली गीत सिकायो । त्यही गीत थियो- रेशम फिरीरी । यो गीत ९/१० वर्षको उमेरदेखि नै मसँग थियो । अहिले उमेरले ४० छुन लाग्यो, ३०/३१ वर्षसम्म यो गीतमसँगै रह्यो । अर्जुन अहिले यो संसारमा छैन । तर, मानेभञ्ज्याङहरु अझै मेरा साथी हुन् । विनय मोक्तान, माम(हजुरआमा) र क्लारा आमा सबैसँग मेरो सम्बन्ध उस्तै छ । क्लारा आमाले मलाई सधैं खाना बनाएर खुवाउनु हुन्थ्यो । कारण, घरमा ढाँटेर सधैं म पहाड फर्कन्थें । सम्हाल्न गाह्रो पर्ने सन्तानमै पर्थें । त्यसरी ब्याग प्याक गरेर भागेर आउँदा बस्ने ठाउँ हुन्थेन, विनयको घर मेरो घर हुन्थ्यो । ३ सय रुपैयाँ गोजीमा बोकेर म दार्जिलिङ आउँथें । त्यो गाउँका मानिसहरु एकदम राम्रा छन् । उनीहरूका सन्तान अहिले हुर्किसके । तर, यो २०-२५ वर्षअघिको कुरा हो, जतिबेला मलाई उनीहरूले बस्ने ठाउँ दिए । नेपाली खाना खुवाए, गुन्द्रुक, रायोको साग, रुख टमाटरको अचार आहा !

AI can't reproduce Jhalakman Gandharva's voice: Arko Mukherjee [Interview]

मानेभञ्ज्याङमा मैले धेरै नेपाली गीत सिकें । सधैं रेडियोमा नेपाली गीत बजिरहन्थ्यो । त्यो गाउँ यति गरिबीमा थियो कि त्यहाँ संगीत सिकाइने कुनै संस्था अथवा तालिम हुन्थेन । त्यसैले सबैले रेडियोबाटै संगीत सिक्थे । भाँचिएको गितार बजाएर उनीहरू मज्जाले गाउँथे । जब त्यहाँ कुनै चाड आउँथ्यो, सबैजना मिलेर गाउँथे । दार्जिलिङ एकान्तमा थियो, बंगालीका लागि त्यो ठाउँ पर्यटकीय थियो । तर, त्यहाँका मानिसहरूको जनजीवन कस्तो छ, उनीहरूको जीवन उकास्न के गर्ने ? यो त्यहाँ बस्नेहरूका मात्रै चिन्ताको विषय थियो । उनीहरू स्वतन्त्र भएर जीवन बाँच्थे । उनीहरूले आफ्नो जात, अस्तित्व बिर्सेर खुला रूपले जीवन बाँचे ।

म नेपाल त धेरै पछि मात्रै आएको हुँ । यहाँ र त्यहाँका जीवन निकै फरक रहेछ भनेर तब मात्रै थाहा पाएँ ।त्यही हुर्काइले पनि मलाई बेफिक्री भएर बाँच्न सिकायो । मानिससँगको सम्बन्ध, कुराकानी कति महत्त्वपूर्ण छ र त्यसमा संगीतले कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरा सिकायो । जुनसुकै गीत किन नहोस्, चाहे त्यो मोहिनी लाग्ला है होस् या आकाशैमा चिल हो कि बेसार । रेडियोमा बज्ने हरेक गीत त्यहाँ खुबै चल्थ्यो । राति तोङ्बा पिउने, अनि मासु खाएर नेपालको जीवन सम्झेर भावुक हुने । म त्यसरी हुर्कें ।

म नेपाल त धेरै पछि मात्रै आएको हुँ । यहाँ र त्यहाँका जीवन निकै फरक रहेछ भनेर तब मात्रै थाहा पाएँ । त्यहाँको हिमाली जीवन त निकै गाह्रो छ । सोलुखुम्बुबाट काम गर्नेहरू पनि त्यहाँ आउँथ्ये । त्यहाँ एकदम चिसो हुन्छ । माथि हिमालमा सन्तान त्यहाँ मिस्त्री बनेर काम गर्थे । घाम लाग्दा बच्चाहरुलाई नुहाइदिन्थ्यो । कलकत्ताबाट त्यहाँ पुग्दा उनीहरूमा मैले निकै लचिलोपन देखें । त्यो सबले नेपाली संगीतप्रति मेरो सोचाइ परिवर्तन गर्‍यो । नेपालप्रतिको मेरो माया बढ्दै गयो । नेपालमा आएपछि मैले यहाँको पुरानो सभ्यता देखें, फरक जाति फरक भाषा भेटें । त्यहाँ हामी सबैजना नेपाली बोल्थ्यौं । अनि बिग्रेको बंगाली बोल्थ्यौं, अलिअलि हिन्दी बोल्थ्यौं । यसरी सुरु भयो नेपाली संगीतसँगको मेरो सम्बन्ध । त्यसैले नेपाल र यहाँका गीत मेरा लागि विशेष अर्थ राख्छ ।

मानेभञ्ज्याङमा कति समय बिताउनुभयो ?

अरे बाफरे ! यो त एकदम कठिन छ भन्न । मेरो बाल्यकालमा वर्षको २-३ महिना त्यहीँ बिताउँथें । त्यसपछि दार्जिलिङ गएँ, जहाँ अलिअलि पैसा कमाउन पनि थालें । म यस्तो निम्नमध्यम वर्गीय परिवारबाट आएँ, जसका लागि शिक्षा अत्यावश्यक हुन्थ्यो । तपाईं संगीतलाई आफ्नो करिअर मान्न सक्नु हुन्थेन । मेरो बुबा इन्जिनियर हुनुहुन्छ, तर निकै दु:खले उहाँ इन्जिनियर बन्नुभएको हो । मेरो आमा अल इन्डिया रेडियोमा गाउनुहुन्थ्यो । मेरा बुबाआमा दुवै भारतीय शास्त्रीय संगीतका 'स्कोलर्स' । मलाईचाहिँ खासै त्यो संगीतले तानेन । २-३ वर्षको उमेरमै उहाँहरूले मलाई सँगै राखेर हार्मोनियममा गाउन लगाउनु हुन्थ्यो । मलाई त्यो मनै पर्थेन । १० वर्षको उमेरमै म त्यसको विरुद्धमा लागेँ । परिवारमा कलह भयो । तर, उहाँहरूले मबाट आस नै मार्नु भएन । मलाई लाग्छ- म मानिसहरूको गीत गाउँछु भनेर मेरो बाबा आमा खुसी हुनुहुन्छ । जब मैले संगीतबाट अलिअलि पैसा कमाउन थालें, उहाँहरूले साथ दिन थाल्नुभयो । 

भनेसी सानैदेखि पैसा कमाउन थाल्नुभयो ?

कक्षा ८ बाट हो कमाउन थालेको । त्यतिबेला मेरो पहिलो रक ब्यान्ड थियो । मलाई रक संगीत मन पर्थ्यो । पछि मात्र थाहा भयो यो त मेरो बाटो होइन भन्ने । त्यतिबेला सयौं ब्यान्डहरुसँग आबद्ध भए । हामीले क्लबहरूमा गाउने, बजाउने गर्थ्यौं । त्यतिबेला मलाई १ सय २० भन्दा धेरै अंग्रेजी गीतको सूची दिइन्थ्यो । बिटल्सदेखि सीएसएनवाई, कोको जाम्बोहरुका गीत गाउनु पर्थ्यो । त्यही गीतहरुको बीच्चमा नेपाली गीत पनि गाइदिन्थें । एउटा बंगाली पनि मिसाइदिन्थें । त्यसैले म अलिअलि ब्लुजतिर छु, अलिअलि फंक छु । अलिअलि पप, डिस्को छु । ११ वर्षदेखि १९ वर्षको उमेरसम्म म त्यस्तै व्यस्त थिएँ । गीत गाएर अलिअलि कमाउँथे । त्यतिबेलासम्म मलाई यो लागिसकेको थियो कि यदि संगीत नै गरिरहनु छ भने मैले कमाउनुपर्छ । मेरो बुबाले सधैं जीवन जिउनका लागि कमाउनुपर्छ भन्नुहुन्थ्यो, मेहनत गरेपछि मात्रै आफ्नो खुट्टामा आफैं उभिन सकिन्छ भन्नु हुन्थ्यो । अहिले फर्केर हेर्दा त्यो कुराले मलाई एकदमै सहयोग गर्‍यो भन्ने लाग्छ ।

लोकसंगीतको चुस्कीचाहिँ कहिलेबाट लाग्यो त ?

१९ वर्षको हुँदा अंग्रेजी गीतहरू गाउन मन लागेन । त्यतिबेला गीतहरू लेख्न थालिसकेको थिएँ । तर, ती गीत गाउने ठाउँ भेटिनँ । त्यही बेला हो मलाई म लोकसंगीत मनपराउँछु भन्ने लागेको । त्यतिबेला सितारवादक काका(सुभाषिस मुखर्जी)ले गर्दा भारतीय शास्त्रीय संगीतमा फर्कें । खासमा मेरो बुबा र आमा खियाल र ठुम्री गाउनुहुन्थ्यो । तर, उहाँहरूले संगीततर्फ मलाई कहिल्यै धकेल्नु भएन । मेरो काकाले सधैं मलाई धकेल्नुभयो ।

आधुनिक संगीतमा प्रेमध्वज प्रधान, नारायण गोपाल सुनें । जब तपाईं आधुनिक संगीत सुन्नुहुन्छ त्यसमा संगीत संयोजन गर्नेको सरलता मिसिएको भेट्नुहुन्छ । त्यही सरल स्वभाव ती गीत सुन्नेमा तपाईंले भेट्नुहुन्छ ।जब काका बित्नुभयो त्यसले मलाई आफैंलाई संगीतमा प्रमाणित गर्न लगायो । अनि मैले सलामत अलि खान, बेगम अख्तरका गीतहरुलाई कापीमा उतार्दै त्यसको टाइमिङ, नोटेसन लेख्न थालें । आधुनिक संगीतमा प्रेमध्वज प्रधान, नारायण गोपाल सुनें । जब तपाईं आधुनिक संगीत सुन्नुहुन्छ त्यसमा संगीत संयोजन गर्नेको सरलता मिसिएको भेट्नुहुन्छ । त्यही सरल स्वभाव ती गीत सुन्नेमा तपाईंले भेट्नुहुन्छ । संगीतको यही भाषाले यी दुईलाई जोड्छ । जस्तै तिरीरी मुरली बज्यो वनैमा… । यसमा जुन बाँसुरीको धुन छ, त्यसैलाई त शब्दमा व्यक्त गरिएको छ; जसले नयाँ भाषा सिर्जना गरिदिन्छ । खासमा ५०, ६०, ७० कै दशकमा यस्तो भाषा सिर्जना भइसक्यो । पन्नाकाजी शाक्यदेखि नारायण गोपालको समयमा यस्तो देखिन्छ । कति गीतलाई त नयाँमा अंगीकरण गरिएको देखिन्छ । उदाहरणका लागि तिरिरी मुरली बज्यो, ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो । यी गीत एकअर्कासँग जोडिएका छन् ।

AI can't reproduce Jhalakman Gandharva's voice: Arko Mukherjee [Interview]

सन् २०१२ देखि २०१५ तिर मैले 'रेशम फिरीरी' गाएको हो । एकदिन म काठमाडौंमा यात्रारत थिएँ । गाडीमा एउटा आवाज मैले सुनें, जुन त्यसअघि कहिल्यै सुनेको थिएन । त्यतिञ्जेल मैले २० भाषामा गाउन सिकिसकेको थिएँ ।संगीतमा सबै जना कोही न कोहीबाट प्रभावित हुन्छ । त्यसको स्वीकार्य पनि भेटिन्छ । अहिले सबैले समुदायभन्दा आफूलाई महत्त्वमा राख्छन् । सेल्फ लभ राम्रो विषय हो । तर, यसले त सामूहिकताको मर्म नै मारिदिन्छ । तर, हुनुपर्ने दुवै पक्ष हो । तपाईं आफ्नो पनि ख्याल राख्नुस्, समुदायको पनि । संगीतमा पनि त्यही हो ।

तपाईं नेपाल त धेरै पछि पो आउनुभएको रहेछ त ?

यदि तपाईं मानेभञ्ज्याङको एउटा भागलाई नेपाल मान्नुहुन्छ भने म ९ वर्षको उमेरमै आएको हो । तर, यो एकदम जटिल प्रश्न हो । के नेपालले इलामको त्यो सिमाना पारिको ठाउँलाई नेपाल मान्छ ? मेरा लागि त्यो कुलोमा बसेर एकातिर उफ्रिँदा नेपाल हो अर्कोतिर दार्जिलिङ हो । म यो सांस्कृतिक विभाजनलाई चुनौती दिन्छु । एउटा गाउँ जहाँ नेपाली रुपैयाँ चल्छ अर्कोतिर भारतीय, खानेकुरा जताततै चल्छ । समुदाय यसरी नै अस्तित्वमा आउने हो । समुदाय भनेको त चरा हो । यदि तपाईं सिमानामा हुनुहुन्छ भने तपाईं चरा हुनुहुन्छ । जुनै राष्ट्रको पैसा बोकेर तपाईं त्यहाँ उड्न सक्नुहुन्छ ।

मानेभञ्ज्याङमा पैसा कताको चल्थ्यो त ?

त्यहाँ मोबाइलको टावर हेर्न मज्जा आउँथ्यो । मानेभञ्ज्याङमा भारतीय नेटवर्क काम गर्थेन तर नेपालतिरको चल्थ्यो । त्यहाँ सबै नेपाली नेटवर्क चलाउँथे । कुनै-कुनै ठाउँमा भारतीय करेन्सी चल्थ्यो । तर, त्यहाँ तपाईंको कुनै पनि सांस्कृतिक स्टेरियोटाइप्स चल्दैन, जसरी हामी हाम्रो अस्तित्वलाई बुझ्छौं त्यो त्यहाँ चल्दैन । म संगीतमार्फत त्यो कथित निरपेक्षवाद संस्कृति भत्काउन चाहन्छु ।

तपाईंले गाउनुभएका नेपाली गीत त भाइरल नै भए, त्यही गीत सुनेर हाम्रा कति युवाले ती गीतका ओरिजिनल सुन्न थालेका हुन् नि ?

मैले कुनै गीत भाइरल होस् भनेर गाएको होइन । सन् २०१२ देखि २०१५ तिर मैले 'रेशम फिरीरी' गाएको हो । एकदिन म काठमाडौंमा यात्रारत थिएँ । गाडीमा एउटा आवाज मैले सुनें, जुन त्यसअघि कहिल्यै सुनेको थिएन । त्यतिञ्जेल मैले २० भाषामा गाउन सिकिसकेको थिएँ । अलिअलि अफ्रिकन सिकिसकेको थिएँ । ज्याज पनि गाउन थालेको थिएँ । ब्राजिलको पकासन संगीत गाउन थालें । स्पेन, इटाली र आइसल्यान्डका लोक संगीत गाउन थालें । ब्लुज गाउन थालें । तर, काठमाडौंमा गुडिरहेको त्यो कारमा मैले कहिल्यै नसुकेको सारङ्गी धुन बज्दै थियो । मैले त्यतिबेला गाडी चालकलाई गायकबारे सोधें । उनले चिनेनन् । तर, मलाई त्यो गीतको गायकी अनि त्यसलाई गाउँदा लिइने 'इन्टरभल' एकदम मनपर्‍यो ।

AI can't reproduce Jhalakman Gandharva's voice: Arko Mukherjee [Interview]

त्यो गीत थियो - बाला जोवन, खेलेर गयो बैंस जोवन । मलाई त्यो गीत सुन्दा सुरुमै लाग्यो - यो के गीत हो ? त्यसको केही पक्ष त बंगालीको सन्ताली गाउँमा सुनेजस्तो पनि लाग्यो । त्यो ठम्याउन नपाउँदै गीतमा 'राम राम, राम गयो वनैमा' भन्ने 'टेम्पो' मज्जाले बज्यो । त्यो गीतको केही शब्द बुझिनँ । खसीलाई खासी भनेर गाइएको थियो । पछि यो मैले गीत गाउँदा कतिले उसको बेंगोली लवज आयो भन्छन् ।

खासमा त्यो गीतमा त्यसरी नै शब्दहरु खेलाइन्छ । कारण त्यो गीत जुन भेगको हो त्यहीँको शब्द उच्चारण त्यसमा छ । त्यसपछि मैले सुनें, 'तिम्रो नै माया लाग्दछ शाइँली' । यसमा लाग्दछ, शाँइली गाइएको छ साइँली होइन । सम्झन्छु पनि होइन सम्झन्छु छिनछिन हो । त्यसमा डोटेली लवज, खस भाषा भेटिन्छ । काठमाडौंको मान्छेले मैले किन त्यसरी गाउँदैछु भन्ने बुझ्न पहिला यो बुझ्नुपर्छ । शब्द त भइहाल्यो, तर यी गीत गाउँदाको गायकी नै समात्न गाह्रो छ ।

AI can't reproduce Jhalakman Gandharva's voice: Arko Mukherjee [Interview]

मभित्रको पोलिग्लट (अरूको गायकीलाई पक्रन सक्ने) ले पनि यो गायकी समात्न सकेन । तब मलाई लाग्यो - अरे यो कस्तो गायकी हो ? त्यसपछि मैले दुई दिनसम्म यो गीत खोजेँ अनि झलकमान गन्धर्वबारे जानेँ । उहाँ पश्चिमतिरको लेजेन्डरी गायक हुनुहुँदो रहेछ । मैले अहिलेसम्म उहाँका २/३ गीत गाइसकें । गन्धर्व समुदायले मेरो गायकीलाई मनपराउनु भएको छ । म अर्को वर्ष उहाँको घर जाँदैछु, त्यहाँको गन्धर्व समुदायले सम्मान गर्ने पनि भन्नुभएको छ । सन् २०१७ र२०१८ तिर हो मैले गाएको गीतले धेरै दर्शक पाएको ।

कोभिडको बेलामा पनि अलि बढी चर्चा कमायो नि, होइन ?

होइन नि । त्यो भन्दा अघि मैले पोखरामा पनि गीत गाइसकेको थिएँ । त्यो भन्दा अगाडि नेपाल जिप्सी ज्याजमा हरि महर्जनसँग गाएँ । बरु कोभिडले क्राउड फन्डिङबारे सोच्न लगायो । अविकसित क्षेत्रका लागि क्राउड फन्डिङ थालें । त्यतिबेला अलिकति संगीतमा ग्याप भयो ।

हो म बंगाली परम्परागत संगीत सुनेर हुर्कें । तर, कसैले मलाई तिमी कस्तो संगीत गर्छौं भन्यो भने म उनीहरूलाई नेपाली र अफ्रिकन संगीतलाई फोकस गर्छु भनिदिन्छु ।म ती संगीतकर्मीलाई धन्यवाद दिन चाहन्छु जसले धेरै वर्षदेखि संगीत गर्न मलाई साथ दियो । जसलाई थाहा थियो म संगीतको मामिलामा अन्सर्टेन छु । इकोज इन द भ्यलीकै प्रस्तुतिका लागि हामीले कुनै रिहर्सल गरेनौं । कुन गीत गाउने पनि तय थिएन । कौस्तभ यहाँ छ(छेउमा भएको गीतारवादक देखाउँदै), ल्याटिन अमेरिकन संगीत सिकिरहेको छ उसले । उसले नै मलाई नेपाली लोक गीतलाई अफ्रिकन लयमार्फत हेर्न लगाएको हो । गायकहरू आली फर्क टुरे, टुमानी डिबाटेहरु मसँग झलकमान जसरी नै लामोसमयदेखि रहँदै आएको हो ।

हो म बंगाली परम्परागत संगीत सुनेर हुर्कें । तर, कसैले मलाई तिमी कस्तो संगीत गर्छौं भन्यो भने म उनीहरूलाई नेपाली र अफ्रिकन संगीतलाई फोकस गर्छु भनिदिन्छु । यसको मतलब म अरू संगीत सुन्दिन भन्ने होइन । तर, म यी दुई संगीतमा अहिले केन्द्रित छु । अहिले मेरो समूहमा सजिव डुप्की बजाउँछ । अनि उसले नेपाली मादलको धुन डुप्कीमा बजाउँदैछ । ड्रमरले पनि लोक लय ल्याउने कोसिस गर्छ ।

AI can't reproduce Jhalakman Gandharva's voice: Arko Mukherjee [Interview]

यी सबको पछाडि मानिसकै शक्ति छ । जस्तै तपाईं मानिस नचाउने संगीत दिँदै हुनुहुन्छ । अनि उनीहरूलाई गाउन लगाउँदै हुनुहुन्छ । त्यसैले यसमा सबैको उतिकै ऊर्जा छ । त्यसैले यहाँ कुनै मेरो संगीत भन्ने छैन, तिम्रो संगीत भन्ने पनि छैन । मानिसहरूले ५ हजार वर्षदेखि संगीत गर्दै आएको छ, मेरो तेरो कपिराइट भन्ने कुरा आएको एक सय वर्ष त भयो । तपाईं अल्तमिराको गुफामा जानुभयो भने त्यहाँ सांगितिक वाद्यवादन देख्नुहुन्छ । दमादम मस्तकलन्दर भन्ने गीत १४ औं शदाब्दीतिर गाइएको हो । अहिलेको सुफी गीत कभर मात्रै हो । कभर भन्ने शब्द नयाँ भयो । कसैले बाउल संगीत गर्दा त्यो कभर हुँदैन भने कसैले नेपाली गीत गाउँदा त्योचाहिँ कसरी कभर हुन्छ ?

मेरो लागि यदि कुनै गीत, गीत हो भने त्यो लोकगीत हो । झलकमानले जति गीत गाए त्यो उहाँको हजुरबुबा अनि उहाँभन्दा अगाडि गाइएको थियो । त्यो नै संगीतको जादु हो । ती संगीतकारले त्यो गीतमा आफ्नोपन मिसाइदिएर डेमोक्रेटिसाइज बनाइदिए ।मेरो लागि यदि कुनै गीत, गीत हो भने त्यो लोकगीत हो । झलकमानले जति गीत गाए त्यो उहाँको हजुरबुबा अनि उहाँभन्दा अगाडि गाइएको थियो । त्यो नै संगीतको जादु हो । ती संगीतकारले त्यो गीतमा आफ्नोपन मिसाइदिएर डेमोक्रेटिसाइज बनाइदिए । त्यही गीतलाई अरुलाई हस्तान्तरण गरे । त्यसरी त्यो गीत र त्यसको संगीत तपाईंभित्र बाँच्यो । संगीतकारको काम नै त्यही हो ।

तपाईंले नेपालीमा पनि लोक लय मात्रै रोज्नुका कारण अरू के छन् ?  के हाम्रो लोकलय विश्वका अन्य लोक गीतभन्दा फरक छ ?

धेरै फरक छ । कलकत्तामा बस्दा मैले रेडियोको महत्त्व बुझिनँ जति मानेभञ्ज्याङमा बुझें । नेपालमा फरक भेगमा मादल नै फरक तरिकाले बजाइन्छ । पश्चिममा फरक छ, पूर्वमा फरक छ । चाडमा बजाइने संगीत फरक छ । नेवार, गुरुङ र डोटेली संगीत फरक छ । १ सय ४२ भाषा भएको ठाउँमा कति संगीत होला ? यहाँ संगीतका फरक शैली भेटिन्छ । म नेपालसँग जोडिएको छु, त्यो जोडिएको अनुभवकै कारण यहाँको संगीत गर्छु । ब्राजिलमै हेर्‍यो भने शाम्बाका थुप्रै शैली छन् । पहिला तपाईं जमिनसँग जोडिएको हुनुपर्‍यो । यहाँका मानिस अनि यहाँका प्रकृतिसँग जोडिनु पर्‍यो । तर, त्यो रोजेर भएको हुँदैन । मैले कलकत्तामा जन्मिन रोजेको होइन नि । त्यसरी पाएको भए अफ्रिकाको जुबुटी रोज्थें होला । तर, अहिले म के गर्छु ? भन्ने त मेरो हातमा छ । सबै मानिसलाई गीतमार्फत कसरी सँगै बनाउन सकिन्छ भन्ने नै मेरो उद्देश्य हो ।

छुटिनुअघि म्युनिखमा बसेर गरिरहनुभएको अनुसन्धानमाथि अलिकति बताइदिनुस् ?

म्युनिखमा श्रीमती र म थुप्रै विषयमा अनुसन्धान गरिरहेका छौं । उनी एकेडेमिक डान्सर र रिसर्चर हुन् । उनको नाम स्यान्ड्रा च्याटर्जी हो ।

ओहो, च्याटर्जी ?

हामी दुवैलाई हाम्रो थर मन पर्दैन । थरकै कारण ठूलो सानो मानेको मन पर्दैन । त्यसैले हामी स्यान्ड्रा र अर्को हौं । अर्कोको अर्थ दिनको पहिलो सूर्य भन्ने हो संस्कृतमा । अहिले स्यान्ड्रा 'एन्टि रेसिस्ट रिसर्च'मा काम गरिरहेकी छन् । हामी डान्स, संगीत र थिएटरलाई जोडेर त्यसमा अनुसन्धान गरिरहेका छौं । सुगन्धबाट हुने विभेदमाथि पनि अध्ययन गरिरहेका छौं । त्यसमा मानवशास्त्रीय दृष्टिकोण जोडेर अध्ययन गरिरहेका छौं ।

झट्ट हेर्दा अहिले मानव जाति आफ्नो जरातिर फर्किरहेको देखिन्छ । संगीतमै पनि आफ्नो धुन, लयतर्फ फर्केको देखिन्छ नि ?

एआईको दबदबा बढेको यो समयमा हामीले यो प्रश्न आफैंसँग गर्न आवश्यक छ । के यो एआई हो या एसी(आर्टिफिसियल कन्ससनेस) ? के हामी हाम्रो चेतनामाथि एआईलाई प्रवेश गराउँदैछौं ? संस्कृति भनिरहँदा के हामीले यसको शब्दलाई केल्यायौं । कल्चर भनेको त ग्रीकको कुल्टुस भन्ने शब्दबाट आयो । त्यसको अर्थ धेरै ठूलो छैन, वास्ता गर्नु हो । भूमिको वास्ता ।

AI can't reproduce Jhalakman Gandharva's voice: Arko Mukherjee [Interview]

तपाईंको संगीतमा तपाईंको स्थान ल्याउनुस् । तपाईंको कलामा तपाईंको समय, ठाउँ आयो भने त त्यसमा ओरिजिनालिटी आउँछ । ओरिजिनालिटी भनेको गीत लेखेर सुनिसकेको लयमा गाउनु होइन । अहिलेको समयको, यहाँका मानिसहरूको गीत बनाउनुस् । अनि त कलाले मानिसलाई वास्ता गर्न, जोड्न र समानुभूत गर्न लगाउँछ ।के हामी किसानलाई हाम्रो संस्कृतिको भाग मान्छौं, घर बनाउने सिकर्मीलाई के हामी हाम्रो संस्कृति मान्छौं । डकर्मीले इँट्टा बोक्दा होस् या बालुवा चाल्दा, त्यहाँ संगीत छ (हे, खुइयाको स्वर)। तर, हामी त्यसलाई संस्कृति मान्दैनौं । हामी सहानुभूत गर्छौं तर समानुभूत गर्दैनौं । त्यो पनि त संगीतकै एउटा भाग हो । तर, त्यो त हराएको छ संगीतबाट । एआईको आवाज एकदम पोलिस सुनिन्छ । एआईलाई झलकमान गन्धर्वको आवाज कसरी नक्कल गर्ने आउँदैन । त्यो आवाज भित्रको अपरिष्कृत एउटा तत्त्वलाई उसले नक्कल गर्नै सक्दैन । त्यसैले हामी हाम्रो जरातर्फ फर्किनु आवश्यक छ । तर, त्यो संगीतलाई थुप्रै फरक मानिसले बनाएको हो भन्ने बुझ्नुपर्छ । त्यो एक जनाको देन होइन । त्यसमा सदियौंदेखिको सभ्यता, उनीहरूको स्थानान्तरण जोडिएको छ ।

त्यसैले तपाईंको संगीतमा तपाईंको स्थान ल्याउनुस् । तपाईंको कलामा तपाईंको समय, ठाउँ आयो भने त त्यसमा ओरिजिनालिटी आउँछ । ओरिजिनालिटी भनेको गीत लेखेर सुनिसकेको लयमा गाउनु होइन । अहिलेको समयको, यहाँका मानिसहरूको गीत बनाउनुस् । अनि त कलाले मानिसलाई वास्ता गर्न, जोड्न र समानुभूत गर्न लगाउँछ ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully