वरीयताका हिसाबले माल्दिभ्सको पुरुष राष्ट्रिय टोली र थाइल्यान्डको महिला टोली सहभागी हुँदै छ । विदेशी खेलाडीको खेल्ने शैली, रणनीति र पोजिसन नेपाली खेलाडीले नजिकबाट हेरेर सिकुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।
What you should know
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ ।
१७ माघसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको यो छैटौं संस्करणमा विदेशी टिमहरूको समेत सहभागिता रहने भएकोले नेपाली भलिबल प्रेमीका लागि यो विशेष आकर्षणको केन्द्र बन्ने देखिएको छ । यसै सन्दर्भमा आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मासँग कान्तिपुरका लागि दीपक परियारले गरेको कुराकानीको सम्पादित अंश :
टाइगर कपले छैटौं संस्करणसम्म आइपुग्दा एउटा बलियो ब्रान्ड र पहिचान बनाइसकेको छ । पहिलो संस्करणदेखि अहिलेसम्म फर्केर हेर्दा यसपालि प्रतियोगितालाई के कुराले बढी विशेष र भव्य बनाइएको छ ?
भलिबल राष्ट्रिय खेल भएसँगै हामी आज छैटौं संस्करणमा आइपुगेका छौं । पाँचौं संस्करणदेखि एनसेलले मुख्य प्रायोजकका रूपमा साथ दिइरहेको छ । गण्डकी प्रदेश भलिबलको उर्वर भूमि भएकाले यही कोर्टबाट धेरै महिला र पुरुष खेलाडीहरू उत्पादन भएका छन् । हिजोको इतिहास हेर्ने हो भने सिपोरा गुरुङ, मञ्जु गुरुङ, अरुणा शाही, प्रतीक्षा गुरुङलगायत धेरै महिला खेलाडी र बलबहादुर श्रेष्ठ, बलराम गुरुङ, सफल बिकलगायत धेरै खेलाडी यही कोर्टमा खेलेर अन्तर्राष्ट्रियस्तरसम्म पुग्न सफल हुनुभएको छ ।
छैटौं संस्करणसम्म आइपुग्दा हामीले यसलाई समय र प्रविधिमैत्री बनाउँदै एउटा ब्रान्डका रूपमा स्थापित गर्न खोजेका छौं । वास्तवमा भलिबल इन्डोर खेलिने खेल भए पनि हामीले अहिले आउटडोर (खुला मैदान) मा आयोजना गरेका छौं । भलिबल संघका केन्द्रीय अध्यक्ष (जितेन्द्रबहादुर चन्द) को नेतृत्वले यस प्रतियोगितालाई नजिकबाट नियालेर एफआईभीबी र काभासम्म पुर्याइदिनुभएको छ । टाइगर ग्रुपले राष्ट्रिय खेल भलिबललाई आउटडोरमा पनि उत्तिकै भव्य रूपमा खेलाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ ।
भदौको जेन–जी आन्दोलन पनि नभएको भए काभा महिला भलिबल प्रतियोगिता राखेप कभर्डहलमा नखेलाई टुँडिखेलमा आउटडोरमा राख्न खोजेको थियो तर प्राविधिक कारणले रोकिएर अहिले माल्दिभ्समा हुँदै छ । यसले भलिबल आउटडोरमा पनि सम्भव छ भन्ने पुष्टि गरेको छ ।
यसपटक हामीले भौतिक संरचनामा पनि सुधार गरेका छौं । दर्शकका लागि बस्ने व्यवस्था अझ सहज र खुकुलो बनाउन स्थायी र अस्थायी प्यारापिट थपिएको छ । खेललाई विवादरहित बनाउन अन्तर्राष्ट्रिय रेफ्रीलाई निमन्त्रणा गरेका छौं । यसपल्टको मुख्य विशेषता भनेको ‘फर्स्ट रेफ्री’ मा अन्तर्राष्ट्रिय र ‘सेकेन्ड रेफ्री’ मा राष्ट्रिय रेफ्री रहने व्यवस्था गरेका छौं, जसले गर्दा प्राविधिक त्रुटि र विवाद कम हुनेछ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक सबैलाई अनुशासन र नियमभित्र रहने प्राविधिक बैठकमा पनि हामीले विशेष जोड दिएका छौं ।
यस वर्ष महिलामा थाइल्यान्ड र पुरुषमा माल्दिभ्सको टोलीलाई पनि कोर्टमा उतार्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय टिमहरूको आगमनले नेपाली खेलाडीको ‘एक्सपोजर’ र प्रतियोगिताको प्राविधिक स्तर वृद्धिमा कस्तो प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ ?
वरीयताका हिसाबले माल्दिभ्सको पुरुष राष्ट्रिय टोली र थाइल्यान्डको महिला टोली सहभागी हुँदै छ । विदेशी खेलाडीको खेल्ने शैली, रणनीति र पोजिसन नेपाली खेलाडीले नजिकबाट हेरेर सिकुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । सरकारी स्तरबाट मात्रै अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसर पाउन कठिन छ, त्यसैले निजी क्षेत्रका संस्थाले यस्तो पहल गर्दा खेलाडीमा हौसला बढ्छ । यसले दुई देशका खेलाडीबीच भावनात्मक सम्बन्ध र समन्वय पनि बलियो बनाउँछ । सातौं संस्करणमा हामी अझै उत्कृष्ट टोलीहरू ल्याएर नेपाली भलिबलको स्तर उकास्ने अठोटमा छौं ।
देशको वर्तमान आर्थिक अवस्था केही जटिल छ र तपाईंले प्रतियोगिताको झन्डै १ करोड ८० लाख बजेट अनुमान गर्नुभएको छ । यस्तो बेला निजी क्षेत्र र प्रायोजकलाई खेलकुदमा जोड्न कत्तिको चुनौतीपूर्ण रह्यो ?
आर्थिक संकलन पक्कै पनि जटिल विषय हो । त्यसमा पनि पारदर्शिता कायम गर्नु झनै महत्त्वपूर्ण हुन्छ । तर म खुसी छु कि टाइगर ग्रुप पोखरा पहिलो पक्ष, कान्तिपुर मिडिया ग्रुप दोस्रो पक्ष र सुश्री मिडिया प्रालि तेस्रो पक्ष भएर तीन वर्षका लागि सम्झौता भएको छ । देशको आर्थिक अवस्था जर्जर हुँदा पनि विभिन्न कर्पोरेट हाउस र सहयोगी हातहरूले टाइगर कपमाथि विश्वास गरेर स्वतःस्फूर्त सहयोग गर्नुभएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको पनि केही लगानी छ । यद्यपि सरकारले गर्नुपर्ने काम एउटा क्लबले गरिरहँदा राज्यले अझै बजेट व्यवस्थित गरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ ।
टाइगर ग्रुपले प्रतियोगिताबाट बचेको रकम स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा गरेको छ । यसको आवश्यकता किन देख्नुभो ?
हाम्रो संस्थाको विधानमै स्वास्थ्य, शिक्षा र खेलकुदलाई समेटिएको छ । हाम्रो ७०–७५ जनाको समूहमा विभिन्न क्षेत्रका विज्ञ हुनुहुन्छ । भलिबललाई निरन्तरता दिँदै गर्दा हामीले हरेक वर्ष मुटु सिविर आयोजना गर्छौं । यसमा मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटा, सुरक्षाका गोविन्द पुरी लगायतका व्यक्तित्वहरू जोडिनुभएको छ । दुर्गमका आमाबुवाहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिने, शिक्षाबाट वञ्चितलाई सहयोग गर्ने र धार्मिक क्षेत्रमा पनि योगदान पुर्याउने हाम्रो प्राथमिकता हो ।
पोखरालाई खेलकुद पर्यटनको केन्द्र बनाउने कुरामा टाइगर कपले कसरी योगदान पुर्याइरहेको छ ?
पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको छ । अब यसलाई खेलकुदको राजधानी पनि बनाउनुपर्छ । भलिबललाई ग्रासरुटदेखि नै विकास गर्न विद्यालयको पाठ्यक्रममा समावेश गर्ने र सुरुदेखि नै बजेट विनियोजन गर्ने हो भने पूर्वाधार विकासमा ठूलो सहयोग पुग्छ । हाल कभर्डहलको अभावमा हामीले आउटडोरमा खेलाउनुपरेको छ । राज्यले एकेडेमी बनाएर खेलाडीलाई रोजगारीसँग जोड्न सक्यो भने उनीहरू विदेश पलायन हुनबाट रोकिनेछन् ।
अहिले टाइगर कप चलिरहँदा माघ १५ गते पोखरामा नेपाल भलिबल संघको १२ औं साधारणसभा पनि हुँदै छ । यसले पोखराको खेल पर्यटनमा थप ऊर्जा प्रदान गर्नेछ । यदि सम्बन्धित निकायबाट थप सहयोग र चासो भयो भने हामी भलिबललाई अझै व्यवस्थित र व्यावसायिक बनाउन सक्छौं ।
