पूर्व निर्वाचन आयुक्त पोखरेल भन्छन्- महाधिवेशनले पुरानो केन्द्रीय समिति भंग गरेर नयाा केन्द्रीय समिति चयन गरेको अवस्था छ, त्यसैले निरूपण गर्नुपर्ने विषय केन्द्रीय समितिको निर्णयलाई टेक्ने कि दलको विधानअनुसार महाधिवेशन बैठकलाई मान्ने भन्ने हो।
What you should know
कांग्रेस विभाजन भएपछि सबैको ध्यान निर्वाचन आयोगतर्फ सोझिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन गर्ने दिन आउन एक साताभन्दा कम समय छ । आयोगबाट अब कुन पक्षले आधिकारिकताको मान्यता पाउला भन्ने आम चासो छ ।
कांग्रेसको विवादले आसन्न निर्वाचनको वातावरण बिथोलिने हो कि भन्ने चिन्ता पनि कतिपयमा छ । यसै सन्दर्भमा पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलसँग कान्तिपुरले गरेको संक्षिप्त संवाद–
चुनावको मुखैमा कांग्रेस पार्टीभित्र आधिकारिताको विवाद देखिएको छ । यो विवादको जरो के लाई देख्नुहुन्छ ?
कांग्रेसमा अहिलेको देखिएको विवाद विगतमा राजनीतिक दलहरूमा देखिएको भन्दा जटिल छ । अहिलेको देखिएको सन्दर्भ राजनीतिक दलसम्बन्धी ऐनमा रहेको दलको आधिकारिता वा विभाजनका प्रावधानहरूभन्दा माथि छ । ऐनले केन्द्रीय समितिको कुरा गर्छ । तर, कांग्रेसको विवाद केन्द्रीय समितिमा टुंगिँदैन । यो महाधिवेशनसँग जोडिएको छ । निर्वाचन आयोगले महाधिवेशनको विषयमा निर्णय दिनुपर्छ । विवादले थप व्याख्या र निकास खोजेको छ ।
कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाइनुपर्ने बाध्यकारी व्यवस्था छ । तर जसले बोलाउनुपर्थ्यो, उसले बोलाइदिएन । ‘इन्डोर्स’ गरेन । सम्भवतः जसले बोलाउनुपर्ने हो, उसले विशेष महाधिवेशन आफू अनुकूल देखेन होला । बोलाउन चाहेन । तर, महाधिवेशन माग गर्नेहरूले त्यसलाई चुनौती दिए । महाधिवेशन आह्वान गरिदिए । बहुमत महाधिवेशन प्रतिनिधिले अगाडि बढाए, त्यसले नयाँ परिणति ल्यायो । त्यसैले यो विवादको निरूपण गर्ने क्रममा पहिलो कुरा त आयोगले महाधिवेशनको वैधताको विषयमा बोल्नुपर्ने भयो ।
ऐनमा रहेको प्रावधानभन्दा माथिको विवाद भन्नुभयो । त्यो कसरी ?
आधिकारिता वा विभाजनसम्बन्धी विषय आधार–प्रमाणबाट नटुंगिएको अवस्थामा अन्त्यमा कायम रहेको केन्द्रीय समितिको बहुमत हेरेर निर्णय गर्ने कुरा अहिलेको कानुनले बोल्छ । राजनीतिक दलसम्बन्धी ऐनले केन्द्रीय समितिका बारेमा बोले पनि त्यो भन्दा माथिल्लो निकाय महाधिवेशनका बारेमा बोलिदिएन । त्यसबारे मौन छ । ऐन निर्माताले यस्तो परिस्थिति आउन सक्ला भनेर अनुमान नै गरेनन् । सम्भवतः विधानबाहिर कोही जान्नन् भन्ने असल मनसाय रहेको पनि हुन सक्तछ । तर, यसमा म नपसौं ।
अहिले कांग्रेसमा देखिएको परिस्थिति दल विभाजनको कुरा होइन । यो सिंगो दलमाथि दाबीको कुरा हो । पार्टी विधानमा रहेको व्यवस्थाअनुसार विशेष महाधिवेशन माग्न पाउने अधिकार प्रतिनिधिलाई छ । त्यसअनुसार माग गरे । र, ३ महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्था पनि छ । तर, केन्द्रीय समितिले बोलाइदिएन । अहिले निर्क्योल गर्नुपर्ने भनेको महाधिवेशनको हैसियत नै हो ।
यसको वैधताबारे स्पष्ट हुनुपर्छ । महाधिवेशन वैध देखियो भने महाधिवेशनका निर्णयहरू पनि वैध हुने भए । तर, महाधिवेशन नै वैधानिक देखिएन भने फरक पर्ने भयो । त्यही भएर यहाँ केन्द्रीय समितिलाई मात्रै हेरेर जान सकिने स्थिति छैन । महाधिवेशनको वैधता परीक्षण नै मुख्य विषय हो । महाधिवेशनले पुरानो केन्द्रीय समिति भंग गरेर नयाँ केन्द्रीय समिति चयन गरेको अवस्था छ । त्यसैले निरूपण गर्नुपर्ने विषय केन्द्रीय समितिको निर्णयलाई टेक्ने कि दलको विधानअनुसार महाधिवेशन बैठकलाई मान्ने भन्ने हो ।
४ दिनपछि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन निर्धारित छ । आयोगले विगतमा निर्णयहरू गर्नमा प्रशस्तै समय लिएको देखिन्छ । अहिले आयोगलाई त्यस्तो सुविधा छ ?
छैन । आयोगले आधार, प्रमाण, पार्टीको विधान, ऐन र नियमलाई हेरेर प्रथमदृष्टिमै आफूलाई सही लागेको विषयमा निर्णय दिएर जान सक्छ । आयोगलाई चित्त बुझेको विषयमा निर्णय दिएर गयो भने एउटा बाटो खुल्छ । आयोगको निर्णय जसलाई चित्त बुझ्दैन ऊ अदालत जाला । वा, आयोगको निर्णयकै आधारमा अन्तिम समयमा दुवै पक्ष मिल्न पनि सक्लान् ।
सामान्य अवस्थामा दलको विवाद सल्टाउन महिनौं लाग्न सक्छ । ऐनले तोकेका प्रक्रिया पूरा गर्न पनि समय लाग्छ । यतिबेला आयोगले ‘रिस्क’ लिएर जान सक्नुपर्छ । चुनावको परिस्थिति र राष्ट्रको अवस्था हेरेर आयोगले छिटो निर्णय दिनुपर्छ । निर्णय नदिएर जाँदा के माहोल होला ? त्यो विचार गर्नुपर्छ । ठूलो तथा पुरानो लोकतान्त्रिक दलको विवादलाई थाँती राखेर उसलाई चुनावबाट वञ्चित गरेर जानु हुन्न । आयोगले ढोका खोलिदिनुपर्छ ।
तपाईंले भन्नुभएको जस्तो निर्वाचन आयोगले प्रथमदृष्टिमै निर्णय दिन सक्छ ?
आयोगले साहस गर्नुपर्छ । संवैधानिक निकाय भएपछि राष्ट्रलाई परेको समस्या समाधानका लागि तयार हुनुपर्छ । ६ गते उम्मेदवारी मनोनयन छ । लम्ब्याएर जाँदा निर्वाचनमा सहभागिताका प्रश्नहरू छन् । २०६४ सालमा जेठभित्र सरकारले तोकेको मितिमा निर्वाचन हुने कुरा संविधानमा थियो । तर, चैतको अन्त्यसम्म न त कानुन बन्यो वा सरकारले निर्वाचनको दिन नै तोक्यो ।
जेठभित्र निर्वाचन असम्भव देखेपछि आयोगले चैत मसान्तमा अब जेठको चुनाव सम्भव छैन र कानुन आएको १२० दिनपछि मात्र निर्वाचन गर्न सक्छ भनेर घोषणा गर्यो । संविधानले आयोगलाई यो अधिकार दिएको थिएन । तर राज्यलाई संकट परेका बखत राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय दिनु संवैधानिक निकायहरूको दायित्व पनि हो ।
त्यस्तै, तराई जलिरहेका बेला तराईबिना निर्वाचनमा जान आयोगलाई दबाब नआएको होइन । तर, आयोगले मानेन । उम्मेदवारी दिने म्याद २–३ पटक थपेर सबैलाई सहभागी गराइयो । अन्त्यमा, द्वन्द्वरत सबै शक्ति निर्वाचनमा आए । संवैधानिक निकायको भूमिका देशले यस्तै ‘क्राइसिस’ का बेला खोज्ने हो । कतिपय प्रश्नको उत्तर कानुनको धारामा नपाउने पनि हुन सक्छ । त्यही भएर आयोगले यस विषयमा प्रथमदृष्टिमै लागेको कुराका आधारमा झ्याप्प निर्णय गरिदिएर जाँदा राम्रो । आयोग आफू अनिर्णयको बन्दी नबनोस् ।
![The Commission should have the courage to take decisions: Bhojraj Pokharel [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/bhojraj-pokhrel-for-interview-1612026015444-1000x0.jpg&w=1001&h=0)