कांग्रेसको विवादको निरुपण निर्वाचन आयोगले फास्ट ट्र्याकमा गरिदिनुपर्छ : अयोधीप्रसाद यादव [कुराकानी]

कांग्रेसको विवादले आसन्न निर्वाचनको वातावरण बिथोलिने हो कि भन्ने चिन्ता पनि कतिपयमा छ ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Election Commission should resolve Congress dispute on fast track: Ayodhee Prasad Yadav [Interview]

What you should know

कांग्रेस विभाजन भएपछि सबैको ध्यान निर्वाचन आयोगतर्फ सोझिएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन गर्ने दिन आउन एक साताभन्दा कम समय छ ।

आयोगबाट अब कुन पक्षले आधिकारिकताको मान्यता पाउला भन्ने आम चासो छ । कांग्रेसको विवादले आसन्न निर्वाचनको वातावरण बिथोलिने हो कि भन्ने चिन्ता पनि कतिपयमा छ । यसै सन्दर्भमा पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग कान्तिपुरले गरेको संक्षिप्त संवाद–

चुनावको मुखमा कांग्रेस पार्टीमा विवाद देखिएको छ । यसले चुनावलाई कस्तो प्रभाव पार्ला ?

सरकारको सहयोगमा निर्वाचन आयोगले चुनावको तयारी गरेको छ । प्रक्रियाहरू अगाडि बढेका छन् । एउटा पार्टी भित्रको विवादले चुनावलाई नै असर गरिहाल्दैन । यो सम्बन्धित पार्टीको समस्या हो । असर उसैलाई गर्ने हो । तर देशको सबैभन्दा पूरानो र लोकतान्त्रिक पार्टीमा आएको विवादले निर्वाचनलाई लिएर आम मतदाता र कांग्रेस कार्यकर्तामा निश्चय पनि संशय बढाएको छ ।

यसपटक विशेष परिस्थितिमा निर्वाचन घोषणा भयो । निर्वाचनका लागि बल्लबल्ल बन्दै गएको राजनीतिक वातावरणलाई कांग्रेसको विवादले कस्तो असर पार्छ ?

कांग्रेस भित्रको विवाद निश्चय पनि यो चुनावका लागि राम्रो पक्ष होइन । त्यसको असर मतदानमा पर्न सक्छ । ३०–३२ प्रतिशत मत ल्याउने पार्टीमा विवाद देखिदा निश्चय पनि राजनीतिक वातावरणलाई प्रभाव पार्ने नै भयो । तर निर्वाचन आयोगले धेरै तयारी गरिसकेको छ । समानुपातिक उम्मेदवारको मनोनयन भइसक्यो, मतपत्र छापिन थाल्यो । कर्मचारीको खटनपटन भइरहेको छ । प्रत्यक्ष तर्फको मनोनयन आइसक्यो । यस्तोमा चुनाव रोकिदैंन, रोकिनु पनि हुँदैन । तर कांग्रेसको विवादले चुनावको राजनीतिक वातावरणलाई भने फितलो बनाउँछ ।

६ माघमा प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन गर्नुपर्नेछ । यहीबीचमा कांग्रेसको विवाद आयोगमा पुग्दैछ । यस्तो अवस्थामा आयोगले के गर्नुपर्ला ?

पहिलो कुरा, पार्टीमा विवाद भएपछि त्यसको घाटा सम्बन्धित दललाई नै हुने हो । त्यो कुरा उनीहरूले बुझ्न जरूरी छ । अहिले पनि उनीहरूले आन्तरिक विवादलाई मिलाएर चुनावमा जानुपर्छ । उनीहरू आफै मिल्न सकेनन् भने विवाद सल्टाउने जिम्मा आयोगमा पुग्छ नै । त्यस्तो अवस्थामा आयोगले निर्णय दिनैपर्छ । समयको चाप छ । आयोगले फास्ट ट्र्याकमा निर्णय लिनुपर्छ, दिनरात नभनिकन काम गर्नुपर्छ । यत्रो पूरानो र शक्तिशाली पार्टीलाई चुनावबाट अलग राख्न सकिदैंन ।

कांग्रेसको विवादलाई तपाईले पक्कै हेर्दै आउनुभएको छ, तपाईको विचारमा यो विवाद कस्तो हो ?

यो पार्टी विभाजनको कुरा होइन । केन्द्रीय समितिको नर्णियलाई आधिकारिक मान्ने कि महाधिवेशनको भन्ने नै हो । विवाद आयोगमा कुन रूपमा प्रवेश गर्छ, आयोगले हेर्ला । विभाजनको प्रक्रिया वा पार्टी आधिकारताको विवाद निरूपणको प्रक्रिया लामो छ । त्यसमा प्रवेश गरेको स्थितिमा कांग्रेसलाई चुनावमा जान समस्या हुन्छ । अहिले निर्वाचनको अवधि हो । यस्तो बेला छिटो निर्णय दिने बाटो रोज्नुपर्छ ।

आयोगलाई तपाईको सुझाव के छ ?

कुनै पनि राजनीतिक दलको माथिल्लो र ठूलो निकाय महाधिवेशन हो । कांग्रेसमा पनि सर्वोच्च निकाय महाधिवेशन नै हो । सिंगो पार्टीले महाधिवेशनको निर्णय मानेर जानुपर्छ । पार्टीको महाधिवेशन भइसकेकाले त्यसलाई मानेर जानुपर्छ । आयोगले पनि पार्टीको विधान, ऐन, नियम तथा उपलब्ध गराइएका कागजातका आधारमा जतिसक्दो छिटो निर्णय दिनुको विकल्प छैन । यो सामान्य अवस्थामा आएको विवाद होइन । २०७४ सालमा चुनावकै बेला राप्रपामा देखिएको विवादलाई आयोगले ‘फास्ट ट्रयाक’ मा सल्टाएको थियो । आवश्यकताको नियमलाई हेरेर निर्णय लिनुपर्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully