नेपालमा जोखिम छ, त्योभन्दा धेरै अवसर छ

कुल निर्यातमा सातदेखि आठ प्रतिशत योगदान गोल्याण ग्रुपको मात्र छ, युवाका लागि विदेशमा भन्दा नेपालमा धेरै काम गर्ने ठाउँ छन्, ऊर्जा, कृषि, निर्यातजन्य उद्योग र हस्पिटालिटी हाम्रो लगानीका चार प्राथमिकता प्राप्त क्षेत्र हुन्

पुस २२, २०८२

कान्तिपुर संवाददाता

There are risks in Nepal, but there are more opportunities.

What you should know

काठमाडौँ — साढे ६ दशक लामो इतिहास बोकेको नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्याण ग्रुपको अध्यक्षमा करिब एक महिनाअघि ३७ वर्षीय अक्षय गोल्याण चुनिएका छन् । हजुरबुबा सोहनलाल गोल्याणले सुरु गरेको व्यावसायिक यात्रा बुबा पवन गोल्याण हुँदै तेस्रो पुस्ताका अक्षयमा आइपुगेको हो ।

अक्षयले ९ वर्षदेखि प्रबन्ध निर्देशकको भूमिका निर्वाह गर्दै आएका थिए । आधा खर्बभन्दा बढीको कारोबार र ६० भन्दा बढी देशमा व्यापारिक सञ्जाल रहेको गोल्याण समूहमा करिब १० हजार कर्मचारी छन् । निर्यातमुखी व्यवसायदेखि नवीकरणीय ऊर्जा, हाइड्रोदेखि हस्पिटालिटी, कृषिदेखि रियल इस्टेटसम्मका दुई दर्जन व्यापारिक क्षेत्रमा यो ग्रुपको लगानी छ । स्पेनको इसाद युनिभर्सिटीबाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका अक्षयले गोल्याण ग्रुपलाई कसरी अघि बढाउाछन् ? गोल्याण ग्रुपमा भएको पुस्तान्तरणको प्रभाव नेपालको निजी क्षेत्र र समग्र समाजमा कस्तो पर्छ ? यी विविध विषयमा केन्द्रित भएर कान्तिपुर दैनिकका यज्ञ बञ्जाडेले गरेको कुराकानीको सार :

३७ वर्षको उमेरमा १० हजार जनशक्ति कार्यरत र आधा खर्बभन्दा बढीको कारोबार रहेको व्यापारिक घराना गोल्याण ग्रुपको अध्यक्ष चुनिँदा कस्तो अनुभूति गर्नुभएको छ ? यो जिम्मेवारीलाई कसरी वहन गर्ने योजना छ ? 

यो जिम्मेवारी मेरा लागि ठूलो हो । गोल्याण ग्रुपको सञ्चालक समितिमा मेरा बुबा पवन गोल्याण, ठूलोबुबालगायत परिवारका धेरै सदस्य हुनुहुन्छ । उहाँहरूले मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुभएको हो । मैले ९ वर्षदेखि प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएको थिएँ । सोही क्रममा मेरो मिहिनेत, काम गर्ने शैली, व्यावसायिक दूरदृष्टिलगायत पक्ष विचार गरेर अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

हाम्रो परिवारमा बुबा, ठूलोबुलालगायत पुरानो पुस्ताले म, मेरा दाजुभाइहरूलाई राम्रोसँग दिशानिर्देश गर्दै आउनुभएको छ । यसकारण पनि हामीले व्यवसायबारे धेरै बुझ्न र सिक्न पाएका छौं । अहिले हाम्रो ग्रुपको व्यवसायमा करिब १० हजार कर्मचारी कार्यरत हुनुहुन्छ । उहाँहरूसँग हातमा हात मिलाएर व्यवसायलाई तीव्र गतिमा विकास र विस्तार गर्ने अभिभारा मेरो काँधमा आएको छ । यसका लागि म सबै पक्षबाट तयार छु । 

२३–२४ भदौको जेन–जी विद्रोहले ल्याएको परिवर्तनको पृष्ठभूमिसँग जोडिएर गोल्याण ग्रुपमा पुस्तान्तरणसहित नेतृत्व परिवर्तन भएको छ, यो संयोग हो वा पूर्वयोजना थियो ? 

यो संयोग मात्र हो । एक–दुई वर्षदेखि नै गोल्याण ग्रुपले युवालाई नेतृत्वमा ल्याउने गरी तयारी गरिरहेको थियो । त्यसका लागि उपयुक्त समय र परिपक्वता पर्खिरहेको थियो । किनकि गोल्याण ग्रुप जहिले पनि नवप्रवर्तन र नयाँ शैलीमा अघि बढ्न चाहन्छ । त्यो युवा पुस्ताबाट छिटो सम्भव हुने देखेर यो निर्णय गरेको होला ।

२३–२४ भदौमा जेन–जी विद्रोह भयो । त्यसपछि मुलुकले पनि नीति निर्माणमा युवा पुस्ताको माग गर्‍यो, जुन गोल्याण ग्रुपले निकै पहिलेदेखि चाहेको थियो । मलाई अध्यक्ष बनाएर गोल्याण ग्रुपले निजी क्षेत्रका तर्फबाट समाजमा हामी पनि परिवर्तनका लागि तयार छौं भन्ने सन्देश दिन चाहेको पनि हो । 

अध्यक्ष बन्नुअघि तपाईंले ९ वर्षदेखि ग्रुपको प्रबन्ध निर्देशकका रूपमा काम गरिसक्नुभएको छ, प्रबन्ध निर्देशक र अध्यक्षको जिम्मेवारीमा के फरक पाउनुभयो ? 

प्रबन्ध निर्देशक र अध्यक्षको जिम्मेवारी फरक–फरक हुन्छ । प्रबन्ध निर्देशक दैनिक व्यवसाय सञ्चालन गर्न बढी व्यस्त हुन्छ । उसले सबैतिर ‘सुपरभाइज्ड’ गर्छ । तर अध्यक्षको भूमिका रणनीतिक हुन्छ । हामी कता गइरहेका छौं, कुन विषयलाई प्राथमिकता दिनुपर्ने हो, हेरिन्छ । 

गोल्याण ग्रुपले कुन–कुन क्षेत्र र उद्योग व्यवसायमा कति रकम लगानी गरेको छ ? लगानीका हिसाबले यो ग्रुपको प्राथमिकता कुन क्षेत्र तथा व्यवसायमा हो ? तत्काल कुनै नयाँ क्षेत्रमा लगानी विस्तार गर्दै हुनुहुन्छ ?

अहिले निर्यातमुखी उत्पादनदेखि नवीकरणीय ऊर्जा, हाइड्रोदेखि हस्पिटालिटी, कृषिदेखि रियल इस्टेटसम्मका दुई दर्जन व्यापारिक क्षेत्रमा यो ग्रुपको लगानी छ । आधा खर्बभन्दा बढीको कारोबार र ५० भन्दा बढी देशमा हाम्रो व्यापारिक सञ्जाल फैलिएको छ । अब पनि नेपालसँगै विदेशमा पनि व्यवसाय विस्तार गर्ने हाम्रो योजना छ । हाम्रो एउटा धागो उद्योग छ । हामीले त्यो उत्पादन निर्यात गरिरहेका छौं । ऊर्जामा पनि हाम्रो लगानी छ । अहिले निजी क्षेत्रले ऊर्जा निर्यात गर्न त पाइँदैन ।

तर, दुई/चार वर्षभित्रमा पक्का पनि निजी क्षेत्रले ऊर्जा निर्यात गर्न पाउने व्यवस्था हुनेछ । अहिले हामीले टेक्सटाइल पनि निर्यात गरिरहेका छौं । हामी नेपाली उत्पादनमार्फत विश्व बजारमा प्रतिस्पर्धा गरिरहेका छौं । नेपाली कम्पनी भए पनि नेपालमा मात्र सीमित हुनुपर्छ भन्ने बाध्यता छैन ।

हाम्रा उत्पादन संसारभरका ५० हाराहारी राष्ट्रमा पुगेका छन् । यो संख्या अझ बढाउने हाम्रो मुख्य उद्देश्य छ । माटो ब्रान्डअन्तर्गतका उत्पादन (पानी) हामीले भारतमा निर्यात गरिरहेका छौं । त्यसको गुणस्तर विश्वभरकै नम्बर एक देखिएको छ । यही कारण धेरै माग आइरहेको छ । तर हामीले ठूलो परिमाणमा निर्यात गर्न सकिरहेका छैनौं । पानी निर्यातको परिमाण बढाउने योजना छ । 

नेपालबाट हुने कुल निर्यातमा सातदेखि आठ प्रतिशत योगदान गोल्याण ग्रुपको मात्र छ । यो हाम्रा लागि गर्वको विषय हो । हस्पिटालिटीमा पनि हाम्रो लगानी छ । नेपालमा धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ । तर, त्यो अवसर हामीले उपयोग गर्न सकिरहेका छैनौं । काठमाडौं उपत्यकामा धेरै होटल खुलिसकेका छन् ।

अब हाम्रो प्राथमिकता उपत्यकाबाहिर छ । लुम्बिनीमा हाम्रो होटल निर्माणाधीन छ । त्यसपछि हामी जनकपुरमा होटल खोल्ने योजना छ । पश्चिम नेपालतिर ‘वाइल्ड लाइफ रिसोर्ट’ सञ्चालन गर्न सकिन्छ कि भनेर अध्ययन गरिरहेका छौं । मुख्यगरी ऊर्जा, कृषि, निर्यातजन्य उद्योग र हस्पिटालिटी हाम्रो लगानीका चार प्राथमिकता प्राप्त क्षेत्र हुन् ।

नेपालमा निजी क्षेत्रले लगानीमैत्री वातावरण छैन भन्दै आएको छ तर तपाईंहरूले तीव्र रूपमा व्यवसाय विस्तारको योजना अघि सार्नुभएको छ, वातावरण त रहेछ नि ? 

नेपाल अझै पनि अतिकम विकसित देशको सूचीमा छ । सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने भनिएको छ । तर हाम्रा लागि नेपाल एउटा उदीयमान बजार हो । हामीले विगत हेर्‍यौं भने नेपालमा जसैजसै ठूलो राजनीतिक अस्थिरता, आन्दोलन वा घटना हुन्छन्, त्यसपछि उच्च आर्थिक वृद्धि हुँदै आएको छ ।

यसकारण जोखिम पक्कै छ । तर, जोखिमभन्दा धेरै अवसर पनि छ । राजनीतिक अस्थिरताले विदेशी लगानीकर्तालाई अप्ठ्यारो होला । तर हामीलाई सजिलो हुन्छ । किनकि किन आन्दोलन भइरहेको छ ? आन्दोलित समूह कुन हो ? उनीहरूको माग के हो भन्नेबारे हामीलाई थाहा हुन्छ ।

विदेशी लगानीकर्ता सबै जनालाई त्यस्तो थाहा हुँदैन । यसकारण उनीहरूका लागि यहाँ लगानी गर्दा जोखिम होला । तर हामीले नेपालमा जोखिम छ भनेर छुट पनि पाउँदैनौं । हाम्रो त घरपरिवार सबै यहीँ छ । कसरी हुन्छ समस्या समाधानमा लाग्नुपर्छ । अप्ठ्याराहरूसँग जुध्नुपर्छ । नेपाल हाम्रो घर हो ।

अवसर भएरै हामीले ६०/७० वर्षदेखि नेपालमै बसेर व्यवसाय गरिरहेका छौं । मैले पनि पछिल्लो २० वर्षदेखि नेपालको व्यवसायलाई सूक्ष्म रूपमा नियालिरहेको छु । मेरो अनुभवले पनि जतिबेला मुलुक अस्थिर हुन्छ, त्यति बेलै लगानीको सम्भावना र प्रतिफल पनि राम्रो भएको देखेको छु । म मात्र होइन, हाम्रो सञ्चालक समिति, कर्मचारीलगायत सबै स्पष्ट छौं– नेपाल हाम्रो घर हो । यसलाई सुधार्ने हाम्रो दायित्व पनि हो ।

नेपालमा अहिले कोही व्यक्ति आफ्नो पौरखले धनी हुन्छ वा पैसा कमाउँछ भने त्यसलाई प्रोत्साहन गर्नुको साटो ठग वा अपराधीको भाष्यले आतंकित पार्ने गरिन्छ, यसलाई कसरी हेर्नुभएको छ ? 

महत्त्वपूर्ण पक्ष, सबै कुरा पारदर्शी हुनुपर्छ । जेन–जी आन्दोलनको मुख्य माग पनि भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिता हो । निजी क्षेत्रले पनि लुकाएर–झुकाएर काम गर्ने अवस्था अहिले छैन । म गर्वका साथ भन्छु– हाम्रो कम्पनीमा सबै कुरा शतप्रतिशत पारदर्शी छ । हाम्रो कम्पनी रोजगारीका हिसाबले प्रत्यक्ष रूपमा १० हजार परिवारसँग जोडिएको छ ।

कम्पनीले राम्रो नाफा कमायो भने हाम्रो कर्मचारी र उनीहरूको परिवारको आयआर्जन वृद्धि हुन्छ । उनीहरूको परिवारमार्फत समाज र समाजमार्फत राष्ट्रकै आर्थिक वृद्धि हुन्छ । यसो हुँदा सरकारले राजस्व पाउँछ । अर्थतन्त्रमा लगानी बढ्छ, उत्पादन र निर्यातसँगै रोजगारीका अवसर पनि बढ्छन् । यसकारण निजी क्षेत्रले कमाएको सम्पत्ति अथवा आर्थिक वृद्धिलाई समाजले घृणा होइन, सम्मान गर्न सक्नुपर्छ । 

जेन–जी विद्रोहमा निजी क्षेत्रका केही व्यवसायमा क्षति पुगेको छ, क्षतिका कारण ती उद्योग व्यवसाय केही दिन बन्द हुँदा त्यहाँ काम गर्ने कर्मचारी र उनीहरूको परिवारलाई निकै अप्ठ्यारो परेको थियो, यसले पनि समाज हुँदै समग्र अर्थतन्त्रमा निजी क्षेत्रको योगदान कति रहेछ भन्ने पुष्टि हुन्छ, नेपालको निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा चुनौती के–के हुन् ?

व्यवसाय गर्न प्रशासनिक झन्झट यहाँ धेरै छन् । उदाहरणका लागि, एउटा जलविद्युत् योजना बनाउन विभिन्न मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । सबै मन्त्रालयका आआफ्नै प्रक्रिया छन् । त्यसका लागि धेरै चरण पार गर्नुपर्छ । मानौं, हामीलाई एउटा हाइड्रोपावर कम्पनीका लागि स्वीकृति लिनुपर्नेछ ।

सबै प्रक्रिया पूरा गरेर निर्माणको काम सुरु गर्न कम्तीमा पनि तीन वर्ष लाग्छ । त्यस अवधिमा कति सरकार परिवर्तन हुन्छन् ? कर्मचारीहरूको सरुवा हुन्छ । यसो हुँदा निर्माणको काम सुरु गर्न चार–पाँच वर्ष पनि लाग्न सक्छ । यसमा सुधार गरेर एकै स्थानबाट सबै काम गर्न सकिने व्यवस्था गर्न सके त्यो चार–पाँच वर्षमा धेरै काम गर्न सकिन्छ । लगानीकर्ताका लागि समय पनि पैसा (टाइम इज मनी) हो । 

अर्को ठूलो समस्या, नीतिगत अस्थिरता हो । सरकारले वार्षिक बजेटमार्फत धेरै नीति तथा कार्यक्रम घोषणा गर्छ । त्यो राजपत्रमा आइसकेपछि उद्योगी व्यवसायीले नीतिगत अवसरका हिसाबले व्यावसायिक योजना बनाउँछन् । केही महिनामै अर्को सरकार आउँछ, नयाँ अर्थमन्त्री आउँछन् र अघिको नीति ठ्याक्कै परिवर्तन गरिदिन्छन् । यस्तो अवस्थामा उद्योगी व्यवसायीले के गर्ने ? लगानीकर्ताले के गर्ने ? यसकारण नेपालमा राजनीतिक स्थिरतासँगै नीतिगत स्थायित्व पनि निकै आवश्यक छ । हरेक ६/६ महिनामा सरकार परिवर्तनसँगै नीतिगत परिवर्तन पनि गर्नुभएन । 

यसकारण सरकारले कम्तीमा पाँचदेखि १० वर्षसम्म स्थिर रहने नीति ल्याउनुपर्छ । निजी क्षेत्रले कर छुट वा सुविधा मागेको छैन । जस्तोसुकै नीति ल्याउनुस् तर त्यो कम्तीमा पाँचदेखि १० वर्षसम्म परिवर्तन हुनुभएन । 

निकै विवादका बाबजुद पनि रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणमा आईपीओ वितरण गरिसकेको छ, कम्पनीको आईपीओमा सर्वसाधारणको निकै आकर्षण देखियो, यसलाई कसरी हेर्नुभएको छ ? सेयरधनीलाई प्रतिफल दिने सम्बन्धमा के–कस्ता योजना छन् ?

रिलायन्स २५/३० वर्षदेखि सञ्चालनमा रहेको कम्पनी हो । कम्पनी निरन्तर नाफामा छ । वित्तीय अवस्था पनि निकै राम्रो छ । सर्वसाधारणले कम्पनीका सबै पक्ष हेरेर आईपीओमा लगानी गर्नुभएको हो । यो कम्पनीको आईपीओ आह्वान गरेको भन्दा धेरै गुणा बढी आवेदन माग भएको थियो । यति धेरै आवेदन आउनुलाई मैले सर्वसाधारणले कम्पनीलाई माया गरेको वा विश्वास गरेका रूपमा हेरेको छैन ।

उहाँहरूले राम्रो कम्पनीमा लगानी अवसर देखेर लगानी गर्नुभएको हो । लगानीकर्ताले कति लाभांश पाउनुहुन्छ भन्ने अहिल्यै भन्न सकिँदैन । किनकि सञ्चालक समितिको निर्णयका आधारमा यो तय हुने विषय हो । आईपीओको पैसा कुनै कर्जा चुक्ता गर्ने वा अरू कुनै काममा उपयोग गरिँदैन, कम्पनीमै लगानी गर्ने हो । यसकारण कम्पनीलाई हामी झन् बलियो बनाउँछौं । 

रिलायन्सको आईपीओ निष्कासनका क्रममा कहिले अदालतमा मुद्दा त कहिले नियामक निकायबाट प्रक्रिया रोक्न निर्देशन आयो, रिलायन्सको ‘कट अफ प्राइस’ निर्धारणमा अनियमितता भएको भन्दै अहिले पनि अर्थ मन्त्रालयको निर्देशनमा धितोपत्र बोर्डले अनुसन्धान गरिरहेको छ, यस्तो अवस्था किन आयो ?

आईपीओको सेयर मूल्य निर्धारणको विषयलाई लिएर केही विवाद पनि सिर्जना गरियो । तर, मूल्य निर्धारण प्रक्रिया पारदर्शी छ । मूल्य कम्पनीले निर्धारण गरेको होइन । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘बुक बिल्डिङ निर्देशिका’ मार्फत सेयरको मूल्य निर्धारण भएको हो । उक्त विधिमार्फत सेयरको मूल्य निर्धारण गर्दा योग्य संस्थापक लगानीकर्ता छनोट गरिन्छ ।

सुरुमा ती संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरिन्छ । ती लगानीकर्ताले खरिद गरेको औसत मूल्यभन्दा १० प्रतिशत कम गरेर सर्वसाधारणका लागि मूल्य तय गरिन्छ । यसकारण मूल्य निर्धारण प्रक्रियामा कम्पनीको कुनै हात हुँदैन । यद्यपि, एक–डेढ वर्षअघि यस विषयमा अनुसन्धान भयो । अदालतमा मुद्दा पर्‍यो । अहिले परेका सबै मुद्दाको फैसला हाम्रो पक्षमा भएको छ । यही कारण धितोपत्र बोर्डले डेढ महिनाअघि रोकिएको आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दियो । सोहीअनुसार आईपीओ वितरण पनि भइसकेको छ ।

नेपालमा केही छैन भन्दै हरेक पछिल्ला वर्षमा नेपालबाट बाहिरिने युवाको संख्या बढ्दो छ, तपाईं विदेशमा अध्ययन सकेर स्वदेश फर्केर पुर्ख्यौली व्यवसायको नेतृत्वमा हुनुहुन्छ, युवालाई के भन्नुहुन्छ ? 

स्वदेश फर्किनुलाई मैले ठूलो कुरा मानेको छैन । यहाँ फर्केर पनि १० वर्ष काम गरिसकेको छु । युवा साथी, भाइबहिनीले मेरै उदाहरण लिए हुन्छ । विदेशमा बस्दा हामी एउटा ठूलो तालमा सानो माछा जस्तो हुन्छौं । तर नेपालमा आफ्नो देशमा स्वाभिमानका साथ काम गर्न पाइन्छ । विदेशमा भन्दा नेपालमा धेरै अवसर छन् ।

मिहिनेत गरेर काम गर्ने हो भने देशबाहिर १५ वर्ष २० वर्ष कमाउने पैसा सम्पत्ति नेपालमा दुई वर्ष तीन वर्षमै आर्जन गर्न सकिन्छ । बाहिर देशमा काम गरेर हामी अरूको अर्थतन्त्रमा योगदान गरिरहेका छौं । त्यही काम आफ्नो देशमा गर्दा समाज र राष्ट्रकै लागि योगदान गर्न सकिन्छ । मेरा लागि नेपालमा काम गर्दा प्राप्त हुने सन्तुष्टि स्वर्ग हो । 

तपाईंका हजुरबुबाले सुरु गरेको व्यवसाय बुबाले यहाँसम्म ल्याउनुभएको छ, विश्व बजारमा पहुँच र कारोबारका हिसाबले आगामी पाँच वर्षमा व्यवसायलाई कहाँसम्म पुर्‍याउने योजना छ ? 

व्यवसायको विकास र विस्तार म एक्लैले गर्ने होइन । यसमा हाम्रो सञ्चालक समिति, उच्च व्यवस्थापन र सम्पूर्ण कर्मचारीको साथ चाहिन्छ । म तथ्यांकभन्दा परिणाममा विश्वास गर्छु । यसकारण म सम्पूर्ण टिमलाई भन्न चाहन्छु– हामी अहिलेभन्दा दोब्बरतेब्बर मिहिनेत गरौं । सञ्चालनमा रहेका कम्पनीलाई झन् बलियो बनाऔं । सम्भावित नयाँ क्षेत्रमा लगानी विस्तार गरौं । कम्पनीले राम्रो हुन सके हामी सबैको परिवारमा खुसी ल्याउन सकिन्छ ।

कान्तिपुर संवाददाता

Link copied successfully