नेपालमा चुनाव भए पूरा सहयोग हुने भारतको भनाइ पाएँ : भट्टराई [अन्तर्वार्ता]

'नयाँ वैकल्पिक, अग्रगामी शक्तिलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्नुपर्छ भनेर लागिराखेकै हुँ । सहकार्य गर्ने, चुनावी तालमेल गर्ने, मिल्नेहरू एक हुने सम्भावना अहिले पनि छ ।'

पुस १०, २०८२

कान्तिपुर संवाददाता

I received an assurance from India that it will provide full support if elections are held in Nepal: Bhattarai [Interview]

What you should know

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मुम्बई र दिल्लीको भ्रमण गरी बुधबार काठमाडौं फर्केका छन् ।

मुम्बईमा आईआईटी बम्बईको ‘टेकफेस्ट’ मा अतिथिको रुपमा प्रवचन दिएका थिए भने दिल्लीमा भारतका पूर्वराजदूतहरुले आयोजना गरेको छलफल कार्यक्रममा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए । दिल्लीमा उनले भारतीय उच्च अधिकारीसँग अनौपचारिक कुराकानीसमेत गरे ।

औपचारिक/अनौपचारिक भेटवार्तामा भारतीय अधिकारीले नेपालमा तोकिएकै समयमा निर्वाचन होस् भन्ने आफूले पाएको भट्टराईले बताए । उनको भारत भ्रमणमा भएको भेटवार्ताको सारबारे कान्तिपुरका गंगा बीसीले गरेको कुराकानी :

यसपटक तपाईँको भारत भ्रमणको उद्देश्य के थियो ?

मेरो यसपटकको भारत भ्रमण बढी औपचारिक रुपमा प्राविधिक प्रकृतिकै बढी थियो । आईआईटी बम्बईको टेक फेस्टिभल जो अन्तर्राष्ट्रिय महत्वकै हुने गर्छ, त्यसमा अलि प्रतिष्ठित व्यक्तित्वहरु नै आउने गर्छन् । म त्यसैलाई आफ्नो प्रवचनको निम्ति त्यहाँमा गएको थिएँ । अलि चासो राख्नेहरुको बीचमा छलफल गरौं भन्ने भयो । त्यसमा पनि राम्रै छलफल भयो ।

अब सारमा बुझ्दा मैले नेपालको लोकतान्त्रिकरणको प्रक्रिया अलि ढिलो सुरु भयो र अलि बांगोटिंगो हुँदै उतारचढाव हुँदै अगाडि बढेको छ । पछिल्लो जेनजी विद्रोहसम्म आउँदा जुन परिस्थिति देखापर्‍यो । त्यसले उहाँ (भारतका पूर्वराजदूत, प्राध्यापक) हरु पनि अलि तरङ्गित, चिन्तित भएको पाइयो । यो के भएको हो ? लोकतन्त्रमै खतरा छ कि छैन ? भित्री-बाहिरी शत्तिहरुको भूमिका के छ ? भन्ने विषयको पनि चासो थियो ।

मैले जे भन्दै आएको छु, अब मूलतः हाम्रो लोकतान्त्रिकरण ढिलो भएको हुनाले यसको राम्रो जरा गाड्न पाएको छैन । आर्थिक, सामाजिक संरचनाको विकास छिटो नहुँदाखेरि युवामा असन्तुष्टि थियो । जेन जी विद्रोेह त्यो नै मुख्य कारण हो । युवाहरुको विद्रोह जायज ढंगकै हो । युवाका चासो र विषय हामीले सम्बोधन गर्न नसक्दा हाम्रा संस्थाहरु कमजोर भए ।राजनीतिक दल नेतृत्व अलिकति स्खलित हुँदाखेरि राजनीतिक अवस्था तरल अवस्थामै छ । तैपनि निर्वाचनको मिति घोषणा भइसकेको छ । छिटो निर्वाच सम्पन्न गर्ने र लोकतन्त्रलाई ट्र्याकमा ल्याउने नै अब सही विकल्प हुन्छ भन्ने कुरा राखे । उहाँ (भारतका पूर्वराजदूतहरु, प्राध्यापक) हरुको जिज्ञासा चिन्ता लोकतन्त्र खतरामा पर्छ कि पर्दैन ? यो भूरानीतिक चलखेल कति बढ्दै छ ? बढ्न सक्छ कि सक्दैन ? भन्ने जस्ता प्रश्नहरु थिए । मैले बुझेसम्म ती प्रश्नहरु शान्त पार्ने, प्रष्ट पार्ने मैले कोसिस गरेँ ।

भारत भ्रमणमा कोकोसँग छलफल भयो ?

राजदूत पूर्वराजदूतहरू, प्रोफेसरहरू, विभिन्न राजनीतिक दलका नेताहरु र युवाहरु कार्यक्रममा हुनुहुन्थ्यो । त्यहाँ धेरै पूर्वराजदूत उपस्थित हुनुहुन्थ्यो । मुख्य वक्ताको रुपमा पूर्वराजदूत जयन्त प्रसाद हुनुहुन्थ्यो ।

नेपालमा घोषित मितिमा निर्वाचन हुने/नहुनेबारे भारतमा कस्तो बुझाइ रहेछ ?

राजनीतिक दलहरुप्रति जुन आक्रोश देखापर्‍यो । त्यसले निर्वाचनमा राजनीतिक दलहरुको सहभागिता रहन्छ, रहँदैन । हाम्रा संस्थाहरुमा अलि कमजोरीहरु जस्ता देखिए । निर्वाचनको तयारीका निम्ति सबै सहभागी हुनुपर्‍यो । स्वतन्त्र, निष्पक्ष निर्वाचनको निम्ति राज्यका सबै अङ्गहरु एकीकृत ढंगले परिचालित गरिनुपर्छ । निर्वाचनका लागि राजनीति पाटो एउटा हो भने राज्यकै सामर्थ्य अर्को विषय हो । बेलैमा स्वतन्त्र, निष्पक्ष हुन सक्छ कि सक्दैन ? भन्ने चासो रहेछ बढी रहेछ । मैले चुनाव तोकिएकै मितिमा हुन सक्छ, गर्नुपर्छ भन्नेमा जोड दिएँ । हामी तोकिएकै मितिमा निर्वाचन गर्दैछौं । प्रयत्न गर्दैछौं । मैले सबै अन्तर्राष्ट्रिय समुदायको सद्भाव चाहिन्छ भन्ने कुरा मैले राखेँ ।

दिल्ली भ्रमणमा भारतका उच्च अधिकारीहरुसँग पनि भेटवार्ता भयो ?

मैले त्यसरी औपचारिक रुपमा त भेटवार्ता गरिनँ । अनौपचारिक रुपमा सामान्य कुराकानीहरु भए । समय पनि कम थियो ।

भारतीय अधिकारीको पनि समयमै चुनाव होस् भन्ने पाउनुभयो ?

हो । सबैको चुनाव होस् भन्ने छ । चुनाव हुन्न कि भन्ने चिन्ता छ । उहाँ (भारतीय अधिकारी) हरुको चुनाव होस् र हाम्रो तर्फबाट पूरा सहयोग हुन्छ भन्ने छ ।

तपाईँको विचारमा तोकिएकै समयमा चुनाव हुन्छ जस्तो लाग्छ ?

चुनाव गर्नैपर्छ नि । चुनावको त विकल्प नै छैन । लोकतन्त्रलाई संस्थागत गर्ने भनेकै निर्वाचनले हो । त्यसैले घोषित मितिमा सबै सहभागी भएर निर्वाचनमा जानु नै उपयुक्त हुन्छ । हो धेरै चुनौती छन् । ती चुनौतीको हामी सबै मिलेर सामना गर्नुपर्छ ।

तपाईंले वैकल्पिक राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ भनिरहनुभएको छ । त्यस्ता केही संवाद भएका छन् ?

म पार्टीको नेतृत्वमा नरहेर अहिले अभिभावाकीय भूमिकामा छु । नयाँ वैकल्पिक, अग्रगामी प्रगति शक्तिहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गरिराखेकै हुँ । बहुदलीय प्रजातन्त्रमा आफ्नो ढंगले दल दर्ता गर्ने, तयारी गर्ने कुरा हुने भयो । तैपनि विभिन्न ढंगले सहकार्य गर्ने, चुनावी तालमेल गर्ने, मिल्नेहरु एक हुने सम्भावना अहिले पनि छ । कुराकानी चलिराख्या छ । मलाई साथीहरुलाई यसबारे सल्लाह सुझाव दिइरहेको छु ।

उहाँहरुबीच राम्रै कुराकानी भइरहेको भन्ने बुझेको छु । युवाहरुको विद्रोह र असन्तुष्टि सम्बोधन गर्नेगरी नयाँ पुस्ताका शक्तिहरु नै अगाडि आउन् । तर उनीहरु बैचारिक ढंगले अग्रगामी लोकतान्त्रिक ढाँचाको हुनुपर्छ ।

कान्तिपुर

Link copied successfully