एमालेले महिला र युवालाई विशेष ‘फोकस’ गर्दैछ : ज्वालाकुमारी साह

'म कर्ममा विश्वास गर्ने मान्छे हुँ । फलको आशाभन्दा कामको आशा गर्छु । पार्टीले ज्वाला शाहलाई कहाँ आवश्यकता पर्छ, कुन जिम्मेवारी सम्हाल्न सक्छिन् भनेर निर्णय गर्छ, म त्यसमै रहेर काम गर्नेछु ।'

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

UML is giving special 'focus' to women and youth: Jwalakumari Sah

What you should know

काठमाडौँ — एमाले महाधिवेशनमा महिला सहभागिता बढाउन दबाब बढेको छ । पदाधिकारी र केन्द्रीय कमिटीमा महिला, युवा, जनजाति, मधेशीलाई प्राथमिकतामा राख्नुपर्ने महिला नेतृहरूको माग छ । आसन्न महाधिवेशनले महिला नेतृत्वमा जोड दिनुपर्ने उनीहरूको ‘लबिङ’ सुरु भएको छ । यिनै विषयमा केन्द्रित रहे कान्तिपुरका गंगा बीसीले एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी साहसँग गरेको कुराकानीको सम्पादित अंशः

एमाले महाधिवेशनमा विशेष गरी महिला, समावेशी जनजाति, आदिवासीको सहभागिताको कुरा कति उठेको छ ? प्रतिनिधित्वका लागि कस्तो प्रयास भइरहेको छ ?

पहिलो कुरा त हाम्रो गौरवशाली पार्टी भएको हिसाबले समावेशीको हिसाबले जनजाति मात्र होइन, महिला, आदिवासी सबै समुदायबाट समेट्ने गरी, अझ युवालाई पनि फोकस गर्ने गरी फिल्डबाट पनि प्रतिनिधि सर्वसम्मत ढंगले आएका छन् । पार्टीले हरेक कोणबाट महिला, युवा, जनजाति आदिवासीलाई विशेष प्राथमिकताका साथ हेर्ने निर्णय पक्कै पनि गर्नर् ेछ । त्यो खालको छलफल पनि चलिरहेको छ । 

महिला नेतृहरू नै अधिकार लिन एकजुट हुनुपर्नेमा विभाजित भएको गुनासो आइरहेको छ नि ?

एमालेमा हरेक नीति निर्माणका निर्णायक भूमिकामा, सचेतकदेखि सबै क्षेत्रमा महिलालाई सम्मानित ढंगले ठाउँ दिइएको छ । आज महिलालाई अघि बढाएकै कारणले महिला अलि बढी बोल्न थाले कि भन्ने मेरो व्यक्तिगत बुझाइ छ । पार्टीमा अपमानको ठाउँमा त बढी सम्मान पाएको छ । बढी अधिकार पाएको छ । एमालेले महिलालाई नीतिगत रूपमा बढी समावेश गरेको छ । एमाले नेतृत्वलाई धन्यवाद दिनुपर्छ । एमालेले अब महिला सहभागिता बिस्तारै ५० प्रतिशत पुर्‍याउनुपर्छ भनेर छलफल भइरहेको छ । किनकि, देशमा ५१ प्रतिशतको संख्या हाराहारीमा महिला छन् । महिलाबिना देश अगाडि बढ्न सक्दैन, विकास निर्माण सम्भव छैन भन्ने कोणबाट आवाज उठिरहेको छ । त्यसकारण हाम्रो पार्टीले महिला, युवा र जनजाति विशेषलाई फोकस गर्दैछ । 

आगामी नेतृत्वका लागि तपाईंको दाबी केमा छ ?

मेरो नाम केवल नाम होइन, एउटा संघर्षको कथा हो । म जन्मदेखि नै बलिदान र देशप्रतिको समर्पणको वातावरणमा हुर्केर आएकी मान्छे हुँ । मलाई थाहा छ, संघर्षले मान्छेलाई पछि हटाउँदैन, अघि बढाउँछ । त्यसकारण म दृढ रूपमा एमालेको सिद्धान्तमा उभिएर अहिले संगठन विभागले दिएको जिम्मेवारी केन्द्रीय संगठन विभागको सदस्य र पोलिटब्युरो सदस्यको हैसियतमा बारा, पर्सा र रौटहटको जनप्रतिनिधि छनोट, मास परिचालन, सांगठनिक व्यवस्थापनमा दिनरात पार्टी बलियो बनाउने कोणबाट काम गरिरहेकी छु । पार्टी बलियो भयो भने हामी रहन्छौं, देश सुरक्षित रहन्छ । 

मेरो पदाधिकारीको दाबी भन्दा पनि म कर्ममा विश्वास गर्ने मान्छे हुँ । फलको आशाभन्दा कामको आशा गर्छु । पार्टीले ज्वाला शाहलाई कहाँ आवश्यकता पर्छ, कुन जिम्मेवारीमा सम्हाल्न सक्छिन् भनेर निर्णय गर्छ, म त्यसमै रहेर काम गर्ने छु । व्यक्तिगत रूपमा म यो पदमा उठ्छु भन्दिनँ । पार्टीले मेरो कर्म र कामको मूल्यांकन गरेर अवश्य पनि केही निर्णय गर्नेछ । 

यो महाधिवेशनमा केन्द्रीय कमिटी लगायत पदाधिकारी र अन्य कमिटीमा महिलाको प्रतिनिधित्व कति होला ?

केन्द्रीय कमिटी र अरूमा महिलाको प्रतिनिधित्वमा ३३ प्रतिशतको कुरा चलिरहेको छ र ३३ प्रतिशत त ग्यारेन्टी नै हुन्छ । अझ महिला प्रतिनिधित्व बढाउने अभियानमा पार्टी दिनरात कसरत गरिरहेको छ । । महिला र युवालाई बढी सम्मान र स्थान दिनुपर्छ भनेर बृहत् र गंभीर ढंगले छलफल चलिरहेको छ । यो ११औं महाधिवेशन इतिहास र संघर्षले भरिएको छ । हाम्रो पार्टीको भविष्य पनि सम्भावनाले भरिएको छ । पार्टी बलियो बन्न दृष्टिकोण भएको नेतृत्व चाहिन्छ । देशप्रति प्रतिबद्ध र राष्ट्रवादी चरित्र भएको नेता केपी शर्मा ओलीज्यू मात्र हुनुहुन्छ । उहाँ बाहेक अरूले यो संकटको बेलामा देश चलाउन सक्दैनन् । त्यसैले एकताबद्ध भएर सर्वसम्मत ढंगले अगाडि बढ्नुपर्छ । एमालेमा ३३ प्रतिशत महिला सहभागिता ग्यारेन्टी र सुरक्षित हुन्छ । 

जेनजी आन्दोलनपछि युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने दबाब छ नि ?

मागभन्दा पनि केन्द्रमा छलफल चलिरहेको छ– युवालाई प्राथमिकता दिनुपर्छ । यो आजको कुरा होइन, हिजोदेखि नै उठ्दै आएको हो । एमालेमा सबभन्दा बढी युवाहरू अग्रमोर्चामा छन् । तथ्यांक हेर्नुस्, युवालाई अवसर एमालेमै बढी छ । जेनजी आन्दोलनभन्दा अगाडिदेखि यो कुरा चल्दै थियो । तर जेनजीका नाममा अराजक तत्वहरू घुसपैठ गरेर देश तहसनहस बनाए । यो योजनाबद्ध स्वार्थ थियो । लुटपाट भयो । मेरै घर पनि पनि खरानी भयो । म आफैं अहिले घरबिहीन छु ।

कान्तिपुर

Link copied successfully