जेन-जीले बनाएको सरकार हो भनेर उनीहरूका कुरा सुनेर मात्र पुग्दैन, सरकार मुलुककै हो, सबैको हो, सरकारको व्यवहार सबैका लागि हुनुपर्यो
What you should know
२०४६ सालको जनआन्दोलनले निर्दलीय पञ्चायती व्यवस्था समाप्त पारेपछि मुलुक प्रजातान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेको थियो । आन्दोलनको उभारबाट स्थापित भएका कांग्रेस र कम्युनिस्ट, तत्कालीन राजा तथा भर्खर मात्र सत्ताबाट बाहिरिन पुगेका पञ्चहरूसँग समन्वय गरेर आमनिर्वाचन गराउनुपर्ने थियो ।
पञ्चायती व्यवस्थाकै क्रममा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा थिए, सूर्यप्रसाद श्रेष्ठ । कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले पनि उनैलाई विश्वास गर्यो ।
२०४८ को आमनिर्वाचन गराउने दायित्व श्रेष्ठकै काँधमा आयो । एउटा राजनीतिक प्रणाली हटेर अर्को राजनीतिक प्रणालीमा भर्खरै मुलुक प्रवेश गर्दै थियो । राजनीतिक परिवर्तनपछिको पहिलो निर्वाचन हुँदै थियो । श्रेष्ठले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको जस पाए । त्यसयता भएका सबै निर्वाचनलाई निर्वाचन पर्यवेक्षकका रूपमा अवलोकन गर्दै आएका पूर्वप्रमुख निर्वाचन आयुक्त श्रेष्ठसँग जेन–जी आन्दोलनपछिको उत्पन्न परिस्थिति र २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा कान्तिपुरका राजेश मिश्रले गरेको कुराकानी :
प्रतिनिधिसभा विघटन भएकाले दुई वर्षअघि नै चुनाव हुन लागेको छ । अहिलेको परिस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिले विषम अवस्थामा चुनाव हुन लागेको छ । यो किसिमको स्थिति पहिला देखिएको थिएन । २०१५ को चुनावदेखि नै हेर्नुस् । २००७ सालको क्रान्तिपछिको चुनाव थियो । क्रान्ति सकिएको सात/आठ वर्षपछि चुनाव भएको थियो । ४८ को चुनाव जनआन्दोलनपछि भयो । आन्दोलन सकिएको एक वर्षमा चुनाव भएको थियो । २०६२/६३ को जनआन्दोलन पछाडि करिब २ वर्षपछि संविधानसभाको चुनाव भएको थियो । त्यसबाहेकका निर्वाचन आवधिक नै हो ।
त्यतिबेला पनि राजनीतिक परिवर्तन भएको थियो । तर अहिलेको जस्तो विकराल स्थिति थिएन । त्यतिबेला एउटा निश्चित राजनीतिक उद्देश्यका लागि आन्दोलनहरू भएका थिए । २००७ सालको क्रान्ति राणा शासन फ्याँक्न थियो । ४६ सालको आन्दोलन निर्दलीय पञ्चायती व्यवस्था हटाउन भएको हो । २०६२/६३ को आन्दोलनको मूल आधार शासकीय स्वरूपमा परिवर्तन र गणतन्त्र थियो ।
अहिले भएको आन्दोलनमा मोटिभेसन फ्याक्टर हो । केका लागि गरेको त भ्रष्टाचारको विरोधमा । विकसित वा अल्पविकसित सबै देशमा भ्रष्टाचारको मुद्दा उठ्दै आएका छन् । जबकि नेपालमा यसअघि भएका सबै आन्दोलन राजनीतिक हुन् । अहिले भ्रष्टाचारको कुरालाई लिएर मुलुकमा यत्रो विध्वंस पनि भएको छ । राज्य विद्रोहकै हिसाबमा गयो । यसलाई निराकरण गर्नुपर्छ । यस्तै गतिविधि भइरहे मुलुकको विकास अघि बढ्न सक्दैन ।
............................................
–निर्वाचनकै लागि बनेको सरकारमा बस्नेहरूको भूमिका स्वतन्त्र र निष्पक्ष हुनुपर्यो
समात्छु भनेको छ । थुन्छु भनेको छ । चुनाव हुन तीन महिना बाँकी छ । यस्तो बेलामा सरकार सहनशील हुन जरुरी छ ।
–अहिले आएर निर्वाचनको पद्धति र प्रणालीमा नयाँ कुराहरू थप्न खोज्नु हुँदैन । नयाँ प्रविधिहरू हाल्ने, विदेशमा रहेकालाई मतदानको कुरा गर्ने अहिले समय नै छैन । यस्ता कुराहरूले आयोगमा रहेकाहरू अतालिन्छन् ।
............................................
जुनसुकै किसिमको व्यवस्था होस्, संवैधानिक व्यवस्था अनिवार्य सर्त हो । संवैधानिक व्यवस्थालाई भत्काउँदाखेरि मुलुक गम्भीर संकटमा पर्छ । अब मुलुक सही ट्र्याकमा आउने उपाय भनेको लोकतान्त्रिक व्यवस्थामा जानुपर्यो । सार्वभौम जनतालाई नै सम्झिनुपर्यो । लोकतन्त्रको बाटोमा नगईकन धर छैन । देशलाई फेरि संविधानको बाटोमा फर्काउने उपाय निर्वाचन नै हो ।
यतिबेला निर्वाचनको माहोल कस्तो पाउनुभएको छ ?
निर्वाचनको माहोल बनाउने राजनीतिले नै हो । यसको पहिलो पक्ष राजनीतिक दल नै हुन् । अर्को व्यवस्थापकीय पक्ष हो । तेस्रो सुरक्षाको पक्ष हुन्छ । राष्ट्रपतिले जुक्तिसाथ परिस्थितिलाई संवैधानिक घेराभित्र ल्याएँ भन्नुभएको छ । देश चुनावको विकल्पमा गएको हो । चुनावको तयारी गर्न संस्थागत संरचना केही बिग्रेको छैन । निर्वाचन आयोग एउटा सक्षम संस्थागत संरचना छ । धेरै दक्षिणपूर्वी एसियाली देशहरूको भन्दा हाम्रो आयोग राम्रो छ । निर्वाचन गर्ने पद्धति, प्रणाली राम्रो छ । आयोग निर्वाचन गराउन सक्षम छ । राजनीतिक माहोल चाहिएको हो । त्यसमा सरकारको भूमिका चाहिएको छ ।
जेन–जीले बनाएको सरकार हो भनेर उनीहरूका कुरा सुनेर मात्र पुग्दैन । सरकार मुलुककै हो । सबैको हो । सरकारको व्यवहार सबैका लागि हुनुपर्यो । जनताको सरकार बन्नुपर्यो, स्वतन्त्र सरकार बन्नुपर्यो । निर्वाचनमा उनीहरूको स्वतन्त्र भूमिका पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ । निर्वाचनकै लागि बनेको सरकारमा बस्नेहरूको भूमिका स्वतन्त्र, निष्पक्ष हुनुपर्यो । राजनीतिक दलहरूले पनि त्यो महसुस गर्न सक्नुपर्यो । सरकारले केही हदसम्म प्रयास गरिराखेकै जस्तो लाग्छ । यद्यपि केही राजनीतिक दलले त्यसलाई पूर्ण रूपमा स्विकार्न सकेका छैनन् ।
चुनावका लागि अबको चुनौती के देख्नुहुन्छ ?
चुनौतीका केही क्षेत्र छन्, जस्तै राजनीतिक दल । ठूला दल कांग्रेस, एमालेको सहयोग र सक्रियता आवश्यक छ । उनीहरूबाट राजनीतिक स्वीकृति भयो भने परिस्थिति थप सहज हुन्छ । टकरावको अवस्थामा गयो भने समस्या हुन्छ । छानबिन आयोग बनेको छ । समात्छु, थुन्छु भनेको छ । यसले चुनावको वातावरणमा चुनौती थप्छ । चुनाव हुन तीन महिना बाँकी छ । यस्तो बेलामा सरकार सहनशील हुन जरुरी छ । परिस्थितिलाई व्यवस्थित गर्ने क्षमता सरकारमा हुनुपर्यो । संसद्, सर्वोच्च अदालत, सिंहदरबार जलाइएका छन् । जिल्ला–जिल्लामा त्यत्रो विध्वंस भएको छ । त्यसमा संलग्नलाई ल्याएर उभ्याइदिओस् न । जनतालाई चित्त बुझाउने ठाउँ हुन्छ । तर, राजनीतिक दलहरूलाई मात्र लक्षित गरिरह्यो भने यसले सहयोग र समन्वयको वातावरण ल्याउन सक्दैन ।
अर्को, हतियारभन्दा दरो यतिबेला सोसल साइटहरू भएका छन् । मूलधारका मिडिया अलिकति जवाफदेही र अनुशासित छन् । तर सामाजिक सञ्जालको प्रयोग हेट स्पिचका लागि भइरहेको छ । त्यसले समस्या पार्छ । त्यसलाई जिम्मेवार र जवाफदेही कसरी बनाउने ? त्यसको उचित प्रयोगका लागि राजनीतिक दलहरूको पनि प्रयास हुनुपर्छ । चुनावको मुखमा पार्टीभित्रको झगडा राम्रो भएन ।
अब अदालतको कुरा छ । अदालतले जे निर्णय गर्छ, राजनीतिक दलले शिरोधार्य गर्लान् । सरकारले पनि गर्ला । तर अदालतले अहिलेसम्म कुनै हस्तक्षेप वा अवरोध गरेको छैन । यो अवस्थामा चुनावको तयारीमा कुनै कसर बाँकी राखिनु हुँदैन । यसमा प्रमुख दायित्व सरकारको हुन्छ ।
सरकारलाई तपाईंको के सुझाव छ ?
सरकारले मिडिया, राजनीतिक दल सबैलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउन सक्नुपर्यो । निर्वाचन आयोगलाई हस्तक्षेप गर्दिनु भएन । स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गर्न सक्ने क्षमता आयोगसँग छ । अहिले आएर निर्वाचनको पद्धति र प्रणालीमा नयाँ कुराहरू थप्न खोज्नु हुँदैन । नयाँ प्रविधिहरू हाल्ने, विदेशमा रहेकालाई मतदानको कुरा गर्ने अहिले समय नै छैन । यस्ता कुराले आयोगमा रहेकाहरू अतालिन्छन् ।
भइराखेको पद्धति र प्रणालीभित्र यो निर्वाचनलाई सम्पन्न गर्नुपर्छ । हस्तक्षेप गरेर त्यहाँ यो गर्देऊ, सिधै प्रधानमन्त्रीको चुनाव गर्दैऊ भनेर त हुँदैन नि । यस्ता कुराहरू ल्याउनै हुँदैन । सरकारमा रहेकाले युवा समुदायलाई पनि राम्रोसँग बुझाउनुपर्छ । फेस गर्नुपर्छ । उनीहरूले जे–जे भन्छ, त्यसमा लाग्ने पनि होइन, कुरै नसुन्ने भन्ने पनि होइन । गर्न सक्ने मात्र गर्नुपर्छ । जेन–जीलाई पनि हुने कुरा गर्दिनुपर्यो । नहुने कुरामा उनीहरूलाई महत्त्वाकांक्षी बनाएर ट्याम्पर्ड गर्ने या प्याम्पर्ड गर्ने गर्नु भएन । सरकार त परिपक्व छ नि । युवाले पनि पत्याएर उमेर पुगेकैलाई सरकारमा पठाएका छन् ।
विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्छ भन्ने युवाको माग छ । सर्वोच्च अदालतले पनि त्यसलाई कार्यान्वयनमा लैजान निर्देशात्मक आदेश दिएको छ । त्यो गर्नुपर्ने होइन र ?
नयाँ कुरा अहिले गर्यौं भने समयसीमाले गर्दा चुनाव हुँदैन । सबैले मतदानको अधिकार पाउनुपर्छ । यसमा कुनै द्विविधा छैन । तर विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार अहिले सम्भव छ कि छैन ? त्यो विचारणीय कुरा हो । मेरो अनुभवमा अब समय एकदमै कम छ । निर्वाचन आयोगले व्यवस्थापन नै गर्न सक्दैन । अर्कोतर्फ, विदेशमा कति नेपाली छन्, कुन–कुन देशमा पुगेका छन्, सही तथ्यांक छैन । विदेशमा ६० लाखभन्दा बढी नेपाली भएको अनुमान छ ।
अब राजनीतिक दल जो चुनावमा प्रतिस्पर्धा गर्छन्, उनीहरूले पनि ती मतदातासमक्ष आफ्ना कुरा राख्ने अवसर पाउनुपर्छ । राजनीतिक दलका सरोकारहरू पनि यस विषयमा सुनिनुपर्छ । प्राविधिक र व्यवस्थापकीय तयारी अबको तीन महिनाभित्र हुने कुरा होइन । यसमा दबाब दिएर निर्वाचन आयोगले गर्न सकेन भन्ने पार्नु ठीक होइन । सर्वस्विकार्य तयारीका लागि एक/डेढ वर्ष लाग्छ । यसका लागि आयोगकै क्षमता बढाइनुपर्छ ।
अदालतको आदेश छ । सरकारले पनि विदेशमा रहेका मतदातालाई समेटेर चुनाव गर भन्यो भने आयोग पछि हट्न मिल्छ र ?
गर भनेर मात्रै पुग्दैन । पहिला कानुन बनाएर दिनुपर्यो । चुनावको मिति सार्नुपर्यो । एक वर्ष सार्नुपर्छ । नसक्ने कामचाहिँ होइन । समय चाहियो । अहिले नै गर्न खोज्यो भने यो चुनावलाई बाधा पुग्छ । चुनाव सार्नुपर्ने अवस्था आउनासाथ फेरि सरकारको औचित्य र अस्तित्वमा प्रश्न उठ्छ ।
राजनीतिक दलहरू चुनावका लागि कति तयार पाउनुभएको छ ?
राजनीतिक दलहरूमाथि एक किसिमको त्रासदीपूर्ण वातावरण भएको हो । नेताहरूको घर ताकीताकी सिध्याइदिएको छ । नेताहरू लखेटिएका छन् । उनीहरूको सम्पत्ति नष्ट गरिएको छ । अहिले पनि त्रासदीपूर्ण वातावरण छ । यद्यपि दलहरू तंग्रिँदै छन् । सरकारले ढाडस दिएर विश्वासमा लिएर अगाडि बढाउनुपर्ने हो । त्रास थप्दै जानेतिर गइदियो भने सरकार र दलबीचको विश्वास र सम्बन्धमा आँच आउँछ । त्यो आँच आएपछि चुनाव हुँदैन । जस्तो बंगलादेशमै चुनाव भएको छैन । हाम्रोमा त चुनावको एउटा गति लिन खोज्याजस्तो देखिन्छ । यो स्थितिमा समन्वय र शान्तिपूर्ण व्यवहार सबैले देखाउनुपर्छ ।
राजनीतिक दलहरूलाई के सुझाव दिनुहुन्छ ?
अहिले चुनावको सन्दर्भमा राजनीतिक दलहरू पनि उच्छृंखल हुनु भएन । मुलुकमा जुन अवस्था छ, त्यसको जवाफदेहिता महसुस गरेर उनीहरू चुनावकेन्द्रित हुनुपर्यो । चुनावकेन्द्रित त भइराखेको छ जस्तो लाग्छ । चुनाव सारेर उनीहरूलाई केही फाइदा छैन ।
निर्वाचन आयोगको तयारी कस्तो पाउनुभएको छ ?
आयोगले मतदाता सूची तयार गरिसकेको छ । मतदान केन्द्र तोकिसक्यो । राजनीतिक दलहरूको दर्ता गराइसक्यो । आयोग निष्पक्ष र स्वतन्त्र बस्नुपर्छ । निर्भयताका साथ काम गर्न सक्ने क्षमता राख्नुपर्छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गर्यो भने त आयोगकै प्रशंसा हुन्छ नि ।
आन्दोलनमा जोडिएका युवा जमातसँग तपाईंको अपेक्षा वा सुझाव के छ ?
मुलुकको अस्तित्वको कुरा छ । सार्वभौमिकताको कुरा छ । जे परिवर्तन खोज्नु छ, चुनावबाट गर्नुपर्यो । उहाँहरूले पनि सुझबुझ र परिपक्वताका साथ निर्णय लिनुपर्छ । परिपक्वता देखाउनु पनि भएको छ ।
!['The government did not interfere with the Election Commission' [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/suryaprasad-shreshtha-11122025052523-1000x0.jpg&w=1001&h=0)