‘आज हामीले जे पढ्छौं, त्यो ४ वर्षपछि काम नलाग्न सक्छ’ [अन्तर्वार्ता]

‘डिसिप्लिनको बाउन्ड्री त धेरैअघि नै भत्किइसक्यो, अहिले म केवल कमर्सवाला हुँ भनें भने मेरो केही पनि हुनेवाला छैन’– नीति निपुण शर्मा, अध्यक्ष-मणिपाल विश्वविद्यालय, जयपुर

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

'What we study today may not be useful in 4 years' [Interview]

What you should know

काठमाडौँ — भारतमा उच्च शिक्षाको क्षेत्रमा प्रतिष्ठित नाम हो मणिपाल समूह । मणिपाल एकेडेमी अफ हाइयर एजुकेसनअन्तर्गत तीन वटा विश्वविद्यालय सञ्चालनमा छन् । मणिपाल विश्वविद्यालय उडुपी, कर्नाटक, मणिपाल विश्वविद्यालय, जयपुर, राजस्थानको जयपुर र सिक्किममा मणिपाल विश्वविद्यालय, गान्तोकमा विभिन्न विषयमा हजारौं विद्यार्थी पढिरहेका छन् ।

साथै भारतका विभिन्न सहर र दुबईमा समेत मणिपाल समूहका ३० भन्दा बढी क्याम्पस छन् । मणिपाल समूहसँगको सहकार्यमा सन् १९९४ मा पोखरामा मणिपाल कलेज मेडिकल साइन्सेज स्थापना भयो । मणिपाल पोखरा नेपालकै पहिलो निजी मेडिकल कलेज पनि हो । 

मणिपाल र नेपालको सम्बन्ध ऐतिहासिक मात्रै होइन, एकदमै मजबुत पनि छ   मणिपाल समूह सर्वप्रथम डा. माधव आनन्द पाईले सन् १९२३ मा स्थापना गरेका थिए । उनले सन् १९५३ मा निजी मेडिकल कलेज स्थापना गरे । सुरुमै कर्नाटकको मणिपाल भन्ने ठाउँमै स्थापना भए पनि पछि माधव आनन्दका जेठा छोरा रामदास पाईलेले मणिपालबाहिर पनि शिक्षा विस्तार गरे । अहिले समूहको नेतृत्वमा पाई परिवारको तेस्रो पुस्ता रञ्जन पाईको काँधमा छ ।

जयपुर मणिपाल समूहअन्तर्गतको कान्छो विश्वविद्यालय हो । २०११ मा स्थापना यस विश्वविद्यालयमा अहिले २० हजार विद्यार्थी क्याम्पसमा छन् । झन्डै १ लाख विद्यार्थी अनलाइन क्लास लिन्छन् । 

प्रा.डा. नीति निपुण शर्मा मणिपाल विश्वविद्यालय, जयपुरका अध्यक्ष हुन् । उनी झन्डै एक दशकदेखि मणिपाल समूहमा आबद्ध छन् । सन् १९९७ मा लेक्चरबाट आफ्नो करिअर सुरु गरेका शर्माले विभिन्न प्रशासनिक पदमा समेत बसेर काम गरिसकेका छन् । हालै मात्र व्यावसायिक कामले काठमाडौं आएका बेला अध्यक्ष शर्मासँग कान्तिपुरका लागि उपेन्द्रराज पाण्डेयले गरेको कुराकानीको सम्पादित अंश :

मणिपाल समूहले लामो समयदेखि नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गरिरहेको छ ? नेपाल र मणिपालको शैक्षिक सम्बन्धको इतिहासलाई तपाईं कसरी हेर्नुहुन्छ ?

डा. रामदास पाई जसले हालै मात्र ९०औं जन्मदिन मनाउनुभयो । उहाँ नेपालसँग निकै निकट हुनुहुन्छ । पशुपतिनाथका भट्टहरूको ठाउँ कर्नाटकको मणिपालबाट नै हुनुहुन्छ उहाँ पनि । त्यसै सम्बन्धबाट उहाँले यहाँका सरकार प्रमुखहरूसँग सम्बन्ध बनाउनुभयो । उहाँले मणिपाल कलेज अफ मेडिकल साइन्स, निजी मेडिकल कलेजका रूपमा गुणस्तरीय कलेज स्थापना गर्नुभयो । यो एकदमै राम्रोसँग चलिरहेको छ ।

'What we study today may not be useful in 4 years' [Interview]त्यति मात्र होइन, उहाँले इन्जिनियरिङ शिक्षाका लागि काठमाडौं विश्वविद्यालयसँग पनि सहकार्य गर्नुभयो । मणिपाल र नेपालको सम्बन्ध ऐतिहासिक मात्रै होइन, एकदमै मजबुत पनि छ । यो सम्बन्ध बन्नुमा डा. रामदास पाईलाई पनि श्रेय जान्छ ।  पोखरा मणिपाल मेडिकल कलेज अफ साइन्सेज स्थापनाका लागि पनि उहाँको उल्लेखनीय भूमिका छ ।

मणिपाल विश्वविद्यालय, जयपुरलाई चाहिँ नेपाली विश्वविद्यालय र संस्थाहरूसँग सहकार्यका लागि के कुराले प्रेरित गर्‍यो ?

मणिपाल विश्वविद्यालय, जयपुर मणिपाल समूहको सबैभन्दा कान्छो विश्वविद्यालय हो । मणिपाल जयपुर निकै तीव्र गतिमा फैलिइरहेको छ विद्यार्थी संख्या र शैक्षिक गुणस्तरको हिसाबले पनि । विश्वविद्यालयहरू पूर्ण रूपमा बन्नका लागि ७०/८० वर्ष लाग्छ मेरो विचारमा तर १४ वर्षमै मणिपाल जयपुर निकै अगाडि आइपुगेको छ । विदेशीमध्ये नेपाली विद्यार्थी धेरै छन् हाम्रो विश्वविद्यालयमा । 

'What we study today may not be useful in 4 years' [Interview]विदेशी विद्यार्थीमध्ये ३० प्रतिशत नेपाली विद्यार्थीको हिस्सा छ । नेपालको पनि भारतीय विश्वविद्यालयहरूसँग लामो र निकट सम्बन्ध रहेको छ । त्यसैले पनि हामीले नेपाललाई प्राथमिकता दिएका हौं । नेपालबाट राम्रा विद्यार्थीहरू हाम्रोमा आइरहेका छन् । उदाहरणका लागि गत वर्ष एक जना छात्रा हाम्रोमा पास आउट हुनेबित्तिकै यूएसमा सेटलमेन्ट भइन् । हामी यो सम्बन्धलाई अझ मजबुत बनाउन चाहन्छौं । 

हालै मणिपाल विश्वविद्यालय जयपुर र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बीच एमओयू भएको छ, यो एमओयूले नेपालको उच्च शिक्षा र पेसागत सीप विकासका लागि के–कस्तो योगदान पुर्‍याउँछ ?

चार्टर्ड एकाउन्टेन्टहरूलाई पछिल्लो समय एआईबारे ज्ञान हुनु मात्र होइन, दक्षता नै हासिल गर्नुपर्ने देखिन्छ । हाम्रो विश्वविद्यालयमा यो कार्यक्रम पहिलेदेखि नै चलिरहेको छ । त्यसैले पनि यस क्षेत्रमा हामी सहयोग गर्न चाहन्छौं । यो अनलाइन र अफलाइन दुवै खाले कार्यक्रम रहेको छ । हाम्रो समझदारीअनुसार केहीलाई अनलाइन र केहीलाई अफलाइन क्लास दिन्छौं । 

एआईकै कारण १० वर्षपछि रोजगारीमा ठूलो कटौती हुन्छ भन्ने गरिएको छ । म यसमा पूर्ण सहमत त छैन तर मलाई लाग्छ त्यो हामीलाई सहयोगी हुन्छ । त्यसैले हामीलाई एआईको ज्ञान अत्यन्त आवश्यक छ । एआईको ज्ञान छ भने चार्टर्ड एकाउन्टेन्टले प्रभावकारी ढंगले प्रयोग गर्न सक्छन् । एकाउन्टेन्सीमा पनि एआईको ज्ञान हुनपर्‍यो । हामीले नेपालका चार्टर्ड एकाउन्टेन्टहरूको सीप विकास गर्न खोजेका हौं । 

यो त भयो आइक्यानसँगको सहकार्यको कुरा, मणिपाल विश्वविद्यालय, जयपुरले नेपाली शैक्षिक संस्थाहरूलाई सीप विकास र रोजगारी प्राप्तिका लागि कस्तो सहयोग गर्न सक्छ ?

आज हामीले जे पढ्छौं, त्यो ४ वर्षपछि काम नलाग्न सक्छ । त्यसैले हामीले फ्युचरिस्टिक प्रोग्रामहरू सुरु गरेका छौं । एआर/भीआरजस्ता माइक्रोक्रेडेन्सियल, थ्रीडी पेन्टिङ, क्वान्टम, सेमी कन्डक्टर । नेपालका विद्यार्थीहरूका लागि के सान्दर्भिक छ र के आवश्यक छ भन्ने हामीले थाहा पाएका छौं । हामीले ठूला ठूला ल्याब बनाएका छौं । १० वटा सेन्टर बनाउन हामीले लगानी गरेका छौं । नेपालसँग हामीले सेन्टर फर डिजास्टर म्यानेजमेन्टमा काम गर्न चाहन्छौं । 

यहाँ दुनियाँ ‘एक्जामबेस्ड करिकुलम’भन्दा धेरै अगाडि बढिसकेको छ, करिकुलममा नभएको स्किललाई पनि क्रेडिट दिइन्छ   सेन्टर फर बायोफ्युल रिसर्चजस्ता सेन्टरले यहाँका विद्यार्थीको सीपविकास भविष्यलाई काम लाग्ने गरी गर्नेछ । यस्तो हाम्रो सोच हो । हेरौं, हामी कति अगाडि बढ्न सक्छौं ।  हाइड्रोजन इनर्जीमा पनि काम गर्न सक्छौं । हाम्रो विश्वविद्यालयमा इन्डस्ट्री–रेडी हाइड्रोजन फ्युलको प्रोजेक्ट चलिरहेको छ । ताइवानले यो लिइरहेको छ । हाम्रोमा रिसर्च हुन्छ । यसमा संयुक्त अनुसन्धानले ठूलो अर्थ राख्छ ।

नेपालमा पनि ट्यालेन्ट जनशक्ति छ, हाम्रोमा पहिले नै लगानी भइसकेका ल्याब छन् । त्यसैले सहकार्य गरेर अगाडि बढ्ने निकै सम्भावना छ । थ्रीडी पेन्टिङले रोजगारी बढाउँछ ।  हरेक ठाउँमा पहिला प्रोटोटाइप बनाइन्छ । प्रोटोटाइप थ्रीडी पेन्टिङबाटै बन्छ । सबै उद्योगलाई थ्रीडी पेन्टिङ प्रोटोटाइप चाहिन्छ । 

मणिपाल विश्वविद्यालय, जयपुरले नेपाली विश्वविद्यालयहरूसँग फेकल्टी र स्टुडेन्ट एक्सचेन्ज प्रोग्रामबारे पनि केही योजना बनाएको छ कि ?

यो त आधारभूत कुरा हो । र अत्यावश्यक पनि । मैले आइक्यानलाई पनि भनेको छु, केही शिक्षकहरूलाई हाम्रोमा पठाउनू । हाम्रो विश्वविद्यालयबाट पनि शिक्षकहरू यहाँ आउन सक्छन् । नेपालका त्रिभुवन र काठमाडौं विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरूसँग हामी सहकार्य गर्न चाहन्छौं ।

'What we study today may not be useful in 4 years' [Interview]हामीले मात्रै अप्रोच गर्ने होइन कि, यहाँका विश्वविद्यालयले पनि सहकार्यका लागि पहल गर्नेछन् भने आशा छ । पहिले नै नेपाली विद्यार्थी भएकाले पनि हाम्रो विश्वविद्यालय कस्तो छ भन्ने कुरा त थाहा हुने नै भयो । सिक्ने भनेको एकतर्फी मात्र होइन, हामी पनि नेपालका विश्वविद्यालयबाट केही सिक्न चाहन्छौं ।

आउने दिनहरूमा मणिपाल विश्वविद्यालय, जयपुर र नेपाली विश्वविद्यालयहरू मिलेर संयुक्त अनुसन्धानको सम्भावना कत्तिको देख्नुहुन्छ ?

हामीले यो प्रक्रिया सुरु गरिसकेका छौं । मैले अघि पनि भनें कि बायो फ्युल रिसर्च र डिजास्टर म्यानेजमेन्टमा हामी सहकार्य गर्न सक्छौं । डिजास्टर म्यानेजमेन्ट र बायो फ्युल रिसर्चमा प्रस्ताव पनि आइसकेको छ । 

पोखरा मणिपाल मेडिकल कलेजसँग हामीले ‘बोन सेट्स’को अध्ययनका लागि हामीले सहकार्य गरेका छौं । यसका लागि हामीले थ्रीडी पेन्टिङ बोन सेट्स बनाएका छौं । र पोखरा मणिपालले लिइरहेको छ । एनाटोमी स्टडीका लागि थ्री डी पेन्टिङ एकदमै उपयोगी सिद्ध भइरहेको छ । थ्रीडी पेन्टिङ मेडिकल मात्रै होइन, उद्योग कलकारखानाहरूका लागि पनि उपयोगी हुन्छ । 

नेपालमा अहिले पनि धेरै विश्वविद्यालयमा परीक्षाकेन्द्रित शैक्षिक पाठ्यक्रम चलिरहेका छन्, ‘इनोभेसन–ड्रिभन एकेडेमिक कल्चर’का लागि मणिपाल विश्वविद्यालय, जयपुरले कस्तो सहयोग गर्न सक्छ ?

हालै काठमाडौं विश्वविद्यालयले एउटा डेलिगेसन जयपुर पठाएको थियो । हामीले अहिले ई–प्याडमा परीक्षा लिइरहेका छौं । परीक्षामा कागज प्रयोग हुँदैन अब, नो पेपर–पेन । विश्वविद्यालयहरू आइरहेका छन् हाम्रोमा बुझ्न र सहकार्य गर्न । काठमाडौं विश्वविद्यालय हाम्रो परीक्षा प्रणाली बुझ्नकै लागि आएको थियो । वास्तवमा धेरै विश्वविद्यालयमा त पुरानो खालको परीक्षा प्रणाली हटिसकेको छ । अब क्रेडिट सिस्टम र इनोभेसनमा विद्यार्थीको मूल्यांकन भइरहेको छ । 

'What we study today may not be useful in 4 years' [Interview]प्रोजेक्टबेस्ड लर्निङमा उनीहरूको दक्षता हेरिन्छ । विद्यार्थीको टिम बनाइन्छ । उनीहरूको प्रोजेक्टका लागि विश्वविद्यालयले पैसा पनि दिन्छ । उदाहरणका लगि कुनै विद्यार्थीले कुनै एप बनायो भने हामीले क्रेडिट दिने गरेका छौं । खासमा ज्ञान भनेको के हो ? प्रयोग त हो नि । ंइनोभेसन, अन्टरप्रेनरसिप, प्रोडक्ट डेभलेपमेन्टलाई हामीले क्रेडिटबेस्ड बनाएका छौं । धेरै विश्वविद्यालयले अहिले पनि पाठ्यक्रममै आधारित भएर क्रेडिट दिन्छन् । 

उदाहरणका लागि कुनै विद्यार्थीलाई एउटा प्रश्न सोधिन्छ । उसलाई ५ मा ४ दिइन्छ । ऊ पास भयो । तर त्यही प्रश्नमा शून्य ल्याउने विद्यार्थीले पनि जीवनमा निकै राम्रो गर्न सक्छ । ४ नम्बर ल्याउनेभन्दा निकै माथि जान सक्छ । दुनियाँ ‘एक्जामबेस्ड करिकुलम’भन्दा धेरै अगाडि बढिसकेको छ । करिकुलममा नभएको स्किललाई पनि क्रेडिट दिइन्छ । 

त्यसो भए अहिले समाजमा देखिएका बेरोजगारीलगायतका समस्या समाधानका लागि मल्टी–डिसिप्लिनरी एजुकेसन त अति आवश्यक देखियो है ?

वास्तवमा डिसिप्लिनको बाउन्ड्री त धेरैअघि नै भत्किइसक्यो । अहिले म केवल कमर्सवाला हुँ भनेँ भने केही पनि हुनेवाला छैन मेरो । मलाई अरु धेरै कुरा पनि सिक्नुपर्छ । धेरै पहिलेदेखि नै मल्टी–डिसिप्लिन भइसकेको छ । पश्चिममा त धेरै अघि हो । नेपालको त थाहा छैन मलाई, भारतमा पनि पूर्ण रूपमा भइसकेको छैन । बाउन्ड्री–लस पहिले नै भएको हो, रियलाइजेसनचाहिँ भर्खर–भर्खर भएको हो । बायोलोजीको विद्यार्थीले इलेक्ट्रोनिक्स सिक्नुपर्छ । 

मल्टी–डिसिप्लिन सबै विश्वविद्यालयमा हुनुपर्छ । हाम्रो पनि लिमिटेसन हुन्छ । तर भविष्य के आउँदै छ भन्ने कुरा हेक्का सबैले राख्नुपर्छ । हिजो जे पढेर आएका थियौं, त्यही मात्र पढाएर बस्ने हो अगाडि बढ्न सकिँदैन । यो कुरा नन–टेक्निकल विषयमा झन् लागू हुन्छ । त्यसैले हामीले मेजर र माइनर प्रोग्राम सुरु गरेका छौं । हाम्रोमा कर्मस मेजर विद्यार्थीले माइनरमा एआई पढिरहेको छ । उसले बीकम विथ स्पेसलाइजेसन एज माइनर इन एआई डिग्री पाउँछ ।

धेरै नेपाली युवाले ‘ग्लोबल करिअर’ खोजिरहेका छन्, मणिपाल विश्वविद्यालय, जयपुरले नेपाली विद्यार्थीका लागि इन्टरनेसनल एक्सपोजर र इन्डस्ट्री–रेडी सीप विकासका लागि के सहयोग गर्न सक्छ ?

हामीले विदेशी विश्वविद्यालयहरूसँग १ सय ५० जति एमओयू गरेका छौं । ५० त यूएसका टप ५ सयभित्र पर्छन् । हाम्रा विद्यार्थी त्यहाँ गइरहेका छन् । मास्टर्समा जानेहरूका लागि जीआरई र टोफेल आवश्यक पनि छैन । हामीले कमर्स विद्यार्थीका लागि ब्लुमबर्ग ल्याब स्थापना गरेका छौं, जहाँ विश्वभरका उद्योग र व्यापारसम्बन्धी ठूलो डेटा छ । त्यस्तै हाइड्रोजन र बायोफ्युललगायतका ल्याब छन् ।

'What we study today may not be useful in 4 years' [Interview]नेपालबाट पनि आउने विद्यार्थीले इन्टरनेसनल एक्सपोजर पाएका छन् । नेपाली विद्यार्थी दक्षिण भारतका कलेज र विश्वविद्यालय जाने गरेका छन् । उत्तर भारतमा अप्सन नभएर पनि हो । तर अहिले मणिपाल विश्वविद्यालय, जयपुर विश्वविद्यालयजस्ता शैक्षिक संस्था उनीहरूका लागि विकल्प हुन सक्छ । 

मणिपाल जयपुरले बायोटेक्नोलोजी, एआई, एमएल, इन्जिनियरिङजस्ता विषयमा पनि नेपाली विश्वविद्यालयहरूसँग सहकार्य गर्न सक्ने केही योजना छन् कि ?

हाम्रो सहकार्य काठमाडौं विश्वविद्यालयसँग छ तर बढी प्रशासनिक र व्यवस्थापन पक्षमा । प्राविधिक विषयमा सहकार्य हुन बाकी नै छ । नेपाली विश्वविद्यालयहरूसँग सहकार्यका लागि हामी खुला छौं ।

दीर्घकालीन रूपमा मणिपाल र नेपालको शैक्षिक सहकार्य कहाँसम्म जान सक्छ ? यहाँले भविष्य कस्तो देख्नुभएको छ ?

मैले निकै उज्ज्वल भविष्य देखेको छु । यसमा अझ हामीले एकअर्काका कुरा सुन्नुपर्‍यो । आउने–जाने हुनुपर्‍यो । त्यसपछि केकस्तो सहकार्य गर्न सकिन्छ भन्ने थाहा हुने हो । मणिपाल जयपुरले यहाँबाट पनि धेरै सिक्न र सिकाउन चाहन्छ । मणिपाल जयपुरले भविष्यलाई लक्ष्य गरेर चालेका कदम यहाँका विश्वविद्यालयले पनि सुरु गरिसकेका छन् । हामीले जलवायु परिवर्तनको विषयमा सहकार्य गर्न सक्छौं । मणिपाल जयपुरले सेन्टर फर क्लाइमेट चेन्ज स्थापना गर्दै छौं । यसका लागि संयुक्त रूपमा अध्ययन अनुसन्धान गर्दा परिणाम राम्रो आउन सक्छ । डा. रामदास पाईले भने झैं ‘लामो यात्रा तय गर्नका लागि पहिलो कदम त चाल्नैपर्छ ।’ 

अन्तिममा, नेपालका लागि केही सन्देश छ कि ?

नेपाल हाम्रा लागि निकै महत्त्वपूर्ण छिमेकी देश हो । नेपाली नागरिक धेरै निकट हुनुहुन्छ । मणिपाल जयपुरबाट केही सहयोग चाहिन्छ भने हाम्रो ढोका खुलै छ । हामीले कस्तो सहयोग दिन सक्छौं, हामी सधैं तयार छौं । नेपालीहरू निकै क्षमतावान् हुनुहुन्छ ।

कान्तिपुर

Link copied successfully