७० वर्षे इतिहास बोकेको कांग्रेसले महिना दिनसम्म निर्णय गर्न नसक्नु लज्जाको विषय : विश्लेषक शर्मा [अन्तर्वार्ता]

‘षड्यन्त्रको कुरा गर्दै पार्टीलाई लगातार अनिर्णयको बन्दी बनाउने नेताहरूले के शासन गर्छन् भनेर विश्वास गर्ने?'

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

It is a matter of shame that the Congress, which has a 70-year history, has not been able to make a decision for months: Analyst Sharma [Interview]

What you should know

काठमाडौँ — असोज २८ देखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ४४ दिन बितिसक्दा पनि अनिर्णीत छ । सभापति शेरबहादुर देउवा र उनको टिम अझै पनि यथास्थितिमै पार्टी चलाउने कसरतमा छन्।

तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको टिम पार्टीभित्र रूपान्तरणको मुद्दा मात्रै उठाइरहेका छैनन्, यसैका निम्ति निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने अडानमा छन्।

यही विवादमा सिंगो पार्टी पंक्ति दिशाहीनजस्तै बनिरहेको बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार तथा विश्लेषक हरि शर्माले बुधबार विशेष महाधिवेशन पक्षधरहरूको भेलामै पुगेर सम्बोधन गरे। जेन–जी विद्रोहपछिको अलमलमा हराइरहेको कांग्रेसबारे कडा टिप्पणी गरेका शर्मासँग पार्टीभित्रको पछिल्लो अन्तरसंघर्षबारे कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

परै बसेर कांग्रेसलाई हेरिरहनुभएको थियो । तर कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूको भेलामै गएर बोल्नैपर्ने स्थिति किन आयो?

कांग्रेसभित्र जे देखिरहेको छु, त्यसबाट अति नै भएको थियो। उहाँहरूले ‘आएर बोलिदिनुहोस्’ भन्नुभयो। म कांग्रेसको सदस्य होइन। तर माया गर्ने हिसाबले गएर बोलेँ। कार्यकर्ताको मनस्थितिबाट उठेर अगाडि बढ्नुपर्छ। सदस्य बनेर मात्रै होइन, आफ्ना अधिकारका लागि लड्नुपर्छ। त्यसका लागि शुभकामना दिन आएको भनेर बताएँ।

भेलामा गएरै केही बोल्नैपर्ने अवस्था कसरी बन्यो?

मैले भनिहालेँ- म पार्टीको सदस्य होइन। तर कांग्रेसलाई माया गर्ने मान्छे हुँ। नागरिकको रूपमा दलहरूभित्रको आन्तरिक लोकतन्त्र र दलहरूको व्यवहारका कारण म त्यहाँ गएर बोलेको हुँ। लोकतन्त्रमा चयनको अधिकार दलहरूले निर्देशित र प्रभावित गरिदिएर हुने कुरा होइन। दलहरू कमजोर भए हामीले सही पार्टी वा पात्र छान्ने अवसर पाउँदैनौँ। त्यसकारण हरेक पार्टीको लोकतन्त्रीकरण र स्वच्छ प्रतिस्पर्धाबाट जनताको भावना प्रतिविम्बित हुने कुरा महत्त्वपूर्ण हुन्छ।

कांग्रेसभित्र महाधिवेशन गर्ने वा नगर्ने विषयमा लामो विवाद बढिरहेको छ। तपाईंले कसरी हेर्नुभएको छ?

विशेष भन्नुहोस् वा नियमित, यतिबेला विधानअनुसार महाधिवेशन गर्ने समय नै हो। त्यसैले विशेष महाधिवेशनका लागि पक्षधर नेताहरूले गरिरहेको प्रयास पार्टी सुधारका लागि, लोकतन्त्रको अग्रगामी दिशाका लागि महत्त्वपूर्ण छ। जेन–जी आन्दोलनपछि बनेको परिस्थिति बुझ्नका निम्ति पनि पार्टीले हालसम्म अपनाएका नीति, कार्यक्रम र नेतृत्वबारे विचार गर्नुपर्ने देखिन्छ।

निर्वाचनअघि महाधिवेशन गर्ने कि पछाडि भन्नेमा यति ठूलो विवाद हुनुको कारण के देखिन्छ?

निर्वाचनअघि वा पछाडिको बहस होइन। निर्वाचनको नाममा निषेधको राजनीति गर्नु गलत छ। नयाँ नेतृत्व चयन गर्न अधिवेशन अनिवार्य छ। त्यही सोचेरै विशेष अधिवेशनको प्रावधान राखिएको हो। २०१४ सालमा विशेष अधिवेशन भइसकेको उदाहरण पनि छ। तर अहिले यत्रो समय बित्दा पनि केन्द्रीय समितिले निर्णय लिन नसक्नु अलमल मात्र हो। विशेष अधिवेशनले पार्टी विभाजित हुने हो भने त्यो व्यवस्था किन राखियो?

जेन–जी आन्दोलनपछिसमेत नेताहरूले सिकेको देखिन्न भन्ने आलोचना किन बढ्दै छ ?

नेताहरूले जेन–जी आन्दोलनलाई ‘षड्यन्त्र’ का रूपमा हेर्न थालेको देखिन्छ। तर षड्यन्त्र र लोकतन्त्र सँगसँगै जान सक्दैनन्। जेन–जी आन्दोलनमा षड्यन्त्र खोज्ने होइन, लोकतन्त्रको बाटोबाट भविष्य बनाउने हो। अहिलेको नेतृत्वले सत्तामा रहेकाले सबै ठीक छ भन्ने ठान्नु हुँदैन। आन्दोलनपछिकै अवस्थामा कांग्रेसले नयाँ नेतृत्व चयनमा जानुपर्थ्यो।

कांग्रेसको यो निर्णयहीनतालाई कसरी हेर्नुभएको छ?

७० वर्षको इतिहास बोकेको पार्टीले महिनौं दिनसम्म एउटा निर्णय गर्न नसक्नु लज्जाको विषय हो। ‘षड्यन्त्र’ को कुरा गर्दै पार्टीलाई लगातार अनिर्णयको बन्दी बनाउने नेताहरूले के शासन गर्छन् भनेर विश्वास गर्ने? यीप्रति नागरिकको विश्वास खस्किएको छ।

सम्बन्धित सामग्री 

कान्तिपुर

Link copied successfully