कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने भन्छन्- फरार कैदीबन्दी पक्राउ गर्न हामीले देशैभरि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेका छौँ । भागेका कैदीबन्दीहरूको सम्भावित ठेगाना सूचीकृत गरेर सबै जिल्लालाई उपलब्ध गराएका छौँ। सुरक्षाका प्रमुखहरू समेत सदस्य रहने समितिले तीव्र गतिमा काम गरिरहेको छ ।
What you should know
जेन–जी आन्दोलनपछि देशभरका कारागारमा परेको क्षति, फरार कैदीबन्दीको अवस्था र फरार पक्राउ रणनीतिसहित गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागको एक प्रतिनिधि टोली मंसिर ७ देखि तराईका जिल्लाका कारागारहरूको निरीक्षणमा छ ।
यही मेसोमा मोरङ कारागार आइपुगेका विभागका निर्देशक चोमेन्द्र न्यौपानेसँग कान्तिपुरका पर्वत पोर्तेलले गरेको संक्षिप्त कुराकानी :
अचानक कारागार निरीक्षणमा निस्कनुको कारण के हो ?
अचानक हैन, नियमित निरीक्षण हो । हामी मंसिर ७ देखि दौडाहामा छौँ। यस पटकको निरीक्षणको उद्देश्य अलि फरक छ । हामीसँग अहिले देशभर ७५ वटा कारागार छन् । तीमध्ये कहाँ कति कैदीबन्दी छन्, क्षमता कस्तो छ, कतिपय कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् कि ? यी सबै कुरा बुझ्न आवश्यक थियो ।
साथै जेन–जी आन्दोलनका बेला धेरै कारागारमा भौतिक क्षति पुगेको थियो । ती संरचनाहरू कसरी पुनर्निर्माण हुँदै छन् ? अझै कस्तो सुधार आवश्यक छ ? त्यसका साथै स्वास्थ्य तथा दैनिक सेवा–सुविधाको अवस्था, सुरक्षाको प्रभावकारिता र समग्र व्यवस्थापन पनि हाम्रो अध्ययनको मुख्य विषय हो।
फरार कैदीबन्दीको अवस्थाबारे के भन्नुहुन्छ ?
देशभर करिब १४ हजार कैदीबन्दी फरार भएका थिए । तीमध्ये १० हजारभन्दा बढी पक्राउ परे, केही आफैँ कारागार फर्किए । अहिले पनि करिब ४ हजार कैदीबन्दी बाहिर छन् । समाजमै छन् । यसले अपराध बढाएको कुरा पनि आएको छ ।
उनीहरूको खोजीका लागि हामीले देशैभरि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेका छौँ । सुरक्षाका प्रमुखहरू समेत सदस्य रहने समितिले तीव्र गतिमा काम गरिरहेको छ ।
हामीले भागेका कैदीबन्दीहरूको सम्भावित ठेगाना सूचीकृत गरेर सबै जिल्लालाई उपलब्ध गराएका छौँ । फरार सबै चाँडै पक्राउ पर्ने कुरामा हामी ढुक्क छौँ। निरीक्षणका क्रममा समितिले कस्तो काम गरिरहेको छ भन्ने पनि बुझ्दैछौं ।
निरीक्षण कहाँ–कहाँ गरिसक्नु भयो ? ती कारागारहरूको अवस्था कस्तो पाउनु भयो ?
उपत्यकाबाट सुरु गरेर खास गरी तराईका जिल्लाहरूमा हाम्रो निरीक्षण केन्द्रित छ । जस अनुसार बाँके, तुलसीपुर, घोराही, पर्सा, रौतहट, जलेश्वर, सिरहा, सप्तरी, झुम्का हुँदै मोरङ आइपुगेका छौँ। झापाको निरीक्षणपछि काठमाडौँ फर्किन्छौँ।
निरीक्षणका क्रममा खास गरी मधेस प्रदेशका अधिकांश कारागार पुराना र दयनीय अवस्थामा रहेको पाइयो । झुम्का र मोरङ कारागार भने तुलनात्मक रूपमा राम्रो देखियो । कहीँ–कहीँ क्षमता भन्दा अत्यधिक कैदीबन्दी भएकाले स्थानान्तरण आवश्यक देखियो भने कहीँ अझै कैदीबन्दी कम भएर थप्न सकिने अवस्था देखियो ।
कारागार सुधारका लागि मुख्यतः के–के चाहिन्छ ?
संरचना र प्रविधि दुवैमा सुधारको ठुलो आवश्यकता छ । सुरक्षामा कमजोरी नआओस् भनेर गलत वस्तु पस्न नदिने प्रणाली बलियो बनाउनै पर्ने अवस्था छ । कैदीबन्दीमाथि कारागारभित्र हुने व्यवहारमै सुधार आवश्यक छ भन्ने पनि धेरै ठाउँमा देखियो । जिल्लास्तरीय सुरक्षा संयन्त्रसँग समन्वय गरेर सुरक्षा व्यवस्था अझ मजबुत बनाउनेतर्फ अघि बढिरहेका छौँ ।
पछिल्लो समय कारागारभित्र मृत्युका घटना बढिरहेका छन्, कारण के रहेछ ?
कैदी संख्या अत्यधिक हुनु नै प्रमुख कारण हो । साथै पहाडी–हिमाली क्षेत्रबाट गम्भीर बिरामी कैदीबन्दीलाई उपचारका लागि सुविधा सम्पन्न कारागारमा पठाउने चलन छ । यिनै बिरामीमध्ये कतिपयको उपचारकै क्रममा मृत्यु भएको पाइयो । समयमै उपचार गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायतका काम भइरहेको छ । यिनलाई निरन्तरता दिन निर्देशन दिएका छौँ ।
निरीक्षणपछि के बदलाव आउने छ ?
सुधारका लागि हामी निरन्तर प्रयत्नरत छौँ । निरीक्षण सम्पन्न लगत्तै हामी गृह मन्त्रालयमा विस्तृत प्रतिवेदन बुझाउँछौँ । त्यसपछि आवश्यक सुधारसहित कारागारहरूलाई निर्देशित दिन्छौँ । साथै, भ्याएसम्म देशैभरि निरन्तर अनुगमन र निरीक्षण जारी राख्ने छौँ ।
![We will arrest prisoners who escaped from prison soon: Chomeendra Neupane [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/chomendra-26112025044816-1000x0.jpg&w=1001&h=0)