व्यक्तिविशेषलाई तोकेर मैले प्रतिस्पर्धा गर्न लागेको होइन : पोखरेल

'अध्यक्षमा को–को उम्मेदवार हुनुहुन्छ, उहाँहरूसँग प्रतिस्पर्धा हुनु स्वाभाविक हो । पार्टीको विधिमा रहेर प्रतिस्पर्धा गर्नुलाई अन्यथा मान्नु हुँदैन ।'

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

I am not going to compete by targeting specific individuals: Pokharel

काठमाडौँ — नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष केपी शर्मा ओली तेस्रो कार्यकालको नेतृत्व लिन अघि सरेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीविरुद्ध प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।  

मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने महाधिवेशनमा पोखरेलले अध्यक्षका लागि ‘स्वस्थ’ प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरिसकेका छन्। यसै सन्दर्भमा कान्तिपुरका लागि ईश्वर पोखरेलसँग गंगा बीसीले गरेको कुराकानी : 

आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ?

मैले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेको छु । यो प्रतिस्पर्धा कुनै व्यक्तिविशेष तोकेर गर्न लागेको होइन । अध्यक्षमा को–को उम्मेदवार हुनुहुन्छ, उहाँहरूसँग प्रतिस्पर्धा हुनु स्वाभाविक हो । पार्टीको विधिमा रहेर प्रतिस्पर्धा गर्नुलाई अन्यथा मान्नु हुँदैन ।

यो प्रतिस्पर्धामा पूर्वराष्ट्रपति विद्या भण्डारीले तपाईंलाई साथ दिनुभएको हो ?

विद्या भण्डारीको समर्थन हुन्छ नै । अरू सबै साथीको पनि समर्थन हुन्छ भन्ने विश्वास छ । 

विगतमा अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका नेता पार्टीमा नटिकेको उदाहरण छ नि ?

जुनसुकै पदमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ भनेर अध्यक्ष ओलीले पनि बैठकमा भन्नुभयो । उहाँले प्रतिस्पर्धाबाट आउने परिणामलाई सहज रूपले स्वीकार गर्नुपर्छ भन्नुभएको हो । प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएर परिणामलाई स्वीकार गर्नुपर्छ ।

तपाईंको नेतृत्वमा प्यानल नै बनाएर प्रतिस्पर्धा गर्नुहुन्छ ?

अरू को–कोलाई के–के पदमा प्रतिस्पर्धा गर्न मन लागेको होला, त्यसमा प्रतिस्पर्धा गर्नुहुन्छ । अहिले प्यानल बनिसकेको छैन ।

कान्तिपुर

Link copied successfully