‘नेकपालाई ‘बूढाहरूको क्लब’ भन्ने केपी ओलीचाहिँ तन्नेरी हुन् र ?’

'ओलीले अरूलाई बूढाहरूको क्लब भन्नु कुनै तात्पर्य र अर्थ छैन। होइन, प्रतिस्पर्धा गरौं भन्ने हो भने म तयार छु । हिँडेर प्रतिस्पर्धा गर्ने कि उकालो चढेर प्रतिस्पर्धा गरौं भन्नुहुन्छ भने प्रतिस्पर्धामा आउनुस् । को बूढो रहेछ त्यहाँ देखिहाल्छ।' भीम रावल, नेता-नेकपा

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

”Is KP Oli, who calls the NCP an 'old man's club', a teenager?”

What you should know

काठमाडौँ — एमाले पूर्वउपाध्यक्ष भीम रावल बिहीबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । २०७८ मंसिरमा भएको एमालको १०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका गरी पराजित भएका थिए ।

त्यसपछि एमालेमा रहँदै ओलीको चर्को आलोचक रहेका उनलाई पार्टी नीतिविपरीत गएको भन्दै गत वर्ष पुसमा एमालेबाट निष्कासन गरेको थियो । नेकपामा समाहित भइसकेपछि आगामी बाटो,  जिम्मेवारी र भूमिकालगायतका विषयमा कान्तिपुरका लागि गंगा बीसीले भीम रावलसँग गरेको कुराकानी :

नेपाली कम्युनिस्ट पार्टी र तपाईँले नेतृत्व गरेको मातृभूमि अभियानबीच एकताको मुख्य उद्देश्य के हो ?

मैले पाँच दशक कम्युनिस्ट पार्टीमा काम गरेँ । त्यसको उद्देश्य राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानलाई बलियो बनाउने, जनताको समृद्धि गर्ने, जनशक्ति र देशका प्राकृतिक साधन स्रोतहरूलाई राष्ट्रको सर्वोपरि हितमा सदुपयोग गर्ने, असमान सन्धिहरूबाट देशलाई मुक्त गर्ने भन्ने थियो । त्यही उद्देश्यबाट काम गर्दै जाँदा मेरा कुराहरू पार्टी अध्यक्ष केपी ओलीजीका लागि सह्य भएनन् उहाँले मलाई पार्टी सदस्यबाट निष्कासन गर्नुभयो। उहाँले निष्कासन गर्दैमा मेरो देश र जनताप्रतिको कटिबद्धता र आस्था मर्ने कुरा भएन। त्यसैले मैले मातृभूमि जागरण नेपालमार्फत जनताको बीचमा, कार्यकर्ताको बीचमा, यहाँहरू जस्ता सञ्चारकर्मी र बुद्धिजीवीहरूको बीचमा जाने काम मैले निरन्तर अगाडि बढाएँ।

भदौ २३ र २४ गतेको जुन घटना घट्यो । भदौ २४ गते व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका लगायतका शासन प्रशासनका केन्द्रहरू जसरी ध्वस्त भए, सुरक्षाकर्मीहरूको जसरी हुर्मत लिइयो। यो सबै हेर्दा र त्यसमा कस-कसको भूमिका कस्तो रह्यो भनेर भएका चर्चा सुन्दा यो देशको सार्वभौम सत्ता जोगाउनका लागि अझै एउटा सशक्त शक्ति आवश्यक हुन्छ भन्ने महसुस भयो । त्यस्तो शक्ति भएन भने देश ठूलो संकटमा जाने मलाई लाग्यो । 

”Is KP Oli, who calls the NCP an 'old man's club', a teenager?”त्यसैले नेपाली कम्युनिस्ट पार्टीमा दुइटा ठूला कम्युनिस्ट पार्टी र अरु कतिपय समूहहरू आबद्ध भएका, त्यसको साथै त्यसको तल जनजनस्तरमा पनि व्यापक संगठन भएको, विदेशमा रहेका नेपालीहरूमा पनि प्रभाव राम्रो रहेको मैले बुझेकै थिएँ भने अर्कोतर्फ जति पनि मसँग आबद्ध साथीहरू स्वदेश–प्रवासमा रहेका थिए । मप्रति जनसमुदायमा जुन प्रकारको सद्भाव थियो, त्यो सबैलाई ठाउँमा मिलाएर गयो भने एउटा शक्तिशाली, देशको सर्वोपरि हितको रक्षाका लागि काम गर्न सक्ने संगठन बन्छ । अर्थात् हामी बनाउन सक्छौं भनेर जागरण अभियान नेपाल र नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण गर्न हामीहरू अग्रसर भएका हौं ।

एकता घोषणा कार्यक्रममा तपाईंले २०७७ मा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन हुँदा भएको पीडामा मल्हम लगाएजस्तो भन्नुभयो । त्यसबेला त विचारभन्दा दुई नेताको टकरावले पार्टी विभाजन भएको थियो नि ?

देश एकदमै विषम र कठिन अवस्थाबाट गुज्रिरहेको थियो । त्यतिबेला हामीले नेकपाको झन्डै दुई तिहाइको मतका साथ सरकार बनायौं । प्रतिनिधिसभा दुई–दुई पटक विघटन गरेर ओलीजीले त्यसलाई विसर्जन गर्नुभयो। पछि नेकपा एमाले अलग भयो। त्यहाँ हामीले १० बुँदे सहमति गर्‍यौं र त्यो सहमति गर्ने कुरामा म आफैं पनि सक्रिय थिएँ ।

ओलीजी र माधव नेपाल दुवै जनाले त्यसमा सहमति जनाउनु भयो । त्यो विभाजन नेतृत्वको कारणले, खासगरी ओलीजीको कारणले गर्दा भयो । त्यसबाट जुन एउटा उद्देश्य लक्ष्य आफ्नो मातृभूमिको हित मैले चाहेको थिएँ । त्यो हुन सकेन भनेर मलाई धेरै दुःख लागेको थियो। अहिले नेपाली कम्युनिस्ट पार्टी र जागरण अभियान नेपालबीच एकीकरण भयो । अरु कतिपय समूहहरू एकीकरण भएर फेरि त्यो एउटा बलियो शक्ति बन्ने भएकाले सुखद् महसुस गरेको हो ।

एमाले र पूर्व माओवादीका वरिष्ठ नेताहरूको जमघटले फेरि विवाद र विभाजनको अवस्था नआउला भन्ने छ र ?

विगतका अनुभव र घटनाक्रमले मान्छेलाई त्यस्तो आशंका हुनु स्वाभाविक हो । तर केही समयदेखि यताका घटनाक्रमले नेतृत्वलाई पनि धेरै झकझक्याएको छ । उहाँहरू सबैले अब विगतका कमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने संकल्प पनि गर्नुभएको छ । मैले पनि त्यो कुरा हिजो त्यो घोषणा सभामा समेत दोहोर्‍याएको छु।

मेरो भूमिका नेतृत्वको बीचमा कुनै त्यस्तो किसिमको मतभेद आयो भने त्यो मतभेदलाई हटाउन सक्रियतापूर्वक काम गर्ने हुन्छ । त्यसकारण मलाई के विश्वास छ भने काम गर्दाखेरि सानो–तिनो कुरामा मतभेद हुन सक्छ। कहिलेकाहीँ फरक मत पनि हुन सक्छ तर त्यो मतभेद र फरक मतलाई पार्टीको संगठनात्मक प्रणालीभित्र समाधान गरेर त्यो संगठनलाई बलियो रूपमा अगाडि बढाइरहने कुरामा मैले सक्रिय भूमिका खेल्न सक्छु भन्ने विश्वास छ।

तपाईंसहित १२ घटक मिलेपछि नेपालको वामपन्थी राजनीतिमा के फरक पर्ला ?

केपी ओलीजीले नेतृत्व गरेको नेकपा एमाले दलमा उहाले जस्तो व्यवहार गर्नुभयो र जुन गठबन्धन सरकारले देशलाई जस्तो परिणाम दियो । उहाँकै नेतृत्व रहेको बेलामा, देशका महत्त्वपूर्ण क्षेत्र, सम्पदा र संरचनाहरू नष्ट भए। त्यो सबै कुरा देखेका नेपाली जनताले अब नेपाली कम्युनिष्ट पार्टीमार्फत यी विभिन्न घटकहरूलाई हामीले संगठित गरेर विगतका गल्ती कमजोरीहरू हटाउँछौँ भन्ने संकल्पका साथ अगाडि आएका छौँ ।

देशव्यापी रूपमा रहेको जुन वामपन्थी जनमत छ, निश्चित नै त्यसले सकारात्मक रूपमा प्रभावित हुनेछ ।  हामीले ठूलो समर्थन पाउने छौं र आगामी निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्नका लागि त्यो बलियो आधार हुनेछ भन्ने मलाई विश्वास छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टीलाई वृद्धाश्रम भन्नु भएको छ । पार्टीको माथिको संरचना हेर्दा पनि त्यस्तै देखिन्छ नि ?

त्यस्तो कुरा अरूले भनेको भए त्यो ध्यान दिन योग्य हुन्थ्यो। ओलीजी आफैं प्रधानमन्त्री हुँदा ९ महिनासम्म निवासमै सुतेर कार्यालयमा नजाने व्यक्ति हो। अहिले उहाँले कुनै सभामा बोल्नु पर्‍यो भने उठेर बोल्न गाह्रो हुन्छ । ओलीले अरूलाई बूढाहरूको क्लब भन्नु कुनै तात्पर्य र अर्थ छैन। होइन, प्रतिस्पर्धा गरौं भन्ने हो भने म तयार छु । हिँडेर प्रतिस्पर्धा गर्ने कि उकालो चढेर प्रतिस्पर्धा गरौं भन्नुहुन्छ भने प्रतिस्पर्धामा  आउनुस् । को बूढो रहेछ त्यहाँ देखिहाल्छ। अब उहाँ आफैं कुनचाहिँ तन्नेरी हुनुहुन्छ र ? उहाँले सचिवालयमा बसेका व्यक्तिहरूलाई ‘यहाँ र्‍याइँर्‍याइँ नगर छोडेर जाऊ’ भन्नुहुन्छ, आफूभन्दा अलिकति तुलनात्मक रूपमा कम उमेर भएकालाई । जब १२ घटकहरू एक ठाउँमा आए । अब यसको सम्भावना देखियो। यो उहाँको त्रासित भएर दिएको अभिव्यक्ति मात्र हो । उहाको बोलीको कुनै अर्थ छैन ।

जेन-जी मुभमेन्टपछिको अवस्थालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीलाई अघि लैजाने रोडम्याप के छ ?

हामी पार्टीभित्रै छलफल गरेर त्यो रोडम्याप तय गर्ने नै छौं। हामीले ६ महिनाभित्र महाधिवेशन पनि गर्ने भनेका छौं।  विगतमा भएका कमजोरी र भ्रष्टाचारलाई समाप्त गरेर स्थायित्वलाई अगाडि बढ्ने स्पष्ट दिशा कोर्नुपर्छ।  हाम्रा राजनीतिक दलमा र खासगरी  कम्युनिस्ट पार्टीमा हुने सानातिना विभाजन, पदका लागि सौदाबाजी गर्ने प्रवृत्ति समाप्त गर्नका लागि सक्रियतापूर्वक अगाडि बढ्छौँ । 

”Is KP Oli, who calls the NCP an 'old man's club', a teenager?”अर्को कुरा, दुई दिन पनि टिक्न नसक्ने हाम्रो राष्ट्रिय सुरक्षा प्रणाली देखियो। यसका के कमजोरीहरू छन् ? हामीले राज्य सत्ता सञ्चालन गर्नको लागि गम्भीर रूपमा छलफल गरेर विश्लेषण गरेर हाम्रो सुरक्षा प्रणालीलाई बलियो बनाउनु पर्छ। कूटनीतिक क्षेत्र यति फितलो देखियो कि जो सरकार आयो राजदूत मात्रै चलाउने, भागबण्डा गर्ने, हुँदा–हुँदा अहिलेको यो चुनावी अन्तरिम सरकारले समेत यस्तो संवेदनशील बेलामा राजदूतहरूलाई छानी–छानी फिर्ता बोलाएर अनि हास्यास्पद किसिमले परराष्ट्र मन्त्रालयमा भत्ता खुवाएर राख्ने गलत काम गर्‍यो।  त्यसैले कूटनीतिलाई कसरी बलियो बनाउने? 

हाम्रो अर्थतन्त्र आज हाम्रो कुल गार्हस्थ उत्पादनको ४६ प्रतिशत सार्वजनिक ऋण पुगिसक्यो  ।  देश ग्रे लिस्टमा छ । यी सबै कुरालाई ध्यानमा राखेर राष्ट्रिय अर्थतन्त्र निर्माणको मार्गमा कसरी अगाडि जाने र हाम्रो जनशक्ति र प्राकृतिक साधन स्रोतहरूलाई राष्ट्रिय हितमा कसरी परिचालन गर्ने? शिक्षा, स्वास्थ्य स्तरमा कसरी सुधार ल्याउने? सबै कुरामा गम्भीर रूपमा सोचेर स्पष्ट मार्ग निर्देशन, कार्यक्रम र नीतिका साथ अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । 

पार्टी एकता त भयो तर नेताको वरीयतामै लफडा सुरु हुने होला नि फेरि ?

नेपालका सबै राजनीतिक दलमा एउटा साझा रोग हो यो । अब यो रोगबाट हामी मुक्त हुनुपर्छ र हामीले वरीयताको एउटा प्राविधिक विषयभन्दा पनि व्यक्तिको भूमिका र उसको काम, लगनशीलता, सक्रियता, क्षमता हेरेर विगतका त्यस्ता भूमिकालाई स्वीकार गर्ने परिपाटी र प्रक्रियालाई बलियो बनाउनुपर्छ।

धेरैको चासो छ, नेकपामा भीम रावलको वरीयता के होला भनेर ?

देशका मूलभूत समस्या समाधान प्रमुख कुरा हो । तर नेताहरूले कसरी काम गर्छन् ? उनीहरूको पार्टीभित्र भूमिकाको अवस्था के हुन्छ भन्ने कुरा उठ्न सक्छ । मैले कोर्डिनेसन कमिटीमा काम गरेको हो। मैले राज्य र पार्टीका पनि महत्त्वपूर्ण जिम्मेवारीहरूमा जाने अवसर पनि पाएँ । अरु नेताहरूले अझ मभन्दा ठूल-ठूला जिम्मेवारीमा गएर पनि काम गर्नुभयो, देशका प्रधानमन्त्री पनि हुनुभयो। यस समग्र कुरालाई ध्यानमा राखेर पार्टीमा समझदारीका साथ ‘तपाईंको भूमिका स्थान यहाँ हुन्छ’ भन्ने तय भएपछि म सोही बमोजिममा अगाडि बढ्छु।

एमाले, नेकपा हुँदाको वरीयताका आधारमा जिम्मेवारी दिने सैद्धान्तिक सहमति हो ?  

व्यवहारमा र सिद्धान्तमा स्वाभाविक रूपमा जो व्यक्तिले विगतमा जे जस्तो भूमिका खेलेको थियो। उसले जे जस्तो स्थान प्राप्त गरेको थियो, सामान्यतया ती कुरालाई मान्यता दिनुपर्छ भन्ने प्रचलित कुरा हो। हामी केही दिन प्रतिक्षा गरौं। संगठनात्मक प्रणालीमा त्यो भई नै हाल्छ।

नयाँ नेकपा साँच्चिकै नयाँ भएर आउने आधार के छ ?

अहिलेसम्म सबै नेताहरूले गरेको संकल्प, हामी सबैले गरेको संकल्प, कार्यकर्ताको आकांक्षा, देशको राष्ट्रिय परिस्थितिको माग, युवा पुस्ताको माग र भावना नेकपा साँच्चिकै नयाँ भएर आउनुपर्छ भन्ने छ। हामी त्यो बाटोमा अगाडि बढ्छौं भन्ने संकल्प गरेका छौं।

कान्तिपुर

Link copied successfully