विशेष महाधिवेशन र नियमित महाधिवेशन दुवै हुन सक्दैन : कृष्णप्रसाद सिटौला [अन्तर्वार्ता]

विभाजन उठाएकै महामन्त्रीहरूले हो । महामन्त्रीहरूले विशेष महाधिवेशनका लागि अभियान चलाएको हो । उहाँहरूले नचलाएको भए यो स्थिति हुन्थेन । महामन्त्रीहरुले चलाएकै अभियानमा जानुपर्छ भन्ने के छ ? -कृष्णप्रसाद सिटौला

कार्तिक १९, २०८२

कुलचन्द्र न्यौपाने

There cannot be both a special general convention and a regular general convention: Krishna Prasad Sitaula [Interview]

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचन पार्टीको केन्द्रबिन्दु हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको निर्वाचन माघमा र प्रतिनिधिसभा निर्वाचन फागुनमा हुँदै गर्दा कांग्रेसको महाधिवेशन हुनै नसक्ने उनको मत छ । अर्को पक्ष निर्वाचन अगाडि महाधिवेशन नगराइ जनतामाझ जानै नसकिने अडानमा छ ।

युवा नेता गुरुराज घिमिरे जेन-जीले २४ घण्टामा मुलुकमा यत्रो ठुलो उथलपुथल गर्दा कांग्रेस दुई महिनाको बीचमा महाधिवेशन गर्न नसक्ने अडान स्वाभाविक नभएको बताउँछन् । पार्टीभित्र निर्वाचन अगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्ने सवालमा चलिरहेको विवादमा सात पूर्वपदाधिकारीको नेतृत्वदायी भूमिकामा देखिएका सिटौला र विशेष महाधिवेशनका लागि अगुवाइ गरेका युवा नेता घिमिरेसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेसँग गरिएको संवादको सम्पादित अंश ।

तपाईंहरू किन महाधिवेशन रोक्न खोज्दै हुनुहुन्छ ?

हाम्रो पार्टीभित्र निर्वाचनमा नगई अहिलेको संकट पार नलाग्ने मत छ । हालै राष्ट्रपति रामचन्द्र पौडेलले मलाई बोलाएर एक्लै कुरा गर्नुभयो । उहाँको कुरा सुन्दा र यसलाई विश्लेषण गर्दा निर्वाचनमा गएन भने मुलुकमा अझै ठूलो दुर्घटना हुन्छ जस्तो लाग्यो । त्यसकारण निर्वाचनमा जान उपयुक्त लाग्छ । 

अदालतको हेरिङ आफ्नो ठाउँमा छ । परीक्षण गर्ने आफ्नो ठाउँमा होला । निर्णय दिने जलेको अवस्थामा छ । न्यायाधीशले कति बलियो साथ संविधानको व्याख्या गर्न सक्छन्, त्यो पनि आफ्नै ठाउँमा छ । न्यायिक परीक्षणका कुरा अदालतलाई छाडिदियौं । तर, निर्वाचनमा जाने हो भने हाम्रासामु चार महिना पनि बाँकी छैन । निर्वाचनका लागि संगठन कहिले परिचालन गर्ने ? कहिले उम्मेदवारको सिफारिस ल्याउने ? कहिले उम्मेदवारको चयन गर्ने ? संसदीय बोर्ड कहिले गठन गर्ने ? नयाँ परिवर्तनमा नयाँ एजेन्डा तयार गर्नुपर्ने बेला । घोषणापत्र बनाउनुपर्ला । त्यसका लागि ६–७ महिनाकै तयारी लाग्छ । त्यसैले निर्वाचनको वर्षमा पार्टीहरूले अधिवेशन गर्दैनन् । अब चार महिनाभन्दा बढी छैन । त्यसैले निर्वाचनको एजेन्डामा मात्र प्रवेश गरौं । अरुमा नगरौं न भन्ने मेरो कुरा हो । 

पार्टीको महाधिवेशन त निर्वाचनपछि गर्दा भइहाल्छ । अहिले क्रियाशील सदस्यता टुंगोमा पुर्‍याउनुपर्छ । क्रियाशील सदस्यता टुंगोमा छैन । नयाँ कहिले वितरण गर्ने ? विधानको प्रक्रिया छ । सदस्यतालाई लिएर देशैभर विरोध हुन्छ । महाधिवेशनका लागि मात्रै ५–६ महिनाको समय लाग्छ । सजिलो छैन ।

विशेष महाधिवेशन त गर्नैपर्ने हुन्छ त ?

विशेष महाधिवेशनको माग पनि मलाई उपयुक्त लाग्छ । केन्द्रीय कार्यसमिति बदल्ने कुरा मात्रै यसमा जोडिएको छ । यो केन्द्रीय कार्यसमितिले गर्न नसकेको काम कुन केन्द्रीय कार्यसमितिले गर्न सक्छ ? त्यसैले संसदीय बोर्ड गठन गरिहालौं । पदाधिकारीहरू त्यसमा पदेन सदस्य हुनुहुन्छ । पदाधिकारीहरूबीच सल्लाह गरेर अरु सदस्य राख्नुहोस् । यसले विधानको निर्वाचनसम्बन्धी कार्यक्रम ल्याउनुपर्छ । त्यसलाई पारित गरौं । निर्वाचन सम्पन्न गरेपछि महाधिवेशन गरौं । मैले यो कुरा सुरुदेखि भनिरहेको छु ।

नियमित महाधिवेशन भन्नेबित्तिकै सात तहको अधिवेशन सम्पन्न हुनुपर्छ । महामन्त्रीहरूले विशेष अधिवेशनको कुरा ल्याउनुभयो । मैले यस्तो बेलामा विशेष महाधिवेशन ल्याउने हो ? यो बेला केन्द्रीय कार्यसमितिको कार्यकाल टुंगिएको छ, त्यतिबेला विशेष महाधिवेशनको कुरा ल्याउने होइन, नियमित महाधिवेशनको कुरा गर्नुहोस् भनेर भनेको थिएँ । विशेष महाधिवेशन गर्न सक्ने स्थिति छैन । निर्वाचन अनिवार्य जानुपर्छ भनेर भनिएको छ । तर, केन्द्रीय कार्यसमितिमा एजेन्डा आएको छैन । आजसम्म कांग्रेसले निर्वाचनमा जाने भनेर संस्थागत निर्णय लिन सकेको छैन । नेपाली कांग्रेसले संस्थागत निर्णय नगरी निर्वाचनको माहोल नै बन्दैन । एमालेले संसद् पुनर्स्थापनाको मुद्दा लिएर देशभर आन्दोलनको मुभमेन्ट चलाएको छ । तल्लो तहमा पुगेको छ ।

एमालेले मंसिरमा महाधिवेशन गर्ने भनेर तयारीमा जुटिसक्यो, कांग्रेसले किन गर्न नसक्ने ?

एमालेको पहिल्यै प्रतिनिधिहरूको छनोट भएको छ । कम्युनिस्ट पार्टी र कांग्रेसको महाधिवेशनको प्रकृति फरक छ । कम्युनिस्ट पार्टीको पहिल्यै प्रतिनिधि छनोट भइसकेका हुन्छन् । संगठित सदस्यहरू हरेक वर्ष नवीकरण हुन्छ । यतिबेला नयाँ सदस्यता बन्दैन । उनीहरूको र हाम्रो विधान फरक छ । तरिका फरक छ । हाम्रो महाधिवेशन प्रतिनिधि भनेको पाँच वर्षमा चार वर्षको स्थायी बडी हो । महाधिवेशन हडबड गरेर गरिहाल्यौं भन्न मिल्दैन । 

विशेष महाधिवेशनको माग राखेर निवेदन परिसकेको छ, विधान मान्ने हो भने त अनिवार्य बोलाउनुपर्ने व्यवस्था छ त ?

विशेष महाधिवेशन किन मागियो ? कार्यकाल सकिसकेको अवस्थामा विशेष महाधिवेशन आकर्षित हुन्छ कि हुँदैन ? व्याख्या गर्नुपर्छ । पहिला केन्द्रीय कार्यसमितिमा यसको प्रक्रिया हुन्छ । विशेष महाधिवेशन गर्न पर्छ कि पर्दैन भनेर केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्छ । गर्न पर्ने भयो भने प्रक्रिया के हुने, त्यसैअनुसार अघि बढाउनुपर्छ । यो पनि पुस अन्तिममा हुने हो । सबै प्रतिनिधिहरूको रुजु गर्नुपर्‍यो । विशेष महाधिवेशन आवश्यक र औचित्य छ कि छैन, गर्दा कसरी गर्ने भन्नेबारेमा अहिले छलफलको एजेन्डा नै बनेको छैन ।

विधानको व्यवस्था आकर्षित भइसकेपछि जबरजस्ती पेलेर अघि बढ्न मिल्छ र ?

विशेष महाधिवेशनसम्बन्धी व्यवस्था कसरी आकर्षित हुन्छ भन्नेबारेमा केन्द्रीय कार्यसमितिको बैठकले निर्णय नगरी कसरी भन्ने ? केन्द्रीय कार्यसमितिले निर्णय नगरी कसरी विशेष महाधिवेशन हुन्छ ? कुन कारणका लागि विशेष महाधिवेशन गर्ने ? विशेष महाधिवेशन तीन महिनाभित्र बोलाउनुपर्छ भनिएको छ । त्यो समय भनेको पुसको अन्त्यतिर हो । विशेष महाधिवेशनमा लफडा मच्चाएर माघको राष्ट्रिय सभाको एकतिहाई सदस्यको निर्वाचन, फागुनको प्रतिनिधिसभा निर्वाचन कसरी गर्न सक्छौं ? निर्वाचनसम्बन्धी सबै एजेन्डा छोडेर विशेष महाधिवेशन गर्ने भनेको त घुमाउरो तरिकाबाट निर्वाचनलाई टार्न खोजेको देखियो । निर्वाचन कि महाधिवेशन एउटा रोज्नुपर्छ । कि निर्वाचन छोड्नुहोस् । नत्र महाधिवेशन छोडेर निर्वाचनमा जानुपर्छ । यो निर्वाचन त ज्ञानेन्द्रको घोषणा होइन नि ! राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेको निर्वाचन हो । निर्वाचन भएन भने राष्ट्रपतिको हालत के हुन्छ ? राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने अनि कांग्रेस नै निर्वाचनमा भाग नलिने हो भने हाम्रो के हालत होला ? एमालेले पनि निर्वाचनबाट भाग्दैन भनेर भनेको छ । 

अर्को कुरा एमालेले बालुवाटार होइन, सानेपाले के निर्णय गर्छ भनेर हेरेका छौं भनेको छ । कांग्रेस निर्वाचनमा गए देश निर्वाचनको बाटोमा जान्छ, कांग्रेस गएन भने माहोल बन्दैन । विशेष महाधिवेशनको भेला भइसक्यो । महामन्त्रीहरूले अब यसको विकल्प छैन भन्दै आउनुभएको छ ।

तपाईं  पूर्वपदाधिकारीहरु कुनै पनि महाधिवेशन गर्ने दिन पक्षमा नभएपछि त पार्टी विभाजनतिर जान्न ?

विभाजन उठाएकै महामन्त्रीहरूले हो । महामन्त्रीहरूले विशेष महाधिवेशनका लागि अभियान चलाएको हो । उहाँहरूले नचलाएको भए यो स्थिति हुन्थेन । महामन्त्रीहरुले चलाएकै अभियानमा जानुपर्छ भन्ने के छ ?

महामन्त्रीहरू त विशेष वा नियमित महाधिवेशन नगरी जनताका बीचमा भोट माग्नै जान सकिन्न भन्नेमा हुनुहुन्छ नि ?

भोट माग्न सक्ने जान्छन् । जान नसक्ने जाँदैनन् । यिनै महाधिवेशन प्रतिनिधिहरूले बनाएको कार्यसमिति होइन यो ? यिनै महाधिवेशन प्रतिनिधिहरूबाट हुने विशेष महाधिवेशनले अरु नयाँपन ल्याउँछ ? ताजा जनादेशबाट आएका प्रतिनिधि यी होइनन् ।

जेन-जी आन्दोलअघि र पछिको स्थिति त पक्कै परिवर्तन भयो होला नि ?

मनस्थिति त केन्द्रको पनि परिवर्तन भयो होला नि !

तपाईंहरू आफ्नो राजनीतिक सान्दर्भिकता जोगाउन महाधिवेशनमा जान डराएर रोक्न खोजिरहनुभएको हो ?

डराउने कुरा हुँदैन । डराउने कुरा छैन । अनेक गाली दिए, धम्की दिएर पार्टीलाई तह लगाउँछु भन्ने कुरामा सहमत हुन सकिन्न । देशभर यत्रो आगो लागेको छ, देशमा यत्रो संकट छ, संसद् विघटन भएको छ । सिंगो देश जलेको छ । पार्टीका नेताहरूको घर जलेको छ । यो देख्दादेख्दै पार्टीभित्र विकृति फैलाउन हुन्छ ? यतिबेला पार्टीमा अनेक मत भए पनि त्यसलाई थाती राखेर जानुपर्ने होइन र ? खर्बौंको क्षति भएको छ, दसौं वर्षसम्म क्षतिपूर्ति नहुनेगरी नोक्सान भएको छ । यो स्थितिमा आन्तरिक संगठनको विवादलाई थाती राखेर एकताबद्ध भएर देश सम्हाल्छौं भनेर जाने बेलामा आन्तरिक विवाद चर्काउने हो र ? यतिबेला कांग्रेस सम्पूर्ण रूपमा एकताबद्ध भएर निर्वाचनमा जानुपर्छ । पार्टीमा प्रतिस्पर्धा र फुटका कुरा होइन । एकताबद्ध भएर निर्वाचनमा होमिनुपर्छ । चुनावका लागि चार महिनाको समय एकदमै थोरै हो । अन्ततिर ध्यान नदिएर चुनावमा मात्रै ध्यान दिनुपर्छ ।

पार्टी सच्चिएको केही सन्देश पनि नदिइकन निर्वाचनमा जाँदा तपाईंहरूलाई जनताले पत्याउँछन् ?

पार्टी एकताबद्ध भएर जाने भनेकै सच्चिनु हो । पार्टीभित्र न्याय दिने कुरा होस् वा अहिलेको आर्थिक र वैदेशिक स्थितिको कुरा होस् । भदौ २४ को घटनामा किन सुरक्षाकर्मीले सुरक्षा दिन सकेन ? यस्ता विषयमा पदाधिकारीहरूबाट प्रतिवेदन आएको छैन । खाली महाधिवेशन गरौं–महाधिवेशन गरौं भनेर हुन्छ ?

पहिला पार्टी सच्चिनुपर्छ, पार्टीको नीति र नेतृत्व सच्चिनुपर्छ, अनि बल्ल जनताको विश्वास आर्जन गर्न सकिन्छ भन्ने कुरा त महामन्त्रीहरुले बैठकमा राखिसक्नु भएको छ त ?

नेतृत्व भनेको को हो ? सभापति, उपसभापति र महामन्त्रीहरू होइन ? हामी त छौं नै । हाम्रो पार्टी सामूहिक नेतृत्वमा छ । मुख्य नेतृत्वले कार्यवाहक दिएर बाहिर गइसक्नुभयो । खाली नेतृत्व–नेतृत्व भनेर हुँदैन ।

जेन-जी आन्दोलनले त तीन पार्टीका तीनै नेतालाई अस्वीकृत गरेको छ । त्यसमा कांग्रेस सभापति देउवा पनि छन् । तर, तपाईंहरू फेरि देउवा ल्याउन खोजिरहनु भएको भन्ने छ नि ?

सभापति पहिल्यै कार्यवाहक दिएर गइसक्नुभएको छ । २२ गतेसम्म महामन्त्रीहरूले सभापति ठीक भन्ने, २४ गते आउनासाथ शेरबहादुर देउवा खत्तम भन्ने यो तरिका भएन ।  

कार्यवाहक दिएर छोडेको सभापतिलाई तपाईंहरूले फेरि फर्काउन खोज्दै हुनुहुन्छ हो ?

त्यस्तो होइन । हाम्रो मुख्य कुरा निर्वाचनका एजेन्डा किन ल्याउन डराइरहनुभएको छ भन्ने हो । बाहिर निर्वाचनमा जानुपर्छ भन्ने तर बैठकमा प्रस्ताव किन ल्याउन खोज्नुभएको छैन ? सबैजसो पदाधिकारीहरू सांसद् हुनुहुन्छ । यदि, संसद् पुनर्स्थापना गर्न चाहनुभएको हो भने त्यो पनि प्रस्ताव ल्याउनुपर्छ । होइन, निर्वाचनमा जाने हो भने निर्वाचनसम्बन्धी एजेन्डा ल्याउनुपर्छ । मैले राष्ट्रपतिसँग कुरा गरिसकेपछि अहिलेको संकटमा निर्वाचनले मात्रै निकास दिन सकिन्छ मलाई लागेको छ ।

पहिला त तपाईं नै संसद् पुनर्स्थापनाको मुद्दामा लागिरहनुभएको थियो त ?

होइन, निर्णय गैरसंवैधानिक नै हो नि ! संसद्‍बाहिरबाट सरकार निर्माण र संसद् विघटनलाई त कहाँ संवैधानिक भन्न सकिन्छ र ? २४ गतेको घटनाको परिकल्पना गरेर मैले त्यसो भनेको हो । तर, राष्ट्रपतिको कुरा सुनिसकेपछि अब निर्वाचनमा जानुपर्छ भन्ने मलाई लागेको हो ।

००००००

नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनको निर्णय केन्द्रीय कार्यसमितिले नगरी बस्न मिल्दैन : गुरुराज घिमिरे 

There cannot be both a special general convention and a regular general convention: Krishna Prasad Sitaula [Interview]संस्थापन पक्ष कुनै पनि प्रकारको महाधिवेशनको पक्षमा देखिएको छैन । यस्तो अवस्थामा तपाईंहरुले माग गरेबमोजिम विशेष महाधिवेशनको अवस्था के हुन्छ ?

केन्द्रीय कार्यसमितिको निर्णय र निष्कर्ष के हुन्छ, त्यसमा धेरै कुरा निर्भर हुन्छ । केन्द्रीय कार्यसमितिले अपनाउने कार्यशैली र निर्णयले निर्धारण गर्नेछ । हामी चार वर्षको समयसीमाभित्र महाधिवेशन चाहन्छौं—नियमित होस् वा विशेष । हामी लचिलो छौं । विशेष महाधिवेशनको प्रस्ताव दर्ता गर्ने हस्ताक्षरकर्ताहरूले नियमित महाधिवेशन पनि स्वीकार गर्न तयार छन्, यो हदैसम्मको लचकता हो । यदि निर्वाचन अगाडि नै नियमित महाधिवेशन गर्ने निर्णय गरे ठीकै छ, नत्र विशेष महाधिवेशनको विकल्प छैन । हामी त्यसको तयारीमा छौं ।

तर, संस्थापन पक्ष कुनै पनि अधिवेशनको पक्षमा नभएको कुरा त केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री महेन्द्र यादवको काउन्टर प्रस्तावबाट पनि प्रस्ट भइसकेको छ । अब कसरी अघि बढ्नु हुन्छ त ?

संस्थापक पक्षले प्रस्तुत गरेको कुरा र आएका प्रस्तावहरू हेर्दा उनीहरू कुनै पनि पक्षमा नदेखिन सक्छन् । केन्द्रीय कार्यसमितिमा सहमहामन्त्रीको प्रस्ताव विधान र स्थापित मान्यताविरुद्ध क्षेत्राधिकार बाहिर गएर ल्याइएको प्रस्ताव हो । त्यसबारेमा आजै बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग फोनमा कुरा भएको थियो । उहाँले सहमहान्त्रीको प्रस्तावलाई व्यक्तिगत प्रस्ताव हो भनेर भनिसक्नुभएको छ । परम्परागत रूपमा एजेन्डा प्रस्तुत गर्ने विधि भनेको पार्टी अध्यक्षले अनुमति दिएपछि, कार्यसम्पादन बैठक र पदाधिकारी बैठकमा भएको समझदारीअनुसार महामन्त्रीले प्रस्ताव पेस गर्ने हो । महामन्त्रीले पुस १६–१९ को जुन कार्यतालिका ल्याउनु भएको छ । त्यो विधानको अधिकार प्रयोग गरेर ल्याउनु भएको हो । तर सहमहामन्त्रीहरूको प्रस्ताव क्षेत्राधिकार बाहिरबाट आएको हो । त्यसैले महामन्त्रीको प्रस्ताव पारित भयो भने विशेष महाधिवेशन बोलाइराख्न पर्दैन । तर, उक्त प्रस्ताव पारित हुन सकेन भने विशेष महाधिवेशन अनिवार्य रुपमा बोलाउनुपर्ने वैधानिक व्यवस्था छ । बोलाउनुपर्छ ।

महामन्त्री गगन थापाको प्रस्ताव पारित नभए र केन्द्रीय कार्यसमितिले कुनै निर्णय नलिएमा विशेष महाधिवेशन कसले कसरी बोलाउने हो ?

महामन्त्रीको प्रस्ताव छलफल गरेर टुंगो लगाउनुपर्छ । यदि महामन्त्रीको प्रस्ताव पारित भएन भने विशेष महाधिवेशनको प्रक्रिया नै सुरु हुन्छ । त्यसबारे हामी आन्तरिक रुपमा पनि छलफल गरीरहेका छौं । महाधिवेशनको प्रक्रिया केन्द्रीय कार्यसमितिले नै अघि बढाउने हो । विशेष महाधिवेशन भनेको प्रकारान्तरले महाधिवेशन नै हो । चाहे त्यो नियमित कार्यकालभित्र होस् वा नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा होस् । यसले केन्द्रीय कार्यसमिति चयन गर्छन् । त्यसका लागि निर्वाचन समिति बनाउनुपर्छ । त्यसका लागि हस्ताक्षरकर्ताहरुको समेत प्रतिनिधित्व हुनुपर्छ । त्यसैले असोज २९ गते दर्ता भएको विशेष महाधिवेशनको निवेदन अघि नबढाई केन्द्रीय समिति बस्न पाउँदैन । विशेष महाधिवेशनका मागकर्ताहरूसँग छलफल गरेर समयतालिका निर्धारण गर्नुपर्छ । यो प्रक्रियामा महामन्त्रीसहितका पदाधिकारीहरू सबै संलग्न हुनुहुन्छ । उहाँहरु पनि हुनुहुन्छ ।

बहुमतले केही पेलेरै विशेष महाधिवेशनको प्रक्रिया अघि नबढाएमा तपाईंहरुसँग अर्को विकल्प के हुनसक्छ ?

अहिलेसम्मको मनस्थिति हेर्दा यही गर्छ भन्ने देखिँदैन । बैठकमा बोल्ने अधिकांश वक्ताहरू निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्छ भन्ने दिशामा उन्मुख हुँदै जानु भएको छ । हरेक दिन बोल्ने वक्ताहरूको अभिव्यक्ति  त्यतातिर गएको छ । हामी आशावादी छौं—समयसीमाभित्र महाधिवेशन हुन्छ । नियमित नभए विशेष हुन्छ । यो अन्तिम विकल्प हो ।

मानौं, केन्द्रीय कार्यसमितिले प्रक्रिया अघि बढाउने दिशामा नै लाग्ने भने तपाईंहरु आफैंले भेला बोलाउनुहुन्छ ?

केन्द्रीय कार्यसमितिले कुनै निर्णय नगरी बस्न मिल्दैन । विशेष महाधिवेशन वैधानिक र बाध्यकारी हो । यसलाई चुनावपछि लान सकिँदैन, टार्न सकिँदैन । यदि त्यस्तो भयो भने हामी त्यो विकल्पका बारेमा समेत छलफलमा छौं । हस्ताक्षरकर्ताहरूका तर्फबाट आफैले बोलाउने स्थिति बन्नसक्छ । तर, हामीले अहिल्यै त्यतातिर सोचेका छैनौं । हामी विश्वस्त छौं—केन्द्रीय समितिले सुझबुझ र परिपक्वता देखाउँछ । हामी पर्खिरहेका छौं । यदि नियमित वा विशेष दुवै नगर्ने बाटो समात्यो भने त्यसको विकल्प पनि तयार गर्छौं ।

प्रस्तुति : कुलचन्द्र न्यौपाने

कुलचन्द्र न्यौपाने

Link copied successfully