कसैले पनि हटाउन खोजेको होइन तर सामाजिक सञ्जालमा अफवाह फैलिएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गरेको हो । हुँदै नभएका कुरा फैलिएका छन् ।-गृहमन्त्री अर्याल
What you should know
काठमाडौँ — जेन–जी आन्दोलनपछि नागरिक सरकार गठन भएको डेढ महिना नबित्दै गृहमन्त्री ओमप्रकाश अर्याल चौतर्फी दबाबमा परेका छन् । परम्परागत राजनीतिक दलमात्र होइन, जेन–जी आन्दोलनका अगुवा मानिएका समूहले समेत अर्याललाई हटाउन सामाजिक सञ्जालबाटै अभियान चलाउन थालेपछि प्रतिरक्षामा प्रधानमन्त्रीको सचिवालय उत्रनुपरेको छ ।
यसै सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगै कान्तिपुरले कुराकानी गरेको छ :
गृहमन्त्रीका रूपमा तपाईंको पद सुरक्षित छ भनेर प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्नुपरेको छ, तपाईंलाई कसले हटाउन खोजेको हो ?
कसैले पनि हटाउन खोजेको होइन तर सामाजिक सञ्जालमा अफवाह फैलिएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गरेको हो । हुँदै नभएका कुरा फैलिएका छन् ।
देशको शान्तिसुरक्षाको जिम्मा लिएको गृहमन्त्रीको बचाउमा प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति निकाल्नुपर्ने अवस्था आयो नि ?
समाजमा अफवाह धेरै फैलिएपछि त्यसको स्पष्टीकरण त दिनैपर्यो नि ।
तपाईंलाई गृहमन्त्रीको जिम्मेवारीमा कसले ल्याएको हो, जसले बनाएका हुन्, उनैले हटाउन खोजेका छन् भन्ने छ नि ?
प्रधानमन्त्रीबाहेक कसैले पनि गृहमन्त्री वा मन्त्री बनाउँदैन । यसमा प्रधानमन्त्रीबाहेक अरू कसैको केही योगदान छैन । मन्त्री बनाउने प्रधानमन्त्रीको विशेषाधिकार हो ।
काठमाडौंका मेयर बालेन्द्र शाहको कानुनी सल्लाहकार हुनुहुन्थ्यो । अहिले मेयरनिकटका व्यक्तिहरूले सामाजिक सञ्जालमा तपाईंको राजीनामा माग गरेको देखिन्छ । यस्तो अवस्था किन आयो ?
म प्रधानमन्त्री सुशीला कार्कीले जिम्मेवारी दिएर गृहमन्त्री बनेको हो । अरू मिथ्या समाचार हुन् ।
मेयर शाहसँग तपाईंको सम्बन्ध अहिले कस्तो छ ?
उहाँसँग सामान्य सम्बन्ध छ । पदीय हिसाबले सरोकारवाला, आमनागरिक, प्रधानमन्त्री, राष्ट्रपतिज्यूसँग हुनुपर्ने सम्बन्ध राम्रो छ ।
एमालेलगायतका राजनीतिक दलले पनि तपाईंको भूमिकामाथि प्रश्न उठाएका थिए, अहिले सम्बन्ध कस्तो छ ?
मेरो पदीय जिम्मेवारी अहिलेको स्थिति सामान्यीकरण गर्ने हो । कानुनी राज्यको अनुभूति दिलाउने हो । शान्तिसुरक्षा र सुशासन कायम गर्ने हो । यससँगै चुनाव गराउने हो । यी काम गर्दै जाँदा क–कसलाई चित्त बुझ्छ, बुझ्दैन, त्यो उहाँहरूको कुरा हो ।
