‘विशेष महाधिवेशनले केन्द्रीय कार्यसमितिको नेतृत्व मात्रै बदल्छ, पार्टीको आमूल परिवर्तन हुन सक्दैन ।’
What you should know
काठमाडौँ — कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता तथा कार्यकर्ताले भने तत्काल नियमित महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने निर्णय नभए छुट्टै भेला बोलाउने चेतावनी दिइरहेका छन् । शेरबहादुर देउवा पक्ष मंसिरभित्रै नियमित र विशेष महाधिवेशन गर्ने पक्षमा देखिएको छैन ।
पार्टीभित्र ध्रुवीकरण भइरहेका बेला नेता शेखर कोइराला मध्यमार्गी धारमा उभिएका छन् । छुट्टै भेला बोलाउँदा पार्टी विभाजनसम्म हुन सक्ने भन्दै मंसिरभित्रै नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन उनको आग्रह छ । महाधिवेशनका विषयमा पार्टीभित्र चलिरहेको रस्साकसी, आगामी चुनावको तयारी र देशको राजनीतिक संकटबारे कोइरालासँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
मंसिरभित्रै नियमित महाधिवेशनको तालिका आएन भने विशेष महाधिवेशन बोलाउन कति सम्भव देख्नुभएको छ ?
विशेष महाधिवेशन बोलाउने जिम्मा केन्द्रीय कार्यसमितिको हो । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरे केन्द्रीय कार्यसमितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने व्यवस्था विधानमा छ । अहिले ५४ प्रतिशतको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भइसकेको छ । मंसिरभित्रै नियमित महाधिवेशन हुने भयो भने समस्या भएन तर नियमित महाधिवेशनको कार्यतालिका आएन, विशेष महाधिवेशन पनि बोलाइएन भने हस्ताक्षर गरेकाहरूले भेला बोलाउँछन् । त्यसले पार्टी विभाजनको जोखिम बढाउँछ । यसलाई संस्थापन पक्षले गम्भीर भएर सोच्नुपर्छ ।
मंसिरभित्रै विशेष होइन, नियमित महाधिवेशनको तालिका आउनुपर्छ भन्ने तपाईंको धारणा हो ?
महाधिवेशनका लागि सबैभन्दा जटिल काम क्रियाशील सदस्यताको विवाद टुंग्याउने हो । सदस्यता नवीकरण, नयाँ वितरण र विवाद समाधान मंसिरसम्म सक्ने गरी कार्यतालिका ल्याऔं । सकिन्छ भने अझै अगाडि गरौं । कम्तीमा क्रियाशील सदस्यता वितरण मंसिर मसान्तसम्म सकेको अवस्थामा २१ फागुनमा चुनाव हुने भयो भने केही समय सार्नुपर्छ भन्ने तर्कै जायज हुन सक्छ । यो स्वाभाविक पनि हुन्छ । तर समय सार्ने र कामचाहिँ नगर्ने कुरा स्विकार्य हुन्न । अहिल्यै सकिन्न भनेर कार्यतालिका नल्याउनु ठीक होइन ।
नियमित महाधिवेशनको कार्यतालिका ल्याउन संस्थापन पक्ष किन मानिरहेको छैन ?
संस्थापन पक्षधर साथीहरू बैठकमा र बाहिर नियमित महाधिवेशनकै पक्षमा बोल्नु हुन्छ । मेरो विचारमा नियमित महाधिवेशन भनेको मंसिरभित्रै गरिनुपर्छ भन्ने हो । तर उहाँहरू एक वर्ष थप्न सकिने विधानको प्रावधानमा टेकेर कार्यकाल बढाउन चाहनु हुन्छ । भोलि चुनावमा कसले टिकट बाँड्ने, टिकट वितरणमा आफ्नो वर्चस्व रहने कि नरहने भन्ने चिन्ता उहाँहरूमा हुन सक्छ । तर त्यस्तो चिन्ता लिनु पर्दैन । पार्टीमा सबै साथीहरू सिनियर हुनुहुन्छ । टिकट बाँड्ने त सबै मिलेर हो, कुनै एक पक्ष र एक नेताले होइन । यति बेला पार्टी एकढिक्का रहने कि नरहने भन्ने चिन्ता लिनुपर्छ । म मध्यमार्गी धारमा उभिएर पार्टीलाई एकढिक्का बनाउन खोजिरहेको छु । यसो गर्दा कतिले देउवा समूहसँग मिल्यो पनि भन्छन् तर मेरो मुख्य लक्ष्य कांग्रेसलाई एकढिक्का बनाएर लैजाने दिशामा केन्द्रित छ ।
विशेष र नियमित महाधिवेशन दुवै नहुने अवस्थामा तपाईंको भूमिका के हुन्छ ?
मेरो भूमिका पार्टी मिलाउनेतिर नै हुन्छ । कांग्रेसको इतिहासमा महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर दिइसकेपछि उनीहरूलाई अवमूल्यन कहिल्यै गरिएको छैन । महाधिवेशन प्रतिनिधिहरूको म्याद सकिएको छ कि छैन भन्ने बहसतिर म जान चाहन्नँ । कांग्रेस भनेको एउटा आन्दोलन हो । महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरिसकेपछि प्रक्रियामा जानैपर्ने हुन्छ । मेरो प्रस्ट धारणा विशेष महाधिवेशनमा नगएर मंसिरभित्रै कार्यतालिका ल्याऔं भन्ने हो । नियमित महाधिवेशन गराइयो भने विशेष महाधिवेशनको माग पनि पूरा हुन्छ । हस्ताक्षर गर्ने एउटा समूहको दबाब पनि नियमित महाधिवेशनकै लागि छ । यसलाई साथीहरूले वैध हो कि होइन भन्ने कोणबाट हेर्नु हुन्न । महाधिवेशन प्रतिनिधिहरूप्रति विश्वास गर्नुपर्छ । उहाँहरूको मागलाई केन्द्रीय कार्यसमितिले अस्वीकार गर्न मिल्दैन ।
विशेष महाधिवेशन पनि बोलाइएन र भेला बोलाउनुपर्ने बाध्यात्मक स्थिति भयो भने तपाईं कुन ठाउँमा उभिनु हुन्छ ?
म पार्टी विभाजन हुनबाट रोक्ने बाटोमा जानेछु । साथीहरूलाई सम्झाउने मेरो कोसिस हुनेछ । भेला रोक्नुपर्छ । त्यो रोक्ने भनेको नियमित महाधिवेशनको तालिका ल्याएर नै हो । अर्को विकल्प छैन । रोकिएको केन्द्रीय कार्यसमितिको बैठक १३ कात्तिकमा सुरु हुँदै छ । पहिलो दिनकै बैठकमा कार्यतालिकाको निर्णय होस् भन्ने मेरो आग्रह छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूले कांग्रेसलाई हेरिरहेका छन् । हामी भने महाधिवेशनसँग डराएर भाग्न खोज्दै छौं । कांग्रेस हरेक आन्दोलन र क्रान्तिको मियो हो । शान्ति र निकासका लागि समेत मियो बनेको पार्टी अहिले किन यति धेरै अत्तालिएको ? यो स्वाभाविक छैन । अहिले लोकतान्त्रिक पार्टी कांग्रेसको भूमिका देशले खोजिरहेको छ । देश र पार्टी नै संकटमा परेको घडीमा आफ्नो वर्चस्वको चिन्ता गरेर पार्टीलाई यथास्थितिमा राख्नु हुन्न ।
एजेन्डाका हिसाबले तपाईं र महामन्त्री गगन थापा पक्ष एक ठाउँमा उभिने सम्भावना कति छ ?
नियमित महाधिवेशनबारे सबै एक ठाउँमा छौं । तर नियमित महाधिवेशन कहिले भन्नेमा मतभेद छ । हामी यही मंसिर मसान्तभित्र हुनुपर्छ भनिरहेका छौं । नियमित महाधिवेशन नबोलाइए विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक स्थिति हुन्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई पन्छाएर जान सकिँदैन ।
तपाईंको जोड किन नियमित महाधिवेशनमै ?
'२३ र २४ भदौका घटनालाई सरकारले एउटै डालोमा राखेर मूल्यांकन गर्नु हुँदैन ।' विशेष महाधिवेशनले केन्द्रीय कार्यसमितिको नेतृत्व बदल्ने कुरा मात्रै गर्छ । विशेष महाधिवेशनबाट नेतृत्व चयन गरिए पनि केही समयपछि १५ औं महाधिवेशन गर्नु नै पर्छ । केन्द्रको नेतृत्व मात्रै बदलेर पार्टीको आमूल परिवर्तन हुन सक्दैन । हामीले वडा तहदेखि केन्द्रसम्मै रूपान्तरण गर्नुपर्नेछ । काम गर्दै जाँदा केही ढिलो भए केही फरक पर्दैन । वडादेखि केन्द्रसम्मको अधिवेशन गरिनुपर्छ ।
जेन–जी आन्दोलनपछि पनि पार्टीलाई पुरानै अवस्थाबाट चलाउन खोजिँदा पार्टी नसच्चिन खोजेको जस्तो लाग्दैन ?
हो, चिन्ता यसैमा छ । अहिलेको स्थितिमा कांग्रेसले राष्ट्रिय भूमिकाका लागि एकदमै अग्रसर भएर अगाडि आउन सक्नुपर्थ्यो । देशको अवस्था विषम छ । जेन–जी आन्दोलनको डेढ महिनासम्म पनि कांग्रेस आन्तरिक रूपमा अलमलिनु गम्भीर विषय हो । कांग्रेस यसरी कहिल्यै अलमलिएको थिएन । हामीले अरू पार्टीलाई समेत विश्वासमा लिएर देशलाई एउटा दिशातर्फ डोर्याउने बाटो देखाउनुपर्थ्यो । त्यो हुन सकिरहेको छैन । अहिलेसम्म औपचारिक रूपमा चुनावमा जान्छौं भन्न सकेका छैनौं । यो गम्भीर विषय हो । चुनावमा जाने पहिलो निर्णय त बैठक बसेकै दिनमा हुनुपर्थ्यो । त्यसपछि सरकारलाई दबाब दिनुपर्थ्यो । अनि चुनाव भएन भने मात्रै सरकारलाई दोष दिन सकिन्थ्यो ।
चुनावका लागि सरकारले वातावरण नै बनाएन भन्ने पनि छ नि ?
सरकारले वातावरण बनाउनुपर्छ । सबै राजनीतिक दलहरूसँग छलफल गर्नुपर्छ । २४ भदौमा लुटिएका प्रहरीका हतियार र पोसाक फिर्ता गराउनुपर्छ । २३ र २४ भदौका घटनालाई सरकारले एउटै डालोमा राखेर मूल्यांकन गर्न हुँदैन । २३ भदौको घटनामा राज्य पक्षबाट दमन गरिएको थियो, त्यसको छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ । २४ भदौको हत्या, हिंसा र आगजनीमा संलग्नहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनुपर्छ । नत्र चुनावका लागि पनि शान्तिसुरक्षाको स्थिति बन्दैन । कारागार तोडफोड गरेर बेपत्ता भएका कैदीबन्दीका कारण समाजमा भय छ । त्यसैले उनीहरूलाई तत्काल नियन्त्रणमा लिनुपर्छ ।
पार्टीभित्र प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा पनि भएकाले चुनावमा जाने निर्णय गर्न अलमल भइरहेको हो कि ?
'२००७ यताका सबै आन्दोलनमा कांग्रेस मियो बनेर उभिएको थियो तर यस पटक त्यस्तो हुन सकेन ।' पुनःस्थापनाको विचार अब कमजोर भयो । निर्वाचनमा जानुपर्छ भन्ने धारणा कांग्रेसभित्र बनिसकेको छ । चुनावमा जाने निर्णय औपचारिक रूपमा नै लिए अरू पार्टीलाई पनि प्रभाव पर्न सक्थ्यो । त्यसले देशलाई चुनावमय बनाउन सघाउँथ्यो, सरकारलाई पनि दबाब दिन्थ्यो । अहिले संविधानमा न्यूनतम क्षति मात्रै भएको छ । संविधानलाई थप क्षति हुन नदिन र देशलाई ‘ट्र्याक’ मा ल्याउन चुनावबाहेक विकल्प छैन । जेन–जी समूहकै कतिपयले संविधानमा संशोधनको कुरा उठाउनुभएको छ । अहिले संशोधन कसरी हुन्छ ? सुशीला कार्की प्रधानमन्त्री भएलगत्तै संसद् बसेर गरेको भए सम्भव थियो । अब अर्को संसद् नआउँदासम्म संविधान संशोधनको बाटो छैन । भोलि पनि कुनै दलको दुईतिहाइ आउने सम्भावना कम हुन्छ । त्यसले राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकताका लागि कांग्रेसले किन अग्रगामी पहल नलिने ?
फेरि आन्दोलनको चर्चा हुन थालेको छ । राजनीतिक दलहरूले आगामी दिनको अवस्थालाई कसरी लिइरहेका छन् ?
नेपाल सामारिक महत्त्वको देश हो । यसलाई हामीले गम्भीर ढंगले बुझ्नुपर्छ । २३ र २४ भदौको आन्दोलन भ्रष्टाचारविरुद्ध, सुशासनको पक्ष र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा केन्द्रित थियो । तर त्यो सीमासमेत पार गरेर आन्दोलन धेरै अगाडि बढ्यो । ७६ जनाको मृत्यु भयो । सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, अदालत, मिडिया हाउस र नेताहरूको घर जले । यसका पछाडि युवाको एकछिनको आक्रोशले मात्रै काम गरेको हो भन्ने म ठान्दिनँ । त्यसबारे खुल्दै जाला । प्रजातान्त्रिक संस्थाहरूलाई नै समाप्त पार्ने खेल त होइन भन्ने चिन्ता अहिले हामीलाई परेको छ । छठपछि आन्दोलन हुने चर्चामा छिमेकीका आँखासमेत परिरहेका छन् भन्ने सुनिन्छ । कात्तिकभर सडकमा कस्तो अवस्था रहन्छ ? राजनीति कसरी अघि बढ्छ ? चुनाव हुन्छ कि हुन्न ? चुनाव नभएर प्रतिनिधिसभा पुनःस्थापनातिर जान्छ कि ? अन्योलपूर्ण स्थिति छ । सडक र सरकारमा अबको एक महिनामा देखिने गतिविधिले राजनीतिक कोर्स कतातिर जान्छ भन्ने निर्धारण गर्ने म देख्छु । यो अवस्थामा कांग्रेसको नेतृत्वदायी भूमिका देखिनुपर्ने थियो । २००७ सालयताका सबै आन्दोलनमा कांग्रेस मियो बनेर उभिएको थियो । तर यस पटक कांग्रेस मियो हुन सकेन । एकदमै विक्षिप्त अवस्थामा देखिएको छ ।
कांग्रेस विक्षिप्त हुनुको कारण के होला त ?
हामी पनि दोषी हौंला । हाम्रा क्रियाकलाप दोषी होलान् । २३ भदौसम्म हामी सरकारमै थियौं । नेतृत्व नगरे पनि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका सबै बेथितिको हिस्सेदार कांग्रेस पनि छ । यी कमीकमजोरी स्विकारेर कांग्रेसले एक पटक फेरि आफ्नो पहिचानलाई अगाडि ल्याउनुपर्ने थियो । तर हुन सकिरहेको छैन ।
कांग्रेसले जनताको नभई सत्ताको आवाज मात्रै सुन्दा यो स्थिति आएको हो भन्ने लाग्दैन ?
लाग्छ । हामीले हाम्रो नेतृत्व र सरकारलाई भनेकै हो । तर सुनिएन । अन्तिम समयमा पनि भनेका हौं । अहिले पनि जेन–जी आन्दोलनले उठाएको मुद्दा सम्बोधन भएको छैन । ओली सरकार हटाएर निर्वाचन अगाडि सार्ने काम मात्रै भएको छ । के यत्रो विध्वंस यतिका लागि हो त ? कतिपयले यस आन्दोलनलाई अर्गानिक भन्छन् । तर यो अर्गानिक मात्रै हो भन्ने म ठान्दिनँ । यसका पछि अत्यन्तै गम्भीर दृश्य देखिन्छन् । २३ भदौको घटनालगत्तै हामीले सरकार छाडेको भए परिस्थिति अलि बेग्लै हुन सक्थ्यो । तर अब पछाडि फर्केर होइन, अगाडि बढेर कांग्रेसले राजनीतिक निकासका लागि भूमिका खेल्नुपर्छ ।
!['A regular convention schedule must be introduced to prevent party splits' [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/shekharkoiralainterviewphoto07122025107-2392025055926-1000x0.jpg&w=1001&h=0)