एनपीएलका कारण खेलाडीले आफैंमाथि लगानी गरिरहेका छन् : पवन अग्रवाल [अन्तर्वार्ता]

'अब महिला क्रिकेटमा पनि पैसा लगानी गर्न सक्नुपर्छ । महिला खेलाडीलाई पनि सक्दो बढी अन्तर्राष्ट्रिय खेल खेलाउनुपर्‍यो । महिला क्रिकेटमा पनि जबसम्म हाम्रो घरेलु ढाँचा हुन्न, कसरी नतिजा आउँछ र ?'

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Players are investing in themselves because of NPL: Pawan Agarwal [Interview]

What you should know

काठमाडौँ — कुनै न कुनै भूमिकामा पवन अग्रवाल नेपाली क्रिकेटसँग लगातार जोडिँदै आएका छन् । सुरुमा उनी नेपालबाट खेल्ने सपना बोकेका त्यस्तो पुस्ताका खेलाडी थिए, जसलाई भाग्यले पनि साथ दियो ।

उनी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो पुस्ताका खेलाडी हुन् । पछि कप्तान पनि भए । नेपालले सन् २००१ मा क्यानडामा गएर पहिलो पटक एकदिवसीय विश्वकप छनोट खेल्दा उनी नेपाली टोलीका सदस्य थिए । उनी नेपाल क्रिकेट संघ (क्यान) सँग पनि जोडिए । अहिलेको क्यानको विधानका एक मस्यौदाकारमध्ये उनी पनि एक हुन् । एक प्रकारले अग्रवाल नेपाली क्रिकेटमा त्यस्ता व्यक्तित्व हुन्, जसको सम्बन्ध नेपालमा आधुनिक क्रिकेटको जग बसाउने पुस्तासँग पनि रह्यो, अनि अहिलेको नयाँ पुस्तासँग पनि । अहिले पनि उनी नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका छन् र यसको राम्रो जानकार हुन् । यिनै अग्रवालसाग नेपाली क्रिकेटको पछिल्लो स्थितिबारे कान्तिपुरका लागि विनोद पाण्डे र हिमेशले गरेको कुराकानी :

तपाईंले नेपाली राष्ट्रिय टिमबाट पनि खेल्नुभयो, अझ कप्तान पनि हुनुभयो । भर्खरै नेपाल अबको ट्वान्टी–२० विश्वकपका लागि छनोट भएको छ । नेपालले तेस्रो पटक विश्वकप खेल्दै छ । यो यात्रालाई तपाईं कसरी हेर्नुहुन्छ ?

यो यात्रा साँच्चै आफैंमा निकै लोभलाग्दो छ । हामीले यहाँनिर के बुझ्न आवश्यक छ भने तपाईंले कुनै पनि क्षेत्रमा कति लगानी गर्नुभयो, त्यसको प्रतिफल पनि त्यहीअनुसार प्राप्त गर्ने हो । तयारी कस्तो छ, विकासका लागि के कस्ता काम भएका छन्, त्यसको ठूलो अर्थ हुन्छ । सायद हामीले धेरै यस्ता काम गरेको भए, यो यात्रा ठीकै मात्र हुन्थ्यो होला । हामीले थोरै लगानी गरेका छौं, कमै मात्र काम गरेका छौं, तर पनि ठूलो सफलता हात पारेका छौं ।

त्यस अर्थमा नेपालले तीन विश्वकप खेल्नु भनेको साँच्चै ठूलो सफलता हो । म चमत्कार त भन्दिनँ, तर अलिकति वास्तविकमा टिकेर सत्य बोल्ने हो भने भएको यही हो । हामीसँग अहिले पनि भौतिक पूर्वाधार छैन भन्दा हुन्छ । तर अहिले नै हामी ठूलाठूला क्रिकेट रंगशाला बनाउने बाटोमा गइरहेका छौं । हामीलाई ठूलो रंगशाला पनि चाहिन्छ होला, तर हामीलाई त्योभन्दा पहिले सुविधासम्पन्न मैदानहरू चाहिन्छ ।

ठूला रंगशाला हामीले कति धान्न सक्छौं, त्यो हेर्नु नै पर्ने हुन्छ । हामीले नेपाल क्रिकेट संघ (क्यान) को स्रोतबारे पनि बुझ्न सक्नुपर्छ । फ्लड लाइट्ससहितको ठूलो रंगशाला छ भने त्यसलाई चलाउन महिनाको कति खर्च हुन्छ, त्यसको हिसाब हुनु नै पर्छ । हामीले अहिले पनि सानासाना मैदानको जति ठूलो महत्त्व छ, त्यसतर्फ ध्यान दिन सकेका छैनौं । यस्तो मैदानको हामीलाई साँच्चै सख्त आवश्यकता छ ।

अहिलेको राष्ट्रिय टिममा मधेशबाट ३–४ जना खेलाडी छन् । तर मधेशमा क्रिकेट खेल्न मिल्ने मैदान कति छन् त ? ‘टर्फ विकेट’ कति वटा छन् त ? साँच्चैको ‘टर्फ विकेट’ एउटा पनि छैन भन्दा हुन्छ । वीरगन्जमा केही बनेको छ । कलैयामा पनि बहुप्रयोगको रंगशाला भएको हुनाले धेरै काम भएको छैन । अन्यत्र पनि खासै कहीं छैन । मलाई त लाग्छ, विराटनगरमा पनि खासै धेरै सुविधासहितका मैदान छैनन् ।

Players are investing in themselves because of NPL: Pawan Agarwal [Interview]

हामीलाई अहिले चाहिएको भनेकै क्रिकेट मैदान हो, जहाँ ठीक ढंगले शौचालयदेखि ड्रेसिङ रुम होस् । अनि फेन्सिङ र नेट प्राक्टिस गर्ने सुविधा पनि होस् । त्यसबाहेक हामीलाई ठूला सहरमा एउटा, दुइटा ठूला रंगशाला चाहिन्छ । त्यसमा काठमाडौं त भयो नै, पोखरा अर्को विकल्प हुन सक्छ । मलाई लाग्छ, नेपाली क्रिकेटले सफलता पाइरहेको बेला हाम्रो सबैभन्दा ठूलो समस्या सुविधासम्पन्न मैदानको अभाव नै हो ।

पूर्वाधारको ठूलै समस्या छ । काठमाडौंमा मात्र प्रतियोगिता भएर हुन्न । घरेलु संरचना चारैतर्फ हुनुपर्छ । त्यसैले नेपाली क्रिकेटले तय गरेको अहिलेसम्मको यात्रालाई हामीले इमानदारितापूर्वक विश्लेषण गर्न सक्नुपर्छ । हामीले कति लगानी गरेका छौं, कति प्रयास गरेका छौ, त्यसबारे सोच्नु नै पर्छ । हामी अहिले जहाँ छौं, नेपाली क्रिकेटलाई अझ अगाडि बढाउने हो भने अझ धेरै काम गर्नुपर्ने हुन्छ । हाम्रा लागि केन्याको क्रिकेट कसरी ओरालो लागेको थियो भन्ने शिक्षा हुनु नै पर्छ ।

त्यस्तो हो भने नेपाली क्रिकेटले अबका दिनमा के के गर्नुपर्छ ? नत्र यत्तिकै अहिलेको स्थितिमा नै नेपाली क्रिकेटले अझ विकास गर्न त सक्दैन होला ?

कुनै पनि देशको क्रिकेट विकासका लागि २–३ वटा क्षेत्रमा विकास हुनुपर्छ र यो अनिवार्य जस्तै हो । सबैभन्दा पहिले भौतिक पूर्वाधार नै भयो । आम जनताले क्रिकेट प्रशंसकका रूपमा सोच्ने एउटा हुन्छ, तर क्रिकेट विकासमा लाग्ने व्यक्तिले अर्कै तरिकाले सोच्नुपर्छ । आम क्रिकेट प्रेमीलाई अहिले सोध्ने हो भने लगभग सबैको उत्तर हुने गर्छ, ठूला रंगशाला चाहियो । हामीलाई सोध्नुभयो भने भन्छौं, साँच्चै हामीलाई मैदान चाहियो ।

म त अहिले फ्लड लाइट्समा पनि जोड दिन्न । त्यसपछि आउँछ, क्रिकेटको ढाँचा । त्यो भनेको घरेलु क्रिकेटको स्वरूप । त्यससँग जोडिने भनेको अन्तर्राष्ट्रिय क्रिकेट हो । हाम्रा लागि उमेर समूहको क्रिकेटको बलियो आधार चाहिन्छ, यो यू–१६, यू–१९ हुनु पर्छ । अझ यू–२३ पनि हुन सक्छ । मुख्य टिमसँगै ए टिम पनि । यी पाँच तहको क्रिकेटमा हामी जानु नै पर्छ । खेलाडीलाई पूरा वर्ष कसरी व्यस्त राख्नुहुन्छ, त्यसको अर्थ हुन्छ ।

हामीले के पनि बुझ्न आवश्यक छ भने खेलाडीको खेल जीवन आफैंमा छोटो हुन्छ, धेरै लामो हुन्न । कसैले १४/१५ वर्षको क्रिकेट खेल्छ भने २९/३० वर्ष पुग्दा यही खेलाडी परिपक्व भइसक्छ । उमेर ३१/३२ वर्ष पुग्दा क्रिकेट छोड्नुपर्ने हुन्छ । हाम्रोमा व्यावसायिक क्रिकेट नभएको हुनाले पारिवारिक दबाबका कारण योभन्दा कम उमेरमै क्रिकेट छोड्छन् । त्यसैले टेस्ट खेल्ने देशलाई भन्दा हामीलाई बलियो घरेलु ढाँचा अझ बढी आवश्यक हुन्छ ।

नेपाली क्रिकेट अहिले एक स्तरमा पुगिसकेको स्थितिमा ठूलाठूला रंगशाला पनि चाहिएला नि ? यसको महत्त्व छैन भन्न मिल्दैन होला ?

त्यसको पनि एकदम जरुरी छ, यसलाई त अस्वीकार नै गर्न मिल्दैन । मुख्य कुरा आवश्यकताको सिद्धान्त हो । साँच्चै हाम्रो मुख्य प्राथमिकता के हो त, त्यो बुझ्नु नै पर्छ । अहिलेका लागि हाम्रो उद्देश्य क्रिकेट खेलको विकास नै हुनुपर्छ । ठूला रंगशालाको आवश्यकता ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताकै लागि हो । तर त्यसका लागि हामीसँग त्यसै अनुसारको टिम छैन भने के काम भयो र ? नत्र को आएर खेल्ने त ? हाम्रो आफ्नै टिम बलियो भएन भने बाहिरको टिम आएर त्यसै खेलिदिने पनि हुन्न ।

हामीले सक्छौं भनेर सबै काम गरे भयो, तर हामीसँग त्यस्तो कामका लागि स्रोत पनि त छैन । हामीसँग स्रोत जति छ, त्यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । हामीलाई जे जति जरुरी छ, जसले हामीलाई पछिसम्म पनि काम लाग्छ, लगानी त्यसमै गर्नुपर्छ । हाम्रो क्रिकेट नै राम्रो भयो भने पैसा पनि आउने क्रम सुरु हुन्छ ।

अबको १–२ वर्षमा नेपालले केही ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै छ । त्यसमा महिलाको विश्वकप छनोटदेखि लिग–२ का दुई शृंखला पनि छन् । महिला यू–१९ विश्वकप पनि छ । त्यसको पनि तयारी त चाहिन्छ होला ?

ठूला रंगशाला पनि चाहिन्छ भन्नेमा मेरो विमति नै छैन । ओमानले अहिले ट्वान्टी–२० विश्वकपको छनोट आयोजना गरेको छ, एसिया र इस्ट–एसिया प्यासेफिकको । तर ओमानसँग पनि ठूलाठूला रंगशाला कहाँ थियो र ? हाम्रो राम्रो पक्ष के भने हामीसँग दर्शक हुन्छ । अत्यधिक दर्शक मैदानमै आएर क्रिकेट हेर्छ । खासमा हामीले कलिकति ठूलो रंगशाला खोज्नु भनेकै त्यही कारणले न त हो ।

Players are investing in themselves because of NPL: Pawan Agarwal [Interview]

आयरल्यान्ड र युरोपमै जाने हो भने पनि ठूला रंगशाला कहाँ छन् र ? त्यहाँ मैदान भने राम्रो हुन्छ । सकिन्छ भने हामीले पनि ठूलाठूला रंगशाला बनाऔं । अहिले नेपालमा क्रिकेट विकासका लागि साँच्चै चाहिएको मैदान नै हो, म यो कुरा दोहोर्‍याएर भन्छु । सबैभन्दा पहिले क्रिकेट खेल्नका लागि खेलाडीलाई ठाउँ चाहियो ।

अहिले आईसीसीको क्रिकेट ढाँचा एकदिवसीयमा बढी केन्द्रित छ । उसले त्यसै अनुसार बजेट पनि उपलब्ध गराउने गर्छ । हामी एकदिवसीयमा कहाँ छौं, त्यही अनुसार कार्यक्रम बन्छ । अहिले नेपाली क्रिकेट भने बढी ट्वान्टी–२० क्रिकेटमै केन्द्रित छ । त्यसैमा पनि सुधार चाहिन्छ होला ?

अहिले हाम्रो क्रिकेट भन्नु नै ट्वान्टी–२० क्रिकेट भएको छ । हाम्रो सोच नै ट्वान्टी–२० क्रिकेटको छ । अहिले हामीले सफलता पनि यसमै पाइरहेका छौं । हामीले विश्वकप पनि यसकै लागि खेलिरहेका छौं । आम दर्शकले मन पराउने क्रिकेट पनि यही भएको छ । तर क्रिकेटको साँच्चै विकास गर्ने हो भने हामीलाई लामो ढाँचाको क्रिकेटमा जानुको अर्को विकल्प नै हुन्न । यो विश्व क्रिकेटमा प्रमाणित तथ्य हो ।

टेस्ट र एकदिवसीय दुवै अहिले उत्तिकै लोकप्रिय छ । कुनै समय एकदिवसीय अब मर्छ भनिन्थ्यो, अब उल्टै यो उत्तिकै रोमाञ्चक हुन थालेको छ । एकदिवसीय विश्वकप उत्तिकै लोकप्रिय छ । नेपाली क्रिकेट ट्वान्टी–२० क्रिकेटमै मात्र रुमलिने होइन, हाम्रो उद्देश्य टेस्ट क्रिकेट नै हो भने हामीले लामो ढाँचाको क्रिकेटमा नगएर सुख नै छैन ।

गत वर्षदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । त्यस अगाडि हामीसँग विभिन्न फ्रेन्चाइज क्रिकेट थियो । यस्ता प्रतियोगिताले के हाम्रो राष्ट्रिय टिमको प्रदर्शनमा परिवर्तन ल्याएको छ ? के हामीलाई लगातार तेस्रोपल्ट ट्वान्टी–२० विश्वकपमा छनोट गर्न मद्दत गरेको हो ?

एकदमै । एनपीएल जस्ता प्रतियोगिताले मद्दत गरेकै हो । यस्तो प्रतियोगिताको सबैभन्दा ठूलो योगदान भनेकै नेपाली क्रिकेटमा केही हदसम्म व्यावसायिकता ल्यायो । खेलाडीले खेलबापत पैसा पाइरहेका छन् । खेलाडीको योग्यता कस्तो छ, त्यहीअनुरूप पारिश्रमिक दिन टिमहरू तयार हुन्छन् । यही त हो, व्यावसायिकता भनेको पनि । यसको अर्थ तपाईं आफ्नो काममा राम्रो हुनुपर्छ भनेको पनि हो ।

व्यावसायिकताले फेरि जिम्मेवारी पनि ल्याउँछ, अझ बढी मिहिनेत गर्नका लागि बाध्य पार्छ । एनपीएल भएरै खेलाडी क्रिकेट खेल्न तयार भएका छन् । यसकै लागि भनेर खेलाडीले वर्षभरि तयारी गर्छन् । पहिला खेलाडी तयार पार्न संघले मिहिनेत गर्नुपर्थ्यो । अहिले खेलाडी आफैंले मिहिनेत गर्छन्, अझ त्यो पनि आफैं लगानी गरेर ।

Players are investing in themselves because of NPL: Pawan Agarwal [Interview]

अहिले प्रशिक्षणकै लागि भनेर कतिपय खेलाडी भारत गइरहेका छन्, त्यो पनि आफ्नै खर्चमा । एनपीएलले नेपाली क्रिकेटमा धेरै थोक भित्र्याएको छ । यस्ता प्रतियोगिताले खेलाडीलाई दबाबमा खेल्न सिकाउँछ । त्यसैले एनपीएलका धेरै फाइदा छन् । अहिले हामी ट्वान्टी–२० विश्वकपको छनोट भएको एनपीएल जस्तै प्रतियोगिताले गरेर हो ।

हाम्रोमा पोहोर सालदेखि दुईदिवसीय खेल सुरु भएको छ । केही एकदिवसीय प्रतियोगिता छन् । त्यसबाहेक हाम्रो आफ्नो घरेलु प्रतियोगिताको संरचना त्यति राम्रो छैन, त्यति धेरै परिवर्तन पनि भएको छैन, होइन र ? अझै धेरै समस्या छन् नि ?

हाम्रो घरेलु क्रिकेट संरचनामा धेरै कमजोरी छन्, यो त स्विकार्नु नै पर्छ । अहिले हामीसँग एउटा प्रधानमन्त्री कप छ । अनि अब एउटा दुईदिवसीय प्रतियोगिता पनि । त्यो पनि सानोस्तरमै मात्र भएको थियो, चारै टिमको मात्र । अब यू–१६ बाट नै बलियो ढाँचा सुरु गर्नुपर्‍यो । मुख्य कुरा लामो समयको क्रिकेट चाहिन्छ । भारतमै पनि यू–१६ क्रिकेट दुई दिनको हुन्छ, यो उमेर समूहमा ट्वान्टी–२० क्रिकेट गर्नु हुन्न । यू–१९ को क्रिकेट चारदिवसीय हुन्छ । घरेलु क्रिकेटका लागि केही गर्ने प्रयास पनि कम छ । अहिले सबै ट्वान्टी–२० क्रिकेटमा प्राप्त सफलतामा खुसी छन् । यही कारणले हामी चुकिरहेका छौं ।

कुनै समय भनिएको थियो, नेपाली पुरुषले भन्दा महिला टिमले नै पहिलो पटक विश्वकप खेल्नेछ । तर अहिले महिला टिमले संघर्ष गरिरहेको छ, नतिजाका आधारमा पनि । महिला क्रिकेटमा हामी चुकिरहेका छौं ?

सत्य के हो भने नेपाली महिला क्रिकेटको स्रोतसाधन नै कम छ । हाम्रो महिला क्रिकेटको ढाँचा के छ त ? महिला खेलाडीले घरेलु क्रिकेटमा के खेलिरहेका छन् त ? केही पनि छैन । पुरुष खेलाडीका लागि कम्तीमा एनपीएल त छ । हाम्रो महिला टिमले सुरुसुरुमा केही सफलता प्राप्त गरेको थियो र यसका कारण थियो, अरू टिमको स्थिति पनि उस्तै थियो । त्यसैले हामी केही समयका लागि सफल देखियौं होला । तर अरू देशले महिला क्रिकेटमा पनि धेरै विकास गरे । अहिले महिलाको विश्वकप चलिरहेको छ । म पहिलो पटक यो प्रतियोगिता हेरेर मज्जा लिइरहेको छु ।

अहिले महिला टिमको स्तर पनि निकै माथि पुगेको छ । अब त अस्ट्रेलिया र भारतको टिमको प्रदर्शन अर्कै स्तरमा पुगिसकेको छ । पहिला महिला क्रिकेट फिक्का जस्तो हुन्थ्यो, अहिले कहाँबाट कहाँ पुगिसक्यो । अहिले हाम्रो प्राथमिकता पुरुष क्रिकेटमै रहेको छ । अब महिला क्रिकेटमा पनि पैसा लगानी गर्न सक्नुपर्छ । महिला खेलाडीलाई पनि सक्दो बढी अन्तर्राष्ट्रिय खेल खेलाउनुपर्‍यो । महिला क्रिकेटमा पनि जबसम्म हाम्रो घरेलु ढाँचा हुन्न, कसरी नतिजा आउँछ र ? खेल्न नै नपाएपछि खेलाडी कसरी बन्छ र ? अझ हामीसँग महिला खेलाडीको संख्यामै कमी छ । सबैभन्दा खेल्ने वातावरण नै बनाइदिनुपर्‍यो ।

हाम्रै अगाडि बंगलादेश र अफगानिस्तानले टेस्ट मान्यता पाइसके, हामी चाहिँ कहाँ रुमलिरहेका छौं ?

बंगलादेश एसोसिएट देश हुँदा पनि त्यहाँको क्रिकेट स्तर हामीभन्दा धेरै माथि थियो । पछि टेस्ट मान्यता पाएपछि बंगलादेशमा फुटबल रंगशाला बिगारेर त्यसलाई क्रिकेट मैदान बनाएको पनि सुन्यौं । बंगलादेशमा भौतिक पूर्वाधार पनि राम्रो भयो । अफगानिस्तान भने पक्कै पनि ‘सरप्राइज–प्याकेज’ नै हो । युद्धका कारण अफगानिस्तानको स्थिति आफैंमा राम्रो पनि छैन । तर अफगान क्रिकेटले केही न केही उपाय निकालेको छ । अफगानिस्तानमा पनि घरेलु ढाँचा राम्रो छैन, तर पनि खेलाडी आइरहेका छन् । यसमा पाकिस्तानको सहयोग छ ।

हाम्रो समस्या फेरि दोहोर्‍याएर भन्ने हो भने हाम्रो घरेलु ढाँचा जहाँको त्यहीँ भयो । हाम्रा छिमेकी जति सबै क्रिकेटमा बलिया देश हुन् । सायद हामीले त्यसको पनि फाइदा लिन सकेनौं । अझ हामीले विशेषतः भारतबाट कम फाइदा लिएको मान्छु । भारत भौगोलिक रूपमा पनि हाम्रो एकदमै नजिक छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआई पनि चाहिँदैन, त्यहाँको स्टेट क्रिकेट बोर्ड पनि निकै बलियो छ । त्यस्तै बोर्डबाट पनि हामीले फाइदा लिन सक्नुपर्छ । श्रीलंकाले पनि हामीलाई सुरुदेखि नै मद्दत गरेकै हो । पाकिस्तान र बंगलादेश दुवै सहयोगी छन् । हामीले यो क्षेत्रमा पनि चाहिने जति काम गर्न सकेका छैनौं । पछिल्लो समय बीसीआईसँगको सम्बन्ध केही राम्रो भएको देखिन्छ । भर्खर हाम्रो ए टिम भारत गएको थियो । महिला टिम मात्र होइन, यू–१६ र यू–१९ टिमलाई पनि भारत पठायौं । त्यहाँका स्टेट टिमविरुद्ध नै खेलाए पुग्छ ।

अहिले क्यानले आफूलाई आर्थिक रूपमा कसरी अगाडि बढाइरहेको जस्तो लाग्छ ?

मैले जति सुनेको छु, क्यानको आर्थिक अवस्था कडिकडाउ नै छ । एनपीएलको नाफा नै डेढ करोड रुपैयाँ देखिएको छ । एनपीएलले धेरै फाइदा गर्छ र यसले नेपाली क्रिकेटलाई नै ठूलो आर्थिक टेवा हुन्छ भनिएको थियो, कम्तीमा पहिलो संस्करणदेखि त्यो देखिएन । अबका संस्करण अझ फराकिलो हुँदै गयो भने यसले निश्चित रूपमा नेपाली क्रिकेटलाई फाइदा गर्छ । क्यानले आफ्नो आम्दानीको बाटो बढाउनुपर्छ ।

खर्च गरेपछि त क्रिकेटको विकास हुने हो । एनपीएल आफैंमा ठूलो स्रोत हुन सक्छ । टिमले राम्रै गर्दै गयो भने पनि आम्दानीको बाटो खुल्दै जाने हो । हामीलाई बाहिरबाट पनि प्रायोजक आउन सक्छ । भारतीय उत्पादन हाम्रो देशमा पनि आउँछ । त्यहाँका कम्पनी पनि नेपाली क्रिकेटमा आउन सक्छन् । यसका लागि नेपाली क्रिकटले कडा र विशेष मिहिनेत नै गर्नुपर्ने हुन्छ ।

कुनै समय टुँडिखेलमा हुने खेलले नेपाली क्रिकेटलाई जीवन्त राखेको थियो । तपाईंले पनि टुँडिखेलमा क्रिकेट खेल्नुभयो । तपाईंसँग यससँग जोडिएका सम्झना कस्ता छन् ?

मसँग टुँडिखेलमा क्रिकेट खेलको सम्झना अझै पनि छ र त्यो सुखद छ । यसलाई नेपाली क्रिकेटको सुरुआती वर्ष मान्न सकिन्छ, एक प्रकारले । हामी त कलैयाबाट आएको । काठमाडौंमा खेल्ने हामीमा लोभ हुन्थ्यो । टुँडिखेलमा केकेएम प्रतियोगिता हुन्थ्यो, पछि उपेन्द्र भट्टराई दाइले पनि प्रतियोगिता आयोजना गर्नुभयो । काठमाडौंमा जति प्रतियोगिता हुन्थ्यो, त्यो टुँडिखेलमै हुन्थ्यो । त्यहाँ मैले पनि धेरै खेलेको छु ।

अझ अहिले आर्मीले लिएको सानो टुँडिखेलमा पनि क्रिकेट हुन्थ्यो र मैले त्यहाँ पनि खेलेको छु । त्यो उद्योग वाणिज्य संघले आयोजना गरेको थियो । मैले त्यो प्रतियोगिता पनि खेलें । त्यति बेला भारतबाट राम्राराम्रा खेलाडी खेल्न आउँथे, रणजी ट्रफी खेलेकैहरू । हामीले खेल्न अगाडि साबा करिम पनि आएका थिए । टुँडिखेलमा खेल्नुको मज्जा नै ठूलो थियो । नेपाली क्रिकेटको इतिहास लेख्ने हो भने एउटा अध्याय मज्जाले टुँडिखेलमा खेलिएको क्रिकेट पनि हुनेछ ।

Players are investing in themselves because of NPL: Pawan Agarwal [Interview]

त्यहाँको क्रिकेटबारे सम्भवतः मभन्दा पुराना खेलाडीले भन्नुहुन्छ होला । श्रीनिवास राणा दाइले बढी भन्न सक्नुहुन्छ होला । नूतन वज्राचार्य, नवीन सुवाल, सुवर्ण जोशी दाइहरू टुँडिखेलको क्रिकेटमा चलेका नाम थिए । अचेल उहाँहरू हराउनु भएको छ । विजय शर्मा दाइ फास्ट बलर हुनुहुन्थ्यो । विजय श्रेष्ठ र श्रीनिवास दाइ पनि फास्ट बलर नै हुनुहुन्थ्यो । सागर र अशोक प्याकुरेल दाजुभाइबारे पनि मैले त्यही बेला धेरै सुनेको थिएँ । मैले उहाँहरूसँग खेल्न पाइनँ । मैले खेलेको ०५१/०५२ सालतिर हो । मैले खेलिसकेपछि पनि केही खेलाडीले टुँडिखेलमा खेले । तर त्यो लगभग टुँडिखेलमा खेल्ने क्रिकेटको अन्त्य अन्त्यतिर थियो । हामी खेल्दै गर्दा कीर्तिपुर मैदान बन्दै थियो । त्यसपछि नेपाली क्रिकेट उतै लाग्यो । त्यसअगाडि नेपाली क्रिकेटको ‘लाइफ लाइन’ भनेकै टुँडिखेल थियो । तर अब त्यो इतिहास भएको छ र यसले नेपालमा क्रिकेटको जग बसाउन ठूलो भूमिका खेलेको थियो ।

तपाईं आफ्नो खेल जीवन कसरी सम्झिनुहुन्छ ? त्यति बेलाको अवस्था कस्तो थियो ?

मैले १६/१७ वर्षको उमेरदेखि खेल्न थालेको हो, कलैयामै । त्यति बेला पनि केही सिनियर दाइहरूले भन्थे– नेपाली राष्ट्रिय टिम बन्दै छ । तर कहिले पनि बनेन । अझ हामीलाई के लाग्न थालेको थियो भने नेपाली टिम कहिले पनि बन्ने छैन । तर हामीसँग सपना भने थियो, नेपाली टिमबाट खेल्ने । भाग्यले १९९६ मा नेपाली टिम बन्यो । जति बेलासम्म विमानमा बसेर उडेका थिएनौं, हामीलाई मलेसिया पुगेर खेलौंला भन्ने विश्वास नै थिएन । खासमा हामीले नेपाली टिम बन्छ भनेर धेरै गफ सुनेर त्यस्तो भएको हुनुपर्छ । हामीले थाहा पाउने गरेर हाम्रो अगाडि नेपाली टिम बंगलादेश र थाइल्यान्ड गएको थियो । काठमाडौं–११, क्यान–११ भनेर थियो । यसका लागि पूरा छनोट प्रक्रिया अपनाइएको थियो । यो सन् ८० तिरकै कुरा हुनुपर्छ । दिल्ली पनि एकपल्ट टिम गएको हुनुपर्छ ।

मैले किशोर उमेरमै क्रिकेट खेल्न थालेको थिएँ, तर म आफैं २३ वर्ष पुगेपछि मात्र नेपाली टिम साँच्चै बन्यो । यहींबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको जग बस्यो भन्दा हुन्छ र यसका लागि यो समयका सबैप्रति हामी कृतज्ञ हुनुपर्छ । मैले धेरैपल्ट भनेको छु, सिनियर दाइहरूले क्रिकेट नखेलेको भए, मैले खेल्ने थिइनँ होला । क्रिकेट भनेकै अरूबाट प्रभावित हुने त हो । कलैयामा क्रिकेट खेल्दा पनि हामी कोहीबाट प्रभावित भएका थियौं । त्यहाँ सुरुआती दिनमा जेसिस कप भएको थियो । म त फुच्चे नै थिएँ, मलाई त्यसबारे अलिकलि सम्झना छ । सिनियर दाइहरूको खेल, दर्शकको उत्साह देखेपछि हाम्रो पुस्तालाई लागेको थियो, अब हामीले पनि क्रिकेट खेल्नुपर्छ । एउटा पुस्ताले कुनै न कुनै बेला सुरुआत गर्नु नै पर्छ । त्यसको फाइदा नयाँ पुस्ताले पाउने नै हो । त्यसलाई फेरि खराब मान्नुपर्ने पनि हुन्न । जतिले नेपालमा क्रिकेटको जग हाले, तिनको योगदानलाई भने हामीले बिर्सनु हुन्न ।

मैले ०४८ सालदेखि जय ट्रफी खेलेको थिएँ । त्यतिबेला अञ्चल टिम हुने गर्थ्यो । मैले नारायणी अञ्चलबाट खेलेको थिएँ । वीरगन्जमै प्रतियोगिता भएको थियो । जय ट्रफी ०३७ सालदेखि सुरु भएको प्रतियोगिता भयो । नेपालमा क्रिकेट राणाकालदेखि नै सुरु भएको मानिन्छ । तर मलाई लाग्छ, यही जय ट्रफी सुरु भएयता नेपालमा औपचारिक रूपमा यो खेल सुरु भयो भन्दा हुन्छ जस्तो लाग्छ । यो नै सुरुआती बिन्दु मान्छ ।

त्यति बेला नाम चलेका खेलाडी को को हुनुहुन्थ्यो होला ? अनि उहाँहरूलाई नेपालमा क्रिकेटको जग बसाउनेहरू पनि भन्न मिल्छ होला ?

त्यो बेला अन्तर्राष्ट्रिय क्रिकेट भन्ने नै थिएन । त्यसैले हाम्रा लागि अञ्चलबाट खेल्नु नै ठूलो थियो । त्यो बेला नेपाली क्रिकेटमा कलैयाको नाम स्थापित भइसकेको थियो । हामीले सम्झिनु नै पर्ने नाम भनेको सुशील चौलागाईं, राजेश उपाध्याय, अमन शर्मा, प्रभात चौरसिया दाइ हुनुभयो । उहाँहरू हाम्रो आदर्श हुनुहुन्थ्यो । त्यहाँबाहिर हामीले धेरै सुनेको नाम भने उत्तम कर्माचार्य दाइ हुनुभयो । नवीन सुवाल र सुवर्ण जोशीबारे पनि धेरै सुनेका थियौं ।

त्यसमा श्रीनिवास राणा, नीरञ्जन रिजाल नाम पनि थपिनुपर्छ । त्यो समय जनकपुरको टिम असाध्यै धेरै राम्रो थियो । दामोदर गौतम दाइ पनि राम्रो हुनुहुन्थ्यो, उहाँ ओपनर हुनुहुन्थ्यो । दीपक रौनियार, दीपक कोइराला पनि सिनियर दाइहरू हुनुहुन्थ्यो । ती आफैं‌मा जहिले पनि सम्झनामा रहने समय रहेको छ । त्यो बेला नेपाली क्रिकेटमा केही पनि थिएन । उहाँहरू केही पनि अपेक्षा नराखेर मनभित्रबाट क्रिकेट खेल्नुभयो, अझ आफैं पैसा हालेर । त्यसैले हामी उहाँप्रति कृतज्ञ हुनु नै पर्छ ।

कान्तिपुर

Link copied successfully