सरकारले अटोमोबाइल उद्योगलाई सहयोग गर्नुपर्छ । बैंकमा धेरै पैसा थुप्रिएको छ । तर सरकारले ईभीका लागि लगानी घटाइदिएको छ । आईसी इन्जिनमा पहिलादेखि नै लगानी घटाइएको थियो । त्यसलाई बढाउनुपर्छ ।
What you should know
काठमाडौंको भृकुटीमण्डपमा १७ औं संस्करणको ‘नाडा अटो शो–२०२५’ जारी छ । यसमा विभिन्न कम्पनीका विभिन्न सवारीसाधनदेखि स्पेयर पार्ट्स र लुब्रिकेन्टसम्मका उत्पादन प्रदर्शनीमा छन् । तर नाडामा पहिलो पटक ल्याइएको ‘फ्लाइङ ट्याक्सी’ ले सबैको ध्यान खिचेको छ ।
नेपालका लागि चांगान–दीपल कम्पनीको अधिकृत विक्रेता एमएडब्लूले अटो शोमा यो ट्याक्सी प्रदर्शनमा राखेको छ । यसै सन्दर्भमा नेपालमा समग्र अटोमोबाइल क्षेत्रको अवस्था, सम्भावना र भविष्यबारे एमएडब्लूका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालसँग कान्तिपुरका राजु चौधरीले गरेको अन्तर्वार्ताको सम्पादित अंश :
बैंकमा धेरै पैसा थुप्रिएको छ तर सरकारले ईभीका लागि लगानी घटाइदिएको छ, आईसी इन्जिनमा पहिलादेखि नै लगानी घटाइएको थियो, त्यसलाई अब बढाउनुपर्छ
अबको भविष्य ईभीकै हो, नेपालमा अहिले यसको बजार ७० प्रतिशत छ, विश्वका अन्य मुलुकले पनि ईभीमा जोड दिइरहेका छन् चीनबाट जहाजका माध्यमबाट सवारी ल्याउादा खर्चिलो हुन्छ, भारत हुादै ल्याउादा पनि लागत बढ्छ, त्यस कारण नेपाल–चीनबीचको सडकलाई नै बलियो बनाउनेतर्फ लाग्नुपर्छ।
‘नाडा अटो शो’ मा यस पटक ‘फ्लाइङ ट्याक्सी’ ले सबैको ध्यान खिच्यो, यसको बिक्री सुरु भएको छैन, यस्तो ट्याक्सी किन ल्याउनुभएको हो ?
एमएडब्लूको एउटा उद्देश्य इनोभेसन पनि हो । प्रविधिसम्बद्ध सामान ल्याएर ग्राहकबीच प्रदर्शनमा राख्ने सबै काम एमडब्लूले गरेको छ । यसले तत्काल मुनाफा दिँदैन, यस विषयमा जानकार छौं । तर केही समयपछि ग्राहक यसमा जागरुक हुन्छन्, मार्केट पनि बिस्तारै बन्दै जान्छ भनेर अटो शोमा फ्लाइङ ट्याक्सी ल्याएका हौं । हामीले जे सोचेका थियौं, त्योभन्दा धेरै राम्रो प्रतिक्रिया पाएका छौं । सर्वसाधारणले यसलाई धेरै रुचाएका छन् ।
‘फ्लाइङ ट्याक्सी’ प्रदर्शनीमा मात्रै राख्ने हो कि नेपालमा पनि यसको भविष्य देखेर ल्याउनुभएको हो ?
एमएडब्लू चांगान–दीपल कम्पनीको आधिकारिक विक्रेता हो । चांगान दीपल कम्पनीमा चीनको केन्द्रीय सरकारको लगानी छ । एक सय वटा बलियो कम्पनीमा मात्रै चीन सरकारले लगानी गरेको छ । चीनमा यो अटो क्षेत्रको तेस्रो ठूलो कम्पनी हो । कम्पनीको उत्पादन ‘दीपल एस०७’ ले एकदमै सफलता पायो । यो पनि नाडाको प्रदर्शनीमा छ । ‘एस ०५’ पनि सार्वजनिक भएको छ । एस ०५ पनि रुचाइएको उत्पादन हो । यो कम्पनी डिजाइन र प्रविधिमा जहिल्यै अगाडि छ । यही कम्पनीले इहाङ कम्पनीसँग रणनीतिक साझेदारी गरेको छ । प्रविधिमा अग्रणी देखाउन फ्लाइङ ट्याक्सी ल्याइएको हो । यसलाई हामीले नाडा अटो शोमा पनि राखेका हौं ।
किनभने ५ वर्षअघि विद्युतीय सवारी (ईभी) ले बजार लिन्छन् भनेर सायदैले सोचेका थिए । ईभीले नेपाली बजारमा मात्रै होइन, विश्व बजारमा वर्चस्व जमाउँदै छ । चीनमा ईभीको बजार ५० प्रतिशत पुगेको छ । अन्य देशमा पनि ईभीलाई स्वीकार गरेको अवस्था छ । त्यही कारण मूल्य घट्ने क्रममा छ ।
अबको ५ वर्षमा धेरै परिवर्तन आउँछ । फ्लाइङ ट्याक्सीले पनि महत्त्वपूर्ण भूमिका खेल्छ, यसको बजार बढ्छ । चीनमा फ्लाइङ ट्याक्सीको व्यवसायीकरण सुरु भइसकेको छ । केही वर्षपछि नेपालमा पनि यो प्रविधि सुरु हुन्छ । यो प्रविधि पर्यटन क्षेत्रमा प्रयोग गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा प्रयोग हुन सक्छ । मेडिकल र इमर्जेन्सी प्रयोजनका लागि प्रयोगमा ल्याउन सकिन्छ । नेपालमा नियम कानुन बनेपछि नेपालमा पनि सुरुवात हुन्छ । तीव्र गतिमा प्रविधिले फड्को मारिरहेकाले नेपालमा ‘फ्लाइङ ट्याक्सी’ को बजार देखेका छौं ।
‘फ्लाइङ ट्याक्सी’ को सन्दर्भमा नेपालमा नीति नियम, मापदण्ड केही बनेको छैन, सरकारबाट नीति नियम बनाउने प्रतिबद्धता आएको छ ?
नाडा अटो शोको उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रविधिका लागि सरकारले पनि जोड दिएको बताउनुभएको छ । यो आफैंमा सकारात्मक छ । प्रधानमन्त्रीको दूरदर्शिता पनि यसले दर्शाएको छ । नेपालमा नयाँ प्रविधि ल्याउन उहाँले प्रोत्साहित गर्नुभएको छ । यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि देखाएका छौं । मन्त्रीलाई पनि देखाएका छौं । आजको दिनमा नीति नियम नभए पनि भविष्यमा नियम पक्कै बन्छ । सरकार पनि सकारात्मक देखेका छौं । यस पटक हामीले अहिले नेपाल सरकारबाट स्वीकृति लिएर नाडा अटो शोका लागि मात्रै फ्लाइङ ट्याक्सी ल्याएका हौं ।
नाडा अटो शोमा एमएडब्लू ‘फ्लाइङ ट्याक्सी’ बाहेक अन्य के–कस्ता नयाँ सवारी सार्वजनिक गर्यो ?
एमएडब्लूसँग अटोबोमाइलका सबै प्रकारका सवारी छन् । दुईपांग्रेमा यामाहा मोटरसाइकल छ । हेभी इक्विपमेन्टमा जेसीबी छ । व्यावसायिक सवारीसाधनमा प्रोटोन ईभी र आइसर छन् । लुब्रिकेन्ट्समा एचपी लुब्रिकेन्ट छ । कार सेग्मेन्टमा जिप, स्कोडा, दीपल, सेरेस, नामी पनि वितरण गरेको छ । मोटरसाइकलको एसेम्बलिङ प्लान्ट पनि छ । एचपी लुब्रिकेन्ट्स ब्लेन्डिङको प्लान्ट एक महिनाभित्र सुरु गर्दै छौं । यसबाहेक च्याउ खेतीमा पनि लगानी छ ।
नयाँ प्रविधि ल्याएर अटोमोबाइलको क्षमता बढाउन काम गरिराखेका छौं । समग्रमा मुख्यतः ग्राहकको सन्तुष्टिलाई ध्यान दिएका छौं । एमएडब्लूका लागि त्यही नै महत्त्वपूर्ण हो । सामान बिक्री गर्दा ग्राहकलाई सोचेर काम गर्नुपर्छ, हामीले त्यसमा ध्यान दिएका छौं । खरिद भएको सामानमा ग्राहक रमाएको हुनुपर्छ । एमएडब्लूले आफ्ना कर्मचारीको व्यावसायिक वातावरणमा ध्यान दिएको छ । स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण बनाउन तालिम केन्द्रित गरेको छ । कम्पनीलाई नै अगाडि बढाउन भविष्यलाई हेरेर काम गरेका छौं । रोबोट र फ्लाइङ कार त्यसैको सिलसिलामा आएका हुन् ।
समग्रमा नाडा अटो शो कस्तो भइरहेको छ ?
यस पटकको नाडा अटो शो धेरै राम्रो छ । सर्वसाधारणले धेरै रुचि देखाएका छन् । तीन दिनमै ७८ हजार ५ सय १३ अवलोकनकर्ता अटो शोमा सहभागी भइसकेका छन् । यो संख्या आफैंमा कीर्तिमान हो । मान्छेमा सवारीसाधन र ईभीको चाहना बढेको देखिन्छ । सबैभन्दा महत्त्वपूर्ण यसले अर्थतन्त्र चलायमान भइरहेको छ ।
अटोमोबाइलका लगानीकर्ता एवं ट्रेडरमा विभाजन देखियो, डेढ साताअघि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) एक्स्पो भयो, व्यवसायीबीच एक खालको विभाजनले नाडालाई कहीँ न कहीँ पक्कै असर गरेको होला, नाडा र नाइमाको विषय पनि प्रस्ट पारिदिनुस् न ?
नाइमाले अटोमोबाइल म्यानुफ्याक्चरर्स र डिस्ट्रिब्युटरलाई मात्रै प्रतिनिधित्व गरेको छ । नाडा छाता संगठन हो । सबै डिलर, स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट्स र सवारीसाधन सबैलाई यसले प्रतिनिधित्व गर्छ । दुई संस्थाको प्रकृति नै अलग छ । भविष्यमा दुवै संस्थाबीच सहकार्य भए यसले अटोमोबाइल उद्योगलाई फाइदा गर्छ । तर दुवैले अटोमोबाइल क्षेत्रको विषयमा पैरवी गर्नुपर्छ ।
अटोमोबाइल उद्योगको अवसर र समस्या के–के हुन् ?
अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ । व्यक्तिगत दक्षता बढाउन, यातायातमा रोजगारी बढाउन धेरै सघाएको छ । व्यापारिक अवसर ल्याउन पनि धेरै मद्दत गरेको छ । यति मात्रै होइन, हरेक आर्थिक क्षेत्रलाई चलायमान बनाउन यसको सहयोग छ । उद्योग, पर्यटन, कृषिलगायत सबै क्षेत्रमा अटोमोबाइल उद्योग जोडिन्छ । अटोमोबाइल विलासिता हो भन्नेहरू पनि छन् तर त्यो सत्य होइन । अटोमोबाइल सर्वसाधारणको आवश्यकता हो । बीचमा दुई वर्ष निकै चुनौतीपूर्ण रहे । त्यति बेला सबै उद्योगमा ५० देखि ६० प्रतिशत माग घटेको थियो । गत वर्ष केही सुधार देखियो । यस वर्ष पनि सुधार हुनेमा आशावादी छौं ।
सरकारले अटोमोबाइल उद्योगलाई सहयोग गर्नुपर्छ । बैंकमा धेरै पैसा थुप्रिएको छ । तर सरकारले ईभीका लागि लगानी घटाइदिएको छ । आईसी इन्जिनमा पहिलादेखि नै लगानी घटाइएको थियो । त्यसलाई बढाउनुपर्छ । लगानी बढे सर्वसाधारणले प्रयोग गर्ने अवस्था आउँछ । यसले सरकारी राजस्व पनि बढ्छ । अर्थतन्त्र पनि चलायमान हुन्छ । नियामक निकाय धेरै भए । नियमन गर्ने संस्थाले एक तरिकाले हेर्नुपर्छ । कहिले महालेखाबाट बेरुजु आएको हुन्छ, कुनै बेला राजस्वको कुरा आउँछ । राष्ट्र बैंकबाट पनि नियमन गरिएको छ । यी समस्याको दीर्घकालीन समाधान गर्न एउटै नीति हुनुपर्छ ।
ईभीका लागि सरकार एकदमै सकारात्मक देखिएको छ । किनभने विद्युत् मागभन्दा उत्पादन बढी छ । अहिले निर्यात पनि हुन्छ । अबको ५ वर्षमा हाइड्रोपावर आयोजनाबाट कम्तीमा ५ हजार मेगावाट प्रसारण लाइनमा जोडिन्छ । त्यो मागभन्दा बढी उत्पादन हुन्छ । त्यो ईभीमा प्रयोग हुन्छ । त्यसले विदेशी मुद्राको सञ्चिति बढ्छ । सँगसँगै ईभीको मूल्य पनि कम हुन्छ । नेपालको ग्रिन इनर्जी र जलवायु परिवर्तनमा योगदान हुन्छ । ईभीको नीति सकारात्मक छ, त्यसलाई निरन्तरता दिनुपर्छ ।
समग्रमा ईभीको सन्दर्भमा दुई धारणा देखिने गरेका छन्, एकातिर ईभीलाई प्रोत्साहन गर्नुपर्छ, छुट दिनुपर्छ, जसले इन्धन आयात घटाएर व्यापार घाटा कम हुन्छ भन्ने गरिन्छ, अर्कोतिर ईभीमा दिइएको छुटले धेरै राजस्व गुमेको छ भन्ने पनि छन्, तपाईं दुवै प्रकारका सवारीसाधनमा संलग्न हुनुहुन्छ, कुन धारणाको पक्षमा हुनुहुन्छ ?
अबको भविष्य ईभीकै हो । नेपालमा ७० प्रतिशत यसको बजार छ । विश्वका अन्य मुलुकले पनि बिस्तारै ईभीमा जोड दिइरहेका छन् । जलवायु परिवर्तनका कारण पनि हो र आर्थिक भावनाको कारणले पनि– हरेक मुलुक आईसी इन्जिनबाट ईभीमा रूपान्तरण हुनुपर्छ । कोही दुई वर्षमा रूपान्तरण हुन्छन्, कोही ५ वर्षमा । समग्र औद्योगिक ट्रेन्डलाई नकार्न सकिँदैन । त्यसको विपक्षमा जान सकिँदैन । विश्व नै ईभीमा गएको छ, त्यसको विपक्षमा कसरी जान सकिन्छ !
ईभी ल्याउने धेरैजसो चीनबाट हो तर नेपालको सडक पूर्वाधारमा समस्या छ, भौगर्भिक हिसाबले पनि जोखिम देखिन्छ, यस्तो अवस्थामा कसरी ईभी फैलिएला र ?
सबैभन्दा ठूलो समस्या नै कनेक्टिभिटीको हो । जबसम्म कनेक्टिभिटी हुँदैन, त्यस बेलासम्म व्यापारमा प्रगति हुँदैन । हरेक कुरामा समस्या आउँछ । सडकलाई कसरी चुस्त बनाउन सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ । सडकमा लगानी बढाउनुपर्छ । अहिले सबैतिरबाट राजस्व उठेको अवस्था छ । सडक केन्द्रित भएर लगानी गर्नुपर्छ । सडक बनाउनैपर्छ । सरकारले यसमा तदारुकतासाथ काम अघि बढाउनुपर्छ ।
भारतको बाटो हुँदै वा हवाई कनेक्टिभिटीबाट सवारी आयातको सम्भावना कस्तो देख्नुहुन्छ ?
चीनबाट जहाजका माध्यमबाट सवारी ल्याउँदा खर्चिलो हुन्छ । भारत हुँदै ल्याउँदा पनि लागत बढ्छ । त्यस कारण नेपाल–चीनबीचको सडकलाई नै बलियो बनाउनेतर्फ लाग्नुपर्छ ।
