‘वार्तामा बसेर प्रमाण हेर्ने हो भने कालापानीको विवाद तत्कालै समाधान हुन्छ’

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन् : भारतले भनेको नदी तिरतिरे खोला हो । थोरै पानी छ । अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार पनि लिम्पियाधुराबाट निस्केको नदीलाई मूल नदी मानिन्छ । अरू शाखा नदी हुन् । त्यसैले लिम्पियाधुराबाट निस्केको नदी नै काली हो र त्यही नै सिमाना हो ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

”If we sit in talks and look at the evidence, the Kalapani dispute will be resolved immediately.”

What you should know

उत्तर र दक्षिणका छिमेकीले आपसी सम्बन्ध सुधार्न खोजेका छन्, तर लिपुलेक पासबाट व्यापार गर्ने सहमति गरेर नेपाललाई फेरि झस्काएका छन् । नेपाली भूमि हुँदै व्यापार गर्ने सहमति गर्दा चीन र भारतले नेपाललाई जानकारीसमेत दिएका छैनन् । यी दुई छिमेकीले एक दशकयता पटक–पटक यही विषय उप्काएर नेपालको संवेदनशीलतालाई खेलबाड गरिरहेका छन् ।

६३ वर्ष लामो यो उतारचढाव, कालापानी र लिम्पियाधुराको भौगोलिक अवस्थितिबारे सीमाविद् बुद्धिनारायण श्रेष्ठसँग कान्तिपुरले गरेको संवाद :

कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद आउँदै हराउँदै गर्छ । भारतले दाबी गर्दा नेपालले हरेक पटक प्रतिवाद गर्दै पनि आएको छ तर उक्त भूमि नेपाली हो भन्ने सबैभन्दा ठूलो प्रमाण के हो ? 

नेपाल र भारतबीच १८८० किलोमिटर लामो सिमानामा ७१ स्थानमा सीमा मिचिएको छ, वादविवाद र तेरोमेरो छ । त्यसमध्ये सबभन्दा ठूलो विवाद दार्चुला जिल्लाको लिपुलेक, कालापानी र लिम्पियाधुराको हो । एकै ठाउँमा ३ सय ७० वर्ग किलोमिटरमा समस्या छ । त्यस्तै, सुस्तामा १ सय ४७ वर्ग किलोमिटर र अन्य विभिन्न ठाउँका ८९ वर्ग किलोमिटरमा विवाद छ । 

लिपुलेक नेपालको सम्प्रभुता भएको जमिन हो । अहिले भारत र चीन मिलेर लिपुलेक भन्ज्याङबाट व्यापार वृद्धि गर्ने, आवागमन गर्ने भनिरहेका छन् । त्यसले नेपालको सम्प्रभुतालाई मिच्यो । नेपालको भौगोलिक अखण्डतामा आघात पारेको छ । त्यो भूमि हाम्रो हो भन्ने धेरै प्रमाण छन् । सन् १८२७, १८५६ र १८७९ का नक्सामा लिम्पियाधुराबाट निस्केको नदी नै काली भनेर अंकित छ । काली नदीभन्दा पूर्व सम्पूर्ण भूभाग कुटी, नावी, गुन्जी, कालापानी, लिपुलेक हाम्रो हो ।

सुगौली सन्धि भएलगत्तै गुन्जीका मानिसले पोत (कर) कहाँ तिर्ने भनेर ब्रिटिस शासनसमक्ष सोध्दा ‘सुगौली सन्धिअनुसार तिमीहरूको जग्गा नेपालतर्फ पर्ने भएकाले नेपालका बम शाह भन्ने भारदारसँग सम्पर्क गरेर उतै तिर्नू’ भनेका रहेछन् । सन् १८१७ को जुलाईमा भारतको एक्टिङ चिफ सेक्रेटरी जे आजमद्वारा लेखिएको चिठीमा पनि त्यताका जमिन नेपालतर्फ परेकाले त्यतै सम्पर्क गर्न भनिएको रहेछ ।

यी महत्त्वपूर्ण प्रमाण हो । अर्को, वरिष्ठ सञ्चारकर्मी भैरव रिसालले गुन्जी, नाबी, कालापानी क्षेत्रको जनगणना विसं २०१८ सालमा गराउनुभएको हो । त्यसले पनि त्यो क्षेत्र हाम्रो भन्ने पुष्टि गर्छ । विसं २०१५ को आमनिर्वाचनमा मतदाता नामावलीमा गुन्जी, नाबी, कुटीका मानिसहरूको नाम थियो । उनीहरू मतदानमा सहभागी भएका थिए । यस्ता धेरै प्रमाणले उक्त भूभाग नेपालको हो भन्ने देखाउँछ । अहिले चीन र भारतले नेपाललाई आघात पुर्‍याएको छ । 

कालापानी र लिपुलेकमा भारतको नियन्त्रण ठ्याक्कै कहिलेबाट सुरु भएको हो ? 

भारत र चीनबीच सन् १९६२ मा युद्ध भयो । त्यति बेला हाम्रो कालापानी लिपुलेक क्षेत्रमा भारतीय फौजले अड्डा जमायो । त्यही बेलादेखि हाम्रो भूभाग मिचिएको हो । यस सन्दर्भमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले राजा महेन्द्रलाई चिठी लेखेका रहेछन् । त्यो चिठीको कुरा महेन्द्रको मन्त्रिपरिषद्मा गृहमन्त्री रहेका विश्वबन्धु थापाले खुलासा गरेका छन् । कालापानीमा आफ्नो फौजलाई बस्न दिने आग्रहको पत्र नेहरूले राजालाई पठाएका रहेछन् ।

पत्रको जवाफ दिँदा चीन पनि चिढिने भएकाले नेपाल मौन बस्यो । नेहरूको पत्र पनि ठूलो प्रमाण हो, त्यो चिठी खोजिनुपर्छ । नारायणहिटी दरबार, नागार्जुनको रेडबक्स वा नेपाली सेनासँग हुन सक्छ ? त्यो खोजिनुपर्छ । भारतीय सेनाले कालापानी क्षेत्रमा अड्डा जमाएपछि लिपुलेक भन्ज्याङबाट अलि दक्षिण र टिंकर भन्ज्याङबाट अलि उत्तर भारतले कालीको मन्दिर बनायो । त्यही मन्दिरबाट सानो सानो खोला आएको छ । भारतले काली नदीको मुहान भनेर दावा गर्दै आएको छ, सन् १९६२ पछि । त्यही बेलादेखि भारतले नेपालको सम्प्रभुता भएको जमिन मिचेको छ । 

तर, नेपालको नक्सामा लिम्पियाधुरा पाँच वर्षअघि २०७७ मा समेटिएको हो, त्यस अगाडि किन समेटिएको थिएन ? 

नेपालले आफ्नो पहिलो नक्सा नै विसं २०३२ मा बनाएको हो । नापी विभागमा संयुक्त राष्ट्रसंघको सहायताबाट स्थलगत नापी महाशाखा बनेको थियो । प्राविधिकहरूलाई द्विविधा भयो–नक्सामा सिमानालाई लिम्पियाधुरा पुर्‍याउने कि लिपुलेक राख्ने । नापी विभागबाट सोधेर भूमि सुधार मन्त्रालय पठाइयो ।

त्यहाँबाट दरबार गयो । म विभागमा द्वितीय श्रेणीको प्राविधिक कानुन अधिकारी थिएँ । दरबारलाई ताकिता गएपछि त्यहाँबाट फाइल जंगी अड्डा भद्रकाली पुग्यो । त्यहाँ पनि ताकिता गरियो । त्यहाँबाट भनियो– अहिलेलाई लिपुलेक भन्ज्याङबाट निक्लेको नदीलाई सिमाना मानेर नक्सा बनाउने । पछि अध्ययन गरेर लिम्पियाधुरा क्षेत्रसम्मको नक्सा कोर्ने भनिएको रहेछ । त्यहीअनुसार लिपुलेक, कालापानी हाम्रै नेपालमा गाभेर नक्सा बनाइएको छ । यसरी दरबारको बेवास्ताले त्यो बेला लिम्पियाधुरालाई छोडियो । 

काली नदी नै सिमाना हो भन्नेमा भारतको पनि असहमति छैन । बरु, काली नदी नै कुन भन्ने विवाद हो, यो विवादलाई सरल रूपमा कसरी सम्बोधन गर्न सकिन्छ ? काली कुन हो भनेर कसरी छुट्याउने ? 

काली नदीको उद्गम कुन हो भनेर भारतले विवाद झिकेको छ । नेपाल भन्छ, लिम्पियाधुरा नै उद्गम हो । भारतले कालापानीमा काली मन्दिर बनाएको छ, त्यही छेउबाट बग्ने तिरतिरे खोलालाई काली हो भन्छ । तर, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तले सीमा नदीलाई लिएर विवाद भयो भने जुन चाहिँ नदी लामो, फराकिलो छ, जसमा धेरै गहिरो पानी छ, त्यसलाई मूल नदी र अर्कोलाई शाखा नदी मानिन्छ । लिम्पियाधुराबाट निस्केको नदी धेरै पानी भएको र गहिरो छ । भारतले भनेको नदी तिरतिरे खोला हो । थोरै पानी छ । अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार पनि लिम्पियाधुराबाट निस्केको नदीलाई मूल नदी मानिन्छ । अरू शाखा नदी हुन् । त्यसैले लिम्पियाधुराबाट निस्केको नदी नै काली हो र त्यही नै सिमाना हो । वार्तामा बसेर प्रमाण हेर्ने हो भने कालापानीको विवाद तत्कालै समाधान हुन्छ ।

कान्तिपुर

Link copied successfully