समाजवादी मोर्चा सफल भएमा माओवादी र अन्य दलबीच एकता सम्भावना बढ्ने, नेताहरूबीच संवाद जारी ।
काठमाडौँ — नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आफ्नो पार्टीको प्राथमिकता माओवादी घटकसँगको एकता भएको बताएका छन् ।'नेकपासँग पार्टी एकताको प्रक्रिया अघि बढेको छ,' उनले भने, 'समाजवादी मोर्चामा भएका दलसँग कार्यक्रम विस्तार गरेर जाने तय गरेका छौं ।'
माओवादीको एकीकृत समाजवादीसँग निरन्तर संवादको अर्थ के हो ?
समाजवादी मोर्चाका कार्यक्रम तय गर्नेबारे छलफल भएको छ । मोर्चालाई प्रदेश हुँदै जिल्ला तहसम्म विस्तार गर्ने कुराकानी भएको छ ।
दुई दलबीच एकता हुँदैछ भन्ने चर्चा छ नि ?
पार्टी एकताका लागि हाम्रो पार्टीको प्राथमिकता माओवादी घटकहरूसँग हो । नेकपा एकीकृत समाजवादीलगायत दलसँग मोर्चा सक्रिय गर्दै पार्टी एकतामा रूपान्तरण गर्ने नीति हो । नेत्रविक्रम चन्दको नेकपासँग एकता गर्ने निर्णय गरिसकेका छौं । नेकपासँग अब पार्टी एकताको प्रक्रिया अघि बढ्छ ।
समाजवादी मोर्चामा भएका दलसँग वार्ता बाक्लिएको छ नि !
समाजवादी मोर्चामा भएका दलसँग कार्यक्रम विस्तार गरेर जाने निर्णय गरेका छौं । नेसपा अध्यक्ष उपेन्द्र यादव, आमजनता पार्टीका अध्यक्ष प्रभु साहसँग समाजवादी मोर्चामा सहभागी हुन कुराकानी भइरहेको छ । समाजवादी मोर्चाको कार्यक्रम सफल भयो भने पार्टी एकतामा रूपान्तरण गर्न सकिन्छ ।
नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने सैद्धान्तिक सहमति छ नि ?
पहिले दुई दलबीच छलफल गर्दै जाऔं । सहकार्य हुँदै गएपछि एकताको आधार बनाउन सकिन्छ भन्ने छ । अहिले एकताको ठोस आकार आइसकेको छैन ।
