पोखराको लिची बगान जग्गा प्रकरणमा मुछिएपछि अध्यक्ष श्रेष्ठले पार्टीमा जवाफ नदिँदा विवादले उग्र रूप लिएको छ।
What you should know
अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेपछि नागरिक उन्मुक्तिमा आन्तरिक विवाद झन् चर्किएको छ ।
बहुमत संस्थापक केन्द्रीय सदस्यले श्रेष्ठलाई यस विषयमा स्पष्टीकरण सोधेका छन् । यसै सन्दर्भमा नागरिक उन्मुक्तिका संरक्षक चौधरीसँग गरिएको संक्षिप्त कुराकानी–
अध्यक्ष रञ्जिता श्रेष्ठले किन शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्नुभयो ?
बास्तोलाजीलाई कार्यवाहक तोकेको जानकारी मैले सामाजिक सञ्जालबाट पाएँ । पार्टी केन्द्रीय समितिको निर्णयबिनै कार्यवाहक तोकेकाले रञ्जिताजीलाई स्पष्टीकरण सोधिएको छ । २१ सदस्यीय संस्थापक केन्द्रीय समितिमा बास्तोलाजी हुनुहुन्न । यस विषयमा रञ्जिताले स्पष्टीकरण दिएपछि थाहा होला ।
कार्यवाहक तोक्ने अधिकार अध्यक्षलाई विधानले दिएको छैन र ?
अध्यक्षले मनपरी कार्यवाहक तोक्न मिल्दैन । पार्टी विधानमा अध्यक्षले निरंकुश भएर मनपरी गर्न पाइँदैन भन्ने लेखिएको छ । पार्टीमा कुरै नगरी कार्यवाहक अध्यक्ष तोकेको विषयलाई बहुमत केन्द्रीय सदस्यले अस्वीकार गरिसकेका छन् ।
पोखराको लिची बगान जग्गा प्रकरणमा मुछिएको विषयमा अध्यक्ष श्रेष्ठले पार्टीमा जवाफ दिनुभयो ?
अध्यक्षले आफूमाथि आरोप लागेपछि पार्टीभित्र जवाफ दिनुपर्छ । उहाँ निर्दोष हो भने जवाफ दिनुपर्यो । निर्दोष हो भने पार्टीले पनि आरोपको प्रतिवाद गर्ला । के कति कारणले उहाँ यो प्रकरणमा मुछिनुभयो ? जवाफ दिनुपर्यो नि । तर उहाँले पार्टीमा जवाफ दिन चाहनुभएन । बहुमत केन्द्रीय सदस्यले बैठक बोलाउन आग्रह गर्नुभयो । तर केन्द्रीय समिति बैठक पनि बोलाउनुभएन । बैठक बोलाएर आफूमाथि लागेको आरोपको जवाफ दिन किन गाह्रो ?
अध्यक्ष रञ्जितालाई कारबाही गर्नुहुन्छ ?
पार्टीको बहुमत केन्द्रीय सदस्यको आग्रहलाई नमानेपछि पार्टी अनुशासन आयोग सक्रिय हुन्छ । पार्टी अनुशासन आयोगले यसबारे स्पष्ट गर्नेछ ।
पार्टी विधानअनुसार अघि बढेको अध्यक्ष रञ्जिताको दाबी छ नि ?
केन्द्रीय समिति र संसदीय दलको बहुमतको निर्णयलाई नमान्नुलाई कसरी विधानअनुसार भन्न मिल्छ ? केन्द्रीय समिति बैठक बोलाउने दायित्व अध्यक्षकै हो । तर चासो राख्नुभएन । हुन त रञ्जिता मेरी धर्मपत्नी हो । पार्टी एउटा कुरा हो, धर्मपत्नी अर्को कुरा हो । पार्टी निर्णय सबैले मान्नैपर्छ । पार्टी अध्यक्षलाई गम्भीर आरोप लागेपछि उन्मुक्ति पार्टीलाई गाली आएको छ । रञ्जिताले आफ्नो कुरा स्पष्ट गर्न नसक्दा नेता–कार्यकर्ताले अध्यक्षमाथि लागेको आरोपको प्रतिवाद गर्न सकेका छैनन् । उन्मुक्ति पार्टी रेशम चौधरी जेलनेल परेर बनेको हो । पश्चिम नेपालका थारूको त्याग, संघर्षबाट बनेको पार्टी हो । के आधारमा रञ्जिताले पार्टीलाई फेवातालको किनार (बास्तोलालाई कार्यवहाक अध्यक्ष) पुर्याउनुभयो ? जवाफ दिनुपर्छ ।
![The President cannot appoint a caretaker at will: Resham Chaudhary [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/resham-1032024031549-1332025023016-1000x0.gif&w=1001&h=0)