काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीले असार २१ मा सरकारलाई दिएको समर्थन फिर्ता लियो। तर उन्मुक्तिका सांसद अरुणकुमार चौधरी अहिले पनि सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री कायम छन्।
चौधरीले भने आफूले पाँच दिन अघि नै राजीनामा दिइसके पनि स्वीकृत नभएको बताएका छन्। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाइसकेको उनले बताए ।
उनको राजीनामा स्वीकृत नहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तय भइसकेको छैन । राज्यमन्त्री चौधरीले राजीनामा स्वीकृत नहुनुको कारण आफूलाई थाहा नभएको बताए । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको, तर चौधरी सरकारको राज्यमन्त्री भइरहेको अवस्थामा नागरिक उन्मुक्ति सत्तापक्ष कि प्रतिपक्ष भन्ने प्रश्नसमेत उठिरहेको छ।
यसबारे चौधरीसँग इकान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :
पार्टीले सरकारबाट हट्ने निर्णय गरे पनि तपाईँ राज्यमन्त्री रहिरहनुभयो नि ?
होइन । पार्टीको निर्णय अनुसार मैले पाँच दिन अघि नै राजीनामा दिइसकेको छु । मेरो राजीनामा प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छु। त्यसअघि प्रधानमन्त्रीसँग भेट भएको थियो। तर त्यस बेला उहाँले बुझ्नु भएन। अर्को दिन प्रधानमन्त्री कार्यालयमा बुझाएको हुँ । किन स्वीकृत भएन ? मलाई जानकारी छैन ।
उन्मुक्तिका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले त यसबारे अनभिज्ञता देखाउनु भएको छ नि ?
होइन । यो कुरा पार्टीका सबै नेतालाई थाहा छ। सुदूरपश्चिम सरकारबाट बाहिरिएपछि तुरुन्तै किन निर्णय गर्ने र ? भन्ने मेरो सुझाव थियो । संसदीय दलले दबाब दिएपछि मैले राजीनामा दिएको हो । यसमा कुनै द्विविधा छैन ।
पार्टी संरक्षक रेशम चौधरीले प्रधानमन्त्रीलाई भेटेपछि तपाईँको राजीनामा रोकियो भनिन्छ नि ?
मलाई त्यस्तो लाग्दैन । मैले राजीनामा दिइसकेँ । प्रधानमन्त्रीज्यूले किन स्वीकृत गर्नुभएन । मलाई थाहा छैन । मैले मन्त्रीको हैसियतले पाउने झन्डा र डन्डा छाडिसकेको छु ।
तपाईँ संसद्मा पनि देखिन छाड्नु भयो नि ?
म आफ्नै कामले गएको छैन । पार्टी निर्णय विपरीत राज्यमन्त्रीमा किन टाँसिइरहन्छु । राज्यमन्त्रीलाई एउटा पनि विभाग छैन । तपाईँलाई थाहा होला, मैले छ महिना अघि पनि राजीनामा दिएको थिएँ । त्यस बेला पार्टीले राजीनामा रोक्न भन्यो । अहिले राज्य मन्त्री भइरहेर भोट घटाउनु छ र ? मेरा आफ्नो कुरा केही छ । सुदूरपश्चिम सरकारबाट बाहिरिएपछि संघ सरकार छाड्ने निर्णय भयो । प्रदेशले संघ चलाउने हो कि संघले प्रदेश ? यो मेरो प्रश्न थियो । अब पार्टीले सरकारबाट हट्ने निर्णय गरिसकेकोले हुनाले मैले राजीनामा दिएँ । राज्यमन्त्री भएपछि मैले टीकापुर विमानस्थल चलाउने काम गरेँ । केही बजेट आयो । राम्रै काम भयो । अरू कुनै विभागको जिम्मा पाएको थिएन ।
तपाईँ अहिले पनि राज्यमन्त्रीको रूपमा रहनु भएको छ । पार्टीचाहिँ संसद्को विपक्षी बेन्चमा बसेको छ । यो मिलेन नि ?
आफ्नो केही कामले म संसद् गएको छैन । प्रधानमन्त्रीले राजीनामा स्वीकृत नगर्दा यस्तो भएको हो ।
उसो भए अब तपाईँ पूर्व पर्यटन राज्यमन्त्री भइसक्नु भयो ?
हो । पूर्व राज्यमन्त्री भन्दा हुन्छ । राजीनामा दिइसकेको व्यक्तिलाई विवादमा पार्नु राम्रो होइन ।
