‘विश्वासको मत लिनुपरे पनि गठबन्धनमा समस्या हुँदैन’

असार २३, २०८२

कान्तिपुर संवाददाता

”There is no problem in the coalition even if we have to take a vote of confidence.”

काठमाडौँ — अख्तियारले देखाएको सक्रियता, ५२ संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले दिएको फैसला र सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण कांग्रेस सभापति शेरबहादुर देउवा झस्किइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

नागरिक उन्मुक्ति पार्टीले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको हो । यसै सन्दर्भमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँगको कुराकानी :

नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था छ, कतिको ढुक्क हुनुहुन्छ ?

सत्ता साझेदार दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले विश्वासको मत लिनु बाध्यकारी छैन । सरकार बहुमतको अवस्थामा छ । कांग्रेस र एमालेबीच विश्वास बलियो छ । सरकारलाई कुनै संकट छैन ।

कांग्रेसभित्र सरकारप्रति रहेका केही आशंका र गुनासा सार्वजनिक भइरहेका छन् । यस्तो बेला विश्वासको मत लिनुपर्दा गठबन्धन तलमाथि हुने आशंका छ नि ?

होइन, दुई दलबीच कुनै समस्या छैन । विश्वासका आधारमा सरकार अघि बढेको छ । त्यही आधारमा गठबन्धन अघि जान्छ । विश्वासको मत लिनुपरे पनि समस्या हुँदैन ।

यसअघि जसपाले सरकारलाई समर्थन फिर्ता गरेको थियो । दलहरूले किन समर्थन फिर्ता लिइरहेका छन् ?

नागरिक उन्मुक्ति र जसपाले समर्थन फिर्ता लिनुपर्ने खास कारण देखेको छैन । यही गठबन्धनमा रहेको भए राम्रो हुन्थ्यो ।

कान्तिपुर

Link copied successfully