'हाम्रा नेता खराब छन् भन्ने सबैलाई थाहा छ तर पनि जोगाउने, नबुझेजस्तो गरिदिने जमात रहेछ'
काठमाडौँ — राजनीतिक दलका कार्यकर्तालाई कसैले गाली गर्नुपर्यो भने प्रयोग गर्ने शब्द हो ‘झोले ।’ केही साताअघि एमालेले झोले पोस्टर अभियान नै चलायो । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्च र प्लेटफर्मबाटै आफूलाई ‘झोले’ हुनुमा गर्व रहेको बताएका थिए ।
उनको दाबी थियो, ‘जनताका झोला बोकेर हिँड्न कति पनि अफ्ठ्यारो लाग्दैन ।’ उनले यो शब्दमाथि गर्व गरेपछि त एमालेका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालका भित्ताभरि आफू ‘झोले’ घोषणा गरे । तर यसको व्यापक आलोचना भयो ।
‘झोले’ अभियान सेलाउँदै जाँदा बिहीबार मात्र पशुपति शर्माले गीत सार्वजनिक गरे- ‘झोले त तैं, झोले त मै ।’ समसामयिक घटनालाई समेटेर गीतमार्फत खरो राजनीतिक व्यंग्य गर्ने गायक शर्माको यसपटकको गीत सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो गीतले पुराना-नयाँ पार्टीका नेता-कार्यकर्तालाई समेत व्यंग्य गर्न छाडेको छैन ।
नेताको गुनगान गाउने नि तैं
तिनैको पछि लाउने नै तैं
भ्रष्टलाई देउता मान्ने नै तैं
र्यालीमा ढुंगा हान्ने नै तैं
केपी नि सही, देउवा नि सही
प्रचण्ड सही, रवि नि सही
खराब तैं, खराब त मैं
हुन त शर्माले करिब ६ वर्षअघि ‘लुट्न सके लुट’ गीत ल्याउँदा थ्रेट समेत बेहोर्नुपरेको थियो । युवासंघका कार्यकर्ताहरूले धम्की दिएपछि गीतलाई युट्युबमा प्राइभेट नै गर्नुपर्यो । यसपालि पनि दलका कार्यकर्ताबाट धम्की त आउने होइन ? ‘मलाई त्यस्तो डर त लागेको छैन,' पशुपति भन्छन्, 'सोचेरै गीत बनाएको हुन्छु । आफ्नो सिर्जनालाई सबैले राम्रै मान्नुहुन्छ भन्ने पनि छैन । कुनै नेताको नाम लिँदा हाम्रो नेताको नाम किन लिएको भनेको पनि सुन्छु ।’
‘झोले’ अभियानलगत्तै यो गीत आउँदा कतिपयले एमालेमाथिको व्यंग्य हो कि पनि ठानिरहेका छन् । तर पशुपति भन्छन्, ‘यो गीत त मैले दुई महिनाअघि नै लेखेको थिएँ । अहिले संयोग जस्तो भयो ।’ राजनीतिक व्यंग्य र सामाजका गलत प्रवृत्तिमाथिका उनका गीत बढी चर्चित हुन्छन् । शर्मालाई यस्ता गीतहरू सिर्जना गर्न केले प्रेरित गर्छन् ? किन राजनीतिक प्रवृत्तिमाथि उनको प्रहार तिखो हुन्छ ? ई–कान्तिपुरका लागि समर्पण श्रीले उनीसँग गरेको कुराकानी :
गीतको प्रतिक्रिया कस्तो आइरहेको छ ?
सबैले राम्रो भन्नुभएको छ । धेरै खर्च गरेर भिडियो बनाएको पनि छैन । अहिले झन्डै ७ लाखले हेरिसक्नुभएको छ । धेरैले सेयर पनि गर्नुभएको छ । समसामयिक विषय उजागर गर्नुभएको भन्ने प्रतिक्रिया आइरहेको छ ।
पछिल्लो समय झोले भन्ने शब्द निकै चल्तीमा छ । प्रधानमन्त्रीले नै ‘झोले’ अभियान सुरुवात गरे । विवादित पनि भयो । त्यही माहोललाई तपाईंले पकड्न खोज्नुभएको हो ?
होइन । मैले यो गीत पहिल्यै बनाएको थिएँ । समयको व्यस्तताका कारण रेकर्ड गर्न पाएको थिइनँ । दुई महिनापहिले नै गर्न खोजेको थिएँ । म विदेशका कार्यक्रममा हिँडेँ । नेपाल आउन ढिला भयो । अहिले यो ‘झोले’ अभियान चलेपछि बनाएको चाहिँ हैन ।
उसो भए संयोग मात्रै मिलेको ?
संयोग पनि मिल्यो राम्रो पनि भयो । हामी कलाकारका सिर्जनाले सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्छ । समाजमा भएका घटनालाई जस्ताको तस्तै पनि सम्प्रेषण गर्नुपर्छ भन्ने थियो । त्यसकारण मैले नेतालाई मात्र व्यंग्य गरेको छैन । कर्मचारीलाई पनि व्यंग्य गरेको छु । कलाकारलाई पनि गरेको छु । युट्युबरलाई पनि गरेको छु । लगभग सबै पक्षलाई व्यंग्य गर्ने प्रयास छ ।
गीतमा ‘झोले’ नै राख्नुको कारण के हो त ?
झोले नै हाल्छु भन्ने सोचिरहेको थिएँ । भेडा तैं वा भेडा मैं र अर्को शब्द नि राख्ने कोसिस गरिरहेको थिएँ । अप्सनमा राखेको थिएँ । कहाँ के भन्ने भनेर ।
‘लुट्न सके लुट कान्छा’ गाउँदा राजनीतिक सर्कलमा ठूलो तरंग आएको थियो । थ्रेट पनि आयो नि । त्यसले कति गाह्रो बनायो तपाईंलाई ?
त्यो शब्द नराखेको भए हुन्थ्यो, गीत बन्द गर्नुपर्छ भन्नुभयो । त्यसपछि मैले गीत प्राइभेटमा राखेको हो । खासमा त्यो गीतले पनि निकै राम्रो सन्देश दिन खोजिरहेको थियो । हामीले कुरा त बुझ्छौँ तर नबुझे जस्तो गर्दा रहेछौं । हाम्रो नेता खराब छन् भन्ने सबैलाई थाहा छ । तर थाहा हुँदाहुँदै पनि जोगाउने, नबुझेजस्तो गरिदिने जमात रहेछ । त्यो गीतले पनि बडो राम्रो सन्देश सम्प्रेषण गरेको थियो । ठूलो व्यंग्य थियो । तर बुझीबुझी पनि नबुझे जस्तो गरेर केही साथीहरूले विरोध गर्नुभयो । अनि मैले प्राइभेटमा राखेँ ।
तपाईंका गीतमा समसामयिकतासँग जोड्न राजनीतिक व्यंग्य गरिएको हुन्छ । यी गीत लेख्न, गाउन वा कथावस्तु तयार पार्न के कुराले प्रेरित गर्छन् ?
म प्राय: समाचार हेर्छु । देशमा केके कुरा भइरहेका छन्, बुझिरहेको हुन्छु । हेर्दाहेर्दै दिमागमा आउँछ । यस्तो गीत निकाल्नुपर्छ कि क्या हो ! यस्तो गीत चल्छ कि क्या हो ! यसो गर्दा राम्रो सन्देश दिन्थ्यो होला भन्ने लागिरहन्छ । म गहिरिएर सोच्छु । कहिले गाडीमा हिँडिरहँदा, प्लेनमा उडिरहँदा सोच्छु । कति शब्दहरू त म बाटोमा हिँड्दै गाइरहेको हुन्छु ।
तर तपाईंले कति कुरा सिधै भन्नुहुन्छ । त्यसलाई अझै कलात्मक तरिकाले पनि भन्न सकिन्छ होला नि ?
मैले सिधै भनेको छैन । घुमाएर भनेको छु । झोले त म हुँ भनेको छु । हामी खराब हौँ भनेको छु । अरुलाई गाली गर्छौँ तर आफू खराब छौँ भनेको छु । हामीले राम्रो काम गर्नेहरूलाई सहयोग गर्नुपर्यो । माया गर्नुपर्यो । नराम्रो काम गर्दागर्दै पनि ठीक छ भन्ने हाम्रो जमात छ । नराम्रो भइरहेको छ भन्ने थाहा पाईपाई कसरी सही भन्न सकिन्छ र !
तपाईंलाई राजनीतिमा कतिको चासो छ ?
पहिला पहिला त मलाई पनि राजनीति गर्नुपर्छ जस्तो लाग्थ्यो । तर अहिले चासो राख्दिनँ । पछि बुझ्दै जाँदा यो एकदम फोहोरी खेल रहेछ । यहाँ छिर्नु भन्दा नछिर्नु नै राम्रो । कहाँ के भइरहेको छ, गतिविधिमाथि चासो त राख्छु । तर मेले गर्नुपर्छ भन्नेचाहिँ लाग्दैन । हामीले ज–जसलाई अभिभावक बनाएर सत्तामा पुर्याएका छौँ उहाँहरूले आफ्नो अभिभावकत्व पूरा गर्नुभएन भन्नेचाहिँ लाग्छ । मलाई सबै पार्टीका शीर्ष नेता अनि पार्टी मात्र होइन, निजामती सेवातर्फका माथिल्लो पदमा बस्ने कर्मचारीले पनि अभिभावकको भूमिका निर्वाह गर्न सक्नुभएन ।
नेपालका राजनीतिक घटनाक्रम र नेताहरूले गतिविधिले तपाईंलाई चिन्तित बनाएको हो ?
चिन्ता लाग्छ । हामी कार्यक्रमको सिलसिलामा कति देश घुम्छौँ । ती देश कति सिस्टममा चलेका छन् । कस्तो देश कस्तो भइसके । प्राकृतिक रुपमा हाम्रो देश यति राम्रो छ । बनेको घरलाई सिँगार्यो भने मात्र पनि हाम्रो देश बन्छ । प्राकृतिक हिसाबले हेर्ने हो भने हाम्रो देश धेरै राम्रो छ । देशलाई राम्रो बनाउन, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन हामीले सिँगारे मात्र पुग्छ । तर यति पनि बनाउन सकेका छैनन् । आफूआफू झगडा गरेर, आफूआफू लडेर सकिन्छन् । लिडर बनाएर पठायो, उनीहरूलाई देशको चिन्ता छैन । झगडा गर्ने, स्वार्थ पूरा हुन्छ भने मिलिहाल्ने देखियो । त्यो खालको परिस्थिति भयो । देशको चिन्ता लिएर देशलाई बनाउँछु भन्दाभन्दै बिगारिसके ।
तपाईंलाई राजनीतिक व्यंग्यका गीत निर्माण गरिरहँदा डर कति लाग्छ ? अघिल्लो पटकको थ्रेटझैं यसपालि पनि आउँछ कि भन्ने लागेन ?
मलाई त्यस्तो डर त लागेन । सोचेरै बनाएको हुन्छु । आफ्नो सिर्जनालाई सबैले राम्रै मान्नुहुन्छ भन्ने पनि छैन । हुन त कुनै नेताको नाम लिँदा हाम्रो नेताको नाम किन लिएको भनेको पनि सुन्छु । सबैले सकारात्मक रुपमा ग्रहण गर्नुहुन्छ भन्ने पनि छैन । केही इस्यु हुन सक्छ । तर गीतको सन्देश के हो भन्ने कुरा पहिल्यै थाहा हुन्छ आफूलाई । डरैचाहिँ लाग्दैन ।
![Those whom we brought to power, they did not fulfill their guardianship: Pashupati Sharma [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/pashupattii-2162025093600-1000x0.jpg&w=1001&h=0)