'अहिले नै पूर्वराष्ट्रपति भण्डारी नेतृत्वमा आउने चर्चा असान्दर्भिक'

असार ५, २०८२

कान्तिपुर संवाददाता

'Discussions about former President Bhandari's leadership are irrelevant'

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाएपछि यसबारे अनेक बहस सुरु भएको छ । कतिपयले उनको सक्रियतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीको रुपमा अर्थ्याएका छन् भने कतिपयले वाम एकताको अभ्यासको नयाँ प्रस्थान विन्दुका रुपमा । यसै सन्दर्भमा एमाले वरिष्ठ उपाध्यक्ष प्रदीप ज्ञवालीसँग कान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :

एमालेमा ७० वर्षे उमेर हद हुनुपर्ने/नपर्नेबारे बहसको अर्न्त्य के हो ?

यो विषयमा आाउने विधान महाधिवेशनमा छलफल गर्छौं । यो प्राविधिक विषय हो । सैद्धान्तिक होइन । नेतृत्व कस्तो हुने भन्ने विषय आन्दोलनले निर्माण गर्ने कुरा हो । यो त्यतिबेला एउटा अवस्थामा यो लागू भयो । तर पार्टी एकतामा आउने साथीहरुका लागि ड्रप भयो र अहिलेसम्म पनि कस्तो नेतृत्व बनाउने कुरा विधान महाधिवेशनले निर्धारण गर्ने कुरा हो ।

भदौमा हुने विधान महाधिवेशनमा उमेर हदलगायत विषयमा बहस हुने भएकाले त्यो मितिसम्म पर्खनु उपयुक्त हुन्छ । अहिले पक्ष वा विपक्षमा छलफल हुनुपर्ने बेला होइन । फेरि पनि आन्दोलनको आवश्यकताले नेतृत्व निर्माण गर्ने मुख्य प्रश्न हो । अरु विषय प्राविधिक हुन् भन्ने लाग्छ । अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै ७४ मा लाग्दै छु तर पनि पार्टीको नेतृत्व उमेरभन्दा विचार, राजनीति र आन्दोलनले गर्ने अर्थमा भन्नुभएको हो । ७० वर्षे उमेर हलको व्यवस्था सैद्धान्तिक प्रश्न होइन । यतिबेला पार्टीमा बहस गर्न जरुरी हुँदैन । आन्दोलनको आवश्यकता के हो भन्ने कुराले अरु विषय तर्जुमा गर्ने कुरा हो । ७० वर्षकाथिकाले नेतृत्व गर्न सक्दैन, त्योभन्दा तलका उमेरले नेतृत्व गर्न सक्छ भन्नु गलत हुन्छ । किनकि नेतृत्व विचार, राजनीति र आन्दोलनको आधारमा निर्माण हुन्छ ।

अध्यक्ष ओलीले दुई कार्यकाल नेतृत्व गरिसकेको सन्दर्भमा कतिपय नेताहरुले अब रिटायर्ड हुनुपर्छ भनिरहेका छन् नि ?

नेतृत्वमा दुई कार्यकालको प्रावधान विधानमा व्यवस्था छैन । केही नेताले चर्चा गरिरहनुभएको छ । विधान अधिवेशनमा छलफल गर्‍यौं । तर ७० वर्षे उमेर हद पारित भयो । दुई कार्यकाल मात्र नेतृत्वमा रहने विधानमा व्यवस्था छैन ।

पूर्वराष्ट्रपति भण्डारी पार्टी नेतृत्वमा आउन खोजेको देखिन्छ नि ?

अहिले नै केही साथीहरुबाट यो चर्चा गरेको सुनिन्छ । यो चर्चा असान्दर्भिक छ । महाधिवेशनको मिति तोकिएको छैन । को नेतृत्वमा आउने/नआउने आगामी महाधिवेशनमा बहस हुने होला । अहिले नै को नेतृत्वमा आउने, को नआउने बहसले आन्दोलनमा भ्रम सिर्जना गर्छ । एकाग्र भएर सरकार र पार्टीको मिसनमा लाग्ने बेला अहिले नेतृत्वको कुरा गरेर भ्रम सिर्जना गर्नु हुँदैन । यसमा साथीहरुका बुझाइ र चासो होलान् । यसले राम्रो भएको छैन । उपयुक्त समयमा बहस गर्ने कुराले पार्टीलाई राम्रो गर्छ । नेतृत्वको बहस गर्नु आगामी महाविधेशन कुर्नुपर्ने हुन्छ । 

कान्तिपुर

Link copied successfully