'पूर्वराष्ट्रपतिले एमालेको राजनीतिप्रति रुचि राख्नु अस्वाभाविक होइन'

असार ५, २०८२

कान्तिपुर संवाददाता

'It is not unusual for the former president to be interested in UML politics'

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाएपछि यसबारे अनेक बहस सुरु भएको छ । कतिपयले उनको सक्रियतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीको रुपमा अर्थ्याएका छन् भने कतिपयले वाम एकताको अभ्यासको नयाँ प्रस्थान विन्दुका रुपमा । यसै सन्दर्भमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग कान्तिपुरका गंगा बीसीले गरेको संक्षिप्त कुराकानी :

एमाले पार्टीमा ७० वर्ष उमेर हद फेरि ब्युँताउन खोजेको हो ?

हाम्रो पार्टीले ७० वर्ष उमेर हदलाई हालका लागि स्थगन गरेको हो । दसौं महाधिवेशन र विधान महाधिवेशनमा पास भएको विधानमा उमेर हदको कुरा स्पष्ट रूपमा किटान गरिएको छ, तर व्यावहारिक ढंगले केही समाजवादीबाट आउने साथीहरूको हकमा तत्काल अप्ठ्यारो नहोस् भनेर तत्काल स्थगन गरिएको हो । विधानको प्रावधान के हो भने भने स्थगन गरिएको कुरा पनि विधान महाधिवेशनमा अनुमोदनको लागि प्रस्तुत गर्नुपर्छ । यदि अनुमोदन भयो भने स्थगन लागू हुन्छ, नभए पहिलेकै व्यवस्था लागू हुँदैन । यसको वैधानिक व्याख्या यो हो ।

सातौं महाधिवेशनमा अध्यक्ष केपी ओलीले यो सोच ल्याउनु भएको थियो, तर त्यो बेला स्वीकार भएन । त्यसपछि एउटा कार्यदल बनाइयो, जसमा म पनि थिएँ । त्यो कार्यदलले दिएको प्रतिवेदनका आधारमा आठौं महाधिवेशनमा पार्टी जीवनको लोकतान्त्रीकरण भनेर बहुपदीय संरचना, दुई कार्यकालको सीमा र उमेर हदको कुरा पनि आयो । पार्टी जीवनको लोकतान्त्रीकरणमा अगुवाइ गर्ने नेता हाम्रो अध्यक्ष नै हो । दसौं महाधिवशेनले पारित गरेको विधानमा अहिले पनि उमेर हदको कुरा उल्लेख छ ।

तपाईंको विचारमा उमेर र कार्यकाल सीमाबारे के धारणा छ ?

सामान्य अवस्थामा कार्यकारी पदमा दुई पटकभन्दा बेसी रहने व्यवस्था हुनु हुँदैन । कतिपय अवस्थमा विशेष अवस्था आइलाग्ला, त्यो अलग कुरा हो । तर सामान्य अवस्थामा दुई पटकभन्दा बेसी एउटै पदमा रहिरहँदा धेरैखालका समस्या हुन सक्छन् । पार्टी जीवनको लोकतान्त्रीकरणको अभियानमा यो प्रसंग पनि जोडिएको थियो ।

अध्यक्ष केपी ओलीले फेरि तेस्रो कार्यकालका लागि चाहना राख्नुभएको होइन ?

पार्टीको आवश्यकता र विषेश आवश्यकता हुँदाखेरि त नहुने कुरै भएन । आवश्यकता हो कि होइन, विधान महाधिवेशनले छलफल गर्छ । देश र पार्टीको आवश्यकता के हो ? त्यो निर्णय महाधिवेशनका प्रतिनिधिहरूले छलफल गरेर टुंगो गर्ने कुरा हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन लाग्नुभएको भन्ने चर्चाले एमालेमा हलचल छ नि ?

मैले सुनेअनुसार उहाँले पार्टीको सदस्यता नवीकरण गर्नुभएको छ । पार्टीभित्र फर्कनुहुन्छ भने त्यो उहाँको व्यक्तिगत निर्णय हो । जे भए पनि पार्टीभित्र सबै कुरा सल्लाह र परामर्शबाटै हुने हो । पूर्वराष्ट्रपतिको राजनीतिमा आउने औपचारिक रुपमा भन्नुभएको छैन । उहाँले पहिले नै सदस्यता नवीकरण गरेको भनिसकेपछि अब के गर्नुहुन्छ ? उहाँको कुरा हो । पार्टी अध्यक्षले भन्नुभएको छ– परामर्श र सहमतिको आधारमा हुन्छ । कित्ताबन्दी गरिरहन पर्दैन । पार्टीभित्र सल्लाह, परामर्शबाट हुन्छ ।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आउनु उपयुक्त हो ?मैले उहाँको अन्तर्वार्ता हरेको थिएँ । उहाँ यही पार्टीमा हुर्किनुभयो । यही पार्टीले उहाँलाई बनायो । अहिले म यो पार्टीबाट कसरी अलग हुन सक्छु भन्नुभएको छ । यो मलाई अनुचित लागेको होइन । उहाँलाई पार्टीले राष्ट्रपतिसम्म बनाएको पार्टी हो नि । उहाँले एमालेको राजनीतिप्रति रुचि राख्नु के अस्वाभाविक कुरा हो र ? 

कान्तिपुर

Link copied successfully