फर्किन चाहनेहरू सम्पर्कमा आए योजना बनाउँछौं : राजदूत धनप्रसाद पण्डित [अन्तर्वार्ता]

असार ३, २०८२

कान्तिपुर संवाददाता

Those who want to return will contact us and we will make a plan: Ambassador Dhanprasad Pandit [Interview]

काठमाडौँ — इजरायलमा ५ देखि ७ हजार नेपाली रहेको अनुमान छ । इजरायल–इरान युद्ध चर्किर्एसँगै त्यहाँ रहेका नेपालीहरूको स्थिति सुरक्षा र उद्धारलगायतका विषयमा इजरायलको तेल अवीवमा रहेका नेपाली राजदूत धनप्रसाद पण्डितसँगको कुराकानी : 

इजरायल–इरान युद्ध छेडिएको छ । तपाईं तेलअविवमा हुनुहुन्छ । त्यहाँको स्थिति के छ ?

स्थिति राम्रो छैन । लगातार क्षेप्यास्त्र खसिरहेको छ । बंकरभित्र बसिरहेका थियौं । हाम्रै निवास भत्किए जस्तो भयो । जबकि ६–७ किलोमिटर टाढा खसेको रहेछ ।

यहाँ आएको ६ महिना भयो । जीवनमा पहिलोचोटि युद्धको सामना गर्दै छु । मानिसहरूमा डर छ । स्कुल/बजार बन्द छन् । विमानस्थल बन्द छ । सडक सुनसान छ । पानीजहाज पनि चल्दैन । समुद्र किनार लाखौं मानिस हुन्थे । अहिले कोही हुँदैन ।

अहिलेको दिनचर्या भनेको ८–१० चोटि बंकरभित्र छिर्ने र निस्कने भइरहेको छ । खतराको पहिलो संकेत मोबाइलबाट आउँछ । एकैसाथ सबैका मोबाइल बज्न थालेपछि इजरायलको सिमानाभित्र कुनै क्षेप्यास्त्र आयो भने बुझ्नुपर्छ । लगत्तै एम्बुलेन्सको आवाज भन्दा ठूलो साइरन बज्छ । साइरन बजेको ९० सेकेन्डभित्र बंकरभित्र पुगिसक्नुपर्छ । जो जहाँ छ, त्यहीँ उसले सुरक्षा प्रोटोकलको पालना गर्दै बंकरभित्र पुग्नुपर्छ ।

बहुतले आधुनिक घरहरूमा हरेक तलामा बंकर बनाइएको छ । आपत्कालमा सुरक्षित रहन विशेष प्रविधिको प्रयोगले बलियो बंकरहरू बनाइएको छ । हाम्रो दूतावास १४ औं तलामा छ । त्यही तलामा ३०/४० जना अट्ने बंकर छ । म बस्ने निवासमा सानो बंकर छ । बंकरबिनाको यहाँ घर छैन ।

हरेक घर, रेस्टुरेन्ट, अफिस वा होटल सबैतिर बंकर छ । सडकमा रहेका मानिस नजिकको घर वा रेस्टुरेन्टको बंकरमा जान पाउँछन् । केही छैन भने सडकमा टाउको जोगाएर बस्नुपर्ने सुरक्षा प्रोटोकल छ । इजरायलको आइरन ड्रोनले आफ्नो सीमामा आएका क्षेप्यास्त्रहरूलाई नष्ट गर्दै आएको थियो । नष्ट नभएका क्षेप्यास्त्रहरूले क्षति पुर्‍याउने गरेका छन् ।

इजरायलमा कति नेपाली छन् ? उनीहरूको सुरक्षा अवस्था के छ ?

दूतावासमा एक जना स्थानीयसहित आठ जना छौं । अरू नेपालीहरूको यकिन तथ्यांक छैन । ५ देखि ७ हजार नेपाली रहेको अनुमान छ । सरकार–सरकारबीच सहमति भएर रोजगारीका लागि आएकाको संख्या २ हजार छ । पहिला इजरायलमा बसेका र यहाँ तालिम लिएर नेपाल पुगेर पुनः फर्किएर आएर काम गरिरहेकाको संख्या ३ सय ५० छ । उनीहरू कृषि क्षेत्रमा कार्यरत छन् । त्यस्तै १५ जना विभिन्न कलेजमा अध्ययनरत छन् । १९–२० वर्षदेखि बस्दै आएकाहरू प्नि छन् । कोही कोही घरजम गरेर बसेका पनि छन् । त्यस्तो संख्या पनि ५/७ सय रहेको अनुमान छ । यहाँ रहेका नेपालीहरूमध्ये अधिकांश केयरकिभरको काम गर्छन् ।

उनीहरूको सुरक्षा स्थिति के छ ?

अहिलेसम्म सबै सुरक्षित नै छन् । तर, सबै त्रसित छन् । नयाँ आएका मानिसहरू बढी डराएका छन् । पुरानाहरूले पनि यस पटक तनाव बढी भएको भनेका छन् । दूतावासले सुरक्षा प्रोटोकल पालना गर्न भनेको छ । सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपास रहन भनिरहेका छौं । नेपालीहरूका लागि २४ सै घण्टा हटलाइन फोनको व्यवस्था गरिएको छ ।

नेपाल फर्किन चाहने र उद्धार माग्ने नेपालीहरू कति सम्पर्कमा आएका छन् ?

नेपाली समुदायको १८ वटा संस्था छन् । ती सबैसँग निरन्तर सम्पर्कमा छौं । अहिलेसम्म कतैबाट उद्धारको माग भएको छैन । यहाँको सरकारकै निमन्त्रणामा विराटनगर महानगरका प्रमुख नागेश कोइराला आउनुभएको रहेछ । एयरपोर्ट बन्द भएकाले आज (मंगलबार) नै उहाँलाई जोर्डन हुँदै नेपाल पठाउने व्यवस्था मिलाइएको छ । १९ जना भारतीयसँगै उहाँलाई पनि जोर्डन पठाइएको छ । त्यसका लागि यहाँको विदेश मन्त्रालयले समन्वय गरेको थियो । भोलि बेलुका त्यहाँबाट कुवेत हुँदै मुम्बई र त्यहाँबाट नेपाल पुग्नुहुनेछ । इजरायलको परराष्ट्र मन्त्रालयले जोर्डनको बोर्डरसम्म पुर्‍याएको छ । अन्य एक जना यहाँ फेलोसिपमा आएका चिकित्सकले उद्धारको व्यवस्थाबारे इमेलमा सोधेका रहेछन् । उनीसँग सम्पर्क स्थापित भएपछि आवश्यक सहजीकरण गरिनेछ ।

त्यहाँको सरकार र परराष्ट्र मन्त्रालयसँग कतिको सम्पर्क समन्वय छ ?

दुई दिनअगाडि मात्र यहाँका विदेशमन्त्रीले सबै राजदूतहरूसँग बैठक गर्नुभएको थियो । एयरपोर्ट खुल्ने कुरा अहिले अनिश्चित रहेको भन्नुभएको थियो । आपत्कालीन अवस्थामा इजिप्ट वा जोर्डनको बाटोबाट बाहिरिन सक्ने जानकारी दिनुभएको छ ।

स्थलमार्गबाट बाहिरिन सहज छ र ?

सजिलो छैन । पहिले जोर्डन वा इजिप्ट छिर्नुपर्छ । अनलाइन भिसा खुलिरहेको छैन । भिसा अप्लाई र त्यसको अनुमति पाउन समय लाग्न सक्छ । स्थलमार्ग पनि एकछिनलाई मात्रै खोलिँदो रहेछ । जोर्डनको सिमानासम्म पुग्न साढे २ घण्टा र त्यहाँबाट जोर्डनको राजधानी पुग्न साढे ३ घण्टा लाग्ने रहेछ । बाहिरिनेहरूको चाप सीमा क्षेत्रमा बढेकाले पनि समय लाग्ने रहेछ ।

लडाइँ थप लम्बिँदै गएको अवस्थामा त नेपालीहरूको उद्धार नै गर्नुपर्ला नि ? त्यो स्थितिका लागि तयारी कस्तो छ ?

नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग लगातार सम्पर्कमा छौं । यहाँको स्थितिलाई नजिकबाट हेरिरहेका छौं । नेपाली समुदायसँग पनि सम्पर्कमै छौं । उद्धार कार्यमा दूतावासले सहजीकरण गर्छ । यहाँ सबै जना नेपालीहरू काम गरेर बस्नुभएको छ । आवश्यकताअनुसार बसमा जोर्डनको बोर्डरसम्म पठाउन सकिन्छ । फर्कन चाहनेहरूलाई सम्पर्कमा आउन परराष्ट्र मन्त्रालयले सूचनासमेत जारी गरेको छ । फर्किन चाहनेहरू सम्पर्कमा आएको खण्डमा उनीहरूको संख्या हेरी आवश्यक योजना बनाउनेछौं । यहाँ काम गरिरहेकाहरू व्यक्तिगत रूपमै हवाई टिकट काट्न सक्षम छन् । उनीहरूलाई जोर्डनको बोर्डर वा एयरपोर्टसम्मै पुर्‍याउन सहजीकरण गर्न सक्छौं । भिसा र एयरपोर्टसम्म पुर्‍याउन हरसम्भव प्रयास गर्छौं । इजरायलमा भारतीय, फिलिफिन्स, श्रीलंका र थाइल्यान्डका कामदार धेरै छन् । ती देशका दूतावासहरूसँग सम्पर्कमा छौं । उद्धार गर्नुपर्ने अवस्थामा उनीहरूसँग पनि सहयोग माग्छौं । उद्धारका लागि आवश्यक सबै कदम चाल्नेछौं ।

कान्तिपुर संवाददाता

Link copied successfully