काठमाडौँ — चितवन राष्ट्रिय निकुञ्जभित्र स्थापना भएको टाइगर टप्स जंगल सफारी लज यतिबेला सुनसान छ । यो लज सन् १९६४ मा स्थापना भएको थियो, जति बेला चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएकै थिएन । खासमा क्यानडाका जोन कोपम्यानको कल्पनामा टाइगर टप्सको स्वरूप केन्या र तान्जानियामा पहिल्यै निर्माण भएका सफारी–पार्क र लजहरूकै जस्तो थियो ।
‘जंगली जनावरको सुरक्षामा ठूलो असर परेको’ सर्वोच्च अदालतको निष्कर्षपछि २०६९ सालमा टाइगर टप्स बन्द गरियो । त्यसबेला सर्वोच्चको आदेशमा निकुञ्जभित्रका ७ वटा लज बन्द भएका थिए । टाइगर टप्सको इतिहास, स्वर्णिम दिन र अहिलेको अवस्थाबारे प्रबन्ध निर्देशक ज्याक एड्वर्डसँग कान्तिपुरका दीपक सापकोटाले गरेको कुराकानी :
टाइगर टप्सले चितवन निकुञ्जभित्र कसरी स्थान पायो ?
टाइगर टप्स जंगल लज सन् १९६४ मा स्थापना भएको थियो, जसमा दुई अमेरिकी सिकारीले पर्यटन उद्योगमा नेपालको पहिलो विदेशी लगानी कम्पनीहरूमध्ये एकका रूपमा स्थापना गरेका थिए । राष्ट्रिय निकुञ्ज बन्नुभन्दा धेरै अघि यो होटल चितवनको जंगलमा निर्माण गरिएको थियो ।
मेरा बुबा जिम एडवर्ड, जो पहिलो पटक सन् १९६२ मा नेपाल आएका थिए । उनले १९७१ मा अमेरिकीबाट कम्पनी खरिद गरेका थिए । कम्पनीमा खराब व्यवस्थापन थियो, जसले गर्दा घाटामा देखिन्थ्यो । मेरा बुबाले जनावरहरूको सिकार गर्नु उचित देखेनन् तत्पश्चात् वन्यजन्तु अवलोकनमा मात्रै ध्यान केन्द्रित गर्ने निर्णय गरे । टाइगर टप्सले १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापनाकालमा ठूलो संलग्नता देखाएको थियो र सरकारलाई संरक्षणमा केन्द्रित रहने पर्यटन अभ्यासका नीति बनाउन पनि मद्दत गर्यो ।
सरकारले महसुस गर्यो कि पर्यटन प्रवर्द्धन हुनुमा राष्ट्रिय निकुञ्जको सही व्यवस्थापन हो, आम्दानी र प्रवर्द्धनको महत्त्वपूर्ण हिस्सा हो । थुप्रै अफ्रिकी देशले धनी पर्यटक आकर्षित गर्न ‘लिज मोडेल’ अपनाएका थिए जबकि जनावरलाई बाधा नपुगोस् भनेर पार्कमा प्रवेश गर्ने मानिसको संख्या सीमित गरिएको थियो । ‘लिज मोडेल’ निकुञ्जका जंगलभित्र थोरै संख्यामा होटल निर्माण गर्न र निजी सफारी सञ्चालन गर्न सकिने भन्ने हो । यो मोडेल अफ्रिकामा धेरै सफल भएको पाइन्छ ।
मेरो बुबाले नेपालका लागि यो नीति अपनाउन सरकारलाई मनाए । सरकारले मेरो बुबाको कुरा सुन्यो र विश्वस्त भयो । अन्तत : टाइगर टप्सलाई राष्ट्रिय निकुञ्जभित्र सञ्चालन जारी राख्न अनुमति दियो, जस अर्थमा नेपाल एसियामै यो अवधारणा अपनाउने पहिलो देश बन्यो । भारत, थाइल्यान्ड र अन्य लोकप्रिय पर्यटनको गन्तव्य मानिएका देशभन्दा अगाडि बढ्यो नेपाल । ४० वर्षसम्म नेपालमा यो सफल मोडेल बन्न पुग्यो । सन् २०१२ मा टाइगर टप्स बन्द भयो ।
वन्यजन्तु संरक्षणमा टाइगर टप्सको भूमिका के छ ?
कसैले तर्क गर्न सक्छन्, टाइगर टप्सले वन्यजन्तु संरक्षणमा केन्द्रित दिगो पर्यटनको अवधारणा स्थापित गर्ने एक अग्रणी भूमिका निर्वाह गर्यो । सन् १९७१ तिर नेपालमा कसैले पनि पर्यटन उद्योग र वातावरण संरक्षणबारे सोचिरहेका थिएनन् । मेरो बुबा र उनका व्यापारिक साझेदार चक म्याकडुगलले पाहुनाहरूलाई सफारीमा लैजाँदा जंगलको संरक्षणमा ध्यान केन्द्रित गर्ने निर्णय गरे । उनीहरूले कोठाको संख्या सीमित गरे, जसमा फोहोर व्यवस्थापनमा ध्यान केन्द्रित थियो ।
चितवनका जनावर जोगाउन धेरै अनुसन्धान र संरक्षण परियोजना सुरु गरे । टाइगर टप्सले १९७४ मा पहिलो दीर्घकालीन बाघ अनुगमन परियोजना सुरु गरेको थियो, जुन आफैंमा गर्वको विषय हो । त्यो पहल आज पनि चलिरहेकै छ । टाइगर टप्सले पहिलो घडियाल प्रजनन परियोजना स्थापना गर्न र गैंडा संरक्षणका लागि घाँसे मैदान व्यवस्थापन गर्ने प्रयास गर्यो । चोरी–सिकारीविरोधी पुरस्कार योजना र सिकार रोक्न गुप्तचर योजना सुरु गर्न थालियो । टाइगर टप्सले राष्ट्रिय निकुञ्ज विभागसँगै स्मिथसोनियन इन्स्टिच्युट, डब्लूडब्लूई, जेढएसललगायत अन्य अग्रणी संरक्षण संस्थासँग हातेमालो गरेर काम गर्यो ।
त्यसै समयदेखि टाइगर टप्सले वातावरणीय व्यवस्थापन, सफारी सञ्चालन, फोहोर व्यवस्थापन, आदिसम्बन्धी नीतिहरू लेखेको छ । अन्तर्राष्ट्रिय सरकारलाई पर्यटनको संरक्षणका लागि उत्कृष्ट अभ्यास थालनी गर्न सल्लाह दिएको छ । टाइगर टप्सले ३ सय न्दा बढी मानिसलाई रोजगारी प्रदान गरेर समुदायलाई मद्दत गरेको थियो । यसअन्तर्गतका कम्पनीहरूमा १ हजारभन्दा बढी मानिस रोजगार थिए ।
प्रायः कर्मचारी मेघौली, माडी र अमलटारी नजिकैका गरिब गाउँबाट आएका थिए । हामीले गाउँहरूमा इनार, कुवा निर्माण जस्ता पूर्वाधारमा पनि लगानी गरेका थियौं । अमलटारीमा एउटा परोपकारी विद्यालय सुरु गर्यौं, जुन आज पनि चलिरहेकै छ । टाइगर टप्सले चितवनमा सुरु गरेको पर्यटन उद्योगकै कारण आज यी गाउँहरू समृद्ध छन् ।
टाइगर टप्सलाई निकुञ्जबाहिर निकाल्ने सरकारको निर्णयलाई कसरी लिनुहुन्छ ?
२०१२ मा सरकारले नेपालमा ‘लिज मोडेल’ बन्द गर्ने निर्णय गर्यो । बन्द भएपछि टिकट काट्ने मोडेल अपनाएको छ, जसमा आगन्तुकको संख्यामा कुनै प्रतिबन्ध छैन । प्रत्येक पर्यटकले धेरै/थोरै रकम तिर्ने गर्छन् । चितवनमा अहिले धेरै सवारी साधन छन्, प्रायः जनावर वरिपरि नै भीड हुन्छ ।
पार्कभित्र फोहोर फ्याँकिन्छ । पार्कभित्र को प्रवेश गरिरहेको छ ? त्यसको निगरानी गर्न अहिले गाह्रो छ । जनावर–सिकार अझै चलेकै छ, तर टाइगर टप्स जस्ता होटलले थप सुरक्षा प्रदान गरेकाले निगरानी कम प्रभावकारी भएको थियो । भारतीय राष्ट्रिय निकुञ्जमा धेरै भिडियो र तस्बिर छन्, जहाँ बाघलाई घेरेर २० भन्दा बढी सवारी साधनले ठूलो तनाव दिने गरेका छन् । चितवनमा पनि चाँडै त्यस्तै अवस्था आउने देख्छु, जुन दुःखद हो । तर, टाइगर टप्स बन्द भएपछि धनी ग्राहकले नेपाल भ्रमण गर्नै छाडे ।
निकुञ्जभित्र फेरि टाइगर टप्स स्थापना गर्ने योजना छ ?
हामीलाई लाग्छ, २०१२ मा सरकारले गरेको निर्णय गलत थियो । मलाई अझै विश्वास छ, सरकारले त्यो गल्ती पक्कै महसुस गरेको छ र सच्याउन खोजिरहेको छ । हालैको बजेटमा उच्चस्तरीय पर्यटन प्रवर्द्धनमा फेरि ध्यान केन्द्रित गराएको प्रस्ताव छ । संरक्षित क्षेत्रभित्र होटल भाडामा उपलब्ध गराउने सम्भावना प्रबल छ । दिगो तरिकाले कानुनअनुरूप मापदण्ड बनाई सीमित संख्यामा पारिस्थितिक पर्यटनमा होटल केन्द्रित भए यसलाई सरकारको सकारात्मक कदम मानिन्छ । टाइगर टप्स फेरि खोल्न इच्छुक छु ।
१३ वर्षमा हामीले मुख्य होटल संरचनालाई सुरक्षित राख्ने प्रयास गरेका छौं । राष्ट्रिय निकुञ्ज विभाग र सेनालाई चोरी–सिकारीविरोधी, घाँसे मैदान व्यवस्थापन, वन्यजन्तु अनुगमन र परोपकारी परियोजना सञ्चालन गर्न भनेका छौं । हामी त्यो प्रतिष्ठित होटल फेरि सुरु गर्न सक्छौं, जसले नेपाललाई एसियामा वन्यजन्तु पर्यटन उद्योगको शीर्षमा फर्काउन मद्दत गर्नेछ ।
बुबा जिम र टाइगर टप्सबारेका सम्झना सुनाइदिनुस् न !
सन् २००९ मा मेरो बुबाको निधन हुनुअघि उहाँले मलाई भन्नुभएको थियो– संसारको सबैभन्दा सुन्दर देशमा मर्न पाउँदा म खुसी छु । यदि मेरो बुबा अझै जीवित हुनुहुन्थ्यो भने उहाँ अहिले पनि त्यही कुरा भन्नुहुन्थ्यो । बुबाको सबैभन्दा राम्रो सम्झना टाइगर टप्स मात्र होइन, विगतका ६० देखि ८० को दशकमा नेपालको तराईमा गरेका साहसिक कार्यहरू पनि हुन् । चाहे त्यो चितवन, नवलपरासी, पोखरा र बर्दियामा लजहरू निर्माण होस् वा त्रिशूली र कर्णाली नदीमा माछा मार्ने र र्याफ्टिङ गर्ने होस् । उहाँले सम्पूर्ण देशलाई ठूलो उत्साहका साथ अन्वेषण गर्नुभएको छ ।
उहाँ नेपाली जनतालाई आफूभन्दा बढी माया गर्नु हुन्थ्यो । मेरो सबैभन्दा ठूलो सम्झना टाइगर टप्स जंगल लजमा बाल्यकाल बिताउनु हो । म काठमाडौंभन्दा जंगलमा बढी सहज अनुभूत गर्थे । राष्ट्रिय निकुञ्जभित्र सफारीमा जानु, हाम्रा हात्तीहरूसँग समय बिताउनु वा कर्मचारीबाट वन्यजन्तुबारे सिक्नु मेरा सबैभन्दा ठूला सम्झना हुन् । आज पनि म जंगलभित्र सकेसम्म धेरै समय बिताउने गर्छु ।
मेरो परिवारका लागि ३० देखि ४० वर्षभन्दा बढी समयदेखि काम गरेका धेरै बफादार कर्मचारीसँग मेरो राम्रो सम्बन्ध बन्यो । हाम्रो परिवार त्यहाँका स्थानीय मानिसप्रति सदा ऋणी छ, जसले टाइगर टप्सलाई एसियाको सबैभन्दा प्रमुख वन्यजन्तु लजका रूपमा विकास गर्न मद्दत गरे । मेघौली विमानस्थलमा अवतरण गर्नु र हात्ती पोलो खेल्नु मेरो अविस्मरणीय क्षण थियो ।
टाइगर टप्समा आएका विदेशी राष्ट्रप्रमुख र अन्य आगन्तुकका केही विशेष सम्झना छन् ?
टाइगर टप्स विश्वव्यापी रूपमै मान्यता प्राप्त ब्रान्डमध्ये एक हो । धेरै विशिष्ट पाहुनाले यहाँ भ्रमण गरेका थिए । मलाई याद छ, भारतीय प्रधानमन्त्री राजीव गान्धी, अमेरिकी प्रथम महिला हिलारी क्लिन्टन, राजकुमार फिलिप, संयुक्त अधिराज्यकी राजकुमारी एनीले वर्षौंदेखि फरक–फरक समयमा टाइगर टप्स भ्रमण गरेका थिए । अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूमा मिक जागर, रिंगो स्टार, लियोनार्डो डि क्याप्रियो, ओर्लान्डो ब्लुमहरूसमेत भ्रमणमा आए । नेपालमा हामी प्रायः शाही परिवार र प्रधानमन्त्रीहरूलाई टाइगर टप्समा स्वागत गर्थ्यौं ।
