‘बाह्य कारणले मूल्य वृद्धिदर न्यून, अर्थतन्त्र मन्दीमा छैन’

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

”Price growth rate is low due to external factors, economy is not in recession”

काठमाडौँ — विदेशिएका नेपालीले पठाएको रेमिट्यान्सले फेरि कीर्तिमान बनाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत वैशाखमा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । मासिक रूपमा तुलना गर्दा वैशाखमा भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । यसअघि धेरै रेमिट्यान्स गत फागुनमा १ खर्ब ५१ अर्ब र असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ भित्रिएको थियो ।

यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख रामशरण खरेलसँगको कुराकानी :

गत वैशाखमा पनि रेमिट्यान्सले नयाँ रेकर्ड बनायो । खासमा के कारणले रेमिट्यान्स बढेको रहेछ ?

रेमिट्यान्स आप्रवाह बढ्नुको मुख्य कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्नु नै हो । दोस्रो कारण ०८१ असार मसान्तको तुलनामा ०८२ वैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.११ प्रतिशतले अवमूल्यन भएको छ । यसको अर्थ डलर बलियो भएको भन्ने हो । यसकारण पनि रेमिट्यान्स बढ्न मद्दत पुगेको हो । तेस्रो कारण विदेशमा रोजगारी गर्ने नेपालीको तलब तथा भत्ता सुविधा पनि बढेको छ । यी कारणले रेमिट्यान्स आप्रवाह बढेको हो ।

राष्ट्र बैंकको प्रतिवेदनले गत वैशाखमा मूल्य वृद्धिदर निकै कम (२.७७ प्रतिशत) देखाएको छ । न नागरिकले अनुभूति गर्ने गरी बजारमा महँगी घटेको छ न त आन्तरिक उत्पादन नै बढेको छ । यस्तो अवस्थामा किन मूल्यवृद्धि अपेक्षाभन्दा निकै कम भएको होला ?

हाल आन्तरिकभन्दा बाह्य कारणले मूल्य वृद्धिदरमा कमी आएको हो । चालु आर्थिक वर्षको दस महिनामा आयात मूल्य सूचकांक नै २.६ प्रतिशतले घटेको छ । आयातमा आधारित अर्थतन्त्रमा आयातको मूल्य घटेपछि समग्र मूल्यको वृद्धिदर कम भएको हो । भारतमा विगत पाँच महिनादेखि उपभोक्ता मूल्य वृद्धिदर लगातार कम भई अप्रिलमा ३.२ प्रतिशतमा झरेको छ । भारतसँग खुला सीमा र खुला आवतजावत भएकाले औपचारिक र अनौपचारिक व्यापारबाट मूल्यमा प्रभाव देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य यो दस महिनाको अवधिमा २०.७ प्रतिशतले घटेको छ । नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य लगातार घटेकाले यातायात, ढुवानी र डिजेलमा आधारित मेसिन सञ्चालनको लागत घट्दै गएको छ । नेपाली रुपैयाँ अमेरिकी डलरसँग २.११ प्रतिशतले अवमूल्यन भएको छ । यसको असर पनि आयातित वस्तुको मूल्यमा प्रतिविम्बित हुने नै भयो । अर्कोतर्फ, गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रका सबै क्षेत्रमा क्रमिक सुधार भई उत्पादन र आपूर्ति बढेकाले मूल्य वृद्धिदर कम हुन सघाउ पुगेको छ ।

अर्थतन्त्रमा समग्र माग न्यून रहेको, मूल्य वृद्धिदर र ब्याजदर लगातार घट्दै गएको छ । अर्थतन्त्र मन्दीतर्फ जान लागेको संकेत हो ?

अर्थतन्त्रमा समग्र माग न्यून हुँदै उत्पादन र मूल्य वृद्धि दुवै घट्ने र बेरोजगारी बढ्ने प्रवृत्ति देखिन थालेमा मन्दीतर्फ जान सक्छ । हाम्रो मूल्य वृद्धिदर कम हुँदै गएको आन्तरिक कारणले नभई बाह्य कारणले हो । आन्तरिक कारणले मूल्य वृद्धिदर लगातार न्यून हुन थालेमा मात्र हामी सशंकित हुनुपर्छ । के बिर्सन हुँदैन भने हामी विश्व बजारको मूल्यबाट सिधै प्रभावित हुन्छौं तर हाम्रो मूल्यले विश्व बजारको मूल्य प्रभावित हुँदैन । तसर्थ, पेट्रोलियम पदार्थलगायत आयातित वस्तुको मूल्य उल्लेख्य घट्दै गयो भने आगामी दिनमा पनि नेपालको मूल्य वृद्धिदर थप कम हुन सक्छ ।

आन्तरिक अर्थतन्त्र भने गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.४ प्रतिशत भएको तुलनामा यो वर्ष सबै प्रकारका आर्थिक क्रियाकलाप अभिवृद्धि भई ४.६ प्रतिशतले वृद्धि हुने अनुमान छ । पछिल्ला महिनामा आयात उल्लेख्य बढ्न थालेको छ । बैंकमा कर्जा प्रवाह गत वर्षको तुलनामा बढेको छ । सरकारको पुँजीगत खर्चलगायत समग्र खर्च बढेको छ । यी सबै सूचकले मागमा न्यूनता आएको र अर्थतन्त्र मन्दीतर्फ गएको संकेत गर्दैन । अर्थतन्त्र लयमा फर्कन थालेको देखिन्छ ।

हाम्रो अर्थतन्त्रका लागि कति प्रतिशत मूल्य वृद्धिदर हितकर हो ?

अर्थतन्त्रको दिगो विकासका लागि उच्च मूल्य वृद्धि वा संकुचन दुवै हानिकारक मानिन्छ । विगतमा विकसित मुलुक २ प्रतिशतको हाराहारी र विकान्सोमुख मुलुकमा ५ प्रतिशतको हाराहारी मूल्य वृद्धिदर कायम गर्ने अभ्यास थियो । यसै कारण अधिकांश वर्षमा नेपालमा मूल्य वृद्धिदर लक्ष्य ५ देखि ६ प्रतिशतसम्म रहने गरेको हो ।

कान्तिपुर

Link copied successfully