काठमाडौँ — फौजी किरा पहिलो पटक २०७६ भदौमा नवलपुर (पूर्व) मा देखिएको थियो । अहिले पनि विभिन्न जिल्लामा यो किरा देखिएको छ । किरा नियन्त्रणका लागि किसानले हरेक वर्ष विषादीको मात्रा बढाए पनि समस्या निर्मूल हुन सकेको छैन । नियन्त्रणका लागि सरकारबाट कुनै चासो नभएको सरोकारवालाहरू बताउँछन् । यही सन्दर्भमा कृषि विभागका पूर्व महानिर्देशकसमेत रहेका प्लान्ट क्वारेन्टाइन विषादी व्यवस्थापन केन्द्रका पूर्वप्रमुख डिल्लीराम शर्मासँग कान्तिपुरका राजु चौधरीले गरेको कुराकानी :
२०७६ भदौमा फौजी किरा पुष्टि भएयता बर्सेनि यसको प्रकोप देखिन्छ तर नियन्त्रणमा सरकार निरीहजस्तै बनेको छ, किन होला ?
फौजी किरा नेपाल भित्रिएलगत्तै अन्तर्राष्ट्रियस्तरको २ वटा गोष्ठी भए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले विदेशबाट विज्ञ बोलाएर किराको नियन्त्रण विधि र तयारीबारे छलफल गरेको थियो । संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन (एफएओ) ले पनि किरा नियन्त्रण गर्न प्रोजेक्ट सुरु गरेको थियो । गण्डकी र मधेश प्रदेशका किसान र प्राविधिकलाई २ वर्ष तालिम दिइयो । फौजी किराकै लागि विषादी थिएन । किरा नियन्त्रण गर्न विषादी रजिस्टर पनि भयो । त्यसपछि पूर्ण नियन्त्रणमा नआए पनि केही कम देखिएको थियो । तर जुन हिसाबले घट्नुपर्थ्यो, त्यो भएको देखिएन । नियन्त्रणबारे सबै किसान जानकार नहुँदा प्रभावकारी हुन सकेन ।
प्रकोप नियन्त्रण गर्न सरकारले सचेतना किन फैलाउन सकेन ? किरा पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन ?
किरा नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रले तालिम दिने, विषादीका बारेमा जानकारी दिने गर्दै आएको छ । तर जनशक्तिको अभाव छ । सबै किसानसँग सेवा पुग्न सकेको छैन । १० देखि १५ प्रतिशत किसानले मात्रै सरकारी सचेतना कार्यक्रम र तालिम पाएका छन् । ९० प्रतिशत किसानलाई नियन्त्रणको विधिबारे जानकारी छैन । सोही कारण किरा नियन्त्रण हुन सकेको छैन । र, पूर्ण नियन्त्रण पनि हुँदैन, नोक्सानी रोक्ने मात्रै हो ।
फौजी किरा नियन्त्रणमा संघ, प्रदेश र स्थानीय सरकारको भूमिका कस्तो देख्नुहुन्छ ?
यसमा तीनै तहका सरकारबीच समन्वय चाहिन्छ । तर नियन्त्रण गर्न समन्वय भएको देखिँदैन । स्थानीय तहमा दक्ष जनशक्ति छैनन् । किसानले आफ्नै हिसाबले नियन्त्रण गर्ने प्रयास गरेका छन् । प्रदेशको अवस्था पनि उस्तै छ । संघीय सरकारसँग केही दक्ष जनशक्ति भए पनि किरा नियन्त्रणमा ध्यान दिइएको छैन । नीति बनाउने, अध्ययन र तालिम दिने संघीय सरकारले हो । उसकै सिफारिसअनुसार प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्ने हो । तर तीन तहबीच समन्वय हुन सकेन ।
यसमा कृषि अनुसन्धान परिषद् (नार्क) को भूमिका कस्तो हुनुपर्छ ?
नार्कको धेरै भूमिका रहन्छ । नार्कले मुख्यतः दुई–तीन वटामा अध्ययन गर्नुपर्छ तर गर्न सकेको छैन । नार्कले कुन जातको मकैमा किरा लाग्दैन, त्यो पहिचान गर्नुपर्छ । कुन विषादीको प्रयोगले किरा नियन्त्रण हुन्छ, त्यसको अध्ययन गर्न पनि जरुरी छ । नेपालमा कुन विषादी उपयुक्त हुन्छ ? कस्तो तापक्रममा किरा फैलिन्छ ? कस्तोमा फैलिँदैन ? त्यो अध्ययन गर्नुपर्छ । नार्कले अध्ययन नै नगरेको पनि होइन तर पर्याप्त भएन । यसलाई व्यापकता दिन जरुरी छ ।
फौजी किरा कुन मौसममा बढी सक्रिय हुन्छ । कुन–कुन बालीलाई बढी क्षति गर्छ ?
फौजी किराले मकै बालीलाई बढी प्रभाव पारेको छ । यो किराले फौजमा आएर एकैचोटि ठूलो मात्रामा आक्रमण गरेर बोट, बाला र घोगालाई सखाप पार्छ । यो गर्मीमा धेरै सक्रिय हुन्छ ।
