‘सबै दलका भ्रातृ संगठन विदेशमा सक्रिय छन्, ती संगठनमा मानव तस्कर पनि छन्’

ज–जसले मानव तस्करीको काम गर्छन्, उनीहरूको सिधा पहुँच राज्य संयन्त्रसँग छ

जेष्ठ २५, २०८२

होम कार्की

”The fraternal organizations of all parties are active abroad, there are also human traffickers in those organizations”

सरकारले २०७३ देखि खाडी क्षेत्रमा घरेलु महिला श्रमिक पठाउन पूर्ण रूपमा रोक लगाएको छ । सरकारले श्रम स्वीकृति दिन रोक लगाएपछि मानव तस्करीको सञ्जालमा परेर दैनिक सयौं महिला खाडीमा घरेलु श्रम गर्न गइरहेका छन् । दूतावासहरूका विभिन्न प्रतिवेदनअनुसार हाल खाडी क्षेत्रमा मात्रै डेढ लाखभन्दा बढी महिलाहरू घरेलु श्रमिकको हैसियतमा काम गरिरहेका छन् ।

उनीहरू बिदामा आएर फेरि जान नसक्ने हाुदा परिवार भेट्नबाट समेत वञ्चित भइरहेका छन् । घरेलु श्रमिकमाथिको प्रतिबन्ध, यसले निम्त्याएको असर र खाडी मुलुकसँगको कूटनीतिक सम्बन्ध लगायतका विषयमा कूटनीतिक क्षेत्रमा झन्डै तीन दशक बिताएका कुवेतका लागि संस्थापक राजदूत मधुवन पौडेलसँग कान्तिपुरका होम कार्कीले गरेको कुराकानी : 

नेपालले खाडी मुलुकमा घरेलु महिला श्रमिक पठाउन प्रतिबन्ध लगाएको वर्षौं भइसक्यो । यस्तो प्रतिबन्धले के प्रभाव पारेको देख्नुहुन्छ ?

प्रतिबन्ध लगाएपछि गन्तव्य देशहरू नेपालसँग खुसी छैनन् । उनीहरूले किन प्रतिबन्ध लगाएको भनेर प्रश्न गर्छन् । हामीले घरेलु श्रमिक गैरकानुनी हैसियतमा आएका छन् भन्दा गन्तव्य देश असाध्यै रिसाउँछन् । घरेलु श्रमिक त भिसा लिएर कानुनी हैसियतमा बसेका हुन्छन् । नेपालको अनुमति नलिई आएको हुँदा नेपालले वैधानिकता दिएको छैन भन्दा उनीहरू रिसाउने गरेका छन् । हाम्रो आँखामा घरेलु श्रमिक गैरकानुनी भए पनि गन्तव्य देशको आँखामा उनीहरू वैधानिक हुन्छन् । यसोभन्दा तिमीहरूले किन राहदानी दिएको ? भन्छन् । राहदानी दिइन्छ भने, त्यो विदेश जाने अनुमति हो । उनीहरू आइसकेका मान्छेलाई अवैधानिक भन्न मिल्दैन भनिरहेका छन् । यसले कूटनीतिक सम्बन्धमा नै असर गरिरहेको छ । 

तपाईं संस्थापक राजदूत भएर कुवेत जाँदा घरेलु श्रमिकको व्यवस्थापन थिएन । तेस्रो बाटोबाट कुवेत पुगेका घरेलु श्रमिकलाई कसरी श्रमको कानुनी दायराभित्र ल्याउनुभयो ?

मैले यसलाई कानुनी दायरामा ल्याउन एउटा बृहत् योजनासहितको प्रतिवेदन परराष्ट्र मन्त्रालय पठाएँ । त्यस आधारमा परराष्ट्र, श्रम र गृह मन्त्रालयका उच्च अधिकारी संलग्न कार्यदलले घरेलु श्रमिकलाई श्रम स्वीकृति दिने मापदण्ड/कार्यविधि बनायो । त्यसका आधारमा श्रम स्वीकृति दिने अभ्यास सुरु भयो । जसअनुसार मागपत्र प्रमाणीकरण गर्ने व्यवस्था भयो । कुवेत सरकारको अनुमतिमा घरेलु श्रमिकका लागि ‘सेल्टर’ खोलियो । कुवेत सरकारको आफ्नै सेल्टरमा कोटा प्रणाली थियो ।

भारतीय अभ्यास हेरेर मैले सरकारको अनुमति लिई बिमा गरेर सेल्टर खोलें । सेल्टरभित्र कुक, दुई जना फिलिपिनो नर्स, तीन जना कानुन अधिकृत राखें । यसको स्रोत बिमाबापत उठाइएको रकम थियो । राज्यलाई हरेक वर्ष ९ करोड जति राजस्व पनि उठेको थियो । त्यो बिमाबापत रोजगारदातालाई नै निश्चित शुल्क तोकिएको थियो । त्यो सेल्टरको रक्षा कुवेत सरकारले नै गरेको थियो । यसरी गरिएको अभ्यासलाई निरन्तरता दिइएन । घरेलु श्रमिकको तलब ४० केडीबाट बढाएर ६० केडी पुर्‍याइयो । त्यसरी तलब बढाउँदा कुवेत सरकारले हाम्रो श्रमिकको तलब तिमीले तोक्ने हो ? यसमा हाम्रो राजाले राजपत्रमा हस्ताक्षर गर्नुपर्छ भनेर मलाई परराष्ट्रमा बोलाएर सोधियो ।

मैले तलब तोकेको होइन, नेपालले ६० केडीभन्दा तलको तलबमा घरेलु श्रमिक आउन नदिने नीति लिएको हो भनेर सम्झाएँ । त्यसपछि ६० केडी नै लागू भयो । दूतावास आफैंले बिमाको नीति लागू गरेपछि कुन घरेलु श्रमिक कुन कुवेतीका घरमा छन् भन्ने विवरण दूतावासमा रेकर्ड राख्न सहज भयो । अवैध बाटोबाट गएका घरेलु श्रमिक पनि दूतावासमा आएर बिमा गर्ने गरेका थिए । यहाँ रोकेको भए पो हामी फिल्डमा चुप लागेर बस्न मिल्छ । उता गइसकेपछि दूतावासले कानुनी र गैरकानुनी भनेर छुट्टाउन मिल्दैन । त्यहाँ नेपाली भनेर सेवा प्रदान गर्नैपर्छ । हाम्रा नागरिक भइसकेपछि हाम्रै दायित्व हुन्छ । दूतावास नेपालीको हितका लागि स्थापना गरिएको हुन्छ । दूतावासमा आइसकेपछि कानुनी र गैरकानुनी भन्ने अर्थ राख्दैन । राख्नु पनि हुँदैन ।  

प्रतिबन्धका बावजुद हजारौं महिला श्रमिकहरू दलालको सहायतामा खाडी मुलुक पुगिरहेका छन् । यो अवस्था किन बढ्दो छ ? के राज्य संयन्त्र असफल भइरहेको हो ?

राज्य संयन्त्र असफल भएको होइन । यसलाई सही ढंगले व्यवस्थापन गर्न कसैले चासो लिएन । बाहिर जाऊन्, रेमिट्यान्स् ल्याऊन् भन्ने भयो । तर, उनीहरूको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने चेत नीति निर्माण तहमा कहिल्यै पनि जागेन । यसको गाम्भीर्यतै बुझ्ने काम भएन । सरकार पनि आउने–जाने भइरह्यो । कर्मचारी सधैं आफू सुरक्षित भएर बस्ने परिपाटी बन्यो । कसैले जोखिम मोलेर काम गर्न नै चाहँदैनन् । यसको परिणाम आमश्रमिकले भोगिरहेका छन् । राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । 

”The fraternal organizations of all parties are active abroad, there are also human traffickers in those organizations”

घरेलु श्रमिकलाई व्यवस्थित गरेर वैधानिक बाटो बनाउने प्रयास किन जटिल भइरहेको छ ?

सबैले चासो राखेको भए यो क्षेत्र जटिल हुँदैनथ्यो । नियमन गर्ने प्रयास कम भयो । अहिलेका श्रममन्त्रीले पाइलट प्रोजेक्टमार्फत घरेलु श्रमिक पठाउन अग्रसरता देखाइरहेको देख्छु । यसले मानव तस्करीलाई निरुत्साहित गर्छ । घरेलु श्रमिकलाई गन्तव्य देशले आफ्नो औपचारिक श्रमभित्र राखिराखेको छ । बरु पहिला थिएन । यसले वैधानिक बाटो बनाउन पहिला जस्तो जटिल छैन । हामीले बलियो संयन्त्र बनाउनुपर्छ । गन्तव्य देशलाई व्यवस्थित ढंगले श्रमिक लैजान दबाब दिनुपर्छ ।  

संसद्मा घरेलु श्रमिकको विषय पटक–पटक उठे पनि किन यो दीर्घकालीन समाधानसम्म पुग्दैन ? यो विषयमा नीतिगत निर्णय गर्न संसद् किन हिच्किचाउँछ ?

यो क्षेत्रलाई व्यवस्थित हुनबाट रोक्ने काम संसदीय समितिबाट पनि भएको छ । यो क्षेत्रलाई बिगारेको नै संसदीय समितिले हो । संसद्मा जसले कुरा राख्छ, उसले घरेलु श्रमिकले भोग्ने समस्याको चुरो नै बुझेको हुँदैन । कि पूर्ण रूपमा खुला सीमालाई रोक्न सक्नुपर्छ । नत्र मानव तस्करी भएर महिला खाडीमा पुगिरहेका हुन्छन् । त्यहाँ पुगिरहेका छन् भने उनीहरूलाई उचित व्यवस्थापन गर्न पो सोचेर निर्देशन दिने हो त । रोकेर समाधान हुन्छ ? अहिले जे जति विकृति आएको छ, त्यो रोकेकै कारणले हो ।

मैले कुवेत पुगेको पहिलो दिनबाट परराष्ट्र र श्रमलाई पत्र पठाएर रोक्नु हुँदैन भनेर चिठी लेखिरहें । खुला गरेर व्यवस्थापन गर्ने हो । एजेन्टका लागि यो सबैभन्दा सजिलो पैसा कमाउने माध्यम हो । कुवेतमा बस्ने एजेन्टले मात्रै एउटा कामदारलाई पहिलो लटमा बेचिदियो भने १५ सय डलर आउँछ । त्यसपछि घरबाट भगाएर फेरि बेचिदियो भने त्योभन्दा बढी कमाउँछ । गैरकानुनी कामदार लैजाँदा रोजगारदाताले कुनै जिम्मेवारी बोक्नु पर्दैन । 

संसद्मा यस्ता सवालमा बृहत् रूपमा छलफल नै भएन । संसद्मा जसले बोल्नुहुन्छ, उहाँहरूले दुःख पाएको पाटोबाट मात्रै कुरा गर्नुहुन्छ । दुःख पाउनुको पछाडिको कारण पनि बुझ्नुपर्‍यो । पहिला त मानव तस्करी गरेर यहाँबाट महिलालाई लिएर गएको छ । दूतावाससँग केही अभिलेख हुँदैन । को कहाँ छ ? कति जना नेपाली छन् ? केही पनि थाहा हुँदैन । हामीले सधैं गन्तव्य देशको सरकारबाट अभिलेख लिनुपर्छ । वैधानिकीकरण गरियो भने हरेकको अभिलेख नेपाल सरकारसँग हुन्छ । संसदीय समितिलाई राम्रोसँग बुझाउन जरुरी छ । सांसदहरूले गहिरो अध्ययन गर्नुपर्छ । मिहिन ढंगले विषयवस्तु बुझेर आफ्नो धारणा र पोजिसन लिने सांसदहरू निकै कम छन् ।  

खाडीस्थित नेपाली दूतावासहरू घरेलु श्रमिकको रक्षा गर्न कत्तिको प्रभावकारी देखिएका छन् ? 

अन्तरमन्त्रालयबीच समन्वयको निकै ठूलो खाडल छ । दूतावासले गरेको सिफारिस कसैले वास्तै गर्दैन । सही छैन भने दूतावासलाई भन्नुपर्छ । दूतावासले किन सिफारिस गरेको छ भनेर गम्भीरता लिने अधिकारीहरू निकै कम छन् । पराराष्ट्र सचिवले पनि राम्रोसँग हेर्छन् जस्तो लाग्दैन । महाशाखा र शाखाका कर्मचारीले पनि गम्भीर रूपमा हेर्छन् जस्तो लाग्दैन । परराष्ट्रले अहिले आप्रवासनलाई हेर्ने भनेर एउटा अर्को महाशाखा बनाएको छ । अब अलि प्राथमिकता दिन थालेको हो कि ? जबसम्म यो क्षेत्र राज्यको मुख्य प्राथमिकतामा पर्दैन दूतावास एक्लैले चाहेर केही हुँदैन ।

दूतावासहरू घरेलु श्रमको क्षेत्रलाई व्यवस्थापन गर्न सधैं हच्किरहेका देखिन्छन् । दूतावासले किन प्रभावकारी सेवा प्रवाह गर्न सकिरहेका छैनन् ?

दूतावासले गन्तव्य देश र नेपालसँग प्रभावकारी समन्वय गर्नुपर्छ । अभिलेख प्रणाली प्रभावकारी बनाउनुपर्छ । समय–समयमा अनुगमन भइराख्नुपर्छ । दूतावासले घरेलु श्रमिक खोल्नु हुँदैन भन्नुको पछाडि उनीहरूले थप कामको भार लिन नचाहनु पनि हो । गैरकानुनी माध्यमबाट गएको मान्छेप्रति धेरै जिम्मेवारी लिनु परेन । श्रम स्वीकृति लिएर गइसकेपछि त जिम्मेवारी लिनुपर्छ । हामीले कुवेतमा सेल्टर खोल्नुअघि कामको भारले राति ११ बजे निवास जानुपर्ने परिस्थिति थियो । सेल्टरको व्यवस्थापन भएपछि राहतको सास फेर्न पाएका थियौं । मन्त्रालयले पनि स्रोत र जनशक्ति दिनुपर्छ । अहिले धेरै दरबन्दी थपिदिएको छ । यो दरबन्दीअनुसार सेवा दिन सकिन्छ । हामीसँग स्रोत कम छ । दूतावासलाई स्रोत पनि बढाइदियो भने प्रभावकारी सेवा बढ्छ । कर्मचारीको क्षमता पनि अभिवृद्धि गर्नुपर्छ । 

”The fraternal organizations of all parties are active abroad, there are also human traffickers in those organizations”

के खाडी मुलुकहरूसँग घरेलु श्रमिकका लागि विशेष सुरक्षा प्रबन्धसहितको द्विपक्षीय श्रम सम्झौता सम्भव छ ?

खाडी र हाम्रो जीवनशैली, संस्कृति नै फरक छ । सबैभन्दा पहिले यो हामीले बुझ्नुपर्छ । यहाँको फरक परिवेश र जीवनशैलीमा बाँचिरहेको महिला त्यहाँको बन्द समाजभित्रको जीवनशैलीमा बदलिनुपर्छ । बन्द समाजको जीवनशैली बुझ्नेलाई समस्या ननिम्तन सक्छ । हामीले खाडी मुलुकसँग घरेलु श्रमिकको सुरक्षालाई उच्च प्राथमिकता दिँदा द्विपक्षीय सम्झौता सम्भव छ ।

उनीहरू नै नेपालसँग श्रम सम्झौता अगाडि बढाउन चाहिरहेका छन् । यसमा हामीले हाम्रो ‘नेगोसिएसन पावर’ बढाउनुपर्छ । उनीहरूले आफ्नो हिसाबले ‘बार्गेनिङ’ गर्छन् । उनीहरूलाई हाम्रो संवेदनशीलता बुझाउन सक्नुपर्छ । भारत र फिलिपिन्सले राम्रोसँग ‘बार्गेनिङ’ गरेर घरेलु श्रमिक पठाइरहेका छन् । घरेलु श्रमिकले तोकिएको समयमा पाउने तलबको सुनिश्चितता, बासस्थान, तालिमको व्यवस्था, नियमित दूतावास र परिवारसँगको सम्पर्क, उनीहरूको सहज घर फिर्ती लगायतको विषयमा ध्यान दिएर सम्झौता गरेका छन् । हामी पनि त्यो गर्न सक्छौं ।

 नेपालले पनि श्रम समझदारी गर्न चाहिरहेको छ । संसदीय समितिले पनि समझदारी गरेर पठाउनुपर्छ भनिरहेको छ । खाडी देशका सरकार पनि श्रम समझदारी गर्न चाहन्छन् । गाँठो कहाँ कसिएको छ त ?

जबसम्म खाडीले बिनासम्झौता वा समझदारी घरेलु श्रमिक पाइरहेको छ भने उसलाई सम्झौता गर्न दबाब नै पुग्दैन । हरेक दिन सयौं महिलाहरू घरेलु श्रम गर्न खाडी पुगिरहेका छन् । गाउँ–गाउँमा एजेन्ट छन् । उसले विभिन्न माध्यमबाट महिलालाई बटुलेर खाडीका घर–घरमा पुर्‍याइरहेको छ । खाडीका सरकारलाई किन सम्झौता गर्नुपर्‍यो ? हामीले नै बढी चासो र तदारुकता राख्नुपर्छ । कुवेत, साउदी, यूएई, कतार, बहराइन र ओमनजस्ता देशले घरेलु श्रमिकको सम्झौता गर्न प्रस्ताव पठाएका छन् ।

त्यसलाई ठोस रूपमा अगाडि बढाउनुपर्छ । हामीले घरेलु श्रमलाई एउटा सम्मानित कामका रूपमा पहिचान दिनुपर्छ । मर्यादित कार्यस्थलको मापदण्ड बमोजिमका सर्तहरू लागू हुने सम्झौता हुनुपर्छ । जबसम्म यो पनि एउटा काम हो भनेर उचित ढंगले सम्बोधन हुँदैन तबसम्म समस्या निम्तिइरहन्छ । अहिले सबै देशमा घरेलु श्रमसम्बन्धी स्थानीय कानुनहरू जारी भइसकेको छ । यसले सम्झौता गर्न सहज हुन्छ । मुख्य कुरा हाम्रो तदारुकता हुनुपर्छ । कागजी पत्राचारमा मात्रै निर्भर भयो भने सम्झौता गर्ने कुरा झन् पर धकेलिँदै जान्छ ।

मानव तस्करी नियन्त्रणका लागि कस्तो संरचनागत सुधार गर्न जरुरी छ ?

सबैभन्दा पहिला घरेलु श्रमको क्षेत्रलाई अनिवार्य रूपमा नियमनमा ल्याउनुपर्छ । यसलाई नियन्त्रण गर्न सकिन्न । अरू नै उपाय लगाएर मान्छे जान्छन् । हामीले अभिमुखीकरण तालिम प्रभावकारी बनाउनुपर्छ । अहिले अभिमुखीकरण तालिम नै हुँदैन । बिनाअभिमुखीकरण प्रमाणपत्र जारी हुन्छ । कम्तीमा एक महिना भए पनि सीपयुक्त तालिम सिकाउनु नै पर्छ । सामान्य बोलीचालीको भाषा सिकाउनैपर्छ । यसले महिलाको आत्मबल पनि बढ्छ । नेपालका म्यानपावर कम्पनी र खाडीका घरेलु श्रमिक आपूर्ति गर्ने कम्पनी दुवैलाई जिम्मेवार बनाउनुपर्छ ।

दुवै कम्पनीलाई जिम्मेवारी बनाएमा घरेलु श्रमिकमाथि हुने शोषणलाई न्यूनीकरण गर्नुपर्छ । घरेलु श्रमिकको पूरा अभिलेख दूतावास र वैदेशिक रोजगार विभागसँग हुनुपर्छ । श्रम स्वीकृतिको दायराभित्र आउनेबित्तिकै उनीहरूको सबै प्रकारका कल्याणकारी सेवाहरू पाउने बाटो खुल्छ । राज्यका निकायबाट पाउने सुविधाहरूबाट वञ्चित हुनु पर्दैन । नेपाली दूतावासले पहिचान गरेका एजेन्टमाथि मानव तस्करीको मुद्दा चलाउनुपर्छ । गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच स्थायी प्रकृतिको उच्चस्तरीय संयुक्त कमिटी बनाएर हेर्नुपर्छ । यसलाई उचित व्यवस्थापन गर्न दूतावासले जेजस्ता सिफारिस पठाएको हुन्छ त्यसलाई त्यो समितिमार्फत कार्यान्वयनमा लैजान सक्नुपर्छ । 

विमानस्थलमा हुने सेटिङबाट खाडी पुगेका महिलाहरू किन सहजै फर्कन सक्दैनन् ? 

विमानस्थलमा १० थरी एजेन्सी हुन्छन् । घरेलु श्रमिक आफैं जान खोज्दा विमानस्थलमा नै रोकिदिन्छन् । दलालहरूले विमानस्थलमा सबै एजेन्सीसँग सेटिङ गरेर पठाउने प्रवृत्ति पहिलादेखि नै मौलाइरहेको हो । यो त भ्रष्टाचारको चरम रूप हो । त्यसरी सेटिङ गरेर लाखौं खर्च गरी लगेको घरेलु श्रमिकलाई खाडीका एजेन्सीहरूले घर–घर डुलाउने अवस्था सिर्जना भइरहेको हो । एउटा घरमा पठायो, त्यहाँ काम गर्न नसकेर फिर्ता भएपछि अर्को घर पठाइदिने गर्छन् । काम गरिरहेको अवस्थामा भाग्न प्रेरित गर्छन् ।

त्यसपछि अर्को घर पठाइदिन्छन् । एजेन्सी र रोजगारदाताको लागत खर्च बढेपछि घरेलु श्रमिकलाई नेपाल पठाउन हत्तपत्त मान्दैनन् । सहजै अर्को घरेलु श्रमिक पाउने भए भने मात्र पठाइदिन्छन् । सबै हिसाबले घरेलु श्रमिकलाई कानुनी दायराभित्र ल्याउनुपर्छ । यसमा श्रम मन्त्रालयले जारी गरिसकेको श्रम स्वीकृतिलाई विमानस्थलका एजेन्सीहरूले स्वीकार गर्नुपर्छ ।

श्रम मन्त्रालयले पनि श्रम स्वीकृतिलाई एकदमै सरल बनाइदिनुपर्छ । जति श्रम स्वीकृतिलाई कडा बनाइदिने अवस्था बन्छ, त्यति दलाल र श्रमिकहरूले भिजिट भिसाको सहारा लिन्छन् । विमानस्थलमा बस्ने प्रहरीले सुरक्षा हेर्ने हो । कागजात जाँचेर बस्ने होइन । उसलाई श्रमिकको भिसा, टिकट हेर्ने अधिकार छैन । सरकारले भिजिट भिसामा जान भनेर तय गरेको मापदण्डअनुसार भिसा, डलर बोकेका मान्छेलाई रोक्ने अधिकार पनि अध्यागमनलाई छैन । सबैले आ–आफ्ना अधिकारको प्रयोग सही रूपमा गरिराखेका छैनन् ।

मानव तस्करीमा संलग्न व्यक्तिलाई कारबाही गर्न राज्य संयन्त्र किन कठोर रूपमा प्रस्तुत हुँदैन ? 

ज–जसले मानव तस्करीको काम गर्छन्, उनीहरूको सिधा पहुँच राज्य संयन्त्रसँग छ । सबै दलका भ्रातृ संगठन विदेशमा सक्रिय छन् । ती संगठनहरूमा मानव तस्करीको काम गर्नेहरू पनि आबद्ध छन् । उनीहरू ती संगठनलाई नै प्रभावमा राख्ने हैसियतमा छन् । यसमार्फत सिधा दलका नेतासँग सम्बन्ध बनाएका हुन्छन् । हामीले कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेका व्यक्ति विदेश आएका मन्त्री र नेताहरूका वरिपरि नै हुन्छन् । मैले एकदुई जना मात्रै मन्त्रीलाई देखें, जसले विदेश आउँदा दूतावासको पूरा प्रोटोकललाई मान्थे ।

कोही मन्त्रीहरू हामीले गरेको अनुरोधविपरीत विवादित व्यक्तिहरूलाई भेट्थे । त्यस्ता व्यक्तिहरूले दूतावासलाई शक्तिको आडमा नटेर्ने गरेको पनि देखें । हामीले कारबाही गर्न सिफारिस गरेका एजेन्टमाथि अनुसन्धान पनि हुँदैन । अर्कोतर्फ मानव तस्करीमा परेका महिलाको प्रमाण सहजै जुट्दैन । उद्धार गरेर फर्काएका महिलाहरूले एजेन्टलाई कारबाही गर्नुपर्छ भनेर उजुरी दिने गरेका छैनन् । सेल्टर वा विदेशमा भएसम्म कारबाही गर्नुपर्छ भन्छन्, नेपाल पुगेपछि सम्पर्कविहीन भइदिन्छन् । एकदमै थोरै महिलाहरू मात्र उजुरी लिएर प्रहरीकहाँ जान्छन् । प्रहरीले पनि प्रमाण पुग्दैन भनेर मुद्दा अगाडि बढाउने गरेको छैन । यसले पनि एजेन्टहरू हौसिएका हुन् । 

”The fraternal organizations of all parties are active abroad, there are also human traffickers in those organizations”

घरेलु श्रमिकलाई संस्थागत रूपमा लैजानुपर्छ भनेर खाडीका मुलुकले कत्तिको गम्भीर ढंगले पहल लिएको देख्नुहुन्छ ? 

सबैभन्दा बढी यूएईले गम्भीर रूपमा पहल गरेको देख्छु । उनीहरू संस्थागत र पारदर्शी प्रक्रियाबाट नै घरेलु श्रमिक लैजानुपर्छ भन्नेमा छन् । त्यसका लागि आवश्यक सम्झौता र प्रोटोकल पनि बनाइसकेको छ । कुवेत र साउदीले पनि सम्झौता अगाडि बढाएका छन् । केही चरणमा सम्झौता आदानप्रदान भइसकेको छ । उनीहरूले आफ्नो स्थानीय श्रम कानुनमा घरेलु श्रमलाई समेटिसकेका छन् । यसले सम्झौता गर्न थप सहज बनाइदिन्छ । खाडी देशले आफ्ना नागरिकको स्वार्थ हेर्छ । राज्यले नै आफ्ना नागरिकलाई घरेलु श्रमिकको तलब दिने गरेको अभ्यास पनि छ । 

सरकारले उमेरको हदबन्दी लगाएर घरेलु श्रमिकमाथि बन्देज लगाउनु ककिो जायज हो ?

सरकारले घरेलु श्रमिकका रूपमा जान पाउने उमेर हद बेलाबखत तोक्ने गरेको छ । कहिले २४ वर्ष, कहिले ३० वर्ष र दुई वर्षमुनिका बालबच्चा भएका महिलालाई घरेलु श्रमिकका रूपमा पठाउन रोकिएको छ । यदि ३० वर्षसम्म जान नपाउने महिलाले ३० वर्षसम्म के गरेर बस्ने ? जो महिला आफ्नो खुट्टामा आफैं उभिन चाहन्छन् भने राज्यले उसलाई छेक्न मिल्दैन । यो विभेदै भएको हो । ३० वर्षको उमेर हद लगाएको विषयमा मैले परराष्ट्रलाई चिठी लेखेको थिएँ । परराष्ट्रले यो सरकारको निर्णय हो, केही भन्न मिल्दैन भनेर मौखिक रूपमा भनेको थियो । व्यक्तिगत हिसाबले कसले मान्ने, नमान्ने भन्ने फरक विषय भयो । तर, नीति नै बनाउने विषय गलत हो । 

कतिपय सांसद र कूटनीतिक कर्मचारीहरू नै घरेलु श्रमिक पठाउँदा देशको इज्जत प्रतिष्ठामै आँच आउँछ रोक्नुपर्छ भनेर अडान पनि राखिरहेका छन् । के यो सही हो ? 

यो उहाँहरूको व्यक्तिगत विचार हो । यसो गर्नु भनेको कामको कदर नगर्नु हो । अमेरिका र अस्ट्रेलिया पुगेकाहरू भाँडा माझ्न पनि तयार हुन्छन् । तर, न्यूनतम मापदण्डअनुसार घरेलु श्रमिकको हैसियतमा खाडी जाँदा देशको इज्जत प्रतिष्ठामा आँच आयो भनेर तर्क गर्न मिल्दैन । यो भनेको श्रमको संसार नबुझ्नु हो । घरेलु श्रमलाई एउटा मर्यादित श्रमका रूपमा हेर्नुपर्छ । 

नेपाली घरेलु श्रमिकको सुरक्षा र गरिमालाई सुनिश्चित गर्न दीर्घकालीन समाधान के हुन सक्छ ?

वैदेशिक रोजगार व्यवस्थापन गर्ने सवालमा हाम्रो नीति निजी क्षेत्रलाई जिम्मेवार बनाई घरेलु श्रमिकलाई वैध ढंगले पठाउनुपर्छ । यसलाई संस्थागत बनाउन सके मानव तस्करी नियन्त्रण गर्न सकिन्छ । नेपाल र खाडीमा एजेन्सीको जिम्मेवारी नै तोकिदिनुपर्छ । जिम्मेवारी पूरा नगर्ने एजेन्सीलाई कानुनी कारबाही गर्न सहज हुन्छ । राज्यले उनीहरूमाथि अनुगमन र कारबाही दुवै गर्ने संयन्त्र हामीसँग अहिले नै स्थापित छ । पहिला जस्तो नक्कली कागज पेस गरेर श्रमिक पठाउने अवस्था अब छैन । घरेलु श्रमिक पठाउने म्यानपावरसँग थप धरौटी राख्नुपर्छ । रोजगारदातालाई पनि सर्तनामा गराउनुपर्छ । आफ्नो सर्तनामा पूरा नगर्ने रोजगारदाताको विवरण सम्बन्धित सरकारलाई पठाउनुपर्छ । रोजगारदाता र श्रमिकबीच गुणस्तरीय करारपत्र हुनुपर्छ । हरेक वर्ष भिसा नवीकरण गर्ने बेला दूतावासबाट अनुमति लिने व्यवस्थालाई बाध्यकारी बनाइदिनुपर्छ ।

”The fraternal organizations of all parties are active abroad, there are also human traffickers in those organizations”

घरेलु श्रमिकमाथिको प्रतिबन्धले नेपाल र खाडी मुलुकबीचको कूटनीतिक सम्बन्धमा केही असर परेको देख्नुहुन्छ ?

संस्थागत हिसाबले घरेलु श्रमिक पठाउन सकियो भने नेपाल र खाडीका सरकारबीचको सम्बन्ध बढाउन थप सहयोग गर्छ । यो विषय मैले कुवेतका राजासँगको पहिलो भेटमा नै अनुभव गरेको हो । कुवेतका राजासँग ओहदाको प्रमाणपत्र बुझाउन जाँदा कुरा भयो । कुवेती राजाले नेपालले कुवेतमा किन दूतावास खोलेको भनेर जिज्ञासा राखेका थिए । त्यसमा मैले यहाँ काम गर्ने घरेलु श्रमिकले धेरै दुःख र सास्ती पाए, उनीहरूको हित र व्यवस्थापन गर्न आएको भनेर जवाफ दिएको थिएँ ।

त्यसपछि राजाले दूतावास स्थापना र सहकार्यका लागि सबै सहयोग गर्न तयार रहेको बताए । कुवेतले दूतावास स्थापना गर्न एक जना निर्देशक नै खटाइदियो । कार्यालय र निवास सबै खोजिदियो । कुवेतले गार्ड, क्लिनर, ड्राइभरसहित ९ जना स्थानीय कर्मचारी राखिदियो । त्यतिखेर हामीसँग सानो समूह थियो । उनीहरूका लागि सबैभन्दा ठूलो आवश्यकता घरेलु श्रमिक थियो । त्यतिखेर नै विभिन्न देशका ५ लाख ५० हजार घरेलु श्रमिक थिए । उनीहरूले नेपालीलाई मन पराएका थिए । कुवेत मात्रै होइन, खाडीका अन्य देशले पनि नेपाली नै खोज्छन् । नेपालसँग सम्बन्ध बढाउन चाहन्छन् । घरेलु श्रमिकको माध्यमबाट ती देशसँग कूटनीतिक सम्बन्ध झन् बलियो बनाउन सकिन्छ । दुई देशबीचको सम्बन्धलाई व्यक्तिगत तहमा लैजान मद्दत गर्छ । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully