‘फास्टफुड पुस्तकहरूबाट परै बसौं’ 

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

Stay away from fast food books

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा कार्यरत तारालाल श्रेष्ठको हालै ‘साइकल सौन्दर्य’ पुस्तक प्रकाशित छ । उनी साइकल अभियन्ता पनि हुन् । सबाल्टर्न स्टडिजमा विद्यावारिधि गरेका श्रेष्ठका पुस्तक सबाल्टर्नकै विषयसँग नजिक छन् । उनका ‘शक्ति, स्रस्टा र सबाल्टर्न’, ‘सपनाको समाधि’, ‘बल्झिरहने अतीत, अल्झिरहने वर्तमान’ र ‘बन्दीपुरदेखि बन्दीपुरसम्म’ पुस्तक प्रकाशित छन् । श्रेष्ठसँग ई–कान्तिपुरको नियमित स्तम्भ ‘पाँच प्रश्न’का लागि गरिएको कुराकानीको सम्पादित अंश :

तपाईंले पछिल्लो समय पढ्नुभएको पुस्तक ?

मैले पछिल्लो समय पउल लिन्चको ‘प्रोफेट सङ’ पढेको थिएँ । यो २०२३ मा लेखिएको यो डिस्टोपिया फिक्सन हो । एउटा दमनकारी शक्तिले कसरी आयरल्यान्डजस्तो देशलाई लिन लागेको छ भनेर भविष्यवाणी गरिएको छ । पछिल्लो समय विश्वमा डेमोक्रेटिक डिक्टेटरसिप आउँछ कि भन्ने हल्ला छ । भूराजनीतिलाई हेर्ने हो भने पनि हामी यस्तै किसिमका कुरा देख्छौँ । यो उपन्यासमा एक महिला पात्र ४ सन्तानलाई कसरी डिक्केटरबाट जोगाउने भन्नेमा संघर्ष गर्छिन् । 

अबको विश्व कसरी प्रजातान्त्रिक डिक्केटरको नियन्त्रणमा जाँदै छ र आम मानिस प्रविधि र विज्ञान प्रयोगबाट झन् दमित हुँदै छन् भन्ने डरलाग्दो तस्बिर पुस्तकले दिएको छ । मलाई यो उपन्यासको टेक्निक पनि राम्रो लागेको थियो ।

 तपाईंलाई मन परेको फिक्सन ?

जर्ज अर्वेलको ‘१९८४’ उपन्यास एकदम जीवन्त लाग्छ । यो पहिला हामी विश्वविद्यालयमा पनि कोर्समा राखेका पढाउँथ्यौँ । पुस्तकले हाम्रो समाज कसरी डिस्टोपियन' हुँदै जान सक्छ भनेर प्रस्तुत गरेको छ । 

तपाईंलाई मन परेको ननफिक्सन ?

मलाई ननफिक्सन बढी मन पर्छ । नगुगी वा थियोङ्गोको ‘डिकोनोलाइजिङ द माइन्ड’ भन्ने पुस्तक मलाई खुब मन परेको हो । पछिल्लोपटक मैले ‘हार्डसिप्स एन्ड डाउनफल अफ बुद्धिजम इन इन्डिया’ हो । सांस्कृतिक रुपले पनि ठूलो द्वन्द्व कसरी हुँदो रहेछ, एउटा संक्कृतिले अर्को संस्कृतिलाई कसरी दमन गर्दो रहेछ भन्ने कुरा पुस्तकमा छ । अर्को संस्कृति कसरी विकसित भएर आउँदो रहेछ भन्ने बलियो रुपमा आएको छ । समग्र सभ्यतामाथि पनि एउटा शक्ति खेल्दो रहेछ भन्ने पुस्तकले देखाएको छ । अरु पनि मैले थुप्रै ननफिक्सन पढें । ‘प्रथम विश्वयुद्धको वर्णन’ भन्ने पुस्तक पनि मलाई मन परेको पुस्तक हो । नेपालको सन्दर्भमा झन्डै सय वर्षअघि छापिएको शुक्रराज शास्त्रीको ‘स्वर्गको दरबार’ भन्ने पुस्तक मन परेको छ । 

तपाईं एकदमै प्रभाव पारेको आख्यानको पात्र  ?

नेपालको सन्दर्भमा ‘शिरीषको फूल’को सकम्बरी नै हो । यो पुस्तक धेरै घोत्लिन बाध्य पार्ने पुस्तक हो । हुन त प्रगतिवादीहरूले यसलाई विभिन्न किसिमले आलोचना पनि गर्छन् । मलाई पात्रहरूमा सुयोगवीरभन्दा पनि सकम्बरीको चरित्र चित्रण निकै बलियो लाग्छ । म कहिल्यै पनि त्यो पात्र बिर्सिन्नँ । झ्यालबाट शिरिषको फूल झरिरहेको हेरिरहने । त्यो पात्र मलाई पारिजातजस्तै लाग्छ । कहिलेकाहीँ कोही पात्र त्यस्तो देखेँ भने सकम्बरी हो कि जस्तो लाग्छ । 

नयाँ पुस्तालाई पुस्तक सिफारिस ?

धेरै पुस्तक छन् । पछिल्लो समय चाहिनेभन्दा नचाहिने कुरा ज्ञानमार्फत पनि हामी खाइरहेका छौँ । हाम्रै सभ्यतालाई  बुझ्ने हो भने ‘स्वयम्भू पुराण’ जस्तो कृति पनि पढौँ । ‘त्रिपिटक’ जस्ता कथा पढौँ । डिकोलोनाइजिङ जस्ता माइन्डहरू पनि पढौँ । महाआख्यानका कृति पनि पढौँ । मनुस्मृति बुझौं । मुन्धुम अध्ययन गरौं । विश्वका प्रख्यात कृति ‘इकिगाई’ पनि पढौँ । फास्टफुड जस्तो पुस्तकबाट चाहिँ अलि पर बसौँ जस्तो लाग्छ ।  

कान्तिपुर

Link copied successfully